Posted by: metta August 27, 2015
हिन्दु राष्ट्र किन? दलित, महिला र अन्य धर्म लाई दबाउन
Login in to Rate this Post:     0       ?        
हिन्‍दु राष्‍ट्र किन हुन्‍न?
मोहनविक्रम सिंह

राष्ट्रिय एकता, सद्भाव र राष्ट्रियतामा गम्भीर आँच आउनेछ 
 
धर्म निरपेक्षताको अर्थ के हो? त्यसको अर्थ हो- सांसारिक वा लौकिक। अर्थात् धर्मभन्दा बाहिर। राज्य धर्मभन्दा बाहिर हुनुपर्छ वा धर्मप्रति तटस्थ। त्यसको सम्पूर्ण कार्यविधि सांसारिक वा लौकिक विषयमै सीमित वा केन्द्रित हुनुपर्छ। त्यस अर्थमा राज्य धर्मप्रति निरपेक्ष हुनुपर्छ।

त्यसको ठीक विपरीत धार्मिक सापेक्षता हो। राज्यले कुनै धर्मविशेषसित जोडिएर वा त्यसका आधारमा काम गर्छ वा गर्नुपर्छ। राज्यका सबै कारबाही, ऐनकानुन वा व्यवस्थासमेत धर्मको अधीन हुनुपर्छ वा धर्मद्वारा निर्देशित। 

उक्त दुई विषयमध्ये कुन प्रणाली अपनाउने? त्यसबारे धेरै मतभेद देखा पर्दै आएको छ वा त्यो प्रश्नमा ठूला-ठूला संघर्षसमेत भएका छन्। खास गरेर युरोपमा राज्यलाई चर्चबाट अलग गराउन चलेको संघर्ष उल्लेखनीय छ। 
 
धर्म निरपेक्षताको अर्थ हुन्छ, राज्यलाई धर्मबाट अलग गराउन वा त्यसलाई (राज्यलाई) धर्मको नियन्त्रणबाट मुक्त गर्नु। आज संसारमा जुन राज्यले धर्म निरपेक्षताको सिद्धान्त अपनाएका छन्, त्यो राज्यलाई धर्मको प्रभाव वा नियन्त्रणबाट अलग राख्न चलेको लामो जागरण, सांस्कृतिक आन्दोलन वा संघर्षको परिणाम हो। नेपालमा त्यस प्रकारको सांस्कृतिक आन्दोलन वा संघर्षको कुनै इतिहास वा परम्परा छैन।

अहिले धर्म सापेक्षता वा हिन्दु राज्य पुनस्र्थापनाका पक्षमा आवाज उठाउनेहरूले भनेझैं धर्म निरपेक्षताको विचारधारा विदेशबाट परेको वैचारिक असरको परिणाम हो। तर त्यसकारणले त्यसको (धर्म निरपेक्षताको) औचित्य कम हुँदैन। 
 
सती प्रथाविरुद्ध भारतमा लामो सांस्कृतिक आन्दोलन चलेको थियो भने दासप्रथाविरुद्ध विश्वस्तरमै ठूला-ठूला संघर्ष भए। नेपालमा ती विषयमा कुनै संघर्ष भएको थिएन। जंगबहादुरले सतीप्रथा र चन्द्रशम्शेरले कमारा-कमारी प्रथा समाप्त गर्नुको पछाडि बाह्य प्रभावले नै काम गरेको थियो। तर त्यो कारणले सती प्रथा वा कमारा-कमारी प्रथा समाप्त गर्ने कार्य गलत थिए भनेर कहिल्यै आवाज उठेन। 
 
संसदीय वा बहुदलीय व्यवस्था पनि विदेशबाटै आयात गरिएका प्रणाली हुन्। त्यो कारणले मात्र त्यो व्यवस्थाको औचित्य समाप्त हुँदैन। हामीले दैनिक जीवनमा प्रयोग गर्ने बिजुली, कार, कम्प्युटर, विभिन्न प्रकारका यन्त्र, औषधि वा कलेज वा युनिभर्सिटीमा पढाइने ज्ञानविज्ञानका कैयन् विषय आदि विदेशबाटै आयात गरिएका हुन्। तर ती कारणले तिनीहरूको औचित्य अस्वीकार गर्ने कुरा हुँदैन। 
 
ठीक त्यही कुरा धर्म निरपेक्षताका सन्दर्भमा पनि सत्य हो। त्यस प्रकारको विचार वा आन्दोलन देशभित्र पैदा भयो वा विदेशबाट आयात भयो भन्ने आधारमा होइन, त्यसको औचित्यका आधारमा सही छ वा गलत छुट्ट्याउनुपर्छ। 
कुनै एउटा धर्म वा हिन्दु धर्मलाई राज्यको धर्म बनाउँदा अन्य धर्मावलम्बी असन्तुष्ट भई देशमा धार्मिक द्वन्द्वको स्थिति उत्पन्न हुन सक्छ। त्यसबाट राष्ट्रिय एकता र सद्भाव मात्र खल्बलिने छैन, राजतन्त्र र त्यसको निरंकुश शासनको पुनस्र्थापनाका लागिसमेत बल पुग्नेछ। 
धर्म सापेक्षताले विश्वस्तरमा कति नोक्सान पुर्‍याउने गरेको छ? त्यो आम रूपमा थाहा भएको हो। अरब देशमा अहिले पनि कैयन् राज्य धर्म सापेक्ष छन्। कानुन धार्मिक मान्यताका आधारमै बन्छन् र त्यसअनुसार त्यहाँ शासन पनि गर्ने गरिन्छ। त्यस सन्दर्भमा महिलामाथि कति नियन्त्रण वा उत्पीडन गरिन्छ? 
व्यक्तिगत स्वतन्त्रतामाथि कति धेरै दमन गरिन्छ? लुकेको कुरा होइन। तालिवान वा अन्य मुस्लिम कट्टरपन्थीले महिलालाई सामान्य शिक्षा प्राप्त गर्ने अधिकारबाट पनि वञ्चित गर्छन्। मुस्लिम धर्मअनुसार नचलेमा उनीहरूको हत्यासमेत गर्ने गरिन्छ। 
 
पश्चिम देशमा जुन बेला राज्यमाथि चर्चको नियन्त्रण थियो, इसाई धर्मको कारणले आम जनतामाथि उत्पीडन र दमन गरिएका असंख्य उदाहरण छन्। राज्यलाई चर्चको नियन्त्रणबाट मुक्त गर्न चलेका संघर्षका कैयन् महत्त्वपूर्ण उपलब्धि भए। 
 
पहिले चर्चको सबै राज्यमा नियन्त्रण थियो। पछि त्यो समाप्त हुँदै गयो। अहिले पनि संसारका कैयन् देश वा कैयन् राज्यहरूमा इसाई धर्मको असर छ। तर राज्यमाथि इसाई धर्मको नियन्त्रण समाप्तप्राय: भएको छ। अर्को शब्दमा इसाई धर्मको नियमअनुसार राज्यका कानुन निर्माण गर्ने वा कार्य सञ्चालन गर्ने कार्य करिब-करिब बन्दजस्तै छ। 
 
नेपालमा लामो समयसम्म राज्य धर्मसापेक्ष थियो र हिन्दु धर्मका आधारमा राज्यका कानुन बने वा शासन प्रणालीको सञ्चालन हुने गरेको थियो। परिवारको व्यवस्था वा आचारसंहिता आदिसम्बन्धी ऐनकानुन धर्मका आधारमा नै बन्थे। त्यसले समाजलाई कति धेरै क्षति पुगेको थियो? 
 
सती प्रथाका कारणले महिलाको निर्मम हत्या गर्ने गरियो। कमारा-कमारी प्रथाको व्यवस्थाअनुसार ठूलो संख्यामा निर्दोष मानिसमाथि उत्पीडन गरियो। छुवाछूत प्रथाद्वारा समाजको एउटा ठूलो भागलाई उत्पीडित गरियो र त्यो कार्य अहिले पनि जारी छ। 
 
महिलामाथि ठूलो पैमानामा भेदभाव गरियो। विश्वमा र नेपालमा पनि आएको जनजागरणका कारणले राज्यमाथिको त्यस प्रकारको धार्मिक नियन्त्रण कम हुँदै गयो। यद्यपि, त्यसका कैयन् अवशेष अहिले पनि विद्यमान छन्। आज जसरी सनातन हिन्दु धर्मको नाममा राज्यलाई धर्मसापेक्ष गराउने प्रयत्न गरिरहेका छन्, त्यसरी नै हिन्दु धर्मलाई राज्यको धर्म बनाइयो भने त्यसले देशलाई अग्रगमन होइन, अरू प्रतिगमन र पतनको दिशामा लैजाने छ।
 
