बाङ्गेका र मेरा बा भर्याङ्ग ओर्लेको सुने पछी, हाम्रा कुराहरु फेरीए, बोली पनि, अनि चाल पनि।
मैले बाङ्गेलाई हेर्दै बन्द ढोका तिर हेरेर आफ्ना आँखिभुई उचाले पछी उस्ले तुरुन्तै मेरो इसाराको तामेली गर्यो। उनीहरु आउँदा हाम्रो ढोका खुलै भएको राम्रो।
दुबै जना पसे मेरो कोठामा। मेरा बाको भन्दा बाङ्गेका बाको निरीक्षण तिखो थ्यो मेरो कोठाको। तर मैले हिंजै आफ्नो कोठा ब्यबस्थित मात्रै होईन, सुरक्षित पनि पारीसकेको थिएँ। त्यसैले ढुक्क थ्यो।
शिष्टाचार प्रति पुरै ईमान्दार भएँ म। केही शब्दहरुका सामान्य ओहोर दोहोर पछी बाङ्गेका बा बाहीरीए, मेरा बा पनि साथ लागे। बाङ्गे पनि पछी लाग्यो, कत्ति न ज्ञानी जस्तो।
म यसो टेबलमा नपढे पनि किताब चै पल्टाउनै ला हो कि जस्तो देखिने शैलीको बिचारमा थिएँ, बा आए कोठामा। मैले उनी तिर पुलुक्क हेरें, अनि टेबल तिर।
"ट्युशन पढ्ने भन्या जाँचमा पास हुन चाहीने किताब कै त पढ्ने भन्या होला नी?" उनले सोधे जसरी भनें। मैले उनलाई फेरी हेरें तर केही भनीन। उनले सोधेका पनि थिएनन। सोधे जस्तो सुनीए पनि त्यो चेतावनी थ्यो। तर त्यो चेतावनी पनि मलाई राम्रै लाग्यो। उनले पनि मेरो पक्षमा फैसला गर्ने संकेत थियो त्यो।
उनी कोठाबाट निस्किए पछी पनि मैले ढोका तिर हेरी रहें, उनको प्राथमिकता र मेरो प्राथमिकताको संघार थियो त्यो।
भोली पल्ट अपरान्हको बिदाईमा साँझ उपस्थित हुँदाको बेला थ्यो, म, सुपारी र ट्वाक पीपलको बोटले बनाईदीएको जस्तो किस्नमन्दीरको सिंढीमा बसेर धुमील हुँदै गएको बाताबरणमा मग्न थिएम, बाङ्गे आएको देखियो। उस्लाई दिनभर भेटन सकिएको थिएन। त्यो ओईलाउँदै गएको दिनमा पनि उस्को अनुहारमा चमक प्रस्टै देखिन्थ्यो।
उ आईपुग्ने बित्तिकै ट्वाकले हात बढायो, मिलाउन हैन। चुरोट मागेको।
"किन दंग नी?" सुपारीले बाङ्गे तिर हेर्दै सोध्यो।
"ट्युशन पढ्न जाने भैयो" बाङ्गेले पैला म तिर, अनि सुपारी तिर हेर्दै भन्यो।
ज्याकेटको भित्री खल्तिमा हात हालेर चुरोट झिक्नु अघि बाङ्गेले यसो सबै तिर हेरेको जस्तो पनि गर्यो अनि चुरोट दियो ट्वाकलाई। ट्वाकले चुरोटलाई हातमा बन्द गर्यो। उ उठ्यो, अनि हामी पनि। त्यो सिंढीमा बसेर धुँवा तान्नु भनेको खतरालाई जिस्काउनु थ्यो।
उठ्दा उठ्दै ट्वाकले सोध्यो, "ट्युशन पढ्न जाने भन्दा पनि कोई खुशी हुन्छ?"
