Posted by: chipledhunga March 13, 2009
मुग्लान भास्सिँदाका सम्झनाहरु
Login in to Rate this Post:     0       ?        

भोलिपल्ट बिहान उठेर लबीमा गएँ। बांग्लादेशी बन्धु त लुङी लगाएर टि.भी हेर्दै रहेछन्। ब्रेकफास्ट खान जाने होइन भनेर सोधें। कोठामा आइज, अलिअलि बांग्लादेशी खानेकुरा खाउँ भन्यो उसले। चाखिहालूँ न त भनेर म पनि लागें। अलिकति भुजिया (जसलाई चानाचुर भन्दा रहेछन्) र बर्फी ल्याएको रहेछ। अलिकति भुजियाको पीरोलाई बर्फीले मारेर निस्किएँ। त्यो दिन अरु नयाँ साथीहरुसँग पनि चिनजान भयो।

पछील्ला दुई चार दिनमा कलेज परीसर तथा बिद्यार्थी एवम कर्मचारीहरुसँग बिस्तारै परिचित् हुँदै गएँ। आउँदा आउँदै राखिएको छात्रावास "अपर क्लास डोर्म" अर्थात स्नातक तहको दोस्रो तथा पछील्ला बर्षमा पढ्ने बिद्यार्थीहरुको लागि रहेछ। हामीलाई फ्रेशम्यान डोर्म अर्थात प्रथम बर्षमा अध्ययन गर्नेहरुका लागि छुट्ट्याइएको छात्रावासमा सारीयो। अलि पुरानो खालको अनि एसी नभएको भवन रहेछ त्यो। रूममेट चाँही पेन्सल्भेनियाको परेछ। बाबु कालो बर्णको अनि आमा चाँही स्विडेनका रहेछन्। उसको कपाल कैलो तर छाला कालो थियो।

पढाई शुरु हुन अघिका दुई चार दिन "ओरिएन्टेसन" अर्थात् कलेजसित परिचित हुने औपचारिक कार्यक्रमहरुले बिते। कुनै काम एक्लै, कुनै सानो समूह तथा कुनै चाँही ठूला समूहमा हुन्थे।  आफ्नो शैक्षिक सल्लाहकारलाई भेट्ने, कक्षाहरुको दर्ता गर्ने, पैसा तिर्ने देखि लिएर कलेजको टुर लिने जस्ता कामहरु भए। मेरो काम चाँही पुस्तकालयको सर्कुलेसन डेस्क अर्थात किताब चेक आउट गर्ने र फिर्ता लिने ठाउँमा परेछ। अरु धेरै जसो हेरिकन म भाग्यमानी नै रहेछु। कतिलाई त क्याफेटेरियामा काम दिइएको थियो भने कतिको भागमा janitorial काम पनि परेको थियो। ओरिएन्टेसनमा रमाइलो गर्ने खालका कृयाकलापहरु पनि थिए। एउटा खेलमा त वाक्य पिच्छे एक एक टुक्रा टोइलेट पेपर च्यात्दै आफ्नो परिचय दिनु पर्ने थियो। के केटाकेटी खेल जस्तो अनि किन खेर फाल्ने त्यत्रो पेपर। हरेक ब्यक्तिले आफ्नो परिचय दिने क्रममा कम्तीमा ४-५ चोटिलाइ पुग्ने कागज नाश गरे होलान्। अर्को कृयाकलाप थियो पहाड चढ्ने। मैले न त हिमालय पर्वतको आशा गरेको थिएँ नत शिवपुरीकै। चुरे पहाड जति होला भन्ने मेरो अनुमान थियो। के हुन्थ्यो, स्वयम्भूको डाँडो चढे जति पनि थिएन त्यो त। त्यसमा पनि ठाडो र अप्ठेरो भाग भने टुप्पो पुग्ने बेलामा मात्रै थियो। फेदीबाट चुलीमा पुग्न २०-२५ मिनट लाग्यो होला। सहजै बाटो भए पनि धेरैलाई उकालो चढ्न गार्है परेको देखिन्थ्यो। गाडीबाट दुई पाइला हिंड्नु छैन, के सक्नु त।

नेपालको नाम सुनेका अमेरिकी पनि एकदमै थोरै रहेछन्। कहाँबाट आएको भन्दा नेपाल भन्यो, उनीहरु ट्वाल्ल। नेपाल भनेको देश हो? भारतको भाग हो? आदि सोध्ने प्रशस्तै हुन्थे। अझ कतिले त सीधै भारतको कुन ठाउँबाट आएको भनेर पनि सोध्थे। कसैले भने इटलीको नेपल्स भन्ठान्थे। नाम सुनेकाहरु भने उत्साहित हुन्थे "ख्याट्मान्डु, हिमलय, माउन्ट एभरेष्ट" आदि भन्दै। नेपालको बारे अरुलाई थाहा हुने भनेको त्यति नै रहेछ। काठमाडौं थाहा हुनेलाई पोखरा र चितवन जस्ता लोकप्रीय पर्यटकीय गन्तब्यहरुको नाम थाहा होला कि भनेको हुँदो रहेनछ। सगरमाथा र हिमालयको नाम सुनेकालाई पनि कंचनजंघा र मकालु जस्ता विश्वका उच्च १० पर्वतको नाम थाहा हुँदो रहेनछ। अमेरिकी मात्र होइन, भारत, चीन लगायत नजिकैका मुलुकका मान्छेलाई पनि नेपालको बारे त्त्यो भन्दा बढी खासै थाहा रहेनछ। खास गरी अमेरिकीहरु सोध्थे, सगरमाथा चढेको छस्, तेरो घरबाट सगरमाथा देखिन्छ वा कति टाढा छ भनेर। मैले बुझाउँथे, सगरमाथा सजिलै चढ्न सकिन्न अहिले सम्म केही सय जतिले मात्रै चढेका होलान्, घरबाट सगरमाथा १०० माइलको दूरीमा होला अनि सगरमाथा नदेखिए पनि अन्य केही प्रमुख हिमाली श्रींखलाहरु देखिन्छ आदि भनेर। 

"पहाड" अथवा नेपालको लागि थुम्को नै भनूँ न चढ्ने क्रममा पनि धेरैले प्रश्न गरेका थिए, तेरो देशमा यस्ता पहाड छन् कि छैनन् भनेर। केही दिनको अमेरिका बसाइको अनुभव पश्चात उक्त प्रश्न कुनै आश्चर्यको बिषय भने हुन छोडिसकेको थियो। हामीकहाँ सगरमाथा लगायत विश्वकै उच्च पर्वतहरु छन् र देशको अधिकांश भाग पहाडी नै छ भनेर मैले बुझाउँथे। हुन त सगरमाथाको देश भनेर जतिसुकै गौरब गरे पनि सगरमाथा देख्ने र देखेर पनि चिन्ने नेपाली त कमै छन्। मैले पनि त्यति बेलासम्म जम्मा एक चोटि सगरमाथा देखेको थिएँ र त्यो पनि प्रस्टसँग होइन। बिराटनगरबाट काठमाडौं उड्ने क्रममा हाम्रा एक छिमेकी र बुवाको मिल्ने साथीसँग संयोगबस परिएको थियो। ऊहाँले नै बिमानको झ्यालबाट "cloud को volcano निस्किएको जस्तो देखिने black peak" भनी चिनाउनुभएको थियो, र अरु केही प्रमुख हिमालहरु पनि।

साथीहरुमा अधिकांश बिदेशीहरुसँगै बढी घुलमिल भइयो। आफूसँग भएका कागजका टुक्रामा आफ्नो नाम, देश, डोर्मको एक्स्टेन्सन नम्बर आदि साटासाट गरिन्थ्यो। साथै आ-आफ्नो भाषामा "मेरो नाम यो हो" भनेर पनि लेखिन्थ्यो। त्यस्तै गरी अभिबादन गर्ने, धन्यवाद दिने आदि पनि सिकिन्थ्यो एक अर्कासँग। कलेजले बिशेष कार्यक्रम अन्तर्गत नेपाल र भारतमा शरणार्थी जीवन बिताइरहेका तिब्बतीहरुलाई पनि भर्ना गरेको थियो। एक जना नेपाली छात्रा पनि थिइन्। त्यसैले नेपाली बोल्न भने बेला बेलामा पाइन्थ्यो। नेपाली नबोल्ने तिब्बतीहरुले पनि नेपाली गीत भने मनपराउँदा रहेछन्। खास गरी उनीहरुले डेनीका गीतहरु जस्तै चिसो चिसो हावामा, कान्छीलाई घुमाउने काठमाडौं शहर, अनि चलचित्र साइनोको सुन कथा एउटा गीत आदि मनपराउने रहेछन्। नेपाली कहिलेकाहीं बोल्न पाए पनि धेरै जस्तो त अङ्रेजी बोल्न पर्ने छँदै थियो र अप्ठेरो त्यसैले पार्थ्यो। आफूले त नेपाली माध्यमबाटै एस.एल.सी दिएको थिएँ। आइ एस्सीमा मात्रै हो अङ्रेजी माध्यम प्रयोग गरेको। त्यसैले अङ्रेजी भाषा धेरै प्रयोग गर्ने मौका मिलेको थिएन। जति लेख्थें प्राय: शुद्ध व्याकरण र हिज्जेमै लेख्थें तर लामो लेख्ने र बोल्ने अनुभवका साथै शब्दावली अत्यन्त सीमित थियो। सही शब्द नजानेर कति कुरा ब्यक्त गर्न गार्हो हुन्थ्यो, त्यसमाथि यहाँका रैथानेले मेरो एक्सेन्ट नबुझ्ने मैले उनीहरुको slang नबुझ्ने।

अर्को समस्या थियो युनिटहरुको। न त फरेन्हाइटमा तापक्रम नाप्ने बानी थियो (ज्वरो बाहेक) न त माइलमा दूरी नाप्ने बानी थियो। त्यसै गरी तौल र तरल पदार्थको परिमाण् पनि पाउन्ड र ग्यालनमा नाप्ने बानी थिएन। हरेक कुरा मेट्रिकमा बदलेर अनुमान लाउनु पर्थ्यो।

सबै विद्यार्थीहरुको गाडी थिएन, आफू नयाँ भएकोले गाडी भएका पनि धेरैलाई चिनिएको थिएन। लुगाफाटा र सीमित मन्जन, साबून आदि बाहेक ब्यक्तिगत प्रयोजनका खासै सामान थिएनन्। एक जना बिद्यार्थीले हामी केहीलाई वाल्मार्ट लगे। कागज, कलम, लुगा धुने डिटरजेन्ट लगायतका सामान किनियो। छात्रावासले डस्ना, खोल र रुमाल उपलब्ध गराए पनि ओड्ने, तकिया आदि आँफै किन्नुपर्थ्यो। जे देख्यो, त्यसको भाउ ५० ले गुनेर नेपाली रुपैंयामा बदल्थें अनि जे पनि महँगो लाग्थ्यो। बाङ्लादेशीले त क्याल्कुलेटर नै बोकेर लगेको थियो अनि हरेक सामानको भाउ टाकामा बदल्थ्यो। सकेसम्म सस्तो सामान नै छानें मैले पनि। तैपनि पैसा त गयो निकै नै, खास गरी रुपैंयामा बदल्दा। जे होस्, केही दिनमा अलिअलि सेटल भए जस्तो भयो र ओरिएन्टेसनका केही दिन पश्चात पढाई पनि शुरु हुने बेला भयो।

क्रमश:                                       

 
Read Full Discussion Thread for this article