Posted by: chipledhunga March 23, 2009
मुग्लान भास्सिँदाका सम्झनाहरु
Login in to Rate this Post:     0       ?        

अब यसो बिषय बदलेर सांस्कृतिक बिबिधता अनि संवेदशीलतातिर लागौं न। पहिले अमेरिकीहरुकै कुरा गरौं।  चिन्नु न जान्नु बाटोमा जसलाई भेटे पनि हाइ, हाउ आर यू आदि भन्दै हिंड्ने। आफूलाई चिनेरै बोलेका हुन् कि जस्तो लाग्थ्यो तर होइन रहेछ। अझ टाउको यसो उठाएर व्हाट'स अप भन्नेहरु पनि धेरै थिए। होइन माथि के छ र जस्तो लाग्थ्यो। उच्चारणमा उस्तै समस्या, p भने b भनेको सुन्ने, F र S पनि उल्टो पाल्टो आदि आदि। अझ जेडलाई जी भन्ने। G र Z छुट्ट्याउन पनि आफूलाई गार्हो। त्यसै गरी कतिपय शब्दका हिज्जे पनि फरक हुँदा रहेछन्, जस्तै centre लाई center भनेर लेख्ने, अझ उच्चारणमा त सेन्नर भने जस्तो सुनिने। त्यसै गरी बेलायती अङ्रेजीमा u राखेर लेखिने शब्दहरु जस्तो colour, flavour आदि बिना u लेख्ने बानी पार्न पनि समय लाग्यो। एक चोटि बाटो काट्ने बेला एक जना कालेले मलाई व्हाट'स अप भन्यो। त्यसपछि मसँग केही कुरा गरेको तर नबुझेको जस्तो लागेको थियो तर ऊ त आफ्नो वाक्म्यानमा बजेको rap गीत नै गाइरहेको रहेछ। आफ्ना हाकिम र प्राध्यापकहरुलाई उनीहरुको पहिलो नामले बोलाउने बानी पनि थिएन। बिस्तारै बानी पर्न थाल्यो त्यसको पनि।

यी त भए अमेरिकीका कुरा। हिन्दूले गाई चोखो मानेर नखाने त थाहा थियो तर मुसलमानले सुंगूर नखाने कुरा थाहा भए पनि कारण चाँही थाहा थिएन। एक जना इजरायली (जसले मलाई वाक्यहरु बीच डबल स्पेस राख्न सम्झाएको थियो) लाई सोधें, हामीलाई गाई चोखो भए जस्तै तिमीहरुलाई सुङ्गूर चोखो हुने भएर नखाएको हो भनेर। ऊ त जङ्गियो f*** you, I will cut your head if you ask that again भनेर। म पनि कस्तो मूर्ख, त्यस्तो फोहोरी जन्तुलाई चोखो मान्छौ भनेर सोध्न। श्रीलंकाको एक जनाले मलाई एक चोटि hey you Himalayan tiger भनेर बोलायो। उसले टाइगर भनेकै भरमा मैले झन्डै उसलाई श्रीलंकन टाइगर भनिसकेको थिएँ तर झल्याँस्स सम्झिएँ तामिल टाइगरहरुसँगको गृहयुद्ध। जाफ्ना प्रायद्वीप, बाट्टिकोला र ट्रिंकोमाली अनि त्यहाँ भएका हिंसात्मक घटनाहरुको बारे पटक पटक दुर्गानाथ शर्मा, ध्रुव थापा, प्रवीण गिरी आदिका स्वरबाट सुनेकै थिएँ। झन्डै टाइगर फुस्किसकेको मुखबाट सिंहाली भाषी अनि सिंह अंकित झन्डा भएको देशको उक्त मान्छेलाई श्रीलंकन लायन भनी प्रत्त्युतर दिएँ। टाइगरहरुसँग अनवरत युद्धमा लडेको देशको मान्छेले मलाई किन टाइगर भनी बोलायो, त्यो चाँही दैवले जानुन।

संसार पनि कति सानो भन्या। हामीभन्दा सिनियर एकजना बांग्लादेशी छात्राका दाई बस्टनमा पढ्दा रहेछन्। मेरै थर मिल्दो एक नेपाली उनका मिल्ने साथी भएको नाम चाँही फलानो हो तेरो कोही पर्ने त होइन भनेर सोधीन्। कोही पर्ने त थाहा भएन तर बैंककमा भेट भएका नेपाली बिद्यार्थी मध्ये एक परेछन् जो गर्मीको छुट्टी नेपालमा बिताएर फर्किंदै थिए। ती छात्रा सँधै कुर्ता सुरुवाल मात्रै लगाउँथिन्। अनिवार्य रुपमा लिनु पर्ने शारीरिक शिक्षा अन्तर्गत पौडीको पनि कक्षा लिनु पर्थ्यो। हल्ला थियो कि उनी पौडी पोखरीमा पनि कुर्ता सुरुवाल लगाएरै हाम फाल्थिन्। आफ्ना समकक्षी बाङ्लादेशी भने लुंगी र टीसर्ट लगाएर छात्रावास भित्र हिंड्थ्यो। स्कर्ट लगाएर हिंड्ने मान्छे भन्थे अमेरिकीहरुले उसलाई। अर्को हल्ला थियो एक भारतीय छात्राको बारे। जुत्ताको फित्तै कस्न नजान्ने अनि अरुहरुको सहयोग चाहिने रे कति समयसम्म। भारतमा हुँदा घरको काम गर्नेले बाँधिदिन्थ्यो रे। त्यस्ताले फित्ता बाँध्नु पर्ने जुत्ता किन लगाउन परेको होला।

कलेज जीवनका ब्यस्त, अनौठा, अनि कहिले रमाइला त कहिले अत्यास लाग्दा दिनहरु बित्दै जाँदा आएको पनि तीन हप्ता जति भैइसकेछ। सँधै झैं खाना खान जानु अघि छेवैमा रहेको पोस्ट अफिसमा आफ्नो बक्स चेक गरें। आउने भनेको प्राय: जंक नै हुन्थ्यो। त्यो दिन भने परिचित अक्षरहरुमा आँखा पर्‍यो। बुवाको अक्षर भएको खाम अर्थात घरबाट पहिलो चिठी आएको रहेछ।  मुस्किलले एक दुई अक्षरहरु पढ्न सकिने गोश्वारा हुलाकको छाप लागेको उक्त खाम बाक्लै थियो। अनुमान लगाएँ कि त्यसमा हिंड्ने बेलाका फोटोहरु थिए। उत्साहित हुँदै अब लाइन बस्दै पढ्नु पर्छ भनेर लम्किएँ।    

खाम खोल्नासाथ पत्रिकाका काटिएका टुक्राहरु भेट्टिए। नेपालका प्रमुख समाचार र मलाई मनपर्ने खालका केही लेख भएको कुरा शीर्षकबाट देखें। पत्रिकाको नाम र मीति चाँही हातैले लेखिएको थियो। पहिले चिट्ठी नै पढेर अरु कुरा पढ्छु भन्ने सोचें। फोटोहरु चिट्ठीको बीचमा थिए। फोटोहरुलाई खाममा नै राखेर चिट्ठी पढ्न थालें। शुरुमा बुवाले लेख्नु भएको रहेछ। माथिल्लो दाहिने कुनामा पहिले बिक्रम सम्बतको अनि त्यसको तल ब्राकेटमा इस्वी सम्बतका मीति लेखिएका थिए।  "प्रिय चिप्ले" भनेर सम्बोधन गरिएको चिट्ठीको पहिलो वाक्य थियो "तिमी गए पछि हामीलाई धेरै शून्य लागेको छ।" चिट्ठी पढ्दा बिदा हुने बेलाको बुवाको गम्भीर अनुहार आँखामा आइरह्यो। पढ्दै जाँदा मन झन झन भारी हुँदै गयो। अहिले यी हरफहरु लेख्दा पनि मन एकदमै भारी भैरहेको छ।  चिट्ठीको पछिल्लो भाग चाँही आमाको रहेछ। पढ्दा लाग्थ्यो कि त्यो चिट्ठी नै आँशुका थोपा थोपाले भिजेको छ जस्तो। पढिसक्दा मेरो कार्ड स्वाइप गर्ने बेला हुन लागेको थियो।

अरु बेला खाना खाने बेलामा साथीहरुसँग बसेर गफ गर्ने कुराले उत्साहित हुन्थें तर त्यो दिन एकान्तमै बस्न मन लाग्यो। चिट्ठीलाई खाम भित्रै राखेर खामलाई किस्तीमा राखें र खानेकुरा लिएपछि साथीहरुलाई नदेखे झैं गरी अलि टाढाको खाली टेबलमा गएर बसें अनि फोटोहरु हेर्न थालें। फोटो कन्सर्न देखि घर अनि बिमानस्थलसम्मका फोटोहरु एक एक गर्दै हेरें। ती फोटोहरु त सबै खिचेको थाहा थियो र पाउनु कुनै अनपेक्षित कुरा थिएन। तर ती बाहेक अरु चार वटा फोटोहरु पनि रहेछन्। क्रोनोलोजी मिलाएर भन्दा बिमानमा यात्रुहरु चढ्दै गरेको, ट्याक्सीवेतिर मोडिंदै गरेको, धावनमार्गमा कुदिरहेको अनि टेक अफ गरेर बदली भदौरे आकाशमा बिलाउन लागेको द्रिश्यहरु रहेछन्। शायद अनिश्चित कालको लागि अद्रिश्य भैसकेको छोरालाई क्यामरामा सक्दो कब्जा गर्ने प्रयास थियो होला त्यो। बिदा हुने बेलाको गम्भीर क्षणलाई केही हलुका बनाउने प्रयास स्वरुप मैले भनेको थिएँ, "ल बुवा अब तल ढोकामा भेटौंला" (संस्मरणको दोस्रो भाग हेर्नुहोला)। त्यही समयको फेरि सम्झना आयो। कहिले त्यो ढोकामा पुग्ने होला अनि कहिले आफ्नो परिवार अनि साथीभाइहरुको साथ हुन पाउने होला अनि कहिले फेरि आफ्ना परीचित स्थान अनि बाटघाटाहरुमा हिंड्न पाइने होला भनेर सोच्दै उड्दै गरेको बिमानको फोटोमा निकै बेरसम्म टोलाइरहें। केही खान पनि मन लागेन। जबरजस्ती केही खाए जस्तो गरी आफ्नो बाटो लागें।

समाप्त।                                                      

 


 

 

   
  

 

 


 
Last edited: 23-Mar-09 11:49 AM
Read Full Discussion Thread for this article