[Show all top banners]

chipledhunga
Replies to this thread:

More by chipledhunga
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

sanir
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 दोलालघाटको माछा

[Please view other pages to see the rest of the postings. Total posts: 27]
PAGE: <<  1 2  
[VIEWED 15451 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 03-24-09 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 


(मैले यो संस्मरण पहिलो चोटि २००२ को अन्त्यतिर लेखेको थिएँ। त्यति बेला युनिकोड उपलब्ध थिएन। अंग्रेजी र रोमन नेपाली मिसाएर त्यो बेला लेखिएको संस्मरणलाई अहिले फेरि युनिकोड प्रयोग गरी प्रस्तुत गर्दैछु।)

स्नातक तहको पढाईको लागि अमेरिका आएको दुई बर्ष पछि ३ महिने बर्खे छुट्टीमा नेपाल गएको थिएँ। केही समय त साथीभाइ अनि नातागोतासँगको भेटघाट, स्थानीय तथा उपत्यका बाहिरको घुमघाम अनि ब्यक्तिगत तथा घरायसी कामले बित्थ्यो। कहिलेकाहीं यसो मन लागेको केही पढ्न ब्रिटिश लाइब्रेरी पनि जान्थें।  त्यसका साथै एउटा गैर सरकारी संस्थासँग आवद्ध भएको हुनाले त्यसैमा पनि केही ब्यस्त हुन्थें। आफ्ना साथीहरु तथा समकक्षी नातेदारहरु मध्ये अधिकांश कि त बिदेशिएका थिए कि त आफ्नै पढाई, जागीर वा दुबैमा ब्यस्त थिए। बुवा आमा दुबै जना जागीरे हुनुहुन्थ्यो। त्यसले गर्दा धेरै समय एक्लै पर्थें र कहिलेकाहीं त के गरी समय कटाउने जस्तो हुन्थ्यो।

एक दिन बिहानको ९ बजेतिरको कुरा हो, बुवा आमा भरखरै अफिस जान निस्किनुभएको थियो। के गर्ने जस्तो भयो त्यो दिन पनि। यसो बिचार  गरें, काठमाडौंका मानिसहरु मलेखूको माछाको खुबै बयान गर्थे तर मलाई थाहा थियो कि त्यहाँ पाइने माछा अधिकांश स्थानीय होइनन् भनेर। जनकपुरबाट काठमाडौं जाने रात्री बसबाट माछा उतारेको आँफैले देखेको नै थिएँ। सोचें कि दोलालघाटमा भने स्थानीय ताजा माछा नै पाईन्छ, आज त्यतै खाएर आउनुपर्‍यो भनेर। केही समय अघि मात्रै तातोपानी गएको र गैर सरकारी संस्थाको कामले पाँचखालतिर केही दिन बसेको पनि हुनाले त्यो क्षेत्रसँग केही परिचित थिएँ र उज्यालैमा घर फर्किन सक्ने कुरामा ढुक्क थिएँ।  एक जना अलि फुर्सदिलो ठानेको साथीलाई फोन गरेको, घरमा रहेनछ बजिया। ल जा त एक्लै भए नि जान्छु भनेर निस्किएँ।

मूलबाटोमा निस्किएर हाम्रो टोलको डाउनटाउन जस्तो ठाउँ अर्थात् सबैभन्दा धेरै पसलहरु भएको अनि प्राय: ट्याक्सी र टेम्पोले यात्रु कुर्ने चोकतिर लागें। मिटरमा FOR HIRE लेखेको ठाडै पारी रोकिएको एउटा कालो टेम्पोको चालकलाई सोधें, "खाली हो दाई" भनेर। उसले सहमतिमा टाउको हल्लाउँदै ढोका खोलिदियो। स्टीलको डन्डी र कपडाको ढोकाको चुकुल अड्काएर मैलो कपडाको सिटमा बस्दै पुरानो बस पार्क लग्न अनुरोध गरें। FOR HIRE लेखेको पातोलाई बाँयातिर घुमाएपछि मिटरले HIRED लेखेको देखायो र चालकले स्टार्ट गरेर अघि बढायो। हुन त माइतीघरसम्म मात्रै गएको भए बाटो पनि पर्थ्यो अनि केही समय र भाडा पनि बच्थ्यो तर ३ घण्टा जतिको बाटो सिट नपाए त गार्है हुन्छ भनेर बस पार्क नै गैयो। मिटरको सिल पनि कस्तोसँग तोडेको रहेछ। समथर बाटोमा अलिकति अघि बढे पनि, जोल्टिन खाए पनि, दाँया बाँया जता मोडे पनि खित्रिक्क पैसा चढीहाल्थ्यो। कुपन्डोल, थापाथली, सिंहदरबार, पुतलीसडक हुँदै शंकरदेव क्याम्पस छेउबाट बाँया मोडिएर टुकुचा तर्दै बस पार्कमा टेम्पो रोकियो। बैधानिक दर भन्दा कम्तीमा १०-१५ रुपैंया बढी भाडा चढेको थियो होला। भाडा तिरेर ओर्लिंदै थिएँ, "बार्हबिसे दोलालघाट" भन्दै खलासी कराइरहेको सुनें। त्यही आवाज पछ्याउँदै अरनिको यातायात सेवा समितिद्वारा सन्चालित बार्हबिसे जाने थोत्रो टाटा 1210 E मोडेलको बसमा चढें। खलासीले शिकागो बुल्सको टीसर्ट लगाएको थियो र ढोका छेउमा उभिएर यात्रुहरुलाई बोलाउँदै थियो। साइड ए को ४ नं को अर्थात् अगाडिको ढोका पछिको दोस्रो लहरको झ्याल पट्टिको सिटमा बसें।

दुबैतिर ३-३ जना बस्न मिल्थ्यो अनि सिटहरु बीचको दूरी पनि थोरै नै थियो। २ बर्षे अमेरिका बसाइको क्रममा केही मोटाएकोले पहिले पहिले जस्तो सजिलोसँग बस्न सकिनँ। अहिले सोच्छु के, पश्चिमी मुलुकहरुमा बिमानमा Economy Class Syndrome (Deep Vein Thrombosis अथवा छोट्करीमा DVT) (लामो समयसम्म साँघुरिएर बस्दा रगत जमेर कहिलेकाहीं प्राणघातक नै हुनसक्ने अवस्था)को चर्चा हुन्छ।  हाम्रा बसहरुको अवस्था त्यो भन्दा खत्तम थियो। काठमाडौंबाट करीब साढे चार घण्टामा पुगिने बार्हबिसे मात्रै होइन कि दिनभरी जस्तो नै लाग्ने धुन्चे, जिरी आदि ठाउँ जाने बसका सिट पनि त्यस्तै हुन्थे। "टू बाइ टू फोल्डिङ सिट" भएका बस भए केही राहत हुन्थ्यो कि।

१० बज्नै लागेको थियो होला बस अघि बढ्यो। खचाखच होला भनेको तर मेरो छेउका दुई लगायत थुप्रै नै सिटहरु खाली रहे। भद्रकाली, सिंहदरबार, माइतीघर हुँदै बानेश्वर चोकसम्म नपुगुन्जेल बस रोकियो वा ट्राफिकमा अड्किएर अलि बिस्तारै चल्यो कि कराइहल्थ्यो खलासी "बार्हबिसे दोलालघाट" भन्दै। यात्रुहरु भने खासै पाएन र बानेश्वर पछि कराउन केही कम गर्‍यो। म चाँही सोचिरहें, यदि बसको अन्तिम गन्तब्य बार्हबिसे हो र दोलालघाट बाटोमा पर्ने ठाउँ हो भने किन "दोलालघाट बार्हबिसे" नभनेको होला भन्दै। आखिर लगनखेलबाट छुट्ने लोकल बसका खलासीले "शहिद गेट रत्नपारक" भन्दै नै कराउँछन् अनि लामो दूरीको कुरा गर्ने हो भने पनि काठमाडौंबाट छुट्ने बसका खलासीले "नारायणघाट बुटवल भैरहवा" नै भनेर कराउँछन्। यो मोरालाई मात्र किन क्रमभङग गर्नु परेको होला।

बागमती तरेर पूर्वतिर अघि बढेपछि तीनकुने हुँदै चक्रपथतिर दाँया लागियो र कोटेश्वरबाट चक्रपथ छोडेर फेरि पूर्व लागियो। जडिबुटीको पुलबाट मनोहरा तरेर भक्तपुर जिल्ला प्रवेश गरी ठिमी हुँदै अघि बढ्दा बसले राम्रै गति लिइसकेको थियो।  सल्लाघारीमा रोकिंदा एक अधबैंसे चुरोट तान्दै चढे र छेउको सिट खाली हो भनी मलाई सोधे। मैले "खाली त हो तर बस्ने भए चाँही चुरोट फाल्नुहोस्" भनें। बसको भुइंमै चुरोट निभाएर आफ्नो मैलिएको सेतो कमीजको खल्तीमा बाँकी रहेको चुरोट राख्दै मेरो छेउमा बसे। सूर्यबिनायकतिर पुग्दा कन्डक्टर भाडा उठाउँदै मकहाँ आइपुग्यो। के गर्दो रहेछ भनेर हेर्न मैले अमेरिकाको कलेजको परिचय पत्र देखाएँ। ओल्टाइपोल्टाइ गरेर दुई चार चोटि "Spring 95" को स्टिकर लागेको उक्त कार्ड मलाई फिर्ता दिंदै २५ प्रतिशत बिद्यार्थी सहुलियत दियो। झ्यालबाट भक्तपुरको शहर हेर्दै थिएँ। न्यातापोल मन्दिर अरु घर तथा मन्दिरहरु भन्दा निकै चुलिएको देखिन्थ्यो।
  
बिस्तारै बसले जगातेको भक्तपुर इंटा कारखाना र नलीनचोक हुँदै उकालो चढ्दै जाँदा उपत्यकाको सुन्दर द्रिश्य देखिन थाल्यो। टाढिंदै गएको काठमाडौं शहर र सहजै चिनिने धरहरा अनि बाटो नजिकका भरखरै रोपाइं गरिएका कान्ला परेका खेत अनि झिंगटीले छाइएका घरहरु हेर्दै थिएँ साँगा भञ्ज्याङ पुगियो। तलतिर एउटा पुरानो मन्दिर थियो, माथि भने बाक्लो नेवार बस्ती देखिन्थ्यो। बजारमा खुल्ला झुन्ड्याइएका लप्सीका तितौरालाई थप केही धूलो र धूँवाको कोशेली दिएर बसले काठमाडौं उपत्यका अनि भक्तपुर जिल्लासँग बिदा मागी काभ्रे प्रवेश गर्‍यो अनि पुण्यमती खोला तरी क्षणभरमै बनेपामा रोक्यो।

क्रमश:

 
  
                             

 

 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 03-25-09 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

"यदि बसको अन्तिम गन्तब्य बार्हबिसे हो र दोलालघाट बाटोमा पर्ने ठाउँ हो भने किन "दोलालघाट बार्हबिसे" नभनेको होला भन्दै"-----  दिमाग ले कहिले काही कस्तो नचाहिने कुरामा पनि कती पिर गर्छ है ?


