Posted by: chipledhunga March 25, 2009
दोलालघाटको माछा
Login in to Rate this Post:     0       ?        

मैले त्यो बेलासम्म देखेको नेपालको राजमार्ग छेउका शहर बजारहरुमा बनेपा सबैभन्दा फोहोर मध्येमा थियो। बस रोकिएको ठाउँ छेउ फराकिलो खुल्ला नाली थियो जहाँ केही सुङ्गुरहरु लडीबुडी गरिरहेका थिए। नजिकै फोहोरको थुप्रो थियो। त्यसो त सँधै फोहोर भनी नाम कमाएको काठमाडौंको हालत पनि साबिक भन्दा नाजुक नै थियो। गोकर्ण स्थित डम्पिङ साइटमा स्थानीय बासिन्दाहरुसँगको बिबादको कारण फोहोर फाल्न सकिएको थिएन र जतासुकै फोहोर थुप्रिएको देखिन्थ्यो। भोटाहिटीबाट असन छिर्ने ठाउँमा सडक बीचको थुप्रोले होस् या सुन्धारा छेउ धरहरालाई नै माथ गरौंला जस्तो गरी चुलिंदै गएको थुप्रोले होस्, प्रत्येकले तात्कालीन मेयर पि एल सिंहको "सफा स्वच्छ हराभरा काठमाडौं"को नारालाई उपहास गरिरहेका थिए।

१५-२० मिनटको बनेपा रोकाइको समयमा धेरै बालबालिकाहरु यात्रुहरुलाइ खानेकुरा बेच्न खोज्दै थिए। एक जना "ल फराइ फुल फराइ फुल" भन्दै थियो, यसो हेरेको उसिनेको फुललाई मसला मोलेर तारेको जस्तो देखिन्थ्यो। अरु केही भने केक, क्रिम रोल, डोनट आदि बेच्दै थिए। स्कुल जानु पर्ने बालबालिकाहरु बाध्यताबस दुई चार पैसा कमाउने संघर्षमा लागेको द्रिश्य कम्ती हृदयबिदारक थिएन। उल्लेख्य संख्यामा थप यात्रीहरु सहित बस अघि बढ्यो। निमेष भर मै बनेपा छोडि सुन्दर द्रिश्यपान गर्दै धुलिखेलसम्मको ठाडो उकालो चढी ओरालो लाग्न थालियो। बादल नलागेको भए हिमाली द्रिश्य पनि देखिन्थ्यो तर त्यो दिन मेरो भाग्य रहेनछ। नागबेली सडकमा खावा र केराघारी हुँदै तल झर्दा सल्लाका रुखहरुको संख्या घट्दै गयो र केरा अनि आँपका रुख देखिन थाले।  प्रष्ट थियो अलि गर्मी नै ठाउँमा झरिंदैछ भनेर। करीब १० किमीको ओरालो पछि काठमाडौंबाट करीब ४० किमी परको तीनपिपले पुगियो। लामिडाँडाबाट सानो उकालो चढेर चाक खोलाको छेउमा झरियो। बिख्यात भूगोलबिद स्व डा. हर्क गुरुङ्ले आफ्नो पुस्तक Vignettes of Nepal मा लामिडाँडादेखि चाक खोलाको सडक खन्डले "narrow saddle of hornfels " क्रस गरेको भनी लेख्नु भएको छ। त्यसको अर्थ के हो त थाहा भएन, तर मेरो गैर बनस्पति शास्त्रीक बिष्लेषणमा भने गर्मी र जाडो दुबै थरी भेजिटेसनको ट्रान्जिसन पोइन्ट जस्तो भएको अनुमान लगाएँ साल र सल्ला दुबैका रुख देखेर। चाक खोलालाई १० किमी जति पछ्याएपछि दोलालघाट पुगियो।

त्यता नपुग्नु भएका पाठकहरुलाई दोलालघाटको छोटो परिचय दिइहालूँ। काठमाडौंलाई कोदारीसँग जोड्ने अरनिको राजमार्गको मध्यबिन्दु अर्थात् दुबै ठाउँबाट ५७ किमीको दूरीमा दोलालघाट अवस्थित छ। सप्तकोशीका सात मध्ये ईन्द्रावती र सुनकोशीको संगम यहीं हुन्छ। इन्द्रावती नदीले काभ्रे र सिन्धुपाल्चोक जिल्लालाई छुट्ट्याएको छ। इन्द्रावती तरे पश्चात् राजमार्गले एउटा डाँडोको फन्का मारी सुनकोशी अनि पछि भोटेकोशीको किनार हुँदै सीमावर्ती कोदारी छुन्छ।  यो ठाउँ बनभोज (हुन त बगरभोज भन्न अलि उपयुक्त होला कि) स्थलको रुपमा लोकप्रिय छ, साथै चतरासम्मको लामो अनि साहसिक rafting को प्रारम्भ गर्ने स्थान पनि यही हो।

फेरि संस्मरण अघि बढाउँ है त। दिउँसो पौने एक बजेतिर वारि पट्टि रोकिएको बसबाट ओर्लिएर उर्लंदो ईन्द्रावती नदीलाई हेर्दै पुल तरेर दाँया पट्टिको गल्लीमा छिरें। छेउ छाउका घर पसलहरुबाट लोकल रक्सीको चर्को गन्ध आइरहेको थियो। केही बेरमै इन्द्रावती माथिको भीरमा पुगियो। गोरेटो छेउमा चरिरहेका बाख्राहरुलाई देख्दा लाग्थ्यो, उनीहरुलाई तल खसिएला भन्ने डर छैन। बसबाट ओर्लिएको ५ मिनट जतिमै इन्द्रावतीको बगरमा पुगियो।  त्यसको केही क्षणमै सुनकोशीसँगको दोभानमा पुगेर राजमार्गतिर फर्केर हेरें।

"तिम्रो आँखाको सागरमा लहर लहर छल्किरहेछ, त्यही लहर माझमा मेरो सपना पौडिरहेछ।" चलचित्रको नामको सम्झना त छैन तर गीतान्जली कार्यक्रममा प्रकाश श्रेष्ठ र आशा भोस्लेको यो युगल गीत खुबै बज्थ्यो। इन्द्रावती पुललाई देखेपछी उक्त गीतको छाँयांकन आफू उभिरहेको स्थानमा भएको रहेछ भन्ने थाहा भयो। त्यसो त दोलालघाटतिर चलचित्रहरुको छाँयांकन भैरहन्छ भनेर नसुनेको त होइन। एकै छिन् उभिएर वरिपरि हेरिरहें। दुई खोलाहरुको निरन्तर गड्गडावटलाई बेलाबेलामा राजमार्गका गाडीहरुको हर्नले बिथोल्थ्यो। ईन्द्रावतीमा यसो हात पखालें, अनि दुई नदीको पानी मिसिएको ठाउँ र सुनकोशीमा पनि त्यसै गरी पखालें। दोभानको अलि माथि पट्टि एउटा सानो मन्दिर रहेछ। बगर हेर्दा थाहा हुन्थ्यो, बाढी आएको बेला मन्दिरको ठीक तल पट्टी सम्म पानी बग्ने रहेछ भनेर। त्यो बेला भने मन्दिर र दोभान बीच ५० मिटर जतिको अन्तर थियो होला। दुइ तीनवटा राम्रो लागेका साना ढुङ्गाहरु खल्तीमा हालेर मन्दिरतिर अघि बढें।
 
मन्दिर दोलालेश्वर महादेवको भएको कुरा त्यहाँ रहेको खुइलिएको साइन्बोर्डबाट थाहा भयो। मुस्किलले एउटा सानो शिवलिङ्ग अटाएको उक्त मन्दिरको दर्शन गरेपछि सुनकोशी माथिको भीरको बाटो लाग्न थालें। नजिकै देखिएको झोलुङे पुल तर्ने रहरले त्यता लागेको थिएँ। पुलको पारि पट्टि एउटा सानो पसल थियो। केही अघि बढें। राजमार्गबाट निकट भए पनि त्यसको कुनै असर त्यहाँ देखिन्नथ्यो। न बजारमा जस्तो पक्की घर देखिन्थ्यो न त गाडीका हर्न नै सुनिन्थ्यो। पुराना घर, हरिया खेत अनि पहाडहरुका बीच अबिरल बगिरहेको सुनकोशीको मोहक द्रिश्य हेर्दै जति अघि बढौं जस्तो लागे पनि पुल तरेको दुई तीन मिनट पछि मैले फर्किनु नै उचित ठानें र मन नमानी नमानी फेरि पुलतिर लागें। बसबाट ओर्लिएको ४५ मिनट जति पछि फेरि बजारमै पुगें। मेरो दोलालघाट यात्राको मूख्य उद्देश्य थियो, माछा खाने। उक्त उद्देश्य पूरा गरी मलाई समयमै घर फर्किनु थियो।

क्रमश:                                                       
Read Full Discussion Thread for this article