भोली पल्ट बिहानै बाङ्गेको बाउ आए घराँ बाङ्गेलाई लिएर। बिहानको चिया सुरु मात्रै गरेको थिएं, अब चै के के हुने हो जस्तो लाग्यो। ...
म आफ्नै कोठामा थिएँ। चिया लिएर कौसीमा जाने सुर थ्यो अब बाङ्गे र उस्का बा आको देखे पछी सोचें मेरै बालाई त भेटन आ होलान नी अनि कौसीमा नजाने बिचार गरें। बोलाएछन भने जाम्ला नभए मट्टीतेल र सलाई भेट भा ठाममा जान्ने भएर किन जानु?
नभन्दै घर भित्र पस्ने बित्तिकै मेरा बालाई खोजे। अनि चढे भर्यान्ङ्ग। आफुले गरेका नचाहिने कुराहरु सम्झिन थालें। यस्को बारेमा कुरा गर्न आ हुन कि उस्को बारेमा भन्दै। कुराहरु अलि अलि मात्रै आएका हैनन् मनमा, तँछाड र मछाड गर्दै हुलका हुल। अनि पो लाग्यो, ओहो! के औधी नचाहिने काम गरीएछ त हँ? जस्तो। सम्झेका मात्रै त्यो बिघ्न थिए, झन बिर्सेका कति होलान? "ल भएन यसरी अब --- सुध्रिनु पर्यो", आफैले आफैलाई भनें। फन्दामा पर्या बेला मेरो मन, जे चाहिने कुरा गरे पनि मान्थ्यो। त्यति बेला पनि ज्ञानी भएर "हो हो सुध्रिनु पर्छ" भन्यो। तर थाह भाकै कुरा हो, मलाई बिगारेको भनेकै मेरै मनले हो।
एक छिन पछी बाङ्गे आयो मेरो कोठामा। ओछ्यानमै थिएँ म, उथल पुथल मनलाई तह लाउँदै थिएँ। "हेर हेर खोराँ लुकेर बस्या--" कोठाको ढोका लाउँदै उस्ले म तिर हेरेर भन्यो।
"तँलाई चै टाटनाबाट बिहानै फुकाएर ल्याएछन त बाउले, किन नी?" मैले सोधें।
"मलाई बाउले फुकाएर ल्याको हैन बाबु, बरु मैले उनलाई बाँधेर ल्याको यहाँ। अब मेरा बाउले तेरा बाउलाई बाँध्छन अनि हामी फीरी -- बुझिस?" स.ई.ले ठानामा मुन्टीदै आईपुगेकालाई हेर्दै जुन तरीकाले आफ्नो कुरा गर्थ्यो, बाङ्गेले लगभग त्यस्तै आबाजमा आफ्नो कुरा सुनायो मलाई। उस्को अनुहार पनि निक्कै चम्केको थ्यो।
"त्यै तेरो कुरा धेरै बुझ्ने भएर अरुले अब मूर्ख भन्न थालीसके" मैले पनि बिरक्तेको स्वरमा भनें उस्लाई।
"चोरले अरुलाई चोर देख्या जस्तै हो त्यो बुझिनस? मूर्खले नी अरुलाई मूर्खै देख्छ।" उस्ले भन्यो।
"ल ल भयो, पुग्यो प्रबचन-- के हो चाहिने कुरा?" मैले उ तिर हेर्दै सोधें।
मेरो खुट्टा तिर ओछ्यानमा बस्दै उस्ले भन्यो "अब हामी ट्युशन पढ्न जाने"।
"कहाँ?" मैले फेरी सोधें।
"ससुरालीमा नी अरु कहाँ?" उस्को अनुहार अरु चम्कियो।
"ह्या बाङ्गे यो ससुरालीको गफ त म अब सुन्न पनि सक्दिन--तातो न छारो" मैले झर्केर भनें।
"हो भन्या मरीजाम, तेरो मासु खाने ल बिद्यानस--पशपतीले भष्म" उस्ले जोस्सीदै भन्यो।
मैले खाली उस्लाई हेरी मात्रै रहें।
"तँ नजाने त?" उस्ले मलाई हेरेर सोध्यो।
"कहाँ? ससुराली?" मैले यस पटक हाँस्दै सोधें।
"अँ" उस्ले भन्यो।
"नजाने, धेरै गैयो रीत्तो ससुराली अब एस एल सी नसकिए सम्म घरै बस्ने" मैले भनें।
"अब दुई दुईटीलाई मैले के गर्नु लौ? एउटी तँलाई, एउटी मलाई भन्या -- बिर्सीस?" उस्ले पनि हाँसेर भन्यो।
"को?" मैले सोधें।
"को अब? सुरेश अंकलका छोरीहरु नी" उस्ले अरु हाँसेर भन्यो।
"फेरी सुरेश अंकल?" मैले उस्लाई घुर्दै भनें।
"अनि के त?-- क्याम्पसको लट्टे हाँक्या सुनीनस हिँजो?--" उस्ले भन्यो अनि थप्यो "हिँजो है राती ओछ्यानमा लम्पसार परेर लौ महादेब केही उपाय गर्दीनु पर्यो भन्या त भ्वाक्कै आईडिया दी रा एउटा -- ए, अहिले सम्झ्या बेला भनी रा है भरे पशपती जानु पर्छ आरतीमा -- धन्यवाद भन्नु पर्यो नी आईडियाको लागि।"
"के आईडिया?" मैले सोधें।
"के भने नी है -- सुरेश अंकल कहाँ ट्युशन पढ्न जाने के, तँ र म।" उस्ले दंग पर्दै भन्यो।
मैले केही भनीन, उस्लाई हेरें मात्रै।
"हो भन्या" उस्ले भन्यो। मैले उस्को कुरा नपत्याको भान भएको हुनु पर्छ उस्लाई।
"क्याम्पसाँ पढाउने कुरा गर्थे त, हिंजो बिहान। बिर्सीस? अनि अघि बिहान बाउ सँग त्यो कुरा झिक्या त "सुरेश सानै देखि तगडा थ्यो पढाईमा" रे मेरो बाउले।
"