बेजोड को प्रस्तुती चिप्लु। थप्ने क्रम जारी राख्नुस् है।

Last edited: 25-Mar-09 01:11 PM

 
Posted on 03-25-09 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Dudes,


 


Just dive in the depth of beauty of nepali literature. Get the feeling and find your self lost in writer's presntation.


Stop chicago BS.


 


 


 
Posted on 03-25-09 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 


मैले त्यो बेलासम्म देखेको नेपालको राजमार्ग छेउका शहर बजारहरुमा बनेपा सबैभन्दा फोहोर मध्येमा थियो। बस रोकिएको ठाउँ छेउ फराकिलो खुल्ला नाली थियो जहाँ केही सुङ्गुरहरु लडीबुडी गरिरहेका थिए। नजिकै फोहोरको थुप्रो थियो। त्यसो त सँधै फोहोर भनी नाम कमाएको काठमाडौंको हालत पनि साबिक भन्दा नाजुक नै थियो। गोकर्ण स्थित डम्पिङ साइटमा स्थानीय बासिन्दाहरुसँगको बिबादको कारण फोहोर फाल्न सकिएको थिएन र जतासुकै फोहोर थुप्रिएको देखिन्थ्यो। भोटाहिटीबाट असन छिर्ने ठाउँमा सडक बीचको थुप्रोले होस् या सुन्धारा छेउ धरहरालाई नै माथ गरौंला जस्तो गरी चुलिंदै गएको थुप्रोले होस्, प्रत्येकले तात्कालीन मेयर पि एल सिंहको "सफा स्वच्छ हराभरा काठमाडौं"को नारालाई उपहास गरिरहेका थिए।

१५-२० मिनटको बनेपा रोकाइको समयमा धेरै बालबालिकाहरु यात्रुहरुलाइ खानेकुरा बेच्न खोज्दै थिए। एक जना "ल फराइ फुल फराइ फुल" भन्दै थियो, यसो हेरेको उसिनेको फुललाई मसला मोलेर तारेको जस्तो देखिन्थ्यो। अरु केही भने केक, क्रिम रोल, डोनट आदि बेच्दै थिए। स्कुल जानु पर्ने बालबालिकाहरु बाध्यताबस दुई चार पैसा कमाउने संघर्षमा लागेको द्रिश्य कम्ती हृदयबिदारक थिएन। उल्लेख्य संख्यामा थप यात्रीहरु सहित बस अघि बढ्यो। निमेष भर मै बनेपा छोडि सुन्दर द्रिश्यपान गर्दै धुलिखेलसम्मको ठाडो उकालो चढी ओरालो लाग्न थालियो। बादल नलागेको भए हिमाली द्रिश्य पनि देखिन्थ्यो तर त्यो दिन मेरो भाग्य रहेनछ। नागबेली सडकमा खावा र केराघारी हुँदै तल झर्दा सल्लाका रुखहरुको संख्या घट्दै गयो र केरा अनि आँपका रुख देखिन थाले।  प्रष्ट थियो अलि गर्मी नै ठाउँमा झरिंदैछ भनेर। करीब १० किमीको ओरालो पछि काठमाडौंबाट करीब ४० किमी परको तीनपिपले पुगियो। लामिडाँडाबाट सानो उकालो चढेर चाक खोलाको छेउमा झरियो। बिख्यात भूगोलबिद स्व डा. हर्क गुरुङ्ले आफ्नो पुस्तक Vignettes of Nepal मा लामिडाँडादेखि चाक खोलाको सडक खन्डले "narrow saddle of hornfels " क्रस गरेको भनी लेख्नु भएको छ। त्यसको अर्थ के हो त थाहा भएन, तर मेरो गैर बनस्पति शास्त्रीक बिष्लेषणमा भने गर्मी र जाडो दुबै थरी भेजिटेसनको ट्रान्जिसन पोइन्ट जस्तो भएको अनुमान लगाएँ साल र सल्ला दुबैका रुख देखेर। चाक खोलालाई १० किमी जति पछ्याएपछि दोलालघाट पुगियो।

त्यता नपुग्नु भएका पाठकहरुलाई दोलालघाटको छोटो परिचय दिइहालूँ। काठमाडौंलाई कोदारीसँग जोड्ने अरनिको राजमार्गको मध्यबिन्दु अर्थात् दुबै ठाउँबाट ५७ किमीको दूरीमा दोलालघाट अवस्थित छ। सप्तकोशीका सात मध्ये ईन्द्रावती र सुनकोशीको संगम यहीं हुन्छ। इन्द्रावती नदीले काभ्रे र सिन्धुपाल्चोक जिल्लालाई छुट्ट्याएको छ। इन्द्रावती तरे पश्चात् राजमार्गले एउटा डाँडोको फन्का मारी सुनकोशी अनि पछि भोटेकोशीको किनार हुँदै सीमावर्ती कोदारी छुन्छ।  यो ठाउँ बनभोज (हुन त बगरभोज भन्न अलि उपयुक्त होला कि) स्थलको रुपमा लोकप्रिय छ, साथै चतरासम्मको लामो अनि साहसिक rafting को प्रारम्भ गर्ने स्थान पनि यही हो।

फेरि संस्मरण अघि बढाउँ है त। दिउँसो पौने एक बजेतिर वारि पट्टि रोकिएको बसबाट ओर्लिएर उर्लंदो ईन्द्रावती नदीलाई हेर्दै पुल तरेर दाँया पट्टिको गल्लीमा छिरें। छेउ छाउका घर पसलहरुबाट लोकल रक्सीको चर्को गन्ध आइरहेको थियो। केही बेरमै इन्द्रावती माथिको भीरमा पुगियो। गोरेटो छेउमा चरिरहेका बाख्राहरुलाई देख्दा लाग्थ्यो, उनीहरुलाई तल खसिएला भन्ने डर छैन। बसबाट ओर्लिएको ५ मिनट जतिमै इन्द्रावतीको बगरमा पुगियो।  त्यसको केही क्षणमै सुनकोशीसँगको दोभानमा पुगेर राजमार्गतिर फर्केर हेरें।

"तिम्रो आँखाको सागरमा लहर लहर छल्किरहेछ, त्यही लहर माझमा मेरो सपना पौडिरहेछ।" चलचित्रको नामको सम्झना त छैन तर गीतान्जली कार्यक्रममा प्रकाश श्रेष्ठ र आशा भोस्लेको यो युगल गीत खुबै बज्थ्यो। इन्द्रावती पुललाई देखेपछी उक्त गीतको छाँयांकन आफू उभिरहेको स्थानमा भएको रहेछ भन्ने थाहा भयो। त्यसो त दोलालघाटतिर चलचित्रहरुको छाँयांकन भैरहन्छ भनेर नसुनेको त होइन। एकै छिन् उभिएर वरिपरि हेरिरहें। दुई खोलाहरुको निरन्तर गड्गडावटलाई बेलाबेलामा राजमार्गका गाडीहरुको हर्नले बिथोल्थ्यो। ईन्द्रावतीमा यसो हात पखालें, अनि दुई नदीको पानी मिसिएको ठाउँ र सुनकोशीमा पनि त्यसै गरी पखालें। दोभानको अलि माथि पट्टि एउटा सानो मन्दिर रहेछ। बगर हेर्दा थाहा हुन्थ्यो, बाढी आएको बेला मन्दिरको ठीक तल पट्टी सम्म पानी बग्ने रहेछ भनेर। त्यो बेला भने मन्दिर र दोभान बीच ५० मिटर जतिको अन्तर थियो होला। दुइ तीनवटा राम्रो लागेका साना ढुङ्गाहरु खल्तीमा हालेर मन्दिरतिर अघि बढें।
 
मन्दिर दोलालेश्वर महादेवको भएको कुरा त्यहाँ रहेको खुइलिएको साइन्बोर्डबाट थाहा भयो। मुस्किलले एउटा सानो शिवलिङ्ग अटाएको उक्त मन्दिरको दर्शन गरेपछि सुनकोशी माथिको भीरको बाटो लाग्न थालें। नजिकै देखिएको झोलुङे पुल तर्ने रहरले त्यता लागेको थिएँ। पुलको पारि पट्टि एउटा सानो पसल थियो। केही अघि बढें। राजमार्गबाट निकट भए पनि त्यसको कुनै असर त्यहाँ देखिन्नथ्यो। न बजारमा जस्तो पक्की घर देखिन्थ्यो न त गाडीका हर्न नै सुनिन्थ्यो। पुराना घर, हरिया खेत अनि पहाडहरुका बीच अबिरल बगिरहेको सुनकोशीको मोहक द्रिश्य हेर्दै जति अघि बढौं जस्तो लागे पनि पुल तरेको दुई तीन मिनट पछि मैले फर्किनु नै उचित ठानें र मन नमानी नमानी फेरि पुलतिर लागें। बसबाट ओर्लिएको ४५ मिनट जति पछि फेरि बजारमै पुगें। मेरो दोलालघाट यात्राको मूख्य उद्देश्य थियो, माछा खाने। उक्त उद्देश्य पूरा गरी मलाई समयमै घर फर्किनु थियो।

क्रमश:                                                       

 
Posted on 03-25-09 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

यो अंक नि पढियो। आँफै दोलालघाट मा पुगे सरि भयो।


अझै मेलम्ची तिर छड्के हान्ने पाँचखाल बाट ५ किमी सम्मको दूरीमा जिन्दगीको अड्केको छ।


ईन्द्रावती बगेको छ चिप्लेको लेखन यात्रामा ।


 
Posted on 03-25-09 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

मेरो आँखा त पारी राथ्यो यो शिर्सकमा तर अरु सादा धागा होलान भनेर खोलेको थिन एकैछिन अघी पो चिप्ले ले बुन्या धागो रइछ भन्ने देखे अनी छिरीहालेको।


ओहो अर्को रमाइलो सम्स्मरण राखेछौ,आफै बस चढेर झ्याल बाट हेर्दाइ दोलालघाट गाको जस्तो लाग्यो,अनी त्यो तिमी ले बखान गरेको नलिन्चोक को उकालो अनी नेवारबस्ती मा झुन्ड्याएर राखिएको लप्सीको तितौरा हरु आँखामै आयो,त्यो म २-३ चोटि त्यो बाटो हिन्दा सधैं देख्थे।
तिम्रो सिकागो बुल्स को जस्तै म सुरु मा एता आउँदा SF 59ers लेखेको CAP थियो,त्यो देखेर एक्जना एहिकै खैरे साथी मरी मरी हास्न थालयो,पछी पो था भयो तेस्को बारेमा SF 59ers नभएर 49ers रइछ भनेर।
लौ दोलाल्घाट एक्लै हिन्देको साथी,लौ न त छिट्टै लगम त्यता तिर,हामी नि चाखिदिम कस्तो राइछ दोलाल्घाट को माछो।


 
Posted on 03-25-09 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ओहो चिप्ले एक्लै दोलाल्घाटको माछा खान गएको? यसो साथी लिएर हिंड्नु पर्थ्यो नि कि त्यतिबेला काठमाडौं मा खडेरी परेको थियो?  जे भए पनि रमाइलो छ । म पनि दुई चार पटक त्यो बाटो हिड्दा तल बगर त देखेको छु तर मलाई त केही आकर्शक लागेन है, हुन त पहिलो पटक स्वच्छ नदी अनी बगर देख्नेलाई रमाइलो नै लाग्दो हो 
 
Posted on 03-25-09 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

अघिमात्र पैलो भाग पढेर दुई शब्द के लेखेथे त्यो टास्न नपाउदै आर्को भाग आईसकेछ,अचेल निकै जोश चल्या छ नि गुरु।
साचै नै दोलाल घाटै पुगे झै भयो,दुइ खोलाको गडगडाहट कानै मा गुन्जियो। ईन्द्रवती बगेझै सलल बगेको छ् गुरु लेखाइ।
अब यो टास्दा अर्को भाग पढ्न पाये झनै रमाइलो हुन्थ्यो।
 
Posted on 03-25-09 3:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

अहो भाग्य, यो साहित्य श्रीजना पढ्न पाउदा! यथार्थता र चिन्तन्को क्या सम्योग !
 

 
Posted on 03-25-09 3:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 


के के भन्छ केली पनि।  नेपालका ठूला बस भनेका नै सबै जसो "ताता १२१० E  मोदल को  बस" नै हुन्थे। चढी नै रहेको भएर बसका मोडेल र सिटसँग परिचित भएको हो नि। अनि बिद्यार्थी सहुलियत भनेको बिद्यार्थी सहुलियत, परिचय पत्र valid भएसम्म जुन सुकै देशको होस्, मखुला? सहुलियत दिए खुशीसाथ स्वीकार्थें नदिए झगडा पनि गर्दिनथें।
दीपू, त्यही भन्या। मान्छेको गिदीमा पनि कस्ता चाहिने नचाहिने कुरा खेल्ने।
JOYNBLISS बुल्सको कुरामा मलाई कुनै आपत्ति छैन है, रमाईलै लागेको छ पाठकहरुको प्रतिकृया। यो लेखाइलाई गहिरिएर पढिदिनुभएकोमा धन्यवाद।
बिष्टे, हाँसो उठ्यो तिम्रो क्यापको कुराले। गलत प्रकारले लेखिएका नक्कली सामानहरु प्रशस्तै छन् है बजारमा।
ठुल्दाइ, खोइ के जवाफ दिने तपाईंलाई थाहै भएन।
पर्वत्या माड्साब, बुझ्नेलाई श्रीखन्ड नबुझ्नेलाई खुर्पाको बींड भन्छन् नि। जोक्स अपार्ट, दु:खको कुरा काठमाडौं बसेर स्वच्छ पानी बगेको देख्न चाँही टाढै जानु पर्ने।  
 
   

 
Posted on 03-26-09 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

आहा! चिप्ले यो भाग देवनागरीमा लेख्नै पर्ने थियो! साह्रै माछा खान मन लाग्यो!


ल ल बस पनि रोकियो!...ऊ त्यो सडकछेउको पसलमा च्यूरा, तरकारी र माछा खान जाउँ!


 



 
Posted on 03-26-09 3:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

आफ्नो उद्देश्य पूरा गर्न एउटा भोजनालयमा पसें। साहूनी माछा तार्नमा ब्यस्त थिइन्। एक सिसी सान मिगेल बियर र एक प्लेट माछा चिउरा मगाएँ। बियर तुरुन्तै जस्तो आयो। चिसो बियरको चुस्की लिंदै बाहिरका गतिबिधीहरु हेर्न थालें। काठमाडौं र बार्हबिसे, चौतारा, जिरी आदि बीच चल्ने बसहरु रोकिन्थे, यात्रीहरु चढ्ने र झर्ने गर्थे, अनि केटाकेटीहरु यात्रीहरुलाई खानेकुरा बेच्ने प्रयासमा हुन्थे। एकैछिनको रोकाइपछि बसहरु आफ्नो गन्तब्यतिर लाग्थे। अरु गाडीहरुको ओहोरदोहोर लगायत काठमाडौंतर्फ हानिएको ४-५ जना बिदेशी साईकल यात्रीहरुको समूह पनि देखियो। शायद ल्हासा वा त्यो भन्दा टाढा देखि नै साईकलमै आएका थिए होलान्। केही बेरमै पातलो स्टिलको प्लेटमा सानो सानो माछा अनि चिउरा आयो। एक टुक्रा माछा टोक्यो झुरुम्म, अनि चिसो बियर एक सिप घुटुक्क अनि अलिकति चिउरा। ओहो कस्तो स्वर्गीय आनन्द नै आयो। अर्को आधा प्लेट माछा पनि मगाएर बाँकी बियरसँग सिद्ध्याइदिएँ। पैसा तिरेपछि रोकीइरहेको काठमाडौं जाने बसको पछाडि पुगें अनि भर्र्याङ्गको डन्डीमा समातेर छानामा चढें।

छानामा बसेर यात्रा गर्नु जोखिमपूर्ण भन्ने थाहा नभएको त होइन तर पनि मौका पायो कि गर्ने गर्थें पहिले पनि। बोइङ ७४७ बिमानको बिज्नेस क्लासमा बसेको कल्पना गरें (सामान्यतया ७४७ बिमानमा बिज्नेस क्लासका सिट माथिल्लो तल्लामा हुन्छन्) बसको माथिल्लो भागमा भएको अनि बस्न पनि साँघुरो नहुने र हावा पनि पाइने भएकोले। कल्पना जे गरे पनि त्यो बस अर्को थोत्रो टाटा १२१० इ हुनुमा कुनै अपवाद थिएन। छानामा बस्नुको अर्को कारण भने गैर सरकारी संस्थाको कामले केही दिन बसेको पाँचखाल क्षेत्रलाई राम्ररी नियालेर हेर्नु पनि थियो।

बिज्नेस क्लासमा केही अरु यात्री, बाख्राहरु अनि एउटा टायर सहित ७४७ ले काठमाडौंतर्फको बाटो ततायो। पच्पन्न र त्रिपन्न किलोमा (राजमार्ग छेउ जुन किलोमिटर मार्कर छेउ नयाँ बस्ती बन्छ त्यही अनुसार तिनको नामाकरण हुने प्रचलन छ) केही यात्रु थपिए, इकनमी र बिज्नेस्स क्लास दुबैमा। एक ठाउँमा पहिरो गएको ठाउँमा बाटो माथि तार जाली बाँधिएको र त्यसमाथि भरखरैको जस्तो देखिने बिरुवाहरु देखें। शायद बायो ईन्जिनियरिङ गरी थप पहिरो जानबाट रोक्ने प्रयास थियो होला। त्यस्तै ८-९ किमीको यात्रा पछि मेलम्ची जाने कच्ची रातो माटे बाटो छुट्टीयो। त्यताबाट आउने सवारीहरुले बिशेषत: काठमाडौं जानेतिर आफ्नो चिनो स्वरुप बाटोको केही रातो माटो पक्की राजमार्गको अलकत्रामा छोडेका थिए। दोलालघाटबाट ११ किमीको यात्रा पश्चात् लामिडाँडा बजार पुगियो।

लामिडाँडा भनेको काठमाडौंतर्फ आउँदा दोलालघाट पछिको प्रमुख बजार हो र पलान्चोक जाने बाटो पनि यहीँबाट छुट्टीन्छ। शायद धेरै जसोलाई लामिडाँडाको यति नै ज्ञान, महत्व, अनुभव वा जेसुकै होला। मेरो भने लामिडाँडासँगको भिन्नै अनि ताजै साईनो थियो त्यति बेला। दोलालघाट यात्रा भन्दा एक महिना जति अघि गैर सरकारी संस्था अन्तर्गतको काम स्थानीय बिद्यार्थीहरुलाई बातावरण संरक्षण सम्बन्धी तालीम दिने थियो। तालीमको शिलशिलामा आधा दिन लामिडाँडा बजारको सरसफाइमा बिताइएको थियो। बिद्यार्थीहरुले दिलोज्यानले हामीलाई सहयोग गरेका थिए। दूर्भाग्यको कुरा, स्थानीय बासिन्दा मध्ये अधिकांशबाट कुनै सहयोग प्राप्त भएन। स्थानीय बिद्यार्थीहरुले चिनेकै मान्छेहरु भए पनि उनीहरुबाट सहयोग नपाउनु एकदमै दु:ख लाग्दो कुरा थियो। तैपनि केही घण्टाको प्रयासमा बाटो छेउको फोहोर अनि नालीमा खसेका ढुङ्गा र प्लास्टिकका टुक्राहरु हटाए पछि बजार धेरै सफा देखिएको थियो । सँधै झैं सरसफाइ पछिको साँझमा दिनभरिको गतिबिधि र भोलिपल्टको योजना बारे केही छलफल भयो। त्यति बेला हामीले बिद्यार्थीहरुको सहयोग प्रति हार्दिक आभार प्रकट गर्यौं अनि दिलोज्यानले उनीहरुको तारिफ गर्यौं। लामिडाँडाबासीहरुलाई भने "भेंडाहरु" भनेर गर्नु गाली गर्यौं। हुन पनि नेपाली परिप्रेक्ष्यमा भन्ने हो भने लामिडाँडा बिकसित ठाउँ नै थियो। ब्यस्त अरनिको राजमार्गमा पर्ने त्यो बजारबाट ४६ किमी टाढाको काठमाडौं जान १०-१५ मिनट कुरे बस पाइन्थ्यो र दुई घण्टामा पुगिन्थ्यो। फोन बूथ, केन्द्रीय प्रसारण प्रणालीको बिद्युत र माध्यमिक बिद्यालयको सुबिधा पनि उपलब्ध थियो। बिकसित ठाउँका मानिसको अबिकसित मानसिकताले हामीलाई साँच्चै नै दु:ख लागेको थियो। मैले बजारलाई सरसफाइ गर्न अघिकै रुपमा देख्नु कुनै आश्चर्यको कुरा थिएन। फेरि त्यहाँका मान्छेहरुलाई मनमनै गाली गरें "भेंडाहरु" भनेर।

केही बेर लामिडाँडामा रोकिएपछि बस अघि बढ्यो शान्ति सेनाको ब्यारेक (जहाँ कुख्यात मैना सुनुवार घटना भएको थियो), पाँचखाल अनि तामाघाट हुँदै। झिकु खोलाको पुल तरेर हाम्रो शिविर स्थल सर्वमंगला माध्यमिक बिद्यालय जाने स्थान पुगियो। त्यहाँबाट अलिकति ओर्लिएर एउटा खोल्सो तरी ढुङ्गा छापिएको बाटोमा एउटा रातोमाटे थुम्कामा ५ मिनट जति उक्लिए पछि उक्त बिद्यालय पुगिन्थ्यो। बाटोमा बिद्युत प्राधिकरणको सब स्टेसन थियो जसलाई द्वन्दकालमा माओवादीले क्षति गरेका थिए। बिद्यालयबाट राजमार्ग अनि त्यहाँबाट लामिडाँडासम्मको ३ किमी खन्डमा बिद्यार्थीहरुसँग बिभिन्न खेल खेल्दै अनि गीत गाउँदै सरसफाइको दिन हिंडेका थियौं। बस अलि अग्लो ठाउँमा पुगेपछी बिद्यालय पनि देखिन थाल्यो र त्यहाँ एक हप्ता बस्दाका क्षणहरु एक एक गरी सम्झना आउन थाल्यो। तीनपिप्ले देखिको ठाडो उकालो चढ्दा निकै बेरसम्म देखिएको बिद्यालयलाई अटुट रुपमा हेरिरहें। सम्झिएँ ती प्यारा बिद्यार्थीहरुलाई। सम्झिएँ उनीहरु र शिक्षकहरुसँगको दिनभरीका कृयाकलाप अनि सहकर्मीहरुसँगका साँझका छलफलहरुलाई। प्राथमिक उपचारको बट्टा मेरो जिम्मामा थियो। कसैलाई केही औसधी चाहिए मैसँग लिनु पर्थ्यो। यही कारणले सहकर्मीहरुबाट डाक्टर साबको उपनाम पाएको पनि सम्झिएँ। छलफल पछिको केही समय नाचगान अनि गफगाफमा बित्थ्यो। नेपथ्यको "छेक्यो छेक्यो देउराली डाँडा" भन्ने गीत पहिलो चोटि त्यहीं नै सुनेको थिएँ। त्यसै गरी हिमालय ब्यान्डको "कुखुरे बैंसले आँखा देखेन" भन्ने गीत पनि पहिलो चोटि त्यहीं नै सुनेको थिएँ। एक सहकर्मीले केही समय अघिको चितवनको त्यस्तै शिविरमा उनका अर्का सहकर्मीले सुनाएको गीती कथा "त्रिबेणी मेलैमा भेट भएको नक्कली केटी" हामीलाई सुनाँउदाको क्षण पनि कम्ती मनोरन्जक थिएन। दोलालघाटमा खाएको बियरको झम्झम अनि स्वाद अलिकति बाँकी नै थियो। बसले बिस्तारै उकालो चढ्दै जाँदा ती दिनहरु सम्झिरहें अनि त्यो बेला गाएका माथि उल्लेखित लगायत अरु गीतहरु गुनगुनाइरहें।

धुलिखेलको प्रहरी चौकी भन्दा अलिकति वरको एउटा घुम्तीमा बस रोकियो र छानामा बसेका सबै यात्रीहरुलाई बस भित्र कोचियो। प्रहरीको उपस्थिति र छानामा बस्न नपाईने नियम औपचारिकता भन्दा बढी केही जस्तो देखिन्नथ्यो। देशको कानूनी स्थितीको सानो उदाहरण मात्रै थियो त्यो घटना। बनेपासम्म उभिएरै गए पछि सिट पाएँ। ५ बजेतिर माइतीघरमा बसबाट ओर्लिएर घरतिर लम्किएँ। बियरको गन्ध मार्न कुपोन्डोलको एउटा पसलमा दुईटा हल्स किनें अनि खाँदै घर पुगें।

आमाबाबुको मन न हो, मलाई एक्लै घरबाट टाढा गएकोमा अलि आत्तिनु हुन्थ्यो। त्यो दिन पनौती गएको भनेर ढाँटे। एक डेढ घण्टाको बाटो कहीं जानुमा चाँही अघोषित छुट थियो मलाई। त्यो झुटो बोलाई भने धेरै टिकेन। लापरवाहीबस मैले दोलालघाटबाट ल्याएका ढुङ्गाहरु अनि शायद ३ इन्च लम्बाइ अनि २ इन्च चौडाइ भएको हलुका नीलो रङको अनि कन्डक्टरले मुस्किलले बुझ्न सकिने अक्षरमा "काठ" देखि "दोलाल" लेखेको बसको टिकट आफ्नो टेबलमा छोडेको थिएँ। आमाले त्यो देख्नु भएछ र "पनौती गएको भनेर ढाँटेर दोलालघाट गएर आउने" भनेर गाली गर्नु भयो। बुवाले भने हाँस्दै "माछा ल्याएनौ त त्यहाँ सम्म गएर" भन्नु भयो। ल्याएको त छैन गएको चाँही त्यही खान हो भनेर भन्नै पर्‍यो। फेरि गयौ भने भन र माछा पनि लिएर आउ रे त्यसपछि त।

त्यसको दुई बर्षपछि स्नातक तहको पढाई सिद्ध्याएपछि फेरि नेपाल गएको थिएँ अढाइ महिना जतिको लागि। त्यो बेला पनि दुई चोटि दोलालघाट गएँ। पहिले जस्तै गरी ईन्द्रवती, दोभान, अनि सुनकोशीमा हात धुने, दोलालेश्वरको दर्शन गर्ने, सुनकोशी माथिको झुलुङे पुल तर्ने, बजार फर्किएर माछा र बियर खाने, बसको छानामा बस्ने, लामिडाँडाका भेंडाहरुलाई गाली गर्ने, एक हप्ते बसाइका क्षणहरुलाई सम्झिने अनि गीतहरु गुनगुनाउने क्रमलाई जारी राखें। घरमा भन्न र माछा ल्याउन भने चुकिनँ। दूर्भाग्यबस मुलत: समयको अभावले गर्दा पछिल्ला नेपाल भ्रमणहरुमा दोलालघाटलाई समेट्न सकेको छैन तर अर्को चोटि जाँदा यो यात्रालाई यसै गरी दोहोर्याउन पाउने आशा गर्दछु।

समाप्त।
 
Posted on 03-26-09 3:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

चिप्लु साँल्दाइलाई धन्यवाद है यो संस्मरणको लागि। आशा छ, यो पटक नेपाल जाँदा मेरो अनुभव पनि रमाइलो नै हुने छ। दोलालघाट त जान्न, बनेपा घर भएकोले हरेक बर्ष दुइ-तीन पटक गएकै हो नेपालमा हुँदा। शायद डोल्पातिर पुग्ने सम्भावना चाँहि बढि छ। हेरूम के हुन्छ। 

 
Posted on 03-26-09 3:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

लौ चिप्ले घर जानु अघी भोको पेटमा पढ्न बसेको,मुख रसाउदै सक्याए पढेर।
रमाइलो सम्स्मरण राखेउ। लौ अब अर्को चोटि नेपाल जादाँ को कुरा हरु छिट्टै लियेर आउनु।
धन्यवाद सबै सामु आफ्नो अनुभव बाडेकोमा।

 
Posted on 03-26-09 3:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

अद्योपान्त पढियो। माछा चाँही खाइएन । तर अर्थोक सबै पचाइयो। लामीडाँडा सम्म पुगेको छु। मेलम्ची जाने बाटो नि त्यहीबाट मोडिन्छ । जिन्दगी को बाटो मोडिए जस्ताइ। धुलाम्य, खाल्डा खुल्डी आफ्नै जिन्दगीको अब्यस्था जस्ताइ।



पाँचखाल चाँही स्टाफ कलेज को सेवाकालिन तालिमाको रिपोर्ट लेख्न फिल्ड भिजिट गर्न पुगेको थिएं। अन्यकोट गाबिस। हामी पुगेको केही दिन मै माओवादी र सेना को भिडन्त भाको र १२-१५ जना निर्दोषहरुको ज्यान गएको।



चिप्ले संग संगै दोलालघाट नि पुगियो। अब अन्य घाट पनि लैजाने होला नै। अहिले देखी सीट रिजर्भ गरें मैले।


 
Posted on 03-26-09 4:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

सबै एकै चोटि पढे मैले


सम्झना शक्ती पनि कस्तो हो चिप्ले को - मानै पर्छ बा


कस्तो एक एक कुरा सम्झेको -


मलाई त आँफै पुगेको महशुस भयो


माने मैले चिप्ले  सम्झनाको शक्ती को


 
Posted on 03-27-09 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

जिम्मालबा, मुखै रसाउने फोटो त राख्नु भयो तर एउटा कुरा चित्त बुझेन है। त्यो पेप्सीको क्रेटको सट्टा बियरको सिसी भएको भए खानेकुरासँग अलि राम्ररी जान्थ्यो कि? मलेशियासँगको श्रम सम्झौतामा पनि ढिलाई भएको रहेछ।
भिखारी, झन् नजिकको तीर्थ हेलाँ गरिदिने भनेको? बनेपा घर भएको मान्छे, यसो हाम्रो भाग पनि माछा खाइ आउनु नि। यात्रा शुभ रहोस्, अनुभव पनि सुन्न पाइयोस्।
बिष्टे, नियमित पाठक भै निरन्तर प्रतिकृयाहरु लेख्दै गरेकोमा धन्यवाद। अवश्य पनि निकट भविष्यमा अरु अनुभवहरु साट्ने नै छु।
ठुल्दाइ, कहाँ घाट लग्ने कुरा गर्नु भएको? बरु इलाहाबाद ओहोरोदोहोर गर्दा बेनीघाट, कुरिनघाट, नारायणघाट आदि घाटहरुको बाटो खुबै हिंड्नु भयो होला, तपाईंको अनुभव सुनौं न।
बाउचा, को सम्झनाको कुरा गरेको भन्या?             


 
Posted on 03-27-09 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

chipledhunga , एक चोटि फेरि दोलालघाट जानै पर्ने भयो अर्को यात्रा संस्मरण लेख्नलाई भए पनि !!!!!!!!
अरु पढ्न पाउने आशमा!!!

 
Posted on 03-30-09 12:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

चिप्लु, धेरै पटक पुगेकी छु दोलालघाट तर प्रकृतिक सौन्दर्य को यती राम्रो अबलोकन मैले कहिले गर्न सकिन।
हरेक सानो चिजबिज र कृयाकलाप हरुको मिठो बर्नण गर्नु भएको छ।
यस्तो संस्मरण पढ्ने मौका सधैं प्रदान गर्नुस् है चिप्लु।  
 
Posted on 03-30-09 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

माथि दीपीका जी ले भने जस्तै हरेक सानो चिजबिज र कृयाकलाप हरुको मिठो बर्नण गर्नु भएको छ।
अरु पनि यस्तै यस्तै संस्मरन पढ्न पायियोस !
 
Posted on 04-01-09 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

फुच्चे, जानै पर्ने भएको छ एक चोटि फेरि। अर्को संस्मरण लेखौंला नि फेरि गएर आएपछी। १२ बर्ष हुन लाग्यो त्यता नगएको। धेरै परिवर्तन भैसक्यो होला त्यता पनि।
दीपू र रिट्ठे, अवश्य पनि अरु संस्मरणहरु बांड्ने नै छु। यो संस्मरण पढी केही कोरिदिएकोमा धेरै धेरै धन्यवाद।        
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
🚨🚨🚨 नाज'स् वर्ल्ड 🚨🚨🚨
What stocks to buy -- Any recommendation
Conservative discussions
Miss Nepal Shrinkhala Khatiwada goes to Harvard for grad school!!!
KP and PK
The Great Himalayan Cable Car
Kroor singh ra uska dui chamcha
घर..
Muuji pandey jyu
प्रचाण्डको लड्डु
eutaa horny poem
प्रियंकाले जस्तै आयुष्मानले पनि थर फेरे .. आमाले भनेपछि
सारी सर्काएर गोरो पिंडुला देखाएपछि ...
paypal problem
sexy talk
करियर ठुलो को परिवार ?
किन गए बिप्लव, किन आए बिप्लव ?
Well known Nepali, graduated from a US university
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters