उसले चिनी नभएको ब्ल्याक कफि मेरो अघि राखिदियो ।चिनी नभएको ब्ल्याक कफि मेरो स्वादको युनिकनेस हो । तर पनि मैले उसलाई सम्झाइरहनु पर्दैन मलाई के चाहिन्छ भनेर !उ आजकल मेरो आवश्यकता देखि अभ्यस्त भएको छ । पहिला पहिला मेरो ल्यापटपलाई घण्टौ सम्म नियालिरहन्थ्यो मेरा शब्दहरुबाट केहि बुझि पो हालिन्छ कि भनेर । पछि कुरा पत्ता लगाउन खोज्दा पत्ता लगाए उसले अहिले सम्म अक्षर हरु चिनेको रहेनछ । उ मात्र अराएको काम गरिदिन्थ्यो टेबल पुछ्ने ,भनेको टेबलमा चिया कफि भनेपछि पुर्याइदिने तर बिगतको एक बर्षमा म त्यो क्याफे सँग यति अभ्यस्त भएकी थिएँ की उसले नभनीकन पनि चिनी नभएको ब्ल्याक कफि मेरो अघि ल्याएर राखिदियो ।
मैले मेरै पुराना कुनै कथाहरुमा लेखेकी थिएँ ब्ल्याक कफिले मलाई कसैको वाहुपाशको सम्झना दिलाउँछ भनेर ,हुन त ति शब्दहरु नितान्त काल्पनिक थिए ,मेरो कफिले जसको बाहुपाशको सम्झना दिलाउँथ्यो त्यो पात्र पुर्णतय काल्पनिक थियो तर त्यो मेरो कल्पनाले यथार्थ कै धरातल लिएको हुनुपर्छ , म त्यहि क्याफेकै वरपरबाट शब्दहरु बटुल्थेँ , उन्थेँ र ति राम्रा लागेपछि फलैँचामा पस्किदिन्थेँ ति शब्दहरु चलेका पनि थिए फलैँचामा,फलैँचा मेरो कर्म थलो भनौँ भख्खर खुलेको साइट भए पनि साहित्यपारखि हरुले गर्दा चल्यो त्यो !!!!,र बिस्तारै म पनि त्यसैकी हिस्सा भएँ । एउटा भित्तो तोकियो मेरो लागि सबैले पढुन भनेर “सुगन्धाको भित्तो !”
मेरो वास्तविक नाम सुगन्धा हैन , साधना भनेर चिन्छन् सबैले म साधारण भएर बाँच्दा तर पनि मैले लेख्न शुरु गरेँ सुगन्धा भएर । र त्यहि नाम आजकल मेरो पर्याय बनेको छ । मलाई लाग्छ म एउटा भर्च्युअल जीवन समानान्तर रुपमा बाँचेकी छु । जसमा म ल्यापटपबाट फलैँचा भित्र छिर्छु । त्यहाँ का भिन्न पात्रहरुसँग म पात्र बनेर आफूलाई रहर लागेको जीवन बाँचिदिन्छु किनकी त्यो जीवन बाँच्नलाई मैले लेखे मात्रै पुग्छ ,त्यसपछि फलैँचा मा एकछिन सुस्ताएर कथाहरुबाट बाहिर निस्किन्छु केहि मन पराइदिनेका मेलहरु सँधै फलैँचाको भित्तो मा टाँसिइरहेकै हुन्छन् त्यो सुस्त सुस्त गर्दै हेर्छु । कसै कसैलाई धन्यवाद पठाइ पनि दिन्छु । अनी फेरि आफ्नो साधनाको शरिरमा फर्किन्छु त्यतिन्जेल सम्म साँझ परिसकेको हुन्छ घरतिर फर्किन्छु । त्यो बीचमा चिनी बिनाको ब्ल्याक कफिको छ सात कप विचमा आफुले रोजेको खाजा मेरा साथीहरु बनिदिन्छन् ।
सबैभन्दा स्वादिलो कुरा मैले त्यो गरेकाले मलाई बाँच्न सजिलो पनि भइराखेको छ । मलाई फलैँचाले जीवन दिइरहेको छ ।
आज मलाई लेख्न मन लागेन । एकछिन किबोर्डमा आफ्ना औँला चलाएँ ।सोचेको
नभएजस्तो लाग्यो ।
एउटा नियमित पाठकको फेरि मेल आएछ । उसका शब्दहरुले कहिलेकाहिँ म लेखक वा उ लेखक छुट्याउन गाह्रो हुन्छ । उसका शब्द शब्दहरु मुस्कान बनेर मेरा गालामा खोपिल्टा बनेर बसिदिन्छन् ।
“सुगन्धाजी फेरि तँपाइको कथा धित नमरी सिद्दियो । तँपाइ कथाका हरेक शब्दशब्दहरुमा पग्लिनु भए जस्तो लाग्छ ।अनौठो आभाष पाउँछु हरेक कथाहरुमा ।कहिले बादल हरु आफ्ना पाइला तल भएको जस्तो लाग्छ । एउटा सिरेटो ले कतै उडाएजस्तो लाग्छ जब ति शब्दहरु पढ्छु ।तँपाइ को नाम साँच्चै मलाई सार्थक लाग्छ सुगन्ध छरिदिने सुगन्धा !!! म आफू रहन्न । सोच्छु त्यो एउटा नभएको विश्वहो । म सोच्दिन त्यसको बारेमा । तर फेरि तँपाइको कथा आउँछ । म पढ्छु अनी उहि प्रकृया दोहोरिन्छ। म सक्दिन तँपाइका शब्दमा नडुबिकन बस्न मलाई लाग्छ सुगन्धाका भित्ताहरु चारैतिरबाट घेरिएर मेरो घर बनिरहेको छ ।यो कथा मन पर्यो भनेर मैले भनीरहनु पर्दैन होला !
अर्को कथाको प्रतिक्षामा !!!!!!!”
मैले मेल बन्द गरेँ ।उसको रिप्लाई आज सोचेर मात्रै लेख्नुपर्ला भनेर सोचेँ । उसका शब्दहरुले मलाई सोच्नलाई बाध्य तुल्याए । म जहिले पनि एकचोटी अडिन्छु जब जब उसका शब्दहरु देख्छु । एक चोटी उसलाई जिस्क्याएँ तिमी फलैँचामा लेख म भन्दा सफल हुन्छौ भनेर , उसले त्यो दिन मेरो मेलको उत्तर फर्काएन । मलाई त्यो दिन मैले उसका गम्भिर कुराहरुलाई हलुका बनाएर उत्तर फर्काईदिएँ जस्तो लाग्यो । थोरै आत्मग्लानी पनि भयो । अर्को कथामा फेरि प्रतिकृया आयो अनि मात्र मैले सन्तोषको सास फेरे । जीवन फेर सामान्य भयो । फलैँचा फेरि सामान्य भयो ।
थाहै नपाइ फेरि गालामा खोपिल्टे मुस्कान आइसकेछ ।
“भाई ब्ल्याक कफि !” मैले फेरि त्यहि फुच्चेलाई बोलाएँ । उ किचनमा छिर्यो । मैले आज क्याफेलाइ नियालेँ ।भित्ता भरीका अमुर्त कलाहरु मलाई सोच्नलाई नयाँ नयाँ प्रेरणा दिइरहन्छन् ।करिब सत्र अठार की केटी हुनुपर्छ अघिल्लो टेबलमा रिसाइरहेकी थिई ,अनि करिब उन्नाइस बिस को केटो हुनुपर्छ मनाउन खोजीरहेको थियो । युद्द धेरै बेर नहोला पक्कै पनि शान्तिप्रकृयामा आउलान ति ।मैले अर्को टेबल तिर आँखा लगेँ । एउटा बुढो पत्रिकामा डुबिरहेको थियो । आजकल पत्रिका पनि निक्कै मसालेदार भएका छन् नेपालमा ,देश चाँडो परिवर्तन हुनु भनेको पत्रिकामा खबर थपिनु हो अनि सोच्नेको लागि पर्याप्त सोचहरु थपिनु हो ।
मेरो ब्ल्याक कफि आयो मेरो टेबलमा । मैले सुरुप्प पारेँ ।आजको अन्तिम कप यहि बनाउने निर्क्यौल गरेँ ,वरपर हेरेँ क्याफेमा भिँड पातलिँदै थियो ।ल्यापटप आफ्नो झोलामा हालेँ । अनि बाहिर निस्किएँ ,बाहिर वादल चिरेर जुन मुस्कुराउन खोज्दै थियो । बाटो शितल
प्रकाशले नुहाउँदै थियो । मेरो घर जाने बाटो मलाई सुस्त सुस्त बोलाउँदै थियो ।
क्रमश: