Posted by: crazy_love October 6, 2009
"बुझ्न नसकिएको कारण।"
Login in to Rate this Post:     0       ?        

भाग-५


त्यो बिहान टोलमा शंका भएका बोक्सीहरुको बारे चर्चा भयो। सबैभन्दा पहिले ढुङेधारा माथि सानो छाप्रोमा बस्ने बुढीबारे लक्षित भयो। उनको लोग्ने धेरै बर्ष पहिले बितेको थियो। लोग्नेले मासु काट्ने काम गर्थे, उनि मरेपछि स्वास्नीले त्यही काम गर्न खोजी तर सकिन। त्यसपछि टोलको हुने खाने भनाउदाहरुका हप्तामा २-३ चोटि गएर लुगा धुने र सफा गर्ने काम गर्न थाली। सन्तान थिएनन्, एक्लो ज्यानलाइ दुखसुख गरेर बाँचेकी थिइ। झट्ट हेर्दा कुरुप नभए पनि उसलाइ देख्दा साना बच्चाहरु तर्सेर रुन्थे। गरिबीले उस्को अनुहारमा चिन्ताको रेखाहरु बढाएको थियो र श्रीङार उ गर्न सक्दिनथी। यदि उसको इक्षा भएपनि समाजले बिधुवालाइ सेतो र उजाड रङ बाहेक अरु बर्जित गरेको थियो त्यो बेला। उ सङ एउटा कालो बिरालो साथी थियो। तर टोलमा उस्लाइ सबैले बोक्सी भन्ने गर्थे। उसको नजर परेको बच्चा बिरामी हुन्थ्यो। आदि इत्यादि कुराहरु हजुर आमा र मामाले हामीलाइ सुनाउनु भयो।


अर्को दिन दिँउसो अचानक १२ बजेतिर सानुको पेट दुख्यो र उसले बान्ता गर्न थाली। मामा अफिस जानु भएको थियो। घरमा हजुरआमा, माइज्यु र हामी मात्र थियौ। माइज्युले हत्त न पत्त सानुको फोहोर लुगा फेरि दिनु भयो र शरीरमा लागेको बान्ता पनि सफा गरि दिनु भयो। त्यसपछि केहि बेर सानु सुती। तर हजुर आमाको मनमा अरु शँका बढ्न थाल्यो। हजुर आमाले सुटुक्क मलाइ उहाँको कोठामा बोलाउनु भयो र सोध्नु भयो।


"तिमीहरुले हिजो के के खायौ?"


"यहाँ घरमा माइजुले पकाउनु भएको खाने कुराहरु जे जे छ सबै।" मैले सरल उत्तर दिएँ।


"माइजुले तिमीहरुलाइ अरु के के दिइ?" हजुरआमाको कडा प्रश्न सुनेर मलाइ डर लाग्यो।


"बिहान खान, दिँउसो खाजा अनि राति सुत्ने बेलामा----" मेरो स्वर अलिकति कामेको जस्तो भयो।


"सुत्ने बेलामा के नि?" हजुर आमाले झनै नजिक आएर सोध्नु भयो।


"वाइ वाइ साँधेको।" मैले नभन्नु पर्ने कुरा भने। हामीलाइ माइजुले साँधेको वाइ वाइ खुब मन पर्थ्यो। तर खाना खाइसकेपछि पनि हामीले माइजुलाइ कसैलाइ नभन्ने शर्तमा वाइ वाइ साँध्न लगाएर खाएका थियौँ।


"ल ठिकै छ। मैले के सोधेँ भनेर माइज्युलाइ नभन्नु नि।" भन्दै मलाइ हजुर आमाले नरिवल २ टुक्रा दिएर फकाउनु भयो। मैले पनि माइज्युलाइ केहि भनिन।


सानु ३ बजेसम्म फेरि ठिक भइ। हजुर आमा "माँ" का जानु भयो। कुनि के के ल्याएर सानुलाइ दिनु भयो अनि साँझ पनि पुजा गर्नु भयो। माइज्यु त्यो दिन सानुको हेरचाह र घरको काममा ब्यस्त हुनु भयो। साँझ हुन थालेपछि सानु र म फेरि बङैचामा गयौँ। अम्बाको रुखको मुनि हामीलाइ मन पर्ने एउटा कुरा थियो। अघिल्लो दिन सानु र मैले त्यो कुरा खाएका थियौँ। त्यो झार जस्तो देखिने ३ वटा हरियो पात भएको अमिलो अमिलो तर रसिलो "चरि अमिलो" हामीलाइ खुब मन पर्थ्यो। सानै बेलादेखि हामी त्यो खोजि खोजि खान्थ्यौँ। तर एकचोटि मामाले हामीलाइ त्यस्तो झार खानु हुँदैन भनेर सम्झाउनु भएको थियो। तर पनि त्यो देखेपछि हामी अलिकति अलिकति भन्दै नधोइकन धेरै नैँ खान्थ्यौँ। सानुको पेट दुख्नुको कारण त्यो पनि हुन सक्थ्यो। तर मैले हजुर आमालाइ सबै कुरा भन्न जरुरी ठानिन।


सानुलाइ मैले त्यो दिन चरि अमिलो खान दिन, मैले पनि खाइन। त्यसपछि सानुले लुकामारी खेल्ने भनी। सानु लुक्न गइ, मैले १-१० सम्म आँखा छोपेर गने पछि "म आँउ" भनेर सोधेँ। "घर"भित्रबाट सानुले "आउ" भनी। सबैभन्दा लुक्न सजिलो दोस्रो तल्लाको भरेङ पछाडीको भाग, जसको दाहिने तर्फ अलिकति गल्ली जस्तो थियो र गल्लीको छेउमा हजुर आमाको कोठा थियो। म बिस्तारै माथि उक्ले, सानुले थाहा पाउली भनेर चप्पल पनि फुकाले। भरेङको पछाडी साँझमा अलि अध्याँरो हुन्थ्यो तर मैले सानुलाइ पछाडीबाट अलिकति हजुर आमाको कोठा जाने गल्लीतिर फर्केर उभेको जस्तो देखेँ। पछाडीबाट गएर "ढ्याप्पा" गरेर समाउन खोजे। सानुले मलाइ धकेली। मैले उस्को एउटा हात ताने उस्ले पनि अर्को हातले मलाइ घच्याडी। मैले पनि छोडिन तर एक्छिनपछि मलाइ सानु ठुलो मान्छे जस्तो लाग्यो। केहि बेरको तानातानपछि त्यो बलियो सानुले मलाइ लडाएर गइ। म भित्तामा पछारिए तर केहि बोलिन। सानुले मलाइ कहिले पनि त्यसरी जितेकी थिइन। तर त्यो दिन लडाइ। शारिरिक रुपमा म सानुभन्दा ठुली थिँए र उमेरमा पनि उ भन्दा केहि बर्ष ठुली।  मलाइ सानुले झेल्ली गरी जस्तो लाग्यो र बिस्तारै तल झरेँ। तल निस्किनासाथ सानुले मेरो अगाडी आएर "ढ्याप्पा" गरी। मैले उसलाइ केहि भनिन। मेरो औँलामा भिजेको जस्तो अनुभव भयो। येसो हेर्दा रगत थियो। सानु आत्तिइ। म सरासर धारामा गएर हात, औँला पखाल्न थाँले। सबै सफा भयो, तर घाउ देखिएन। मेरो औँलामा घाउ थिएन तर रगत कहाँबाट आयो? मैले तुरुन्तै सानुको हातहरु हेरेँ, औँलाहरु छामे, उसको पनि घाउ थिएन।


"त्यसो भए मेरो औँलामा रगत कसरी आयो?" यो प्रश्नले मलाइ सताउन थाल्यो।


बेलुकी फेरि हामी बुइगलमा खाना खान गयौँ। हजुरआमा, मामा, सानु र म एकै लाइनमा बस्यौँ। माइज्युले सबैलाइ खाना राखि दिनु भयो। सबैको आँखा हिजो बिरालो देखिएको कुनातिर जान्थ्यो तर बिरालो अझै आको थिएन। बोक्सीको अरु कुरा पनि भएन। हजुरआमा खाना सकेर उठ्नु भयो त्यसपछि मामा, सानु र म पनि उथ्दैँ थियौँ। माइज्युको दाँया हातबाट "तप्प तप्प" दुइ थोपा रातो तरल पदार्थ खस्यो। सानुले "रगत" भनेर चिच्याइ। मामाले "के भयो?" भनेर सोध्नु भयो। माइज्युले "केहि हैन, सानो घाउ थियो, रगत निस्कियो।" भन्दै टन्न चुराले छोपेको नाडी देखाउनु भयो।


 "खोइ? घाउ खोइ त?" हजुरआमाले फेरि सोध्नु भयो।


माइज्युले दुइ वटा रातो चुरा अलिकति नाडिमाथि सारेर देखाउनु भयो। चुराले छोपिएर केहि नदेखिएपनि भित्र घाउ C आकारको थियो। शायद गहिरो हुनु पर्छ, रगत अझै आँउदैथियो। माइज्युको घाउ देखेपछि हजुरआमाले मुख् बिगार्दै सोध्नु भयो।


"कसरी भयो नि?"


"अघि चुरा फुकाल्दाखेरि एउटा चुरा फुटेर काट्यो।"


"घाउ भएको हातमा किन टन्न चुरा लाउनु पर्‍यो त?" मामाले पनि रिसाएर सोध्नु भयो।


"सौभाग्य को चिन्ह कसरी नलाउनु?" माइजुले भुँइमा खसेको रगतलाइ पुछ्दै भन्नु भयो।


म माइज्युको हातको घाउ, सौभाग्यको चिन्ह चुरा र मेरो हातमा बिना घाउ लागेको रगतलाइ पालै पालो एकै ठाँउमा राखेर हेर्न थाँले। सबैको रङ रातो थियो।


क्रमश:


 

Last edited: 06-Oct-09 08:50 PM
Read Full Discussion Thread for this article