Posted by: KishorLimbu October 15, 2011
हिन्दी अतिक्रमणमा नेपाली कलासंस्कृति
Login in to Rate this Post:     1       ?         Liked by

-किशोर लिम्बू

लामो समय देखि  मुम्बई चलचित्रहरुको प्रभावले नेपाली भाषा र संस्कृति लाई आफ्नै सिमा भित्र ग्रहण लगाई दिएको छ |हिन्दी संक्रमण ले नेपाली संगीत र चलचित्र क्षेत्र लाइ तहस नहस नै गरिदिएको छ |  पछिल्लो दशकमा  नेपाली चलचित्र हरु को संख्यात्मक बृद्दी भए पनि गुणस्तर हिन प्राय छन् | नेपाली कला क्षेत्र संग सम्बन्धित धेरै कलाकार हरु बिदेसिन बाध्य भएका छन् |झन्डै ३ करोड जनसंख्या भएको गणतान्त्रिक नेपाल को लागि राष्ट्र भाषा मानिएको नेपाली भाषा बोल्ने नेपालीहरु नेपाल बाहेक बिदेशमा पनि ठुलो संख्या मा छन् | तर बिडम्बना नै भन्नु पर्छ नेपाली मौलिक कला र संस्कृति  नेपाल भित्र नै उपेक्षित्  हुन पुगेको छ | हिन्दी गीत र चलचित्र हरु नेपालमा प्लेगको  जीवाणु भएर भित्रिएको छ | समय छदै उपचार नगरे हिन्दी  संक्रमणले  नेपाली राष्ट्र भाषा र  नेपाली  हरुको मौलिक संस्कृति हरुलाई आर्यघाट पुर्याएर नै छाड्ने छ |

पछिलो दसक मा नेपाली भाषा  र  कला क्षेत्र को हरिबिजोक देख्न नेपाल गए हुन्छ | जुन सुकै रेडियो  खोले पनि हिन्दि गीतहरु बजी रहेको हुन्छ,टेलिभिजनहरुमा त झन हिन्दी सिरियल हरुको को बाढी नै आउदो रहेछ |नेपालको प्रमुख पत्रपत्रिका मा पनि हिन्दी सिनेमाको कलाकार हरु को अजङ्ग को तस्बीर छापिदो  रहेछन | नेपाली कलाकार हरुको सानो पासपोर्ट आकारको फोटो पत्रिकाको एउटा कुनामा राखेर कहिले काही छाप्दा रहेछन | जस्तै केहि महिना अगाडी ऐस्वार्य राय गर्भवती भएको समाचार  नेपाल को पत्रपत्रिका हरुले  प्रमुखताका साथ छापे | नेपाली कलाकर्मी र संगीतकर्मी हरु ले आज सम्म पनि आफ्नो पेशागत क्षेत्रमा भएको हिन्दी अतिक्रणको बिरोध मा कुनै आवाज उठाएको थाहा भएन | नेपाली कलाकार हरुको यो मौनता कि त उनीहरुमा चेतनाको कमि रहेर हो  वा उनीहरु आफै हिन्दी फिल्मका कलाकार हरुको नक्कल गर्दैमा फुर्सद नभएर हो अहिले भन्न सकिएन | नेपालमा भई रहेको  हिन्दी फिल्म र संगीत को एकाधिकार  नियन्त्रण गर्नसकेमा नेपाली कलाकारहरुले कला क्षेत्र मा आफुलाई पूर्ण रुपले समर्पित गर्न सक्ने थिए अनि स्तरीय नेपाली चलचित्र,गीत संगीतहरुको सिर्जना गर्न सक्थे | नेपाली कला क्षेत्र को विकास भए नेपाली कलाकार हरुले  आर्थिक रुपमा  मा सबल बन्न को लागी अन्य  ब्यबसाय हरुको भर पर्नु पर्ने  थिएन| केहि अपवाद लाइ छाड्ने हो भने अझै पनि नेपालका कलाकार हरु कला क्षेत्रका अलावा कुनै न कुनै अरु ब्यबसाय संग सम्बन्धित छन् |

 

