Posted by: crazy_love September 24, 2009
"बुझ्न नसकिएको कारण।"
Login in to Rate this Post:     1       ?         Liked by
भाग-३

त्यो रात हामी बोक्सिको कुरा गर्दै बस्यौँ, निद्रा लागेन। कतै फेरी अघिको स्त्री फर्किन्छे कि भन्ने आशामा हाम्रो कानहरु बाहिर ढोकामा पनि केन्द्रित थियो। भरेङमा केही आवाज आयो कि हामी तीनै जना एकै डल्लो पर्थयौँ। भाई घर जाने भनेर जिद्दी गर्दैथ्यो, रातको बेलामा कसरी घर जाने। भोली बिहानै जाउला भनेर म सम्झाउदै बसे। सानुलाई डर पनि थियो तर त्यो उसको आफ्नै मामाघर थियो। त्यसैले पनि उसले घर जाने कुरा गरिन। झिसमिसे हुँदा सानु निदाइ तर भाई निकै तातो र रातो देखियो। उ ज्वरोले "हँ" "हँ" गर्न थालयो। मैले माइज्युलाई गएर भने, माइज्युले मामालाई त्यसपछी मामाले हजुरआमालाई भन्नु भयो। भाई बिरामी भएको देखेर हजुरआमा धेरै चिन्तित हुनु भयो र तुरुन्तै "मन्दिर नजिकैको माँ" का देखाउन जानु पर्छ भन्न थाल्नु भयो। मामाले सिटामोल ल्यायो दिनु भयो तर हजुरआमाले यो औषधी खायो भने झन ज्वरो बिग्रिन्छ। काँचो बायोले छोएको हुनु पर्छ। पहिले "माँ" का भाईलाई लानु पर्छ भनेर जिद्धी गर्न थाल्नु भयो। भाई हिँड्न नसक्ने भएकोले भाईको निधारमा तीन चोटी चामल छुवाएर त्यही चामल बोकेर माइज्यू र म हजुरआमाले भनेकाइ माँ का गयौँ। माँको घर मामाघरबाट १० मिनेट पर थियो, एउटै टोलमा। दुई तले रातो घरको ढोकामा पुगेपछी माइज्युले ढोकाको घन्टी थिच्नु भयो र ढोका खोल्दै एउटा पुरुषले हामीलाई भित्र बोलायो। भित्र हामी भन्दा पहिले नैँ अरु ३ जना मान्छेहरु "माँ" लाई कुरेर बसेका थिए। मैले "माँ" लाई त्यो भन्दा अघी कहिल्यै पनि देखेकी थिन। तर हजुरआमा "माँ" को धेरै विश्वाश गर्नु हुन्थ्यो, बिरामी भयो कि माँ का गएर माँले मन्तर फुकेको पानी मात्रा खानु हुन्थ्यो, डाक्टरका जान मान्नु हुन्थेन। "माँ" को धेरै सत छ भन्नु हुन्थ्यो, माँको शरीरमा सोमबार र बिहीवार "बङलामुखी माता" चड्नु हुन्छ र माँले त्यो बेलामा सबै सत्य कुरा भन्नु हुन्छ भन्ने कुरा हजुरआमाले अरु सँग गरेको मैले पनि सुनेकी थिँए। त्यतिखेर मलाई के साँचो के झुठो भन्दा पनि कुराहरु सुनेर अचम्म लाग्थ्यो। म अबिश्वास पनि गर्न सक्दिन थिए, विश्वाश गर्नलाई पनि मनमा धेरै प्रश्नहरु आँउथे।

हामी जुना कोठामा बसेर माँको प्रतिक्षा गर्दै थियौँ, त्यहाँ केही चकटीहरु थिए। हामी बसेको सिधै भित्तामा एउटा ठुलो गद्दा जस्तो रातो आसन थियो। त्यो पक्कै पनि माँको बस्ने ठाँउ हुनु पर्छ जस्तो लाग्यो मलाई। त्यसको ठीक माथि बङलामुखी माताको तसवीर झुन्ड्याएको थियो।

आसनको दाँया बाँया भगवानहरुको फोटो थियो। त्यही फोटोहरु हेर्दाहेर्दै माँ कोठामा आउनु भयो। गोरो बर्णकी उज्याली "माँ" देख्दा साँच्ची नैं हजुरआमाले भनेको सबै कुरा सत्य हो जस्तो लाग्यो। सबैले टाउको निहुराएर दुई हात जोडेर नमस्ते गरे, मैले पनि त्यही सिको गरेँ। माँको बस्त्र पनि रातो थियो, अनुहारमा केही श्रीङार थिएन। उहाँको अनुहार नैं धपक्क बलेको ज्योति जस्तो थियो। उहाँ आसनमा बस्दै आँखा बन्द गर्नु भयो र त्यसबेला अघि ढोका खोल्ने पुरुष आएर माँलाई नमस्ते गर्यो। मैले माइज्युलाइ बिस्तारै सोधेँ "त्यो मान्छे को हो?" माइज्युले मलाई सानो स्वरमा भन्नु भयो "माँको लोग्ने।" र आँखाको ईशाराले चुप रहन भन्नु भयो।

एकछिनपछी माँ काम्न थाल्नु भयो, माँ को लोग्नेले "बङलामुखी माता" भन्दै फेरी परैबाट माँलाई ढोग्नु भयो, सबैले त्यसै गरे, मैले गरिन तर माइज्युले फेरी ईशाराले मलाई "ढोग्न" लगाउनु भयो। म त्यती सानी थिइन र त्यती ठुली पनि भैसकेकी थिइन। मलाई लोग्ने र श्वासनीको सम्बन्ध "माँ" र भक्तको पनि हुन्छ भन्ने कुरा थाहा थिएन। मेरो प्रश्नबाचक मष्तिस्कमा के यो माँ को लोग्नेले सधैं आफ्नो श्वासनीलाई माता नैं भनेर आदर गर्ला कि लोग्नेले गर्ने माया पनि गर्ला? त्यसो गर्यो यसलाई पाप लाग्ला कि नलाग्ला भन्ने कुरा आइरह्यो। "माँ" कामिसक्नु भएपछी अगाडी बस्ने मान्छेले दुई हात जोड्दै "यो काम सफल होला कि नहोला भनेर सोध्यो। के, कस्तो काम भनेर मैले बुझिन तर "माँ" आधा आँखा खोलेर "हुन्छ, तर केही समय लाग्छ भन्नु भयो। त्यसपछी त्यो मान्छेले मलाई सय सयको २-३ वटा रुपियाँ चढायो र फेरी ढोग्यो। माँले अर्को हप्ता पनि आउनु, त्यसपछी राम्रो साइत कहिले छ म हेर्छु र भन्छु भन्नु भयो। त्यो मान्छे ,"हस, माता" भन्दै ढाढ कुप्र्याएर नमस्ते गर्दै फर्क्यो। त्यसपछी अरुले पनि त्यस्तै के के सोधे, मलाई उनिहरुको प्रश्न भन्दा पनि आज्ञाकारी सेवक जस्तो गरेर माताको दाहिने बसेको उहाँकै लोग्नेलाई हेरी रहन मन लाग्यो। के यो साँचो हो? वा नाटक मात्रै हो? भन्ने प्रश्न पनि मनमा आयो।

हाम्रो पालो आयो, माइजुले भाई अचानक बिरामी भएको कुरा बताउनु भयो र भाईको निधारमा छुवाएर ल्याएको चामल अगाडी राखिदिनु भयो। माँले चामलको गेडा केलाउनु भयो र हजुरआमाले जस्तै काँचो बायुले छोएको भन्नु भयो। अनी एउटा धागोमा एकछिन आँखा बन्द गरेर मन्तर फुक्नु फुक्नु भयो। नजिकैको कलशमा राखिएको जल छर्किनु भयो, अनी घाम अस्ताएपछी चामल, दाल, कुनी के के हो मन्छाएर दोबाटोमा फाल्नु भन्नु भयो। माइज्युले "हुन्छ" भन्नु भयो। माँले अघि मन्तर फुकेको काँचो धागो पनि माइजुलाई दिनु भयो। भाईको कम्मरमा बाँधिदिनु भन्नु भयो। माइज्युले टाउको निहुराएर "हस" भन्नु भयो। त्यसपछी माइज्युले सय रुपियाँ चढाउनु भयो। हामी माँलाई नमस्ते गरेर फर्किने बेला माँले फेरी माइज्युलाइ सोध्नु भयो।

"अस्तिको बुटीले काम गर्यो कि गरेन?"

माइज्युले मलाई हेर्नु भयो अनी माँतिर फर्केर भन्नु भयो।

"आजकाल अली मन फर्क्या जस्तो छ।" मैले माँ र माइजुको कुरा बुझ्न सकिन।

"रातिको पूजा नछोड्नु।" माँले उही लट्ठ आँखाले हेर्दै भन्नु भयो।

"हस" माइज्युले टाउको हल्लाउनु भयो।

"राती के को पूजा माइज्यु?" मैले माँ को घरबाट निस्केपछी माइज्युलाई सोधें।

"चन्द्रमाको।" माइज्युले त्यो भन्दा बढी भन्नु भएन।

क्रमश:
Read Full Discussion Thread for this article