Posted by: _____ June 28, 2011
केही चर्चित मधेशी पहाडी जोडी
Login in to Rate this Post:     0       ?        

केही चर्चित मधेशी पहाडी जोडी
सुरेशकुमार यादव
 
 
 
मधेस आन्दोलनपछि आएका परिवर्तनले मधेसी र पहाडीबीचको सम्बन्धमा केही तिक्तता ल्याएपनि मधेसका केही ‘टप लिडर’ हरूले मधेस आन्दोनलअघि नै पहाडी समुदायसँग विशेष सम्बन्ध स्थापित गरीसक्नु भएको थियो । मधेसमा भएको शान्तिपूर्ण र सशस्त्र आन्दोलनले मधेसबाट थुप्रै पहाडी समुदायहरू विस्थापित भएपनि त्यसले त्यो ‘विशेष सम्बन्ध’ अर्थात वैवाहिक सम्बन्धमा कुनै असर पारेको छैन् । मधेसवादी तथा अन्य दलका स्थापित नेताहरूले मधेसको राजनीति गरेपनि पहाडी समुदायकी महिलासँग विहे गरेर राष्ट्रिय एकता तथा विभेदपूर्ण राष्ट्रको सन्देश दिनुभएको छ । जतिजना मधेसी नेताहरूले पहाडी समुदायकी महिलासँग विहे गर्नुभएको छ ती सबैले मन पराएर नै गरेका छन् । मधेसको सँस्कृति अनुसार छोरा वा छोरी विवाह गर्न लायक भएपछि केटा पक्षबाट केटीको घरमा वा केटीको पक्षबाट केटाको घरमा अभिभावकहरूले हेर्न जान्छन् र विवाहका सबै कुराहरू मिलाएर अनुसार नै विहे हुन्छन् । केटी वा केटाले एकअर्कालाई हेर्ने आवश्यक पनि हुँदैन तर यी मधेसी नेताहरूले अभिभावकलाई जानकारी नै नदिइकन आफूले मन पराएर विहे गरेका छन् ।
यसरी पहाडी महिलासँग विहे गर्नेहरूमा मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) का अध्यक्ष जयप्रकाश गुप्ता, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदार, महासचिव जितेन्द्र देव, तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष ह्रृदयेश त्रिपाठी, अर्का उपाध्यक्ष बृषेशचन्द्र लाल र महामन्त्री सवेन्द्रनाथ शुक्ला, नेपाल सद्भावना पार्टी (आनन्दी देवी) का अध्यक्ष सरिता गिरी रहनु भएको छ । ह्रदयेश त्रिपाठी बाहेक विवाह गर्नुअघि मधेसवादी दलमा कोही पनि सहभागि थिएन ।
त्यसैगरी एमाओवादीका पोलिट ब्यूरो सदस्य विश्वनाथ साह, केन्द्रीय सदस्यहरू रामकुमार शर्मा र एमालेका केन्द्रीय सदस्य वंशीधर मिश्र, माले (संयुक्त) गणेश साहले पनि पहाडी समुदायकी महिलासँग विहे गर्नुभएको छ ।

source: http://www.gorkhapatra.org.np/detail.php?article_id=52490&cat_id=22

 यी मधेसी नेताहरू मध्ये एकआध बाहेक सबैले पहाडी महिलासँग प्रेम विवाह नै गर्नुभएको छ । कतिले पार्टीको काममा खटिएको बेला भेटघाटको क्रममा प्रेम हुँदा, कतिले पढ्दा पढ्दै कोही पढाउँदा पढाउँदै, कतिले बाटोघाटोमा चिनजानले प्रेम गरेर विवाह गर्नुभएको छ । नेपाली काङ्ग्रेसबाट राजनीति सुरू गर्नुभएका मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) का अध्यक्ष जयप्रकाश गुप्ताले मोरङ्ग उर्लावारीका सरस्वती पुरीसँग २०४५ सालमा विहे गर्नुभयो । काठमाडौमा नेविसङ्घको केन्द्रीय राजनीतिमा सक्रिय गुप्ताले राजनीतिकै क्रममा पुरीलाई मन पराउनु भएको थियो । मोरङबाट विद्यार्थी राजनीतिमा सक्रिय भएर राजधानीको पदम् कन्या क्याम्पसमा पढ्दा पनि पुरी विद्यार्थी राजनीतिमा सक्रिय हुनुहुन्थ्यो र सोही सक्रियताको कारण गुप्ताले पुरीलाई मन पराउनु भएको थियो । दुईजना बीचमा भएको प्रेमका चर्चा अरू साथीहरूमा पनि हुन थाल्यो र अन्ततः साथीहरूको सक्रियतामा नै गुप्ता र पुरी बीच विहे भयो । दुईजनाको विवाहप्रति गुप्ता परिवारका सदस्यहरू खुशी थिएन । हुनत गुप्ताका काकाका छोराले पनि पहाडी महिलासँग विहे गर्नुभएको कारणले परिवारमा त्यस कुरालाई मिसाउन धेरै समय लागेन ।
  गुप्ता मधेसको राजनीतिमा लागेपछि पुरीले त्यसको बारेमा कहिले कुनै गुनासो गरिनन् । बरू यस प्रकारको अधिकारको लडाईका कारण अरू समुदायहरू अधिकारबाट बन्चित रहनु हुँदैन भने उहाँको ठम्याई छ ।
  वामपन्थी आन्दोलनबाट राजनीति शुरू गर्नुभएका लोकतान्त्रिक फोरमका महासचिव जितेन्द्र देव नेवार थरकी सन्ध्यासँग विवाह गर्नुभएको छ । दुवैजना विद्यार्थीकालमा वामपन्थी राजनीतिमा सक्रिय रहनु भएको बेला दुवैजनाबीच प्रेम भएको थियो । पुराना वामपन्थी नेता विष्णु मानन्धरका भान्जी सन्ध्यासँग २०४२ सालमा नयाँ वर्षको उपलक्ष्य पारेर भद्रकाली मन्दिरमा विहे गर्नुएको थियो । विहे भएको केहीदिनमै १० महिनाको लागि नेता देवलाई जेल बस्नु परेको थियो ।  देव जेलमा गएपछि नव विवाहिता सन्ध्यामा कुनै किसिमको विचलन आएन र उहाँ नियमित रूपमा जितेन्द्र देवलाई भेट्नका लागि जेलमा जानु हुन्थ्यो । विद्यार्थी जीवनमा राजनीति गर्नुभएका सन्ध्या समाजशास्त्र र अर्थशास्त्रमा एमए गर्नुभएको छ ।
 काँग्रेसबाट राजनीति सुरू गर्नुभएका फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले युवा अवस्थामा नेवार समुदायकी निर्मलासँग विवाह गर्नुृभएको छ । प्रेमको अवस्थामा नै राजनीति बन्दीको रूपमा गच्छदार जेल पर्नुभएको थियो । गच्छदार जेल परेपछि प्रेममा लठिएका निर्मला निकै छट्पटिनु भएको थियो र गच्छदारलाई जेलसम्म पनि भेट्न जानु हुन्थ्यो । दुईजना बीच जेलमा निरन्तर भेटको बारेमा निर्मलाको परिवारले जानकारी पाइसकेका थिए र त्यसपछि निर्मलालाई भेटघाट गर्नका लागि बन्देज गराइएको थियो । त्यसकारणले गच्छदार पनि जेलमा निकै छटपटिनु भएको थियो । गच्छदार जेलबाट रिहाई हुने बित्तिकै निर्मलासँग विवाह गर्नुभएको थियो । काँग्रेस छाडेर मधेस आन्दोलनमा सक्रिय भएका गच्छदारबारे निर्मलाको कुनै प्रकारको गुनासो छैन ।
  शुरूदेखि मधेस आन्दोलनमा सक्रिय तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष हृदयेश त्रिपाठीले पनि पहाडी समुदायकी शोभा कँडेलसँग विहे गर्नुभएको छ । राजनीतिकै क्रममा त्रिपाठीले आफ्नो सहकर्मीको डेरामा आउने जाने गर्दा शोभासँग चिनजान भएको थियो । उहाँ निकट एक नेताले भने शोभाको घरमा एक नेता बस्थे त्यही नेता कहाँ त्रिपाठी जी आउँदा जाँदा शोभासँग नजर मिलेको थियो र त्यो पछि गएर प्रेममा परिणत भएको थियो । त्यसबेला त्रिपाठी र शोभाको प्रेमको चर्चा पार्टी भित्र निकै चलेको थियो र चर्चै चर्चाको बीचमा सो प्रेम २०४२ सालमा विवाहमा परिणत भएको थियो ।
  नेपाल सद्भावना पार्टी (आ.) कि अध्यक्ष सरिता गिरीले पहाडी समुदायका लक्ष्मण गिरीसँग विहे गर्नुभएको छ । भारतकी सरिता गिरीले तुलसी गिरीको भतिजो लक्ष्मणसँग मागि विवाह गर्नुभएको छ ।
  एमाओवादीका पोलिट ब्यूरो सदस्य एवं शान्ति तथा पुनः निर्माणमन्त्री विश्वनाथ साहले पनि तनहुँकी सीता पोखरेलसँग प्रगतिशील विवाह गर्नुभएको छ । तत्कालिन जनमोर्चाको पार्टी कार्यक्रममा हिँड्दा सीतासँग चिनजान भएको थियो । त्यो चिनजान प्रेममा परिणत भएपछि यसको चर्चा पार्टीमा चल्न थालेको थियो । सविधानसभाका सदस्य रहेकी सीता पोखरेलसँग विश्वनाथ साहको विवाह नेता लिलामणि पोखरेल र वामपन्थी लेखक श्याम श्रेष्ठको उपस्थितिमा भएको थियो ।
माओवादीबाट मधेसको राजनीतिमा र पछि पुनः माओवादीमा फर्किनु भएका नेता रामकुमार शर्मा पनि पहाडी समुदायकी इन्दुसँग विहे गर्नुभएको छ । नेता शर्मा जागिरमै हुँदा इन्दुको घरमा आउने जाने काम गर्नुहुन्थ्यो र त्यही आउने जाने क्रममा इन्दुसँग उहाँको चिनजान भयो । रामकुमारलाई पहिलादेखि नै जातिय र वर्गीय आन्दोलनमा सहयोग पुग्ला भनेर अन्तरजातीय विवाह गर्ने सोच बनाएका थिए । इन्दुसँग चिनजान भएपछि नेता शर्माले विहे गर्नुभएको थियो । नेता शर्माले इन्दुसँग विहे गर्दा घरमा आमाबुवाले त्यसलाई स्वीकार गर्नुभएको थिएन पछि सहज हुँदै गएपछि घरका मान्छेले स्वीकार गरे त्यसपछि राजनीति अवस्थाका कारण भारतको प्रवासमा बस्ने अवस्था सृजना भयो ।
  अर्का एमाओवादी नेता एवं पत्रकार रामरिझन यादव पनि पहाडी समुदायकी महिलासँग विहे गर्नुभएको छ । नेता रामरिझन यादवले मोरङ्को महेन्द्र मोरङ्ग क्याम्पसमा अध्यापन गराउँदा सोही क्याम्पसमा पढ्दै गरेकी लक्ष्मी अधिकारीसँग यादवको प्रेम भएको थियो र पछि सोही प्रेम विवाहमा परिणत भयो ।
  एमालेका नेता वंशीधर मिश्रले पनि पहाडी समुदायकी दुर्गा खड्कासँग विवाह गर्नुभएको छ । नेता मिश्र शिक्षण अस्पतालमा एमविविएस पढ्दा त्यही स्टाफ नर्स पढिरहनु भएकी दुर्गसँग मिश्रको चिनजान भएको थियो । सो प्रेमलाई दुबैजनामध्ये कसैको परिवारले पनि स्वीकार गरेको थिएन  । प्रेमको बाधक उहाँहरूको परिवार भएपछि मिश्रले दुर्गासँग २०४४ सालमा विहे गर्नुभएको थियो । विहे गरेपछि उहाँहरूले छ महिनासम्म परिवारबाट टाढा बस्नुभएको थियो ।
  नेपाल कम्यूनिष्ट पार्टी (संयुक्त) का नेता गणेश साह पनि पहाडी समुदायकी महिला कल्याणी साह (शर्मा) सँग विवाह गर्नुभएको छ । नेता गणेश साहले अस्कल क्याम्पसबाट साइन्स र कल्याणीले त्रि–चन्द्रबाट आइकम पढी थप अध्ययनका लागि मास्को विश्वविद्यालयमा पढ्न जानु भएको थियो । काठमाडाँैमा पढ्दा दुवैजना बीचमा चिनजान थिएन । मास्कोमा अध्ययनरत रहँदा कार्यक्रमहरूमा भेट्घाट हुँदा दुुवैजनामा प्रेम भएको थियो । प्रेमपछि दुवैजनाले विवाह गर्नुभयो । विवाह भएपछि पनि उहाँहरूको घरपरिवारले स्वीकार गरेका थिएन, पछि उतै कल्याणीले बच्चा जन्मिएपछि बल्ल उहाँका परिवारको मन पग्लियो र उहाँहरूलाई स्विकार गर्न बाध्य भएको थियो ।

Read Full Discussion Thread for this article