नेपालका प्रत्येक चोक देखि बिदेशमा बस्ने नेपालीहरुले गर्ने सांस्कृतिक कार्यक्रमहरुमा  हिन्दी गीत नबजाए नेपालीहरुको जात जान्छ | नेपालमा गएकोबेला यस्तै भीड हरु देखि भाग्न अन्नपुर्ण को ट्रेकिंग गएको थिए | तर हिमालको काखमा रहेको  ससाना होटेल हरुमा पनि हिन्दी गीतहरु नसुनी नसक्दा रहेछन | हुनपनि कोक्रो देखिनै  हिन्दी गीत घोकाएर हुर्काईएको नेपालीहरु को बानि छुटाउन त्यति सजिलो छैन | नेपालीहरु आफै हिन्दी गीत नसुनी र हिन्दी फिल्म नहेरी सक्दैनन अनि इन्डियन हरुलाई “धोति ”भनेर गाली गर्न पनि छाड्दैनन | यसमा इन्डियालाई मात्र किन दोष दिने होइन र ? नेपाली हरुको हिन्दीकरण गर्ने सबै भन्दा प्रमुख जिम्मेवार निकाय भनेको नेपालको  प्रधान मन्त्रीको कार्यलय र संचार मन्त्रालय नै हो |  हिन्दी  फिल्म ,च्यानल र  संगीत हरु निर्वाद रुपमा भित्र्याउने राष्ट्रघाती नीति,नियम हरुको जतिसुकै निन्दा गरेपनि कम हुन्छ | राष्ट्र भाषा नेपाली को अस्तित्व लाइ नै चुनौती दीने यस्ता कार्य हरुको अझ सम्म बिरोध भएको कहिँ सुनिएको छैन |नेपाली कलाकार हरुले बनाएका बिरलै फिल्म हरुले जेनतेन आफ्नो लगानी उठाउछ | नेपाली संगीत कर्मी हरुले  निकालेका सिडी हरु बजार मा पुग्दा नपुग्दै इन्टरनेट बाट डाउन्लोड भै सक्छ | तर हिन्दी फिल्मी उधोगहरुले फिल्म,टि.भी र  संगीतका मध्यम बाट बार्षिक रुपमा  गरिब नेपालीहरुको  अरबौ रुपैया लुटिरहेका छन् |  त्यसमा अझ दुख को कुरो त हिन्दी फिल्महरु ले ल्याएको सामाजिक बिकृति हरु ले नेपाली समाजलाइ प्रत्क्ष्य -अप्रत्क्ष्य रुपले प्रभावित गरेको छ | नेपालमा बढेको हत्या ,हिंसा,अपहरण ,बलत्कार र  ठगि का घटना हरुको को चरम उदण्डताका दोषारोपण  माओबादीलाइ मात्र दिएर हुदैन | यसका अलावा हिन्दी फिल्महरुले झुट,आडम्बर,कपट कसरी गर्नु पर्छ भन्ने चाणक्य नीतिको पाठ पनि  नेपाली हरुलाई राम्ररी पढाई रहेको छ | मध्य नब्बे को दसक सम्म आफुले  पनि हिन्दी फिल्म हेर्ने गरिन्थ्यो तर जुन फिल्म हेरे पनि झुटो बोल्ने,अरुलाई ठग्ने र केटि भगाउने देखि अरु कुरा कहिले देखाएको पाईएन | उसैबेला देखि हिन्दी फिल्म प्रतिको मेरो मोह भङ्ग भयो | कहिले  काही त इन्डियाले दाबि गरिरहेको  चर्को आर्थिक वृद्धिदर पनि कतै प्रचारबाजी मात्र हो की जस्तो लाग्छ  | इन्डिया को उच्च आर्थिक वृद्धिदर अमेरिका को इनरोन ( Enron ) को जस्तो नहोस भने कामना छिमेकि भएको नाताले हामी सबै नेपाली हरुले गर्नु पर्छ |

तथाकथित प्रजातन्त्र को सुरुवात सगै भीत्रिएको बिदेशीको संस्कृतिको  ”सभ्य”अनुसरण ले नेपाली जीवन शैली लाइ  खिचडी बनाई दिएको छ | इन्डियन जीवनशैली नेपाली समाजमा भीत्रिए पछी नेपाली हरुको जीवन शैली ऊंट (camel) जस्तै भएको छ (ऊंट को कथा थाहा नभए पछी लेखौला ) | उसै पनि मुम्बैया संस्कृति ले  नेपाली भाषा र जीवन शैली लाई नराम्ररी गाजेको छ | यति सम्म कि नया पुस्ता का युवा हरु  नेपालीपन  र  इन्डियनपन मा फरक  छुट्टयाउन  असमर्थ देखिन्छन | हाम्रा नया पुस्ताका युवाहरु पहिचान संकट (identity crisis ) भोगिरहेका छन् र आउने दिन हरुमा यो अझ बढ्ने देखिन्छ | उच्च शिक्षा का लागि बिदेशिएका नेपाली हरुहुन् वा  रोजगारको शिलशिला मा बिदेसिएको नेपलिहरुहुन उनीहरु हिन्दि गीत र फिल्म लाइ अलग राख्न सकेको देखिदैन |नेपाली हरु जहासुकै गएपनि इन्डियन हरुको फिल्म हेरेर होस् वा  फेयर एंड लब्ली  घसेर होस् ,भारतीय हरुको व्यापार ब्यवाशय बढाउन भूमिका खेलिरहेको हुन्छ |  पहिरनकै कुरा गरेपनि नेपाली गुन्युचोली र  दौरासुरुवाल नेपाली पहिरन हुनुपर्छ भनेर कुर्लिन्छंन तर उनीहरुनै इन्डियन कुर्ता सुरुवाल लगाऊछन् | नेपाली पुरुष हरुपनि मुम्बई का अभिनेता को पहिरन को अनुसरण गर्छन र केहिले  संवाद पनि फिल्मी शैली मै बोल्छन | नजानेर भएपनि “खाता है ,जाता  है “  भनि हाल्छन |इन्डियन हरु को भाषा र पहिरन नेपाली हरु आफै अनुशरण गरेपछि  धेरै नेपालीहरुलाई आफुलाई इन्डियन र नेपाली बिचको भिन्नता छुट्याउन गार्हो भएको देखिन्छ | यसरि नेपालीपन र नेपालीमन को उपहास भइरहेको छ  अनि  नेपालीहरुको मौलिक संस्कृति र पहिचान माथि प्रश्न चिन्ह खडा भएको छ |

नेपालीहरुको जीवनशैली लाइ खिचडी  बनाउने अर्को पक्ष पाश्चात्य संस्कृति पनि हो | नेपालीहरुको दरिद्र मानसिकताले कुइरे भने पछि उसको खुट्टा मा टाउको बजारी हाल्छ| कति मित्र हरुले त मेरो कुइरे केटि /केटा  साथि छ भनेर धाक लगाएको यहि पापी कान ले सुन्नु परेको छ | इन्डियन हरुले  जति चोटी थाङनामा सुताए पनि हिन्दी  फिल्महरु  नहेरी  र हिन्दी गीतहरु नसुनी खाएको नपच्ने नेपाली हरुलाई कुइरे को जीवन शैलीले  आकर्षण नगर्ने कुरै भएन | नेपाली बुज्रुक हरुलाई लागेको होला कि सायद  रात्री जीवन ,पार्टी ,डिस्को जस्ता बिदेशी संस्कृतीहरु  नेपाली समाजमा भित्राए पछि गहुगोरो र कालो बर्णको नेपाली हरुपनि कुहिरे भई हाल छन् भनेर | त्यसको नतिजा हेर्न चाही समयलाई कुर्नु बाहेक अर्को विकल्प छैन | एक राते माया लाउने,  नाङ्गो नाच नाच्ने,बार र डिस्को  धाउने  कुनै पनी नेपालीहरुको मौलिक संस्कृति होइन तर आधुनिकता का नाम दिएर  बैधानिक डाका हरुले  नेपालमा  यस्ता बिकृति हरुलाई बैध गराएर दिर्घकालिन रुपमा नेपाली संस्कृति र जीवनशैली को मौलिकता र बिशिसठता माथि कुठाराघात गरेका छन् | हिन्दी रंगिला को "यायी रे..."  देखि  "मुन्नी बद्नाम हुइ…."  सम्म आई पुग्दा आधुनिक भट्टी उर्फ बार र डिस्को हरुमा केहि नेपालीहरुको  जीवन रंगिए पनि धेरै लाइ बद्नाम गराएको हुनुपर्छ | कथित “सभ्य”संस्कृति ले हजारौ निम्न वर्ग का महिला हरुलाई नगरबधु बनाइएको छ र हजारौ युवा हरुलाई अबैध लागुपदर्धको कारोबार  अन्य  जघन्य अपराध गर्न  प्रेरित गराएको छ  किनकी  रक,पप,रयाप र हिप्पप संगीत मा  ताल मिलाएर आधुनिक हुने चाहना उनीहरुमा पनि हुन्छ |

अन्तमा,नेपाली कलासंस्कृति र नेपाली जीवनशैली माथिको अतिक्रणको  जिम्मेवार  हामी स्वयम नेपालीहरु  हौ | नेपालीकला र  संस्कृति अहिलेको दुरावस्था मा पुर्याउने नेपाल सरकारको नीति नियम हरु परिबर्तन नगरे सम्म नेपाली कला क्षेत्र र कलाकार हरुको भबिस्य उजव्ल देखिदैन | नेपाल भित्रका बिबिध मौलिक संस्कृतिहरु,नेपाली राष्ट्र भाषा र  नेपाल भित्र बोलिने अन्य राष्ट्रिय भाषाहरु  को सम्रक्षण गर्न सके भावी पुस्ता हरुले  आफ्नै मौलिकतामा गौरव गर्न सक्ने छन | उनीहरुको पहिचान मा कसैले औला ठहर्याउने मौका पाउने थिएन | मेरो आशय यो होइन कि हिन्दी फिल्म लाई बन्देज नै गर्नु पर्छ | शिक्षाप्रद र सकारात्मक संदेश सम्प्रेषण गर्ने जुनसुकै देशको फिल्म लाई पनि रोक लगाउनु  हुदैन तर समाज मा बिकृति फैलाउने फिल्म,संगीत र जीवन शैलीलाई अब नरोक्ने हो भने नेपाली हरुको अस्तित्व निकट भबिस्यमा संकट मा पर्ने दखिन्छ |




http://www.nepalinagrik.com/

Last edited: 19-Oct-11 03:18 AM
Read Full Discussion Thread for this article