नयाँ नेपाल को यात्रा भाग ३
एम आर पी (२)
अँ ! नारायणहिटी बाट निस्कंदै गर्दा फेरी अर्को धक्कम धक्का वाला लाइन देखें | उत्सुकता जाग्यो, के को लाइन होला, दर्ता र टोकनको लाइन त बिहान ५ बजे नै समापन भैसक्याथ्यो | गेटमा पहरा दिराख्या प्रहरी भाईलाई सोध्ने बाहेक अरु सूचनापाटी थिएन |
के को लाइन हो त्यो भाइ ??
“यो त भरे २ बजे खुल्ने पासपोर्ट लिनेहरुको लाम हो “ झर्को नमानी बताई दिए , लाग्छ गणतन्त्र पछी प्रहरीको झोकतन्त्रमा अलिकति सुधार आए छ |
कति बेला देखि लाइन बस्या नि ?? मेरो अर्को प्रश्न |
“खै लाइन त बस्नु पर्ने हैन तै पनि बिहान ७ नबज्दै लाइन लाग्न सुरु हुन्छ “ |
हुन पनि हो बनी सकेको पासपोर्ट लिन किन बिहान देखि लाइन, कुनै तुक थिएन | फस्ट कम फस्ट सर्भिस भए पो पालो न आउला भनेर रात जाग्राम बस्नु को अर्थ हुन्छ, बनी सकेको निश्चित संख्यामा वितरण हुने पासपोर्ट लिन नि बिहान ७ बजे देखि लाइन ?? बुझिनसक्नु छ | संभवत गाउँ देहात बाट विदेशिने रहर बोकेका र बिना कुनै ज्ञान र सूचना शहर पसेका मदनवा र च्यांग्बाहरुमा अझै असुरक्षाको अनुभूतिले खाएको हुनु पर्छ| अब लाग्यो पासपोर्ट लिन पनि त्यति कै गाह्रो हुने रहेछ, दर्ता गर्न जति नै |
सात दिन भो, बिहानै टेन्सन | फेरी फोन गरु कि न गरु भो | फोनले काम त गर्छ तर ..............ती मदनवाहरुलाई बेइमानी गरेको ठहर्छ | त्यसो त दिन दिनै जसो त्यो बाटो हिड्दा देख्ने भीड तन्त्र र जाम तन्त्रले त्यो लाइन कतिको पीडादायक हुन्छ भन्ने अनुमान गर्थें | २ बजे पछी लिन आउने सूचना थियो | ७ बजे देखि त्यो चिसोमा हतार हतार कतार जान लाग्या जस्तो लाइनमा उभिने न त हिम्मत थियो न त सामर्थ्य नै | फोन घुमाएँ |
“भन्दिन्छु, के भन्छ हेरुम “ उताबाट दरो आश्वासन प्राप्त भयो |
भातको लन्च गरी साढे १० तिर घरबाट निस्कें- गृहमन्त्रीको आन्तरिक खरिददारी कार्यक्रमको लागि असन बजार तिर | घरीघरी फोन हेर्दै, एउटा पसल पछी अर्को पसल चहार्दै |
“साहुजी थ्व प्लेट दर्जन या गुली” ( त्यो प्लेट दर्जन को कति )?
साहुजीलाई बाल छैन | बाल नभएको साहुजी परेर होला शायद | ३ पल्ट सोधे पछी बल्ल जवाफ फर्काए झर्को मानी मानी – छपा या १७५ | ( एउटाको १७५)
मानौ हामी ग्राहक हैनौ म्राहक हो अर्थात हक अधिकार माग्न आएको |
अर्को बुट्टाको छैन , साहुजी ??
छैन छैन |
असनको साहुजीको पसलको साइज किन साँघुरिदै छ र छिमेकी मुलुकका साहुहरूको पसल किन बिस्तारित हुँदै छ ? त्यसको कारण खोज्न असन बजार वरिपरी खरिददारी गरे स्पष्ट हुन्छ |
त्यतिकै मा फोन बज्यो | १.३० बजे भित्र तपाईं नारायणहिटी पुगीहाल्नुस | रमिताजी लाई भेट्नुस सेक्सन सी मा | १.४५ बजे भित्र पासपोर्ट काउन्टरमा जान्छ , लाइन लाग्नु पर्छ |
हस, प्रभु , प्रभु को जय होस् , म हिडीहालें |
यसो घडी हेरेको १.०९ | झन्डै २१ मिनेट छ, पुगी हाल्छ नि भन्दै गृहमन्त्रीलाई सूचना दिइ हिडें |
असन देखि नारायणहिटी सम्म, अस्कल पढ्दा १० मिनेट नि लाग्दैनथ्यो | अलि छिटो हिड्न खोज्यो , पाइला न सर्ने बाई .... मान्छे नै मान्छे .. हिड्न खाली जमिन समेत नभेटिने | जमलको आकाशेपुल तल यति पसल कवल निकालिएको छ कि एक व्यक्ति भन्दा बढी हिड्नलाई ठाउँ छैन | सडक चौडा पारेर फूटपाठ यति संघुरिसक्यो कि २ व्यक्ति एकै लाइनमा हिड्न मिल्दैनथ्यो | त्यसमाथि लेभल न मिलेको खाल्डाखुल्डी | हस्यांग फस्यांग गर्दै नारायणहिटी अगाडी केशर महलको गेट मै पुगियो| साढे १ बज्न १ मिनेट बाँकी थियो | सडक काट्न कुरेको कुरेई ... ट्राफिकले हात हल्लाएको छ गाडी, बाइक आएको छ, रोकिंदैन | ट्राफिकले रोक्ने नाम लिदैन मानौं त्यता बाटो काट्न मनाही छ | साढे ४ मिनेट बाछी बल्ल सिट्टी बज्यो.... सिट्टी बजे पछी पनि १० ओटा जति गाडी र ३० जति बाइक ले चानस लिइ हाले |
नारायणहिटी छिर्न अर्को झमेला, बाहिर लाइन नियन्त्रण भन्दा बाहिर जान लागि सकेको थियो | प्रहरीले लाठी बजार्न सुरु गरि सकेको थियो | बल्लतल्ल सोधपुछ बाट नै रमिता म्यामलाई फोन लगाई , पास गलामा झुन्ड्याई भित्र प्रबेश गर्ने साहसिक काम गरियो | रमिता म्यामलाई फोन गर्न एक मिनेट मात्र ढिला भएको भए पासपोर्ट राक्खिएको टोकरी “हारालुछ” सेक्सनमा गैसक्थ्यो|
पुरानो पासपोर्ट दिइ , रद्द गरिएको छाप हाली, निबेदनको तल तिर “ बुझी लिएँ “ भन्ने ठाउँ मा दस्तखत गरी पासपोर्ट बुझी लिएँ |
बाहिर निस्कें, हातमा त्यो पैसा तिरेको रसिद लिएका अघि बिहान ७ बजे देखि भोक प्यास नभनी लाइन बसेका देशका कर्णधारहरु भित्र छिर्न संघर्षरत थिए | अजिबको दृश्य, मानौं- आउ येह युवाहरु, मरुभूमिमा रगत बगाउन सरकारले प्रोत्साहन भत्ता सहितको रोजगारीको ब्यबस्था गरिदिएको छ र आज त्यसको खुशियालीमा नारायणहिटी भित्र भब्य दिवा भोजको आयोजना गरिंदै छ |
क्रमश: