Posted by: Mulasag May 13, 2015
नेपाली को डाहा गर्ने बानि र TPS !
Login in to Rate this Post:     0       ?        
० विजय पौडेल
vishwosandesh@gmail.com
वैशाख १२ को मध्यदिनमा नेपालमाथि बज्रेको वज्रपातले सदियौंदेखि अन्यौलग्रस्त मुलुक पुनः एकपटक थिलथिलो भएको छ । म र मेरो अघिल्लो पुस्ताले नभोगेको यो अकल्पनीय पीडा वर्तमानका दुवै पुस्ताले भोग्दैछ । भूकम्पको एक झट्काले दिएको त्यो पीडा भौतिकरुपमा नेपालमा बस्नेले जति भोगे, प्रवासस्थित नेपाली डायस्पोरा पनि कम दुःखी भएन । नेपाली डायस्पोरा पनि त्यत्तिकै आत्तियो, छट्पटियो अनि हड्बडायो । विश्व मानचित्रमा उभिएको सानो मुलुक नेपाललाई पश्चिमाहरुले यसअगाडि नाम सुन्नेबित्तिकै ब्युटिफुल कन्ट्री, बर्थ प्लेस अफ बुद्ध र कन्ट्री अफ माउण्ट एभरेष्ट भन्दै गर्ने स्मरण एकाएक भूकम्पले आक्रान्त बनेको मुलुकका रुपमा परिणत भयो । यसअगाडि १० वर्षसम्म माओवादी युद्धले थुप्रै भौतिक संरचना नष्ट नभएका पनि होइनन् अनि हजारौंले ज्यान नगुमाएका पनि होइनन् । तर, विश्वमा नेपालको परिचय कहिल्यै कम्युनिष्ट गुरिल्ला लडेको देशका रुपमा रहेन । संसारकै राजधानी मानिने न्यूयोर्क शहरमा प्रत्येक दिन भेटिने पश्चिमाहरु नेपालको नाम सुन्नेबित्तिकै हिमालयको काखमा रहेको सुन्दर देशकै रुपमा सम्मानपूर्वक बयान गर्थे, तर प्रकृतिको मारले नेपालको परिचय अप्रिल २५ देखि एकाएक बद्लियो ।
हरेक प्रवासी मन रोयो । भौतिक रुपमा नभए पनि भावनात्मकरुपमा नेपाल र नेपालीसँग डायस्पोेरा जोडिन खोज्यो । चोक, बाटो र डबलीहरुमा नेपालका भूकम्पपीडितका नाममा चन्दा बाकस थापिए । न्यूयोर्ककै प्रसंगमा कुरा गर्नुपर्दा दक्षिण एसियालीहरुको बाहुल्यता रहेको कुइन्सस्थित ज्याक्सन हाइटको एउटा चोक समवेदना व्यक्त गर्न झण्डै दुई हप्ता नेपाली मनहरुले कब्जा गरे । ज्याक्सन हाइटस्थित डाइभर्सिटी प्लाजाको भित्तो भूकम्पमा ज्यान गुमाउनेहरुको नाममा कोरिए । हजारौं मैनबत्तीहरु दुई हप्तासम्म अखण्डरुपमा बलिरहे, समवेदना व्यक्त गर्दै बालिए । दुई हप्ताको अथक प्रयासमा झण्डै १५ लाख अमेरिकी डलर भूकम्पपीडितको राहतका लागि नेपाली डायस्पोराले अमेरिकामा चन्दा संकलन ग¥यो । विश्वकै पर्यटकीय स्थल टाइम्स स्क्वायरमा न्यूयोर्कस्थित नेपाली समाजले चन्दा संकलन गर्ने हैसियत राख्यो अनि बत्तीहरुको बगैंचामा साँझपख फहराइएका नेपाली झण्डाले पुनः नेपाल छिट्टै उठ्दैछ जस्तो लाग्यो ।
नेपालका लागि यति धेरै सकारात्मक क्रियाकलाप गर्ने अमेरिकास्थित प्रवासी समाजका यी सकारात्मक पक्षहरुलाई छाडेर नेपालकै भूकम्पसँग जोडिएका थप प्रसंगतर्फ मोड्दै छु । १७ वर्षअगाडि टाईसुटमा ठाँटिएर अमेरिकी सपना सजाउँदै अमेरिका छिरेका काठमाडौंका रामचन्द्र थापा दाइ हिजो मात्र कहिल्यै नफर्कने गरी न्यूयोर्कबाट नेपाल फर्किए । उनी अब अमेरिका टेक्ने छैनन् किनकि उनीसँग फर्कने आधार भएका कुनै कानूनी कागज छैन । नेपाल फर्कनुअगाडि उनीसँग साक्षात्कार त हुन पाएन, तर सुनेअनुसार उनी नेपालकै भूकम्पका कारण फर्किएका हुन् । केही समयअगाडि १७ वर्षे अमेरिकी अनुभव शब्दमा उतार्ने क्रममा उनी भन्दै थिए– बिरामी पनि छु, उपचार अमेरिकामा भइरहेको छ, त्यसैले अमेरिका छाडेर नेपाल जान गाह्रो भयो । तर, अहिले रामचन्द्र दाइ अमेरिका छाडेर गइसके । उनीसँग फर्कन पाउने कुनै कानूनी कागज भइदिएको भए भूकम्पले क्षतविक्षत भएको देश अनि पीडामा बाँचेको परिवारलाई झनै आर्थिक आवश्यकता पर्ने परिस्थितिमा नेपालमा नै अड्किनुपर्ने थिएन । हरेक अर्को देशमा पर्ने ठूला बिपतपश्चात् अमेरिकामा बसोबास गर्ने त्यस्ता देशका नागरिकहरुलाई अमेरिकाले अस्थायीरुपमा कानूनी हैसियत प्रदान गर्ने टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस)को व्यवस्था सरकारले गर्ने गरेको छ । नेपालको विनासकारी भूकम्पका कारण नेपालीहरुलाई पनि अमेरिकामा टीपीएसको माग गर्दै ह्वाइट हाउसको आधिकारिक वेबपेजमा नेपालीका तर्फबाट निवेदन दर्ता गरिएको छ । नेपालीको संख्या अमेरिकामा ४ लाख आँकलन गरिन्छ, तर विडम्बना हालसम्म उक्त वेबपेजमा दर्ता गरिएको पिटिसनमा जम्मा ८ हजार मात्र हस्ताक्षर पुगेको छ । १ लाख हस्ताक्षर भयो भने राष्ट्रपति बाराक ओबामाले उक्त निवेदनमाथि सम्बोधन गर्नेछन् र कागज नभएका रामचन्द्र थापा दाइजस्ता हजारौं नेपालीले निश्चित समयलाई कानूनी हैसियत प्राप्त गर्ने प्रबल सम्भावना रहन्छ । त्यसपछि २०औं वर्ष नेपालस्थित आफ्नो परिवारसँग छुट्टिएकाहरु भूकम्पले घरबारविहीन परिवारलाई भेटेर पुनः अमेरिका आउन पाउनेछन् । त्यति मात्र होइन, ह्वाइट हाउसको उक्त वेबपेजमा ४ लाख छौं भनेर दाबी गर्ने गरेका हामी नेपालीले १ लाख हस्ताक्षर पु¥याउन सकेमा तेस्रो मुलुकमा नेपाली समुदायको अस्तित्व गनिनेछ । नेपाली समुदाय अमेरिकामा अझ मजबुत समुदाय हुनेछ । तर तीतो सत्य, हस्ताक्षर भने हालसम्म जम्मा ८ हजार मात्र पुगेको छ । प्रशान्त तामाङलाई इण्डियन आइडल बनाउँदा होस् वा तेरिया मगरलाई ताज पहि¥याउँदा होस् अमेरिकास्थित नेपाली समुदायको ठूलो भूमिका रहेको थियो । तर आज आफ्नै शिर सजाउन चुकेका छौं हामी । एउटा महान कार्यका लागि हामी अमेरिकामा एकता प्रदर्शन गर्न सकिरहेका छैनौं ।
९० को दशकदेखि अमेरिकामा बढ्न थालेको नेपालीको संख्या बाक्लिंदै गएको कुरा ज्याक्सन हाइटको वरिपरि सुनिने नेपाली भाषाले पुष्ट्याउँछ । आधिकारिकरुपमा अमेरिकामा नेपालीको तथ्यांक न राजदूतावाससँग छ न त आफूलाई प्रवासीको छाता ठान्ने एनआरएनले नै दिनसक्छ । सिर्फ भाषणका शब्दहरुमा भने अमेरिकामा झण्डै चार लाख नेपाली छन् भन्ने गरिन्छ । यदि चार लाख नेपाली अमेरिकामा बस्छन् भने कागजको पीडामा २०औं वर्षदेखि परिवारसँग छुट्टिएकाहरुलाई राहत दिलाउने टीपीएसको पिटिसनमा भने किन जम्मा ८ हजार हस्ताक्षर ? के अमेरिकामा कानूनी हैसियत भएकाहरु नभएकाहरुलाई केही राहत होस् भन्ने चाहँदैनन् त ? यदि चाहन्छन् भने विश्वका अन्य मुलुकले यस्ता विपतका समयमा अमेरिकामा टीपीएस पाएका छन् । नेपालले पनि पाउनुपर्छ । यो नै अहिले अमेरिकामा बसोबास गर्ने नेपालीहरुले प्रदर्शन गर्नुपर्ने एकता हो । हामी प्रवासमा आवश्यकताभन्दा कयौं गुणा धेरै विभाजित छौं भन्ने कुरालाई यो पिटिसनमा भएको न्यून हस्ताक्षरले सतहमा ल्याएको छ । नेपालका राज्य सञ्चालन तहमा रहेकाहरु कहिल्यै मिल्न सक्दैनन् । देश विकासका लागि साझा एजेन्डा बनाउन सक्दैन भनेर प्रत्येक संवादमा खबरदारी र आलोचना गर्ने हामी त्यहाँभन्दा धेरै गुणा अगाडि बढेर विभाजित छौं । पद वा पैसाको लाभ नहुने अवस्थामा त्यो पनि प्रवासी समाजमा त हाम्रो यो हविगत छ भने स्वार्थैस्वार्थले गाँजेको राज्य सञ्चालन तहका शासकहरु एक नहुनु अनौठो भएन । आखिर हामी त्यही मुहानकै पानी खाएका मान्छे हौं । यदि साँच्चिकै एकता प्रदर्शन गर्ने हो भने अहिले अमेरिकामा नेपालीहरुले अभूतपूर्व एकता प्रदर्शन गर्नुपर्ने बेला आएको छ, जसले कागज नहुनेलाई कानूनी हैसियत त प्रदान गर्छ नै, सम्माननीय राष्ट्रपति कार्यालयको आधिकारिक पेजमा दर्ता गरिएको निवेदनमा एक लाख नेपालीले हस्ताक्षर गरेको खण्डमा विपरीत भूगोलमा नेपालीभाषीहरुका लागि सयौं सम्भावनाका ढोकासमेत खुल्नेछन् ।
हुन त एउटा अनौपचारिक भेटघाटमा झ्वाट्ट सुनेको थिएँ– न्यूयोर्कस्थित एउटा संस्थाका प्रतिनिधिले टीपीएसका लागि ह्वाइट हाउस पेजमा पिटिसन दर्ता गर्ने काम त हाम्रो हो । हामीसँग सल्लाह नगरी किन दर्ता गरेको भन्दै सिण्डिकेट प्रथाको समेत शुरुवात गरेको खबर छ । अर्कोतर्फ डायस्पोरास्थित हाम्रो समाजमा रत्नपार्कमा जुलुस ल्याउने जस्तै ठेकेदारी प्रथाको शुरुवात भइसकेको छ । मान्छे ल्याउनुप¥यो एउटालाई जिम्मा दिने, अर्को कमजोरीको कुरा गर्नुपर्दा अमेरिकाले एउटा सार्वभौमसम्पन्न मुलुकका नागरिकलाई टेम्पोररी प्रोटेक्टेड स्टाटस दिनुपर्ने विषयमा पक्कै पनि नेपाल सरकारका प्रतिनिधिका रुपमा राजदूतावासले आधिकारिक निवेदन दिनुपर्ने हुन्छ नै । अभियान सकारात्मक भए पनि बिरालाले आची लुकाएझैं कसले बैठक गर्छ, कहाँ गर्छ ? को लागि परेको छ ? यी सबै क्रियाकलापमा समुदायलाई सुसूचित गरिरहेका कुनै पनि पत्रकारलाई खबर गरिंदैन । जानकारी गराइँदैन । यस्तै कमजोरी र चरित्रका कारण अमेरिकामा बसोबास गर्ने हजारौं नेपालीले टीपीएसका बारेमा सूचना नपाएका कारण पनि जम्मा ८ हजार हस्ताक्षरमा खुम्चिनुपरेको हो वा डिभी परेर नेपालबाट आएर खुसीसाथ टेक्सासमा बसोबास गर्दै गरेका एक नेपालीले अनौपचारिक कुराकानीका क्रममा एक दिन भन्दै थिए– ‘यो अमेरिका पनि के भएको होला ? किन यत्रो समय डिभी खुल्ला राखेको हो ? अब त बन्द गरे पनि भयो नि । जो पनि अमेरिका आउन थाल्यो । अति सस्तो भयो अमेरिका ।’ कि यस्तै सोचाइले हो । हाम्रो एकता अमेरिकामा कमजोर देखिएको छ ।
Read Full Discussion Thread for this article