"त्यै त" सुपारीले नाकबाट जोड सँग हावा तान्यो घ्यारर् गर्ने गरी, घाँटीमा अडकेको खकारलाई होला हल्लायो नराम्रो सँग अनि त्यै अघि तानेको हाबालाई फेरी मुख तिर उस्तै जोडले खकार समेत धकाल्यो, जिब्रो मास्तिर मोडाएर माथिल्लो ओठमा जोड्यो, अनि सकेसम्मको बलले त्यो खकार ओठवाट जिब्रो फुस्काउँदै हुर्यायो सडकाँ। दिनमा एक दुई चोटी त सुपारीले त्यस्तो गरेकै हुन्थ्यो,त्यै भएर उस्को त्यो प्रक्षेपण प्रकृया हामीलाई कण्ठै थ्यो।
"अन्त भए त को जान्थ्यो र ट्युशन पढ्न खुशी हुँदै? तरुनीहरु भा घराँ पढ्न जाने भने पछी खुशी हुनु परेन?" बाङ्गेले सुनायो।
"तरुनी भा घराँ गएनी तरुनी सँगै त पढ्ने होईन होला नी यसरी जोस्सीनलाई?" सुपारीले भन्यो।
"ह्या यस्तो जवनीमा पनि यो बर्मचारीको कुरा सुनेर पनि हुन्छ? ! ल ल मलाई पनि पनि लैजा यार" ट्वाकले सुपारी तिर ब्यङ्ग गर्दै बाङ्गेलाई भन्यो।
"तँलाई अब जन्तीमा लैजाम्ला ट्वाक, के गर्छस हेर बाबु, तरुनी जम्मा दुईटी रे छन् एउटी मलाई चाई हाल्यो अर्की दीपले रिजाप गरीसक्यो। फेरी तँलाई किन जानु पर्यो ट्युशन?--पैसाको नास। त्यो भगवतीबाहालकी सित्तैमा मस्किन्छे तँ सँग--" बाङ्गेले भन्यो।
ट्वाकले बाङ्गे र म भएर आफु आफु तरुनी रिजाप गर्य कुरालाई लिएर अन्यथा सोच्ला भनेर मैले पनि थपें "तेरी त्यो भगवतीबाहलकी जस्ती पाए त मन डुलाउनै पर्ने थिएन, कुन अध्यायमा पुग्या छ अहिले तेरो पुराण त्यहाँ?"
"अध्याय त उही हो नी, मुस्कान अध्याय -- " ट्वाकले दंग परेर भन्यो।
"के सोचेर मस्किन्छे कुन्नी यो ट्वाकलाई देखेर, मस्किन चैं मस्किन्छे लच्की लच्की--" सुपारीले दीक्क माने जसरी भन्यो।
"उ लच्केर तँलाई के भो त?" ट्वाकले सोध्यो।
"काँ नी तिमेरुको ट्युशन?" सुपारीले ट्वाकलाई जबाफ नदीई मलाई सोध्यो।
"ज्ञानेश्वरमा, त्यही सुरेश अंकल काँ" बाङ्गेले चै जबाफ दीयो।
"तरुनी सँग भेट भएन भन्या होईन त?" ट्वाकले सोध्यो।
"त्यै नभा भएर त ट्युशनमा भर्ना हुनु पर्यो नी, धाउने बाहाना चाहिएन एउटा?" मैले थपें।
"उसो भए त्यो महाराजगन्जकी को त बिजोग हुने भो त तँ पनि ज्ञानेस्वरमा भर्ना हुने भने पछी" सुपारीले म तिर हेरेर भन्यो।
"त्यो माहाराजगन्जकी तँलाई भो ल जा" बाङ्गेले भन्यो।
"म हुँदा हुँदै त किन जान्ने नी?" बाङ्गेको हस्तक्षेपको मैले बिरोध गर्दै भनें।
"अब तीन चोटी पुग्दा एक चोटी भेटीन्छे तै पनि बोल्दीन, के काम त त्यस्ती? सुपारीले सक्छ भने गरोस न" बाङ्गेले भन्यो।
"चाहीया छैन चाहीया छैन कसैको सेकेन ह्यान" सुपारीले भन्यो।
"कस्को फस ह्यान भाकी छे र तेरो सेकेन ह्यान हुनलाई?" मैले सोधें। सुपारीले केही भनेन।
"ल ल अब घर जाम, चिसो चिसो पनि भो" ट्वाकले भन्यो।
"के जाने घराँ पनि--स्वास्नी भए पो -- " सुपारीले एक्कासी भन्यो।
हामी हाँस्दै बाटो लागेम।