Posted by: Rahuldai June 7, 2010
नयाँ नेपालको यात्रा (जात्रा )।
Login in to Rate this Post:     0       ?        

नयाँ नेपालको यात्रा


भाग १२


चन्दाको धन्दाले गर्दा त्यो दिन शपिङ गर्ने कार्यक्रम पनि सूचना नटाँसिकनै स्थगित गर्नु पर्‍यो । अब के गर्ने ? नयाँ नेपाल मा पहिलो फुर्सदिलो दिन थियो । अंध्यारिन अझै एक प्रहर भन्दा बढी समय बाँकी थियो । देबदेबी को दर्शन गर्ने कि भन्ने सोच आयो , रि-सोच गर्दा बगलामुखी जाने र तहाँबाट पाटन दरबार स्थित "होना चा " को पसल मा व: ( बारा), छोयला, आलु , सुकुटी को खाने उत्तम प्लान तयार भयो । बिहीवार, बगलामुखी माइ पनि खुशी हुने आफु नि खुशी हुने भन्दै दङ पर्दै बाइकलाई पाटन तिर मोडें । होनाचा को बारा ( किमा र अन्डा हालेको ), पीरो आलु अनि पिरो छोयला । आहाहा.........sssssss सोच्दैमा, संझिदैमा पनि  पानी  आउने.......। जती पिरो भए नि खाउं खाउं लाग्ने जादु मिसाएको परिकार् । बगलामुखी माइलाई बाइपास गरी त्यतै लागुं जस्तो ।



 
टुंडीखेल घुमेर सिंह दरबार वा त्रिपुरेश्वर हुंदै जानु भन्दा धर्मपथ हुंदै यङगाल, लगन , पोडे टोल हुंदै भोटे बहलाबाट त्रिपुरेश्वर निस्कनु श्रयस्कर लाग्ने देखिएकोले त्यही बाटो लागें । बाटोमा सप्पै पसल बन्द । बन्दको असर् यति ब्यापक होला भन्ने लागेको थिएन । गल्ली गल्ली को पसल समेत बन्द। स्थिती अमूक ढंगले भयाबह महशूश हुन थाल्यो । अपेक्षाक्रित रुपमा ट्राफीक  पनि थिएन। भोटे बहालबाट त्रिपुरेश्वर मार्ग निस्कने द्वारमा एक जना पुरानो मित्र भेट भयो । हामी दुबै जनाको मित्र भाकोले उनलाई चिनेर रोक्ने ईशारा गरे । रोकी भलाकुसारी गरियो ।


"कहाँ जान लागेको नि अहिले यस्तो बेला ?? "


"शपिङ गर्न निस्केको थिएं, पसल बन्द गरी हाल्यो, अब बगलामुखीमाइ लाई मुख देखाएर आउं कि भनेर जान लागेको ? "


"ओहोssssss, नजानु , त्यता तिर ।"


"किन ?"


"स्थानिय बासिन्दाहरु र ब्यापारिहरु यी अत्याचारिहरूको बिरुद्ध मोर्चा कस्दै छन रे । अनि कथित क्रान्तिकारीहरु तिनलाई तह लगाउन लाठी बोकेर हिंडेको खबर छ रे । रिस्क लिनु ठीक छैन । फर्के हुन्छ ।"


साथीको सल्लाह मनासिब लाग्यो नै । कतै जान लाग्दा यसरी बाटोमै रोक्यो भने न जानु रे भन्नु हुन्थ्यो आमा । नेवारीमा कथन पनि छ, "गं: वल कि तं: व साँ वने मज्यू ।"


 अर्थात कसैले बाटो छेक्न आए, रिस उठे नि जानु हुन्न, अनिष्ट हुन्छ ।


त्यसैले नेपाल को आयोजना- योजना जस्तो मेरो पनि "बगलामुखी जाँदा, होना चा को आहार" भन्ने योजना बीच बाटो मै टुहियो ।



त्यो दिन त्यसै गयो । धन्न चेक् साट्ने काम सकियो ।


आज को दिनले भोली पर्सिको घट्नाको दुर्घट्नाको पूर्वभास दिएको जस्तो लाग्यो । एउटा अद्रिश्य डर बस्यो मन मा ।



शुक्रबार, बिहानै ग्वारामरी नास्ता संगै अखबार पढें। माओवादीले जबर्जस्ती चन्दा मागेकोको बिरोधमा ब्यापारिहरुद्वारा आज पनि बन्द रे । शपिङ अब खुचिङ भयो। हुन त त्यती फुर्सद भाको दिन हैन मेरो लागि, आमाको ६ महिनाको श्राद्ध र श्रदान्जली भोजको तयारी र धार्मिक अनुस्थानमा बस्नु नै थियो ।


तर मनमा चिन्ता अझ थपियो । मे १ तारिक, मजदूर दिवसको र्‍यालिको बहनामा २ तारिक देखी गरिने अनिश्चितकालिन आम हडतालको ट्रेलर देखाउने कार्यक्रम । सप्पै आफन्तजन तथा शुभचिन्तकहरुलाई निम्तो बाँडीसकेको अवस्था, भोजको लागि चाहिने सप्पै सरसामन किनी सकेको अवस्थामा कुनै अप्रिय घट्ना घट्यो भने............................. ।


 
"हे भगवान, आमा को यस्तो पुण्यकार्य गर्न अमेरिका देखि आउँदा नि यस्तो अन्यौल ?? जन्म दिने आमा त लग्यो लग्यो अब उहाँको आत्मको शान्तिको लागि पुण्य कर्म नि गर्न न दिने ?" अन्याय भओ भगवान । अन्याय ।" भनी मन मनै चिच्याएं । ( कसो यो नेपाल हो न्याय पाइदैन भनेर आकाशबाणी आएन।)


त्यो दिन भोजको तयारी र धार्मिक अनुस्थान मै बित्यो, भोलीको दिन  शान्तिपूर्ण बितोस भन्ने कामना गर्दै थाकेको शरीरलाई सुत भनें ।



क्रमश: 
 
 

Read Full Discussion Thread for this article