सनातन हिन्दु धर्मले बढी जोड दिएको विषय हो- राजा विष्णुका अवतार हुन्। त्यसैले राज्यलाई धर्मसापेक्ष बनाउनुको बल राजतन्त्र वा राजतन्त्र पुनस्र्थापनालाई पुग्छ। त्यसरी धर्म सापेक्षता वा हिन्दु राज्यको पुनस्र्थापना राज्यलाई धर्मबाट अलग गर्न विश्वव्यापी रूपमा चलेका राजनीतिक वा सांस्कृतिक आन्दोलनका उपलब्धि समाप्त गरेर पुन: देशलाई प्रतिगमनको दिशामा लैजाने प्रयत्न हो। 
 
नेपाल विभिन्न जाति, संस्कृति, भाषा वा धर्म भएको देश हो। यहाँ पहिले एउटै धर्म, संस्कृति वा भाषाको प्रभुत्व रहँदै आएको थियो। हिन्दु धर्म वा नेपाली भाषाबाहेक अन्य धर्म वा भाषासित समान व्यवहार गर्ने गरिएको थिएन। त्यसले गर्दा अन्य भाषाभाषी वा धर्मावलम्बी कुण्ठित थिए। त्यो अवस्थामा धर्म निरपेक्षता देशको वस्तुस्थितिअनुसार कायम भएको सही प्रणाली हो।
 
 धर्म निरपेक्षताले सबै धर्मलाई समान अवसर र स्वतन्त्रता दिन्छ। हिन्दु धर्मलाई राज्यको धर्म बनाइयो भने अन्य धर्मप्रति भेदभाव हुन्छ। अन्य धर्मावलम्बीलाई पनि चित्त बुझ्दैन। त्यसबाट धार्मिक असहिष्णुता वा तनावको स्थिति पैदा हुन्छ। त्यसरी राष्ट्रिय एकता वा राष्ट्रियतामा पनि गम्भीर आँच पुग्न सक्छ।
 
 त्यसैले राज्यलाई हिन्दु धर्मसापेक्ष बनाउने कार्य प्रतिगामी र पुनरुत्थानवादी कार्यमात्र होइन, त्यसले राष्ट्रिय एकता, सद्भाव वा राष्ट्रियतालाई समेत गम्भीर आँच पु:याउनेछ। सनातन हिन्दुधर्मलाई राज्यको धर्म बनाउन प्रयत्न गर्नेहरू पनि यसबाट अनभिज्ञ छैनन्। तर उनीहरूको मुख्य उद्देश्य हिन्दुधर्मको संरक्षण त्यति होइन, जति राजतन्त्रको पुनस्र्थापना। उनीहरूको मुख्य रणनीति हिन्दु धर्मलाई हतियार बनाएर राजतन्त्र पुनस्र्थापना गर्नु हो। 
 
भारतमा भारतीय जनता पार्टीको सरकार बनेपछि यहाँ हिन्दु धर्मको पक्षको आन्दोलन अरू तीव्र बनेको छ। नेपाली कांग्रेसभित्र हिन्दु धर्मका पक्षमा चलेको आन्दोलन उल्लेखनीय छ। त्यसभित्रको एउटा पक्षले खुलारूपले नै राज्यलाई हिन्दु धर्मसापेक्ष बनाउनका लागि अभियान चलाइरहेको छ भने त्यसको नेतृत्वपंक्तिले त्यस प्रकारको अभियानविरुद्ध कडा नीति अपनाएको देखिन्न। 
 
त्यसका पछाडि मोदी सरकार असन्तुष्ट हुने वा मोदी सरकारको अनुग्रहबाट वञ्चित हुने आशंकाले उनीहरूमा काम गरेको ता होइन? एमालेले पनि हिन्दु धर्मका पक्षका गतिविधिविरुद्ध कुनै ठोस र स्पष्ट नीति अपनाएको देखिन्न। एमाले वा कांग्रेसभित्र हिन्दु धर्मका पक्षमा देखापरेका गतिविधिबारे स्पष्ट नीति नलिनुका पछाडि मोदी सरकारको प्रभावले काम गरेको छ। 
 
भारत स्वयं धर्म निरपेक्ष देश हो। त्यो अवस्थामा त्यहाँ कुनै बेला हिन्दु धर्मवादी राजनीतिक पार्टी सत्तामा आएकाले त्यसप्रति सम्झौतापरस्त नीति अपनाउनु निम्न प्रकारको राजनीतिक सोचाइ हो। स्वयं भारतीय जनता पार्टीले भारतमा हिन्दु राज्य स्थापना गर्ने दिशामा कुनै आवाज उठाउन सकेको छैन। त्यो अवस्थामा पहिले धर्म निरपेक्षताको पक्षमा निर्णय लिने राजनीतिक शक्तिले त्यसबारे दृढ र सम्झौताहीन प्रकारको नीति लिन नसक्नुले उनीहरूको कमजोर र अवसरवादी राजनीतिक चरित्रलाई नै बताउँछ। 
 
धर्म निरपेक्षतामा जोड दिनुको अर्थ कुनै धर्मको विरोध गर्नु होइन। त्यसको अर्थ राज्य धर्मको प्रश्नमा तटस्थ हुने हो। राज्यले कुनै धर्मलाई विरोध गर्नु वा कुनै धर्मको पक्ष लिनु- दुवै विषय धर्म निरपेक्षताभित्र आउने होइनन्। महात्मा गान्धीले भनेका थिए, 'मैले धर्मलाई मान्छु र त्यसका लागि मर्न पनि तयार छु, तर राज्यको त्यससित कुनै सम्बन्ध रहनु हुन्न।'
 
गान्धी स्वयं धर्मालम्बी भए पनि राज्यलाई धर्मबाट अलग राख्नुपर्ने वा त्यसप्रति तटस्थ रहनुपर्नेमा जोड दिएका थिए। त्यसरी भारतमा धर्मनिरपेक्षताको ठूलो जग बनेको छ। आफ्नो कट्टर हिन्दुवादी दृष्टिकोण हुँदाहुँदै पनि मोदी सरकारलाई भारतमा हिन्दु धर्मलाई राज्यको धर्म बनाउने वा धर्म निरपेक्षताको सिद्धान्त बदल्नका लागि केही गर्नु सम्भव छैन। जे काम उनीहरूले त्यहाँ गर्न सकेका छैनन्, उनीहरूले प्रत्यक्ष वा परोक्ष प्रकारले नेपाललाई हिन्दु राज्य बनाउन प्रयत्न गर्दैछन्। 
 
त्यहाँको सरकारले त्यसबारे खुलारूपले कुनै नीति नअपनाए पनि भारतीय जनता पार्टीसित सम्बन्धित कतिपय हिन्दुवादी संगठनले नेपाललाई हिन्दु राज्य बनाउन वा हिन्दु राजाका रूपमा राजतन्त्रको पुनस्र्थापनाका लागि खुलारूपले आवाज उठाउने वा नेपालका पुनरुत्थानवादी शक्तिसित साँठगाँठ गर्ने काम गरिरहेका छन्। मोदी पशुपतिनाथ वा जनकपुरमा पूजा गर्न जान्छन् भने त्यो उनको व्यक्तिगत आस्थासित जोडिएको विषय हो, तर उनीहरूको प्रभावमा परेर वा मोदी सरकारको अनुग्रह प्राप्त गर्न जुन तत्त्वले नेपालमा हिन्दु राज्य बनाउने अभियान चलाइरहेका छन्, त्यो आपत्तिजनक हो। 
 
धर्मनिरपेक्षताको अर्थ कुनै धर्ममाथि नियन्त्रण वा धार्मिक स्वतन्त्रतामा हस्तक्षेप गर्नु होइन। नेपालका अन्य सबै धर्मलाई जस्तै हिन्दु धर्मावलम्बीलाई पनि आफ्नो आस्थाअनुसार धार्मिक कार्य गर्ने अधिकार रहन्छ। तर धर्मका नाममा अन्य धर्मावलम्बीको स्वतन्त्रतामा आघात पु:याउने वा सामाजिक हितमा कुठाराघात गर्ने कार्यलाई न्यायोचित भन्न सकिन्न। 
 
राज्य धर्म निरपेक्ष हुनुपर्छ भन्नुको अर्थ के पनि हो भने त्यसले (राज्यले) धर्मका नाममा गरिने सबै प्रकारका अन्याय र अत्याचार रोक्नुपर्छ। त्यसरी नै सबै धर्मको धार्मिक स्वतन्त्रता सुरक्षित रहन सक्छ। त्यसैले हिन्दु धर्मलाई राज्यको धर्म बनाउने कार्य जनताको व्यापक हितमा छैन।
 
 कुनै एउटा धर्म वा हिन्दु धर्मलाई राज्यको धर्म बनाउँदा अन्य धर्मावलम्बी असन्तुष्ट भई देशमा धार्मिक द्वन्द्वको स्थिति उत्पन्न हुन सक्छ। त्यसबाट राष्ट्रिय एकता र सद्भाव मात्र खल्बलिने छैन, राजतन्त्र र त्यसको निरंकुश शासनको पुनस्र्थापनाका लागिसमेत बल पुग्नेछ। 
http://www.annapurnapost.com/News.aspx/story/2827
Last edited: 27-Aug-15 11:52 AM
Read Full Discussion Thread for this article