Posted by: chipledhunga March 12, 2009
मुग्लान भास्सिँदाका सम्झनाहरु
Login in to Rate this Post:     0       ?        

झन्डै तीन महिना कथा फेरि अघि बढाउन नसकेकोमा क्षमा चाहन्छु।

भोजन पश्चात केही बेर गफगाफ गरी हामी सबैजना निस्कियौं। ती दुइलाई उनीहरुको विश्वबिद्यालयको कुनै ठाउँमा छोडेर रामेले हामीलाई पनि कलेजमा छोडिदियो। अघि भेटेका केही नयाँ तथा पुराना बिदेशी साथीहरुसँग फेरि भेट भयो। एक चोटि घरमा खबर गर्नु त पर्‍यो। पुरानो एक जना साथीले "फोन सेन्टर" मा लगिदियो। लामो दूरी तथा अन्तरराष्ट्रिय कल गर्न कार्ड लिनु पर्ने रहेछ। कार्ड पनि फारम भरेर बुझाएको भोलिपल्ट लिन मिल्ने अनि फोन गरेको बिल चाँही मासिक रुपमा पठाउने रहेछन्। नेपाल फोन गरेको प्रति मिनट झन्डै ३ डलर लाग्ने रहेछ। झसङै भएँ त्यो सुन्दा त। हुन त नेपालबाट अमेरिका फोन गर्दा पनि १५० रुपैंया जति पर्थ्यो अनि त्यतिबेलाको बिनिमय दर १ डलरको रु ५० जति थियो। एक मन त भोलिपल्टसम्म कुरेर फोन गरौं कि जस्तो पनि लाग्यो। फेरि भोलिपल्टको पनि रातिसम्म कुर्न पर्‍यो, नेपाली समय अनुसार त घर छोडेको पाँचौ दिन हुने रहेछ। बरु अहिले फ्याक्स पठाइदिन्छु पीर भैरहेको होला