Posted by: Deep July 16, 2009
हैन कि हो? ----- खै के हो के हो?
Login in to Rate this Post:     0       ?        
"यत्तिका दिन
एउटीलाई आफ्नी भनीयो, बिपनाको कत्ति रहर सपनामा पुर्याईयो---अब आएर आफ्नै
साथीले धोका दियो, खै के हो के हो--" बाङ्गेले थ्याच्च बसेर हाँस्दै भन्यो।

"हेर बाङ्गे को कस्को को कस्को अझै पक्का भैसक्या छैन नी त --" मैले कुरा पुरा गर्नै पाको थिएन उ भडकियो "पक्का त तेरै भाको थिएन होला नी, मेरो चैं उही बेलाँ पक्का गरेर तँलाई जानकारी गराको होईन?"

"तैंले मात्रै जानकारी गराएर हुन्छ्? तेरै मात्रै जानकारीको भर पर्ने हो भने त अब एक दुई बर्षमा यो काठ्माडौ भरी अरुको लागि कोई पनि तरुनी बाँकी हुँदैनन--जो देख्यो बच्छी मबिया भन्या जस्तो गर्छस तँ ---"

कौसीमा अलपत्र पर्या एउटा ईँटाको टुक्रालाई एक लात कस्यो बाङ्गेले अनि म तिर हेर्यो -- भन्नलाई केही भनेन।

फेरी अब ट्युशन पढन त जानै पर्यो। कैले पढ्न जान पाईएला जस्तो भएर उतपात। ज्ञानेश्वर भ्रमण पटक पटक गरेको पनि हो, तर लाभदायक भएको थिएन। ट्युशनको बिहान आयो आखिर। जाँदा बाटा भरी बाङ्गे र म अनेक थरी कुरा गर्दै गएम।

अंकलले हामीलाई उनीकहाँ आको गाको मात्रै पैसा लिएर पढाउने बल नगरे हुने नी -- उनलाई फेरी नपढाई नहुने --ज्यान दिएर लाग्थे। कत्ति न हामी उनी सँगनै पढ्न गाको जस्तो। घराँ दुईटी तरुनी छोरीहरु गुलाफको फुल सरी भएसी दुईटा बतासे झक्कु केटाहरु पढ्न आएको देखे पछी फुल हल्लाउने मात्रै होईन ताल परे बतासेहरुले झार्छन फुल भनेर बुझ्नु पर्छ पर्दैन?

अंकलले त्यो दिन शिबदाईको कुरा उठाए, हाम्ले पनि एक स्वरले  शिबदाईको खोईरो खनेम। ससुरा अंकलको हो मा हो मिलाएम। अनि चिया पिउँदै पढाई सुरु भो।

पढाई सकियो तरुनीहरुको दर्शन पाईएन। त्यसरी हुन्थ्यो के त? अंकल मास्तिर लागे पढाउने कोठाबाट बाहिर निस्किएर, हामी चैं तल तिर ओर्लेम।  जाने तयारी गर्दै थिएम्, ससुरो अंकल पनि आईपुगे चोकाँ। मोटर साईकलको बुई चढेर लात हान्दै मच्चिदै गर्न लागे स्टार्ट गर्न। "खै म गर्दिन्छु अंकल" बाङ्गेले उनी छेउ पुगेर भन्यो। एक दुई चोटी केही नभनी अंकलले लात हानी हेरे स्टार्ट भएन। अनि ओर्लिए। बाङ्गेले बुई नचढी दाइने खुट्टाले एक दुई चोटी हो कि होईन जस्तो गरेर लात हान्यो अनि जोडले अर्को एक लात कसेको थ्यो, मोटर साईकल स्टार्ट भो।

"चिसोमा स्टार्ट गर्ने गार्हो --" भन्दै अंकल हेलमेट लाएर मोटरसाईकलको बुई चढेर बिदा भए।

"बुढाले चिसोको कुरा झिकेर राम्रो आईडिया दिए" बाङ्गेले कौसी तिर आँखा पुर्याउँदै भन्यो।

दुईटै ठीटीहरु त कौसीमा रेछन। मैले केही भन्नु अघि नै बाङ्गे फेरी घर भित्र छिर्यो। म अलमल परें। उस्ले बोलायो मलाई, हातको ईशाराले। म पनि गएँ।

मैले सुर के हो त्यो बुझ्नु अघि नै बाङ्गे भान्साँ पुग्यो र नरम स्वरमा भन्यो "आन्टी, कस्तो चिसो रे छ बाहीर त -- एक एक कप चिया फेरी पिउन पाए, त्यसकै तातोमा घर पुगिन्त्थ्यो"

आन्टीले हाँस्दै "किन चिया मात्रै भुजै खाएर गए नी भैहाल्छ नी" भनीन। "हैन आन्टी, भुजा अलि भोक लाग्या बेला खाम्ला, अहिले लाई चियाले हुन्छ" भन्यो बाङ्गेले। मैले चिसोको कुरा बुझें।

बाङ्गेले "गोमादीदी, चिया कौसीमा ल्याईदिनु न है" भन्दै उत्तर नपर्खी उ भर्याङ्ग तिर लाग्यो। म पछी लागें।

माथि तरुनीहरु के कुरा गर्दै थिए कुन्नी हामीलाई देखेर कुरा रोके। परेलीहरुलाई ओराले।

"यस्तो जाडोमा पनि यो कौसीमा चै कस्तो न्यानो रे छ" बाङ्गेले भन्यो।

दुईटैले फेरी हाम्लाई पुलुक्क हेरे।

"अहिले सम्म नगएर किन नी?" एउटीले सोधी। अब एउटी नभनेर के गर्ने त? बाङ्गेले लाको भागमा त्यो सोध्ने केटी मेरी थिई, तर त्यो दिन मेरो हात समाउने केटी उ थिईन। को कस्को हो को कस्को ---

"जाने भनेर हिनेको त हो नी -- चिया बन्दै रे छ, आन्टीले यहीँ माथि पठाईदिन्छु भन्नु भो अनि" बाङ्गेले सुनायो।

"त्यो साथीको के छ नी हालखबर?" मेरो हात समाउने चै ले सोधी यस पटक म तिर हेरेर। हुन त उ बाङ्गेले गर्देको अंश बंडामा बाङ्गे तिर थिई।

"को साथी?" मैले सोधें।

"को अब?" उस्ले अलि झर्केको जसरी भनी।

"शिबदाईको पेच हान्या होला हामीलाई" बाङ्गेले भन्यो।

"त्यो मान्छे किन त्यस्तो नी?" बाङ्गे सँग उभीएकीले सोधी। मेरो हात समाउने मेरै नजिक थिई।

"बिचरा पैले त क्या भलादमी रे शिबदाई, पढ्ने पनि त्यस्तै रे-- बिचरा एउटी केटीलाई मन पराउने रेछन, केटीले अर्कै सँग बिहे गरीछ-- अनि त खत्तम--त्यै केटीको बिहेमा फस ट्याम रक्सी खाएर गा रे, शिबदाई ---- पुरा टिल्ल भएर गएछन अनि जग्गेमा गएर बबाल गरे रे -- दुलालाई नी बजाउनु बजाए रे -- त्यति बेला देखी टिल्ल भाको रे अहिले सम्म त्यतिकै छन" बाङ्गेले भन्यो।

दुईटै तरुनीहरुले उस्को कुरा ध्यान दिएर सुनेका थिए। म चै अचम्म मा परें। शिबदाईलाई पनि थाह नभाको कुरा आज बाङ्गेले उनीहरुलाई सुनायो।

"गफाडी बाङ्गे" मैले मुस्कुराउँदै मन मनै भनें।

"चोट परे पछी मान्छेलाई --" बाङ्गेले फेरी थप्यो।

केटीहरु केही चिन्तित देखिए। बाङ्गेको गफ मैले त बुझे उनीहरुले खै के गरे।

गोमादीदी चिया लिएर आईन।
...
Read Full Discussion Thread for this article