Posted by: _____ May 11, 2011
Lets voice against the corrupt bankers of Nepal Share Market and Finance (NSM)
Login in to Rate this Post:     0       ?        

सेयर मार्केट्स फाइनान्समा दुई अर्बभन्दा बढी हिनामिना

Font size: Decrease font Enlarge font
image

परिवारका सदस्यलाई पनि कारबाही गर्ने राष्ट्र बैंकको निर्णय | श्रेष्ठले दुई अर्ब कहा लुकाए अथवा लगानी गरे ? अनुसन्धान हुादै छ | श्रेष्ठको चल-अचल सम्पत्ति बेचेर निक्षेप फिर्ता गर्ने नया व्यवस्थापनको प्रतिबद्धता

 

नयाँ पत्रिका

काठमाडौँ, २७ वैशाख

नेपाल सेयर मार्केट्स एन्ड फाइनान्सका निवर्तमान कार्यकारी अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठले करिब २ अर्ब रुपैयाँ हिनामिना गरेको फेला परेको छ । सो रकम फाइनान्सबाट निकालिएको छ तर उनले कहाँ राखेका छन् भन्ने खोजी भइरहेको छ ।

 राष्ट्र बैंकले गरेको प्रारम्भिक अनुसन्धानमा श्रेष्ठले १ अर्ब ९७ करोड रुपैयाँ हिनामिना गरेको पुष्टि भएको हो । त्यस्तै नागरिक लगानी कोषको ३६ करोड रुपैयाँ निक्षेपमध्ये १६ करोड रुपैयाँ पनि श्रेष्ठले नै दुरुपयोग गरेको राष्ट्र बैंकले आशंका गरेको छ । राष्ट्र बैंकको आशंका पुष्टि भएमा श्रेष्ठले दुरुपयोग गरेको रकम २ अर्ब १३ करोड पुग्नेछ । कोषले जम्मा गरेको ३६ करोड रुपैयाँमध्ये साढे १९ करोड मात्रै फाइनान्सको हिसाबमा छ । 

राष्ट्र बैंकका एक अधिकारीले लगानी कोषको खातामा नदेखिएको रकम पनि श्रेष्ठले नै दुरुपयोग गरेको हुन सक्ने बताए । 'फाइनान्सका अध्यक्षले यति धेरै ठगी गर्न सक्छन् भन्ने कल्पनासमेत गरिएको थिएन,' राष्ट्र बैंकका एक अधिकारीले भने, 'अर्काको खाताबाट करोडौँ रकम आफैँ झिकेर सञ्चालकले ठगी गर्छन् भन्ने अनुमान थिएन ।'

 श्रेष्ठले फाइनान्सको पैसा झिकेर कतै लुकाएका छन् वा लगानी गरेका छन् भन्ने अनुसन्धान भइरहेको राष्ट्र बैंक स्रोतले बतायो । स्रोतका अनुसार श्रेष्ठले काठमाडौंको पुतलीसडकमा निर्माणाधिन 'स्टार मल' मा लगानी गरेका छन् । श्रेष्ठको माच्छापुच्छ्रे बैंकमा करिब १२ प्रतिशत सेयर रहेको बताइएको छ । 


स्तरोन्नति गरी वाणिज्य बैंक बन्न फाइनान्सले निवेदन दिएपछि अवस्था अध्ययन गर्न गएको राष्ट्र बैंकको टोलीले श्रेष्ठले रकम हिनामिना गरेको फेला पारेको हो । वाणिज्य बैंक बन्न पुँजी वृद्धि गर्नुपर्ने भएपछि संस्थापक सेयरधनीले फाइनान्सबाटै ऋण लिएर लगानी थपेका थिए । 

रकम हिनामिना मात्र होइन, श्रेष्ठले जथाभावी लगानी पनि गरेका थिए । बैंक तथा वित्तीय संस्थाका प्रवर्द्धकले आफू तथा आफ्ना परिवारका नाममा कर्जा प्रवाह गर्न नपाउने कानुनी व्यवस्थाविपरीत उनले श्रीमती र छोराका नाममा समेत कर्जा दिलाएका थिए ।

 राष्ट्र बैंकले श्रेष्ठ, उनकी श्रीमती र छोराले बैंकिङ कसुर गरेको ठहर गर्दै कारबाहीका लागि सरकारलाई पत्राचार गर्ने निर्णय गरेको छ । बंैकको सञ्चालक समितिको मंगलबारको बैठकले श्रेष्ठका परिवारसमेत बैंकिङ कसुरको भागिदार भएको ठहर गर्दै कारबाहीका लागि अर्थ मन्त्रालयमा पत्राचार गर्ने निर्णय गरेको हो । 

राष्ट्र बैंकले श्रेष्ठको पासपोर्ट जफत गर्ने र सम्पूर्ण चलअचल सम्पत्ति  रोक्का गर्ने निर्णय गरिसकेको छ । रकम दुरुपयोग गरिएको पाइएपछि योगेन्द्रप्रसाद श्रेष्ठ, संस्थापक गिता श्रेष्ठ तथा सौरभ श्रेष्ठका नाममा रहेका सबै बैंक तथा वित्तीय संस्थाका खाता तथा लकरसमेत रोक्का भइसकेका छन् । राष्ट्र बैंक स्रोतका अनुसार श्रेष्ठले आफ्नो कसुर सकार्दै दुरुपयोग गरेको रकम तिर्ने प्रतिबद्धता जनाएका छन् । 

यता फाइनान्सको नयाँ सञ्चालक समितिले पूर्वअध्यक्ष श्रेष्ठको परिवारको नाममा रहेको अचल सम्पत्ति बिक्री तथा सर्वसाधारणलाई दिएको कर्जाबाट ४ अर्ब ५५ करोड रुपैयाँ असुलउपर गर्ने काम सुरु भइसकेको जनाएको छ । फाइनान्सले सर्वसाधारणतर्फको निक्षेप दायित्व करिब ३ अर्ब २५ करोड रहेकाले सर्वसाधारण आत्तिनु नपर्ने बताएको छ । 

फाइनान्सले २ लाखसम्मको व्यक्तिगत निक्षेपकर्ताको रकमको बिमासमेत गरिसकेको छ । फाइनान्समा राष्ट्र बैंकको २२ करोड ऋण लगानी रहेको छ । 

सेवा सुचारु गर्न राष्ट्र बैंकको निर्देशन

राष्ट्र बैंकले सेयर मार्केट्स एन्ड फाइनान्सलाई सेवा सुचारु गर्न मंगलबार निर्देशन दिएको हो । अनियमितता भएको सार्वजनिक भएपछि फाइनान्सले सेवा बन्द गरेको थियो । 

राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले फाइनान्सले कार्यालय बन्द गरेको पाइएकाले सेवा सुचारु गर्न निर्देशन दिइएको बताए । उनले फाइनान्सले प्रवाह गरेको कर्जा सुरक्षित रहेकाले निक्षेपकर्ता डराउनु पर्ने कुनै अवस्था नरहेको बताए । 

सेवा सुचारु गर्न राष्ट्र बैंकले निर्देशन दिए पनि फाइनान्सले निक्षेप संकलन गर्न भने पाउनेछैन । सर्वसाधारणको निक्षेपको भुक्तानी भने फाइनान्सले गर्नेछ ।

Read Full Discussion Thread for this article