नयाँ नेपालको यात्रा भाग २
मिशन एम आर पी
इअरपोर्ट बाहिर पहिले जस्तो तानातान र हानाहानको
दृश्य देखिएन | आफन्तहरु स्वागतमा २ ओटा निजी कार सहित उपस्थित भएकोले पनि होला
ट्याक्सी संग पहिलो वार इअरपोर्टमा परेन | हुन त इनटरनेट, समाचार र आफन्तहरुको सम्प्रेशनले गर्दा काठमाडौको
भाग्नाबशेष चित्र अनौठो लागेन | बाटो हो कि माटो हो ? खुट्याउन मुश्किल | धुलाम्य सडक र
अटेसमतेस सवारी साधनहरुको जाममय यात्रा
गर्दै घर पुगियो | बिहानको ७.१५ मा अवतरण हुनु पर्ने प्लेन १२ बजे अवतरण हुनु र घर
पुग्दा साढे १ भैसकेकोले बेस्मारी भोक लाग्यो | मिठो भातले मिठो निद्रा लाग्यो.
अमेरिकामा साढे १२ हुँदो हो , नियमित सुत्ने समय |
भोलि पल्ट बिहान ग्वारमरी ब्रेकफास्ट, धीत
मरुन्जेल खाइयो | १० बजे नेपाली चलन अनुसार भात बजाएर पहिलो मिशनमा निस्कें –मिशन
एम आर पी |
सिडियो कार्यालय, बबरमहल हानियो | एम आर पी बनाउने
तरिका भित्ता भरि टाँसीएको पढियो र सो अनुसार कम्प्युटरमा टाईप हानी फोटो खिच्ने
पसलको मेलामा भेला हुन गइयो | द्रुत
सेवामा एम आर पी बनाउने भए रु १० हजार र सात दिन भित्र बन्ने, सामान्य
अवस्थामा रु ५ हजार शुल्क लाग्ने र ६० दिनमा बन्ने जानकारी अनुसार द्रुत सेवाको
लागि भनेर फाराम भरियो | एउटा छुट्टै निबेदन रु १० को टिकेट टाँसी नत्थी गर्नु
पर्ने रहेछ | फोटो खिचेको र फाराम भरेको रु २५० अनि निबेदन ( जो पहिले नै प्रिन्ट
गरिएकोमा नाम मात्र भरेको) को रु पचास | सशुल्क सेवा समापन पश्चात सिडियो कार्यालयमा
लाइन लाग्ने काम सुरु भयो | धन्न त्यो टाईप हान्ने पसलले सानो चिटमा लाइन लाग्नु पर्ने कोठा नम्बर लेखिदिएको
थियो र सजिलो संग कोठा खोज्दै लाइन लाग्न गइयो | १०७, १०३ , १०६ , ३०५, फेरी १०७
कोठा नम्बर | १०७ मा लाइन लागियो , ८-१० जना थियो टाइम लागेन, त्यसको काम के थियो
भने नागरिकता भेरिफाइ गरिदिनु भनेर १०३ लाई तोक आदेश दिनु रहेछ | १०३ सबै कागजात
भेरिफाइ गर्ने कोठा रहेछ | अब्यबस्थित भिड | हराएको नागरिकता देखि अन्य कागजात
भेरिफाइ गर्न त्यै आउनु पर्थ्यो | लाइन लागियो | आफ्नो पालो आउने हैन | धैर्य
गरें| मुश्किल ले झ्यालको मुखै सम्म पुगें , अब त मेरो पालो भनेर त्यो फाराम
तेर्साएको त , मेरो कागज माथि ३-४ ओटा अर्को निबेदनहरु एकमुष्ठ प्वालमा | अब मेरो
धैर्यको बाँध टुट्यो| मेरो हात माथि रहेको
सबै कागज हुर्र्याई दिएँ – “तपाइँ हरु आफ्नो पालो कुर्न सक्नु हुन्न ?? के ताल हो
यो ?” ठिक पछाडीको अधबैशे महिलाले सरि भाइ
, मलाई अलि हतार छ है रे | जुन देशमा
कसैको काम छैन , कुनै काम टाइम मा हुँदैन , त्यै देशमा सबलाई हतारो ??
त्यो सुब्बा साहेबले एक अक्षरको सही धस्काए पछी
भेरिफाइ भयो रे , न त कुनै रेकर्ड फाइल पल्टाई हेर्नु छ न त कुनै सोधाइ नै | यस्तो भेरिफाइ ले बंगलादेशीले मात्र होइन अर्को ग्रहबासिले पनि पासपोर्ट बनाउछ , नेपाल
बाट | फेरी १०६ , अघि १०३ वालाले लेखिदिएको
ठिक छ भनी सहि धस्काउने अधिकृत | त्यसपछि दर्ता गराउनु भनेर तोक आदेश लिन ३०५ ,
तिना तल्ला माथि सहायक सिडियोको कोठामा | लाइन भन्दा नि बेलाइनको भाउ हुने रहेछ
त्यता नि | चिने जानेको कर्मचारी अघि लाएर सही गराउनेहरुको प्राथमिकतामा पहिलो |
फेरी १०७ मा दर्ता गराउन लाइन | पहिलो लाइन पनि
१०७ , अन्तिम लाइन पनि १०७ भएकोले होला
लाइन अलि लामै थियो त्यति बेला | पहिलो काम को लागि लाम लाग्ने समय सीमा सकिसकेकोले
तिनीहरुको काम भएन | किन नहुने , जसरी भए नि गरि दिनु पर्र्यो भनेर किच किच गर्नेहरुको
लर्को| यतिन्जेल त्यो भिडको फाइदा उठाउँदै केही व्यक्तिहरु लाइन भित्र घुसपैठ | एक
जना त मेरै अघिल्तिर |
“महाशय, तपाईंको स्थान यहाँ हैन , लाइनको पुछार
मा जानुस” भनेर सभ्य भाषा मै निस्काशन
गरिदिएँ | सात जुनी सराप्दै लास्टमा गएर बस्यो त्यो महाशय | फाराम र फोटो मा सहि धस्काइ, रेकर्ड राखी नारायण हिटी जानु भनेर एक प्रति फाराम फर्काइ
दिए |
आधा दिनमा आधा काम सकियो, दङ्ग थिएँ | नारायणहिटी
अर्थात परराष्ट्र मन्त्रालय, पासपोर्ट महाशाखा | एम आर पी बनाउने एक मात्र निकाय |
दर्ता समय सकिसकेको थाहा हुँदा हुँदै भोलि आउँदा फाइदा हुन्छ भनेर नारायणहिटी
लागें | गेटमा बसेको प्रहरीलाइ सोधें – एमआरपी दर्ता गर्न के गर्नु पर्छ | प्रहरीले झर्को न मानी बताई दिए – बिहान ५ बजे
सम्ममा टोकन लिइ सक्नु पर्छ र टोकन भएकालाई
बिहान १० बजे प्रवेश गराइन्छ र भित्र दर्ता गर्ने ठाउँमा लाइन बसी आफ्नो पालो आए पछी पैसा तिर्ने र दर्ता
गर्ने |
“अनि बिहान ५ बजे भित्र टोकन लिन कति बजे आउनु पर्ने त “ मैले जिज्ञासा राखी
हालें | टोकन त २-३ बजे तिर बाट दिन शुरु गर्छ, तर लाइन त रातीको नौ बजे देखि नै
लाग्छन –रे |
मलाई लाग्यो मेरो बसको कुरा हैन, जाडोमा राति
९-१० बजे देखि रात भर लाइन लागेर टोकन लिएर दर्ता गराउनु | खुरुक्क दूताबासमा
बनाउन दिएको भए घरै सम्म आइपुग्थ्यो |
गल्तीले मिस्टेक भएछ | तर के गर्ने एम आर पी न बनाइ धरै छैन |
परराष्ट्रले एम आर पी इस्स्यु गर्न थालेको बर्ष
दिन बित्दा नि , आफ्नो क्षमाता बिस्तार नगर्नु, ब्यबस्थापकीय सुधार नगर्नु भनेको आम जनाता प्रति उदासिन सरकार र कर्मचारी हुनु हो
| दैनिक माग झन्डै ५-७ हजार भए पनि २ हजार मात्र पासपोर्ट बनाउन सक्ने भएकोले २४ औ
घण्टा नारायणहिटी मा भिड भाको हो |
हामी डब्बल दस्तुर तिरी बनाउने र काठमाडौ बाहेक देश
भरिकाले आबेदन दिने ठाउँ एकै ठाउँमा राखिनु अर्को अब्यबस्था हो | सके सम्म नियम कानूनमा चल्ने मान्छे म , आज बेनियम
मा चल्न फोन घुमाउन थालेको छु | जसो तसो नारायणहिटी प्रबेशिन र दर्ता स्थल सम्म
पुग्ने ब्यबस्था मिलाइयो | यसमानेमा मैले बेइमानी गरेको हु |
दर्ता स्थल रण भूमि जस्तो थियो – मान्छे नै
मान्छे ... धुलो ..| लाग्छ देश छोड्न अधैर्यपूर्बक बसेका युवाहरु | मानौ यो देशमा
एउटा भयानक प्रलय आउदै छ र छिटो भन्दा छिटो देश छोड्ने अनुमतिको लागि अनुनय बिनय
गर्न नारायणहिटी जम्मा भएका छन् |
म पनि तिनै मदनवा र च्यांग्बाहरुको लाममा
बेइमानी रुप लुकाएर बसें. एक डेढ घण्टा लाम लागियो | टाइम टाइम मा पुलिसले लट्ठी
बजार्थ्यो | बिचरा मदनवाहरुले न त नेपाली राम्रो संग बुझ्थ्यो न त बोल्न नै
सक्थ्यो | त्यै भएर बेला बेला मा प्रहरीको आदेश को अबज्ञा हुने रहेछ | अनि लट्ठी
बजार्ने देखि लिएर नराम्रो संग शारीरिक एवं मौखिक झपार खानु पर्थ्यो | म पनि एक
जना मदनवा मै गनीए | पालो आयो दर्ता भयो | पैसा तिरियो | ७ दिन पछी पासपोर्ट लिन
हाजिर हुन फरमान जारी गरिएको कागज लिएर बिजयी भावमा घर फर्कें |
क्रमश :