![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
नयाँ नेपालको यात्रा
भाग १०
यता मदनवा संग को रोष, कोष पुग्ने बित्तिकै ठण्डा भयो । ३ बजे बत्ती आउछ, ३ बजे आउनुस् भनेको थियो । ३१० मा पुग्दा निकासा तयार। निजामती किताब खाना पछी दोस्रो सरकारी कार्यालय देखें जहाँ काम छिटो छरिटो अनी बिना झन्झट काम हुने ।
हाकिम साहेबको दस्तखत लिइ, छाप लगाइ, चलानी गराइ लानु थियो । हाकिम साहेबले बिना कुनै प्रश्न सहि गरी दिनु भयो । छाप लगाउने र चलानी गर्ने चाँही चालु नै देखिन्थ्यो ( त्यही भएर चलानी मा बसेको हो कि )।
"यती धेरै पैसा निकासा लिनु भे छ नि ? "
चलानिकर्तालाई मतलब को कुरा थिएन। उनको आशय केही रकम झार्नु बाहेक अरु थिएन ।
"थोरै हो , सरकार सँग पैसा छैन रे , चौथाइ मात्र निकासा दियो । अर्को पल्ट निकासा आउँदा हेरि दिउला चसमा लगाएर हुन्न ??"
उसले पनि मेरो भाव बुझी हाले, ङिच्च दाँत देखाइ चलानी गरी दिए ।
साढे तीन बजी नसकेको हुंदा बिभाग गए चेक बन्ने संभावना रहेकोले बिभाग जाने निधो गरें, त्रिपुरेश्वरबाट सिधै रत्नपार्क हुंदै महाराजगंज पुग्ने छोटो दूरी भए पनि ट्राफिक जामले कहिलेइ आराम नदिने हुंदा बिष्णुमती किनारै किनार् सोह्र खुट्टे हुंदै नदिको सुगन्ध सुंघ्दै लागें।
बिभाग पुग्दा झन्डै ४ बज्दो थियो । चार बज्दा पनि अफिस मा बस्ने कर्मचारी बिचार गर्नै पर्ने हुन्छ। हुन त आँफै पनि १० बर्षको सरकारी नोकारीमा ५ बर्ष जती त बिभाग मै बिताएकै कारणले सबै कृयाकलाप संग पारीचित नै थिएं । सिधै लेखामा गएं। लेखा अधिक्रित मलाई नै कुरे बसे जस्तो ।
"जानै लागेको थिएं सर आउनु भयो । निकासा दियो ?? "
"दियो सर , मज्जा ले ।"
"सरको चेक तयार नगरि जान्न, एक छिन बस्नुस्" भन्दै कम्प्युटरमा भौचर सौचर भर्न थालनु भयो र एकै छिन मै प्रिन्ट निकाली चेक समेत काट्नु भयो .
म त दङ । यही गतिमा प्रगती सबै ठाउँ मा हुने भए देशको दुर्गाती यती हुने थिएन । दिन अच्छा रहेछ आज जस्तो लाग्यो ।
चेकमा सहि गर्ने प्रमुख लेखा नियन्त्रक पनि भेटियो, सहि गरी दिनु भयो । तर अर्को एकजना हाकिम को पनि सहि चाहिने चेकमा । डिडिजी साहेब कार्यकक्षमा भेटिएन । पीएलाई सोध्दा, "मन्त्रालयमा बजेट सम्बन्धी मिटिङमा जानु भएको छ , आज फर्किनु हुन्न" भन्ने जवाफ पाइयो।
अघी उत्साहित मन फेरी चिस्सियो।
"के गर्ने सर भोली आउन न परोस भनेर प्रयास गरेकै हुँं। सर भोली बिहानै आउनु हुन्छ, म सिग्नेचर गराएर राख्छु, भोली ११ बजे आउनुस् न ।"
"हुन्छ सर , सहि गराएर राख्नुस्, अब त काम सकियो नै हैन" भन्दै अर्ध खुशी लिएर फर्कें ।
कमसेकम जती ढिलो भए पनि भोली त चेक बन्ने र साट्ने काम हुन्छ नि । बिहीवार हो भोली। भोली पनि कथंकदाचित भएन भने शुक्रबार छदैछ नि ।
समय सीमा त्यती नै थियो, शुक्रबार मेरी स्वर्गिय माताको मासिक तिथी अनि शनिबार ६ महिनाको श्राद्ध तथा "पहाँ ब्वना भ्वय: "। आइतबार देखी त प्रधान मन्त्रिको रजिनामाको एक सुत्रिय मागवाला को आम हडताल ।
पहाँ ब्वना भ्वय: भन्नाले हामी नेवार मध्ये पनि उदास ( उदाय: )हरुको समाजमा दिवंगत आत्मको संझनार्थ समबेदकहरु तथा ब्या: (म्रित्युको ७ दिन सम्म आफन्तजनले पठाउने फलफूल, मिठाइ बिशेष ) पठाउने सबैलाई भोज खुवाउने परम्परा छ । प्रायले ४५ दिनको पुण्य तिथीमा, ६ महिना को तिथिमा वा वार्षिकी मा गर्छन्। आफ्नै करबरले उक्त भोज गर्ने ब्यबस्था गरेकोले पनि त्यो चेक समय मै साटिनु पर्थ्यो । कारीब ३५० जना पाहुनाको लागि भोज ब्यबस्थापना गर्न १ लाख भन्दा बढी खर्च लाग्ने प्रारम्भिक अनुमान थियो ।
भोली पल्ट ( बिहीवार ) ११ बजे अफिस पुगें । चेक तयार थियो ।
"बीमामा पनि सर को केही रकम जम्मा भएको रहेछ, त्यो पनि फिर्ता पाउनु हुन्छ , चिट्ठी लेखी दिन्छु हुन्छ ? "
"हुन्न पनि कुरै छैन नि सर । नेपालमा हजार को महत्व न भे नि अम्रिकामा छ सर ।"
चिट्ठी नि तयार भयो । लौ सर अब यसमा सहि गर्नुस् भन्दै चिट्ठी को ओसी कपी मा र चेकको अधिकट्टिमा सहि गर्ने ठाउँ देखाउदै-
" सरलाई थाहा छदै छ , यहाँ लेखामा बसेको 6 बर्ष भयो कहीं सरुवा गरिदिदैन। तलबको भरमा घर चलाऊन नसकिने रहेछ । मेरो आउने ठाउँ कतै छैन। महंगी यस्तो छ , बाल बच्चा भाको मान्छे , केही हेरी दिनु पर्छ है ।"
एक छिन म अवाक भएं । चेक ठेकेदार को थिएन त्यो। चेक् चिट्ठा को थिएन त्यो । जिन्दगीको कमाइको केही अंश थियो, त्यसमाथि अंशको दाबी गरे जस्तो लाग्यो । २ बर्ष जती मलाई हरेक महिना तलब लिन आउनुस् भनेर बोलाउन आउने सरले म सँग पैसा माग्यो, विश्वाश गर्नै सकिन । यसरी जागिर छोडेको पैसामा पनि आँखा गाड्नु पर्ने उनको नियती हो कि बिबशता बुझ्न सकिएन । दिमाग सुन्य भयो ।
एक छिन है भन्दै एउटा खाली खाम खोज्न अर्को कोठामा गएं । खाममा केही हात्तीलाई बन्द गरी आएं।
"मैले सक्दो खाम भित्र हालेको छु, लिनुस् भन्दै दिएं। उनको मुहारमा कान्ती छायो।
चेक र चिट्ठी लिंदै धन्यवाद दिदै राष्ट्रबैंक थापाथलीमा चेक साट्न हिंडें ।
आफ्नै अड्डामा आँफै सँग काम गर्ने सहकर्मिलाइ पसिनाको पैसामा समेत घुस दिनु परेको नयाँ अनुभव नयाँ नेपालमा गरें ।
क्रमश: