Posted by: fucheketo March 21, 2013
मैले सुनेको अन्तिम कथा
Login in to Rate this Post:     0       ?        
 Sahili and deported thank you 

अन्तिम भाग


"मलाई थाहा थियो तँपाइ आउनुहुन्छ आजै भन्ने!" उसले मलाई हेरेर मुस्कुरायो।हो उसलाई सवै नै थाहा छ। मलाई रिस उठ्यो, कहिलेकाहिँ आकर्षण चाहेर हुँदैन, मात्र एकोहोरो एउटा वाटोमा लागिन्छ, आँखा चिम्लेर, वाटोमा भएका खाल्टा खुल्टीमा खुट्टा मर्किन्छ, तर मर्किएको पिडा त्यो वन्द मस्तिष्कले भोग्दैन किनकी उसले चिम्लेका आँखाले लक्ष देखेको हुन्छ। मलाई त्यो कथाले वाँधेको थियो। मायावाट भाग्ने गरी! आफ्नी माया सितको मायामा पनि मलाई आजकल विश्वास लाग्न छोडेको छ। हो उसले भनेको ठिकै हो, माया यति कमजोर हुँदैन!

मैले उसलाई आग्रहि आँखाले हेरि मात्र रहेँ। म चाहन्न म उसलाई मेरो विवशता सुनाउँ। उसको कथा प्रतिको मेरो आशक्ति देखाउँ। अनि विरामी मलाई मेरो रिपोर्ट भन्दा पनि उसको आज मेरो कारागारमा भएको अन्तिम दिनको चिन्ता वढी भएको देखाउँ।

"सिताको कपाल लामो थियो, कालो वादल जस्तो, उसको कपाल उसको कम्मर सम्म झर्थ्यो। उ पानी लिन जव जव त्यो उकालो ओरालो गर्थी,रातो धागो र कालो कपाल एक आपसमा इत्तरिँदै जिस्किरहे जस्ता लाग्थे। " उसले खुइय सुस्केरा काड्यो , अनि फेरि शुरु भयो।

मैले एकदिन उसले पानी लिन जाँदै गर्दा दुइ जना केटाहरुले उसलाई लुकेर हेरिरहेको देखेँ, अलिकति गाइँगुइँ पनि सुने ।दुवै आफु आफु गफ गर्दै थिए, तर मैले सुन्न भ्याएँ निष्कर्ष भने" सिता जति वैँशालु कोहि छैन !" हो मलाई पनि त्यस्तै लाग्थ्यो । तर सत्य पनि त कसको मुखवाट सुन्दा उत्कृष्ट सुनिन्छ र कसको मुखवाट सुन्दा कुरुप हुन्छ भन्ने रहेछ। त्यो दिन त्यति सुन्दर सत्य कुरुप वनेको थियो। मैले रातभर सोचेँ। सिता खाटको कुनामा थोरै ठाउँमात्र लिएर सुतेकी थिई। उ खाटमा खुम्चिन थालेकी थिई। कहिलेकाहिँ मलाई लाग्थ्यो, उ मसँग डराउन थालेकी छे । मलाई नैतिक देख्दिनथी शायद उ,त्यो उसको नजर पनि ठिकै हो हुन त । म भोगि वनेको थिएँ। उ सँधै मेरो भोगको विषय होस् भन्ने चाहन्थेँ। उसलाई विच विचमा मैले नियाँलेको थिएँ। उसको गोरो अनुहार, उसको त्यहि कालो कपालले छोपेको थियो। छोपिएका वस्तु लाखका हुन्छन् , देखिएपछि न हो मोल घट्ने,कौडिमा विक्ने !मैले निष्कर्ष निकालेँ,सिताको वैँश वैँशालु देखिनुमा त्यो कपालको धेरै ठूलो हात थियो।त्यहि कपाल रातमा उसको अनुहारलाई हेरिरहुँ लाग्ने घुम्टो वन्थ्यो, उ पल्टिँदा अस्तव्यस्त भएर लठारिन्थ्यो उसको शरिरमा! त्यहि कपाल दिउँसो उ हिँड्दा कम्मर मा ठोक्किएर एउटा संगित वनाउँथ्यो।मादकता थप्थ्यो उसमा!"
उसको विराम मैले सहन सकिन । सिताले मलाई तानेरै छोडी।
"अनि ?" व्यग्र भएर मैले प्रश्न राखेँ।
"विहान सिता उठ्ने वित्तिकै उसको कपाल काट्न लगाएँ। उसले आँखा भरी आँशु पारेर कपाल काटी अरे! त्यो कपाल कसैलाई यति राम्रो लाग्यो कि शहरमा मोल पाउने आशमा त्यहि समय विक्री भयो अरे!!!"
उ चुप भयो।मैले आफ्नो गलेको आँखाले उसको आँखामा पश्चाताप हेर्न चाहेँ। अहँ थिएन , त्यहाँ पश्चाताप थिएन। छाति पोल्यो मेरो, लाग्यो सिता म सँग निसाफ माग्दै छे। तर म पनि त अमुक छु , म मात्र प्रश्न राख्न सक्छु , उसलाई सजाय दिन सक्दिन !
"किन आखिर?यति दानविय मान्छे मैले देखेको छैन !"
"शक्ति भएकालाई त जसले पनि दानव भन्छ!"
"वा, दानव नै सँधै शक्तिमा हुन्छ, कम्तिमा यहाँ ,अहिले !!" 
"मलाई दानव भन्ने भए म यो कथा यहिँ रोक्छु, किनकि लगाम म सँग छ, तँपाइको पनि !" उ दानवी हाँसो हास्यो।
"भयो ! भन्दिन अव, म कथामा निरन्तरता चाहन्छु !" आज यो कथा सिद्दिएपछि धक फुकाएर सुत्नुछ ।घाम वरण्डामा नआउन्जेलसम्म मैले मनमनै सोचेँ। 
"त्यो दिन मेरो मनमाँ अचम्मको सत्य वस्यो,म वाँच्नलाई शक्तिमा हुनलाई सिता कुरुप भइरहनु पर्छ, जुन दिन उ सुन्दर देखिन्छे , मेरो लगाम छुट्नेछ!"
स्वार्थ को पराकाष्ठा! तर उसले मलाई मुक वस्नु भनेको छ! मैले टेर्नुपर्छ ! नत्र उसले कथा भन्नेछैन। हो उ शक्तिशाली छ। पर्खालका विचमा पनि स्वच्छन्द छ। उसका शव्दजाल मलाई यसरी वाँध्छन् कि उसका कुकृत्य म विर्से जस्तो गर्छु।आँखा चिम्लन्छु , मात्र कान खोल्छु।
"मैले सिताका विक्री हुने अंग अंग छुट्याएँ , विक्री हुने विक्री गरेँ, नहुने सडाएँ! हो मैले सिताको हत्या गरेँ! तर यहि चलिरहेको छ,शक्ति हत्यामै जन्मिन्छ! उ कमजोर थिइ ,तँपाइ पनि !!! ल अव म उठेँ ,मैले वाहिर जानु छ ! यो कारागार मेरो लागि होइन ! " 
"कता हिँडेको ?" म चिच्याएँ" कारागारवाट वाहिर निक्लिन दिन्न म, तँ निस्किन पाउँदिनस् !" भन्ने रहर थियो मेरो! तर अचानक स्वर भाँस्सियो। मेरो छातिवाट मुटु झिकिए जस्तो लाग्यो। म भुइँमा ढलेँ। धमिलो आँखाले उसलाई हेरेँ। उ वाहिर निस्किँदै थियो, एउटा अट्टाहस छोड्दै। मेरो आँखा धमिलिँदै गयो, हात गोडा स्थिर भए।

समाप्त
 
Read Full Discussion Thread for this article