नयाँ नेपाल को यात्रा भाग ८
बडो मुश्किल ले सडक संघर्ष गरी बिभाग पुगें, निजामती किताब खानाको हिसाब किताब बोकेर । लेखामा बुझाएं तोक सोक लगाइवरि । प्रशासनबाट बिदा रेकर्ड लिएर आउनु भने ।
जुन हिसाबले निजामती किताब खानामा काम भयो, २० मिनेट मै , त्यही हिसाबले अन्त पनि काम हुने भए मेरो त्यो जबर्जस्तिनामा पछीको प्रकरण सक्याउन १-२ दिन भन्दा बढी लाग्दैनथ्यो । तर सोचेको जस्तो नहुंदो रहेछ । आँफै १० बर्ष भन्दा बढी समय सम्म काम गरेको अड्डामा ढड्डा पल्टाउने मान्छे भेटिएन ।
बिदाको रेकर्ड थिएन २-३ बर्षकै । आँफै धाएं । पुरानो दराज खोली बडे बडेमान को हाजिर कापी पल्टाएं। एउटा एउटा हाजिर कापिमा १-१ पाउ धूलो जमेको होला। भाग्यमानी धूलो, हाकिमा भनाउदाहरुको अती महत्वपूर्ण दस्तावेजमा टाँसिन पाएका।
रेकेर्ड नि आँफै तयार पारें । ठेलुवामा हाकिमा भएका प्रशासक लाई दिएं । अब हाकिम साहेब बिदाको हिसाब किताबमा लाग्नु भयो । मानौ एक दिन पनि हिसाब मा छुट्न भएन भन्दै एन नियम पल्टाउन थाल्नु भयो ।
"सर म एक घण्टामा तयार गरेर राख्छु, अहिले खाजा खाएर आउछु भन्दै पावरवाला चस्मा खल्तिमा हुल्दै रेबान लेखेको कालो चस्माले आँखा छोप्दै लागे । आफु नि चिया - चुरोट को पारखी । क्यान्टिन तिर गैयो भने गफ सुन्न सुनाउन आउनेहरु भेटिन्छन् नै ।
"ओह सर कहिले आउनु भयो ?"
" जागिर कस्तो छ उताको ? "
"कती पैसा कमाउनु भयो ?? " यी त भए थरी थरी मान्छे का थरी थरी प्रश्न ।
तर सबैको एउटै कमन सोधाई हुन्थ्यो- " मोबाइल ल्याउनु भएको छैन सर, यो मोबाइल आउट्डेटेड भयो"
मानौ कि म मोबाइल फोन बनाउने कारखानाको मालिक हुँं र कौडिको दाममा मोबाइल सेट बन्छ अमेरिकामा ।
भनुं भनुं जस्तो लागेकोथ्यो, " मोबाइल कारखाना खोल्न जग्गा हेर्न आएको साह्रै महँगो रहेछ यता त , अफ्गानिस्तान तिर खोल्नु पर्ला जस्तो छ , तपाईं पनि काम गर्ने जाने कि, मोबाइल त दिन दिनै फेर्न पाईन्छ "।
चिया चुरोट पिइसकी फेरी प्रशासनमा लागें ।
"सबै हिसाब गरी सकें, अब तपाइ बिदा मा रहंदा घर बिदा पाउने न पाउने चाँही नियमाबली पनि बोल्दैन, एन पनि बोल्दैन । मन्त्रालयमा सोधेको छु , जवाफ आएको छैन । के गर्ने होला? "
"हैन सर , त्यो नबोलेको कुरालाई बोल्न लगाउन जरुरी छैन, सिधा हिसाबले कती दिन बिदा संचिती हुने हो त्यो लेखेर दिनुस् न ।"
"३६ दिनको सवाल छ सर , १०-१२ हजार पैसा फर्क पर्छ, किन छोड्ने ?"
"१०-१२ हजार? यी डाँका हाकिमहरुको प्रताप ले २-३ लाख पाउनु पर्ने रकम त घाटा लागि सक्यो, भैगो छोडि दिनुस् ।"
"हुन्न सर, सर को मर्का बुझेरै म यसमा लागि परेको " भन्दै उ फाइल अड्काउने कुरा गर्न थाले ।
"म सँग टाइम छैन, फर्किने दिन नजिक छ, फेरी २-४ दिन ढिला भयो कि माओवादीले आम हडताल गर्ने कुरो छ , सब बर्बाद हुन्छ । आजै गरौं सर ।"
"आजै हुन्छ, मन्त्रालयका उपसचिब सरको फोन कुर्दै छु ।"
तर तिनको आशय आज काम नगरने मैले बुझी सकेको थें तै पनि जोड गरी हालें।
"त्यसो भए सर म एम्बेसी सम्म गएर आउछु , आधा घण्टा , ४५ मिनेट लाग्ला, त्यतिन्जेल तयार होस् है" - भन्दै एम्बेसिकोमा बुझ्न हिंडे । एम्बेसिको भीडले गर्दा १ घण्टा ठ्यामै लाग्यो ।
फर्किंदा ठेलुवा हाकिम बेपत्ता। सँगै बस्ने असली अधिक्रितलाई सोधें । एउटा सानो काम छ भनेर निस्कनु भयो शर्मा जि त भन्नु भयो। मोबाइल नम्बर लिइ फोन हानें ।
"सर लाई ४५ मिनेट सम्म कुरें आउनु भएन, बबर महलमा छु, मिटिङ छ कर्मचारी संगठनको । भोली आउनुस् न बिहानै हुन्न ? "
हुन्न भन्ने कुरै भएन।
आज नि काम नहुने भो भन्दै बिभागबाट निस्कें, मोटरसाइकल पार्क गरेको ठाउँ निर एक जना पुरानो ओसी साहेब ( हाल इन्जिनियर साहेब) भेट भयो ।
"ओह सर कहिले ? हाजिर गर्नु भयो ?? "
"अहं ,मा त जागिर छोड्न आएको ।"
"जागिर छोड्नै नहुने ?" " उतै राम्रो काम मिल्यो होला हैन ?"
"मिलेको त छैन मिल्ला मिल्ला जस्तो छ, त्यसैले छोड्या ।"
"तिम्रो छोरा को हाल खबर के छ नि , पढाई त सकिने बेला भो ? "
(उनको छोरा र म संग संगै अमेरिका लागेको, १-२ दिनको फरकमा । नेब्रास्का को कुन चाँही युनिभरसिटी मा हो हेक्का भएन ।)
"ढिलो भयो नि छोरो को पढाई सर ।"
" नेब्रास्काको त्यो युनिभर्सिटी झूर परेछ , जाडो पनि निकै जाडो रे । त्यो कलेज छोडि अर्को राम्रो कलेज ज्वाइन गरेको नै २ बर्ष भईसक्यो ।"
"कहाँ छ नि अहिले ?"
"राम्रो कलेज पाएको छ , टेक्सास तिर , के कम्युनिटी कलेज भन्थ्यो त्यहाँ गाको छ , अहिले उल्लाई आनन्द छ ।"
"यह , कम्युनिटी कालेज, राम्रै भयो नि " भन्दै मैले आफ्नो बाइकलाई लात हानें ।
क्रमश: