हामी माँलाई नमस्ते गरेर फर्किने बेला माँले फेरी माइज्युलाइ सोध्नु भयो।
"अस्तिको बुटीले काम गर्यो कि गरेन?"
माइज्युले मलाई हेर्नु भयो अनी माँतिर फर्केर भन्नु भयो।
"आजकाल अली मन फर्क्या जस्तो छ।" मैले माँ र माइजुको कुरा बुझ्न सकिन।
"रातिको पूजा नछोड्नु।" माँले उही लट्ठ आँखाले हेर्दै भन्नु भयो।
"हस" माइज्युले टाउको हल्लाउनु भयो।
"राती के को पूजा माइज्यु?" मैले माँ को घरबाट निस्केपछी माइज्युलाई सोधें।
"चन्द्रमाको।" माइज्युले त्यो भन्दा बढी भन्नु भएन।
भाग-४
मामाघर पुग्दा बुबा भाइलाइ लिन आइसक्नु भएको थियो। सानुले रातिको कुरा सबैलाइ बताइसकेकी रहिछ, हलुवाबेद चोर्न गएको बाहेक। हजुर आमा अब घरमा रुद्रि लाउनु पर्यो भनेर पुरोहितलाइ खोज्न थाल्नु भयो। मामा पुरोहित खोज्न निस्कनु भयो। बुबाले मलाइ पनि "घर हिँड" भन्दै हुनु हुन्थ्यो, तर सानुले रोएर मलाइ चाहि घर पठाउन दिइन। माइज्युले छुनु र मुनु पनि उनिहरुको मामाघर गएका छन्, घर शुन्य छ, सानु र मलाइ स्कुल शुरु नभएसम्म मामाघरमै बस्न दिनको लागि बुबासङ अनुरोध गर्नु भयो। माइज्युले भाइलाइ "माँ" ले मन्तर फुकेको काँचो धागो भाइको कम्मरमा बाँधिदिनु भयो। त्यसपछि बुबाले भाइलाइ लिएर घर जानु भयो।
दिँउसो मामाले एकजना "पुरोहित" लाइ ल्याउनु भयो। पुरोहित बाजे र हजुरआमाको सल्लाह बमोजिम २-३ दिनमै रुद्रि लगाइने भयो। त्यतिन्जेल सानु र मलाइ राति बाहिर ननिस्किनु भन्ने आदेश पालना गर्नु पर्ने भयो। सानु र म धेरै बोक्सीको रहस्यबारे कुरा गर्न थाल्यौँ। हाम्रो मनमा एकप्रकारको डरले बास गर्यो। दिँउसै पनि हामी तल माथि जता गएपनि नछुट्टिने भयौँ। हाम्रो मनमा अनेक प्रश्नहरु उब्जिन थाले। सानु र मेरो गम्भिर अनुहार देखेर मामाले हामीलाइ साँझ फेरि बजारतिर लानु भन्यो। हामीले एक छिनलाइ हिजो रातिको घटना बिर्स्यौँ, बोक्सीको कथा पनि बिर्स्यौं
तर मामाघर आइपुगे पछि फेरि बिस्तारै बिस्तारै सबै कुराले हामीलाइ ब्युँझाए जस्तो भयो। माइज्युले भात पाकेपछि बुइगलमा खान बोलाउनु भयो। हजुरआमा, मामा, सानु र म लस्करै काठको पिर्कामा लाइन बसेर खाँदै थियौँ। अचानक बुइगलको कुनाबाट लुसुक्क केहि कालो बस्तु चलेको जस्तो देख्यौँ। मामाले त्यो अध्याँरो कुनामा हेर्दा त्यस्तै भ्रम हुन्छ भन्नु भयो। तर हजुर आमाको मुखमा तनाब देखिन थाल्यो। नभन्दै एकछिनपछि "म्याँउ" "म्याँउ" गर्दै कालो बिरालो त्यही कुनाबाट हामी सबैलाइ हेर्न थाल्यो। त्यसको आँखा अध्याँरोमा पनि टलक्क टल्किएको देखिन्थ्यो।
"कालो बिरालो!" मामा हाँस्नु भयो।
"बोक्सीको छौँडा हो यो त!" हजुरआमाले दालको कचौराले बिरालोलाइ झटारो हान्नु भयो। बिरालो भाग्यो, कचौरा कतै कुनामा हरायो। सानु र म एक अर्कालाइ हेर्दै बस्यौँ। माइज्युले हजुर आमाको लागि अर्को कचौरामा दाल राखिदिनु भयो।
"बोक्सीले पीर्ने भयो हामीलाइ यसपालि फेरि।" हजुरआमा चिन्तित हुँदै भात मुछ्न थाल्नु भयो।
"त्यसलाइ भोक लागेर आएको होला, बिचरा!" माइज्युले बिरालोप्रति सहानुभुति देखाउनु भयो।
"खाना दिने गर्या छौ कि के हो? नदेउ, है नदेउ। त्यो बोक्सीको छौँडा हो। मैले भन्द्या छु।" हजुरआमालाइ माइज्युको त्यो सहानुभुति मन परेन। उहाँ खाना बिचैमा छोडेर मुख चुठ्न जानु भयो। भान्छाको बाताबरण अलि बेग्लै भयो।
"आमाको अगाडी किन त्यसो भन्नु परेको तिमीलाइ चाहि?" मामाले माइजुलाइ गाली गर्नु भयो। माइजु नबोली चुपचाप बस्नु भयो।
खाना खाइ सकेर हामी आफ्नै कोठामा आयौँ। हाम्रो आँखामा हिजो रातिको स्त्री आक्रिति र बुइगलको कालो बिरालो झन झन छर्लङ हुन थाल्यो। तैपनि हामी अरु बिषय हरु खोज्दै कुरा शुरु गर्न थाल्यौँ। सानुले फेरि अघिकै कुरा झिकि।
"ठुलु, सुन न। तिमीलाइ माइजु मन पर्छ?"
"मन पर्छ। तिमीलाइ नि?" मैले सानुलाइ सोधेँ।
"कहिले मन पर्छ, कहिले मन पर्दैन।" सानुले सोच्दै भनी।
"कहिले मन पर्दैन त?" मैले फेरि सोधेँ।
"अघि हजुर आमालाइ रिस उठाउनु भयो नि माइजुले। त्यस्तो भन्न नहुने नि हैन?" सानुले पनि हजुर आमाको पक्ष लिइ।
"खोइ?" मैले कसैको पक्ष लिनु ठिक थिएन, तर मलाइ माइजुको माया लागेको थ्यो। सबैले उहाँको कुरा मन नपराए पनि, माइज्युले भन्नु भएको कुरा मलाइ गलत लागेको थिएन। त्यो कालो बिरालो भोक लागेर आएको हुन सक्थ्यो। बोक्सीकै बिरालो भए पनि भोक त त्यसलाइ पनि लाग्दो हो। यस्तै के के सोच्दै म सानु निदाएको धेरै बेरपछि भुसुक्कै भएछु।
अर्को बिहान हजुरआमा घाम तापेर बस्नु भएको थियो। सानु र म भर्खरै उठेर माइज्युले दिनु भएको चिया पिँउदै थियौँ। मामा पनि आँखा मिच्दै कौसीमा आउनुभयो। मामालाइ देख्नासाथै हजुरआमाले सोध्नु भयो।
"बिहानै कुन देउताथान गइस् आज?"
"भर्खर त ओछ्यानबाट उठेर आँउदैछु मुख त धोको छैन। यो आमा पनि के कुरा गर्नु हुन्छ बिहान बिहानै?" मामाले अलि अलि झर्को लागेको स्वरमा भन्नु भयो।
"तेरो कपालमा अबीर जस्तो त्यो के रातो त? यता आइज त। कि रगत आयो?" हजुरआमाले नजिकै बोलाउनु भयो मामालाइ। मामा को कपालमा अलि अलि अबीर सानु र मैले पनि देख्यौँ।
"लौ, तिमीहरुको आँखा तिखो हुन्छ। के छ भन त यसको कपालमा?" हजुरआमाले हामीलाइ सोध्नु भयो।
"यो मामा सधैँ झुठ बोल्नु हुन्छ। बिहानै मन्दिर गएर देउता ढोग्नु भाको होला अनि अबीर लागेको छ नि कपालमा।" सानुले हाँस्दै भनी।
"अबीर रे?" मामाले हातले टाउकोतिर छाम्दै फेरि हात हेर्नु भयो। हातमा पनि अबीर अलि अलि लाग्यो। मामा केहि बोल्नु भएन।
"अस्ति बिहान पनि यस्तै भएको थियो। तर मैले अघिल्लो दिन कतै देउताथान ढोग्दा लागेको होला भन्ठाने। तर हिजो त म कुनै मन्दिर गएको थिइन। साँझमा नुहाएको थिँए। कताबाट आयो यो अबीर?" मामा सोच्न थाल्नु भयो।
"बोक्सीले दुख दिने भइ।" भन्दै हजुरआमा उठ्नु भयो। भित्र जानु भयो र भित्र बाट जल ल्याएर "लौ माता रक्षा गर" भन्दै छर्किनु भयो, मामालाइ, सानुलाइ र मलाइ।
क्रमश: