Posted by: Deep April 13, 2009
हैन कि हो? ----- खै के हो के हो?
Login in to Rate this Post:     0       ?        

हामी हाँस्दै बाटो लागेम ---


 


जिस्किदा जिस्किदै ट्युशन पढ्न जाने भैयो। हाम्लाई बेलुका पढ्न जान मन लागेको सुरेश अंकलले बिहान पढाउने भए। नै बजे आउनु भन्थे रे उनले अझ, त्यसो गर्दा न्यानो सपना सिरक दुईटै हापेर जानु पर्ने, के सकिन्थ्यो? फेरी तरुनीहरु सुतीरा बेलाँ पुग्ने अनि उनीहरु उठ्ने बेलाँ हिन्ने गर्न थाले पछी ट्युशनको के मतलब भो?


 


"बाउ सँग अनेक चाल चलेर बल्ल बल्ल लाई मा धकेलेँ" बाङ्गेले बिजयभावमा सुनाएको थ्यो मलाई।


 


"पढ्न जाने भैयो है बाङ्गे ट्युशन?" मैले खुशी हुँदै बाङ्गेलाई सोधें, जबाफ चाहिएर होईन त्यसो त।


 


"हामीलाई सुरेश अंकलले के पढाउने हो, त्यो पढनु छैन, उनले पढाउलान पास हुम्ला भनेर को बस्या थ्यो ? हामी बेपारमा जाने हो त्यहाँ। सुन्दा नराम्रो सुनीन्छ तर कुरा त्यै हो। प्रेम भन्या बेपार हो नी। हामी आफ्नो मन तरुनीहरु सँग बन्धकीमा राख्न जाने हो, त्यसको बदलामा के दींदा रेछन उनीहरुले हेरम् न। चित्त बुझ्दो भेटीएछ भने राजीनाम गर्दिम्ला मन, नभए उकास्यो हिन्यो।" बाङ्गेले दरो प्रबचन दियो।


 


"उसो भए पैलेई दिन किताब कापी छोडेर, हाताँ गुलाफको फुल लिएर जाने हो कि के हो ?" मैले जिस्किदैं सोधें।


 


"अरु कुरा मलाई थाह् छैन, तर त्यहाँ सुरेश अंकलले के के आउछ तिमीहरुलाई? भनेर सोधे भनें जान्ने भएर यो पनि आउँछ त्यो पनि आउँछ भन्ने होईन। बुझिस? सुरुमै गारो बाट चेप्ट्याउलान फेरी -- जानेको पनि जान्या छैन भन्दीना काम , सिकाउन त्यै। उनले त्यै हाम्ले जान्या कुरा सिकाउँदा हो नी हाम्ले उता तरुनीहरुको फाँटाँ नसिक्या कुरा सिक्ने।" फेरी उपदेश दियो बाङ्गेले।


 


"होईन तर मलाई ज्यामिती चै सिक्नै पर्ने यार, साध्यमा पोख्त नभै भा छैन" मैले भनें।


 


"ज्यामीती बिजगणीत पनि सिकम्ला तर बेला आए पछी, बुझिनस? पैला अंकगणीतबाटै सुरु गरम ?" उस्ले जिस्किदै भन्यो।


 


सत्तेनारनथान उत्तर दुब्लाको रुख मुन्तिर बसेर सुक्दै गाको धोबीखोला हेर्दै बाङ्गे र म कुरा गर्दै थिएम। हामीले तानेर छोडेको चुरोटको धुवाँ भिमसेनपाती मास्तिर बाट हुँदै उडेर बिलाउँदै थ्यो।


 


ट्युशनको पहिलो दिन। उत्साहले बिहान तीन बजे उठाईदीए पछी देखी निन्द्रै लागेन। निन्द्रा नपुगेर आँखा राता होलान र सुरेश अंकलले आफ्ना राता आँखामा नखाको गाँजा देख्लान भन्ने बिनसित्तीको पीर फेरी।


 


सात बजे तिर बाङ्गेका जानु पर्ला भन्दै थिएँ, साढे छ मा त उ नै आईपुग्यो। चिया तान्दै गर्दा उस्ले मसिनो स्वरमा भन्यो, "चुरोट चै आउँदा मात्रै तान्ने बुझिस, जाँदा त ज्ञानी हुनु पर्यो नी अब।" त्यति त मैले पनि बुझिसकेको थिएँ।


 


लागीयो बाटो झोलामा किताब कापी, अनि मनमा अनेकौं प्रश्नहरुले घेराबन्दीमा पारेको उमंग लिएर।


 


कोटालटोल तिरबाट ओरालो लागियो, मालीगाउँ छिचोलेर ज्ञानेस्वर-कालोपुल बाटो पुगे पछी दाईने लागेर चढीयो उकालो। अनि सानो गौचर तिर नलागी ज्ञानेस्वर भैरबथान तिर बढीयो। अनि भैरबथानबाट लागियो दाईने भन्या पस्चिम तिर। ट्युशन पढ्न भनेर हिनेका हामी, बाटो भरी बाङ्गे र मेरा पढाईका केही कुरा भएनन्।


 


सुरेश अंकल कौसीमा बसेर चिया तान्दै रे छन, कम्पाउण्डवालको ढोका खोलेर उनको चोकमा दाखिल हुना साथ, चोकैबाट उनलाई कौशीमा नमस्कार ठोकियो।


 


तरुनीले खोल्छन की त ढोका अब घर भित्र पस्ने चाईँ भन्ने आशामा तुषारापात गर्दै गोमादीदीले चैं ढोका खोलीन। अस्ति आउँदै चिनेको गोमादीदीलाई। हुन त तरुनीहरु आईनपुगेको खबर बाङ्गेले देकै हो, त्यै पनि आश स्वभावैले लोभी हुने, के गर्नु?


 


बैठकमा बसियो। सुरेश अंकल आए। फेरी नमस्ते ओईराईयो। ढोका भित्र जाने सुरमा आईया छ, साँचो भाको मान्छेलाई नरीझाई हुन्थ्यो के त?  उनले हाल्चाल सोधे। आन्टी पनि आईन। आन्टीलाई पनि भक्ति पूर्बक नमस्कार चढाईयो। साँचो अंकल सँग भए पनि, दिने नदिने खटन आंटीको हुँदो हो भन्ने बुझाईथ्यो हाम्रो। सिष्टाचारका केही कुराहरु भए। जाने अनुसारको ज्ञानी भैयो। आफु नभाको कुरा हुन गार्हो हुने। झन्नै उकुस मुकुस भाको।


 


त्यसपछी सुरेश अंकलले अर्कै कोठामा लिएर गए हामीलाई।


 


त्यो हाम्रै लागी तयार पारीएको रहेछ। कोठामा थुप्रै तस्बीरहरु पनि थिए, तर आफ्ना आँखा भने तरुनीहरु भाका फोटामा ठोक्कीएर हैरान।


 


कोठामा बसे पछी पढाईका सामान्य गफ भए। चिया आयो। उनले बाङ्गेका बा ले बिशेष अनुरोध गरेकाले मात्रै हामीलाई पढाउन हुन्छ भनेका हुन नभए उनलाई ट्युशन भन्ने शब्द प्रति नै मोह नभएको कुरा सुनाए। "बिद्यार्थी भनेको यात्री हो, शिक्षकले त बाटो सम्म देखाउने हो" भने। अनि थपे "म तिमीहरुलाई सहयोग सम्म गर्न सक्छु, त्यति हो"।


 


"हाम्लाई चाहिएकै अंकलको सहयोग हो, बाँकी त हामी आफै गरीहाल्छम नी" बाङ्गेले भन्यो। बाङ्गेले भनेकै अर्थमा सुरेश अंकलले बुझ्लान भनेर डरका बादल मनमा जुधे मेरा। गड्याङ्ग भो नी। हेरेको सुरेश अंकल त मुसुक्क हाँसेका रहेछन, अनि बाङ्गे पनि। म पनि मिस्सीएँ अनि त।


 


त्यो दिन त्यस्तै भो। तरुनीहरु आईपुगेका रहेनछ्न। जाडोको बेला खोल नहाल्या सिरक ओढ्या जस्तै भो।


 


अर्को दिन पनि तरुनीहरु थिएनन्। दिक्कै भैयो। अनि अर्को दिन पुगेको सुरेश अंकल अर्कै को मान्छे सँग हो ब्यस्त रहेछ्न। बस्दै गर्नु भन्ने खबर संगै चिया ल्याईन गोमा दीदीले। "कोठामा हामी मात्रै धुमधुमती बसेर के चिया खाने हिन माथि कौसीमा जाम" बाङ्गेले भन्यो अनि अघि लाग्यो। म पछी लागें। चिया बोकेर पुगियो माथि कौसीमा। कुहीरो उठीसकेको थिएन। आकासमा घाम कुहीरो पछाडी भए पनि कौसीमा भने झलमल घाम लागेको देखियो। एउटी तरुनी त कौसीमा पो छे। उ पूर्ब तिर फर्केर उभीएकी थिई, हामी कौसीमा पुगेको उस्ले देखिन। बाङ्गे र मैले एक अर्कालाई हेरीम।


 


त्यो कौसीमा उदाएको घामका किरणहरुमा बाङ्गेको अनुहार उज्यालो देखिन्थ्यो। आफ्नो अनुहार आफैले नदेखे पनि त्यो घामको राप मैले आफ्नो अनुहारमा पनि अनुभव गरें। अनि उस्ले चै हाम्रो पदचाप अनुभव गरेकी हुनु पर्छ। हामी तिर फर्किई। उस्ले पनि हातमा कप लिएकी थिई। उस्को अनुहारमा कौतुहल र संकोचका रंगहरु चढ्दै थिए। आफ्नै कौसीमा नचिनेका दुईटा नवयुवकहरुलाई आफु छेउ पाउँदा उ झस्किनु स्वभाविक थ्यो। आकासमा सूर्य यसै पनि कुहीरो पछाडी थ्यो, अगाडी नै हुँदो हो ता पनि पनि त्यो सुन्दरीको सुन्दरताको अगाडी मधुरो हुने थियो।


 


"प्रणाम" बाङ्गेले कप समेत उचालेर दुईटा हातले कप च्याप्दै अप्रत्यासित रुपमा सौन्दर्यबन्दना गर्यो। म समेत अलमलिएँ।


 


सुन्दरीले आफ्ना हामी तिर उठेका परेलीहरु ओराली अनि कौसीबाट ओर्लिई।


 


उ ओर्लेकी हेर्दै गर्या बाङ्गे तिर हेर्दै मैले सोधें "हिंजो राती रामायण पढेर सुत्या थिस कि क्या हो? के को प्रणाम हो?"


 


सुन्दरीलाई भरखर ओरालेर स्वयं पनि उदास छ कि झै देखीने रित्तो सीँढी तिर बाङ्गे अझै हेर्दै थियो।

Read Full Discussion Thread for this article