Posted by: chipledhunga March 17, 2009
मुग्लान भास्सिँदाका सम्झनाहरु
Login in to Rate this Post:     0       ?        

हेर्दा हेर्दै पढाइ पनि शुरु हुन थाल्यो।  चारवटा कक्षाहरुमा दर्ता गरेको थिएँ मैले तर आफूले पढ्न चाहेको बिषयको भने एउटै मात्र। आइ एस्सी गर्दा नेपाल परिचय पढ्नु पर्‍यो भनेर कत्रो रिस उठेको थियो। यहाँ त झन् आफ्नो बिषयका भन्दा बढी अरु कुरा नै पढ्नु पर्ने। मैले लिएका कक्षाहरुमा आफ्नो बिषयका अलावा स्टोरिज (जुन सबैका लागि अनिवार्य थियो), एसियन आर्ट्स (आर्ट्स तर्फको माग पूरा गर्न) र भौतिक शास्त्र (बिज्ञान तर्फको लागि) थिए।  शैक्षिक सल्लाहकारसँग समन्वय गरी ती कक्षाहरुमा दर्ता गरेको थिएँ। अरु दुई कक्षा त आफ्नो रोजाइले लिएको होइन तर भौतिक शास्त्र चाँही आइ एस्सी गरिसकेकोले दोहोर्याएकै जस्तो होला, सजिलै होला भनेर लिएँ।

हरेक कक्षाको प्रारम्भमा प्राध्यापकहरुले आफ्नो चिनारी दिनुका साथै बिद्यार्थीहरुलाई पनि आफ्नो छोटो परिचय दिन लगाउँथे। नेपालमा त कक्षामा छिर्ना साथ पढाईकै कुरा सीधा थाल्थे, कतिचोटि त शिक्षक वा प्राध्यापकको नाम समेत थाहा हुन्नथ्यो केही समयसम्म। अनि बिस्त्रित सिलेबस पनि बाँड्दा रहेछन्। सिलेबस हेरेपछि त्यहाँको शिक्षण प्रणाली देखि एकदमै प्रभावित भएँ। नेपालको कलेजमा जस्तो बर्षभरिको पढाई एउटा परीक्षाले मुल्याङ्कन गरिंदो रहेनछ। अन्तिम परीक्षा लगायत गृहकार्य, बीच बीचमा हुने परीक्षा, कक्षामा गरिने अन्तरकृया आदि बिबिध कुराहरुको आधारमा फाईनल ग्रेड निर्धारण गरिने रहेछ। पास गर्न ६०% चाहिने र ए ल्याउन ९०% चहिने कुराले चाँही अलि डर लागेको थियो। नेपालमा गणित बाहेक अरु बिषयमा ९०% कटाउनु भनेको असम्भव प्राय: नै हुन्थ्यो। त्यसमाथि नेपालीमा त ६० कटाउने पनि कमै हुन्थे।

हप्ताको तीन दिन बिहान ८ बजे स्टोरिजको कक्षा हुन्थ्यो। साहित्य, कथा आदिका पुस्तक पढेर त्यसै बारेमा छलफल गर्नु अनि लेख्नु पर्थ्यो। मलाई सबैभन्दा गार्हो त्यही कक्षामा भएको थियो। न अङ्रेजी धेरै बोल्ने अनुभव थियो न त लेख्ने नै। लेख्न पर्ने पनि कम्प्युटरबाट जबकी मैले कहिले कम्प्युटर छोएको थिइनँ। कम्प्युटरको बारे यति थाहा थियो कि टि.भी जस्तो भागलाई मनिटर अनि टाईप गर्नेलाई चाँही किबोर्ड भनिन्छ भनेर। धन्न म मात्रै रहेनछु कम्प्युटरको ज्ञान नभएको मान्छे। प्राध्यापकले वर्ड प्रोसेसर चलाउने एक घन्टे आधारभूत कक्षाको ब्यवस्था गरेका रहेछन्। ९ इन्चको मनिटर भएको म्याकिन्टोश क्लासिकमा माईक्रोसफ्ट वोर्क्सको वर्ड प्रोसेसर चलाऊनु नै मेरो कम्प्युटरसँगको पहिलो अनुभव थियो। नयाँ फाइल खोल्ने, टाईप गर्ने, अर्को लाइनमा जान रिटर्न कि हान्ने, कपि र पेस्ट अनि डिलिट गर्ने, अक्षरको स्वरुप बदल्ने, स्पेल चेक गर्ने,
फ्लपी डिस्कमा सेभ गर्ने आदि कुरा सिकियो। कक्षामा पनि छलफलको क्रममा अरुले जस्तो फरर् कहाँ बोल्न सक्नु, टुटेफुटेको अङ्रेजीमा जसोतसो अलिअलि बोल्थें।

हेर्दाहेर्दै पहिलो गृहकार्य बुझाउने समय भयो र त्यसैको लागि कम्प्युटर सेन्टर गएँ। फ्लपी डिस्क छिराएर वर्ड प्रोसेसर खोली टाईप गर्न थालें। बल्ल बल्ल एक पाना जति लेखेको थिएँ होला। त्यही बेला एकजना मित्र भेट भयो, जूनियर तह अर्थात तेस्रो बर्षको। वाक्यहरु बीच दुइवटा स्पेस राख्नु पर्ने भन्ने सम्झाए। केही बेर पछि एउटा समस्या आइपर्‍यो, ठ्याक्कै के हो त बिर्सिएँ। छेवैमा एक जना वाकम्यान सुन्दै के के चलिरहेका थिए कम्प्युटरमा। मलाई लाग्यो कि उनले संगीत सम्बन्धी केही काम गरिरहेका होलान्, पक्कै पनि कम्प्युटर राम्रो जान्ने होलान् भनेर। सोधेको त केही थाहा छैन भने। त्यहाँको "कन्सल्टेन्ट" (जसले ल्याबको कामको जिम्मा लिएको हुन्थ्यो) पनि अरुलाई सहयोग गर्न ब्यस्त थिए। धन्न नजिकै बसेको अर्कोले सजिलै समाधान गरिदियो। त्यस्तो ठुलो केही भएको रहेनछ। पछि पो बोध भयो त त्यो मूला गीत सुन्दै यत्तिकै के के चलिरहेको रहेछ भनेर। आफू कम्प्युटर चलाउन नजान्ने, अर्को मूर्खलाई एक्स्पर्ट सम्झिएर आँफै मूर्ख भएको रहेछु। केही हप्ता पछि त्यस्तै सानोतिनो कुरामा मैले नै सहयोग गर्नु परेको थियो उसलाई।

जे होस् पहिलो गृहकार्य जसोतसो सक्काएर प्राध्यापकलाई बुझाएँ। मलाई लागेको थियो, शायद सबैभन्दा खत्तम काम मेरै होला भनेर। कक्षाको अन्तमा आफूलाई गार्हो भएको कुरा अवगत गरें, प्राध्यापकले दिउँसोको समय दिएर आफ्नो कार्यालयमा भेट्न बोलाए। भेट्दा शुरुमा त ब्यक्तिगत गफगाफकै कुरा भए ५-१० मिनट जति त। त्यसपछि मैले बुझाएको गृहकार्य निकाले र सबैभन्दा पहिले मेरै जाँचेको कुरा बताए। लेखाइ सरल र भाषागत त्रुटी खासै नभएको, अनि औसत भन्दा राम्रो ग्रेड आएको भने पछि केही ढुक्क भएँ। एउटा अर्को कागजले नाम छोप्दै अरु केही बिद्यार्थीको गृह कार्यमा भएका हिज्जे र व्याकरणका त्रुटिहरु समेत् देखाउँदै अमेरिकी बिद्यार्थीहरुले आफ्नै भाषा भएर पनि त्रुटिपूर्ण लेख्ने गरेको दुखेसो प्रकट गरे। साथै मलाई ट्युटरिङ्ग कक्षामा भर्ना हुनुको अतिरिक्त अरु सहयोग चाहिए उनलाई संपर्क गर्न नहिच्किचाउन समेत आग्रह गरे। आभार भएँ उनको सहयोगीपनाले। ट्युटरिङ्ग कक्षाले मलाई धेरै सहयोग गर्‍यो, र उनको कक्षामा फाईनल ग्रेड राम्रै पनि आयो।

आफ्नो बिषयका प्राध्यापक ब्रिद्ध थिए र उनको बोलाई (चर्को रैथाने एक्सेन्ट) बुझ्न धेरैलाई गार्हो पर्थ्यो। भौतिक शास्त्रका प्राध्यापक लिबियाका थिए। अरबी लवजमा सँधै भन्थे, रिद इत थ्री ताइम्स। दोन्त फर्गेत तो द्रो अ फ्री बदी दाँयाग्राम। एसियान आर्ट्सका प्राध्यापक चाँही ताईवानका थिए। उनको "क्रास"मा हिन्दू, बौद्ध र ईस्लाम धर्मसँग सम्बन्धित बास्तुकलाका साथै चिनिया तथा जापानी चित्रकला तथा हस्तकलाका बारे पनि पढ्नु पर्थ्यो। त्यतिबेला पो बुझ्न थालें त खास गरी हिन्दू मन्दिरहरुमा भएका कुँदिएका मूर्ती तथा कलाकृतिका बारे। नेपालमा ईतिहास पढ्दा त फलानो राजाले यो बनाए र ऊ बनाए भनेरै रटिन्थ्यो। कलाहरु बुझाउनुको साटो कुन राजाको पालोमा के बन्यो भन्ने कुरामै जोड दिइन्थ्यो। त्यस्तै गरी चिनियाँ कला अन्तर्गत उड्ने घोडा अर्थात् "फ्राइङ" होर्सको बारे पनि पढ्नु परेको थियो।

क्रमश:               

                                            

                                        
Read Full Discussion Thread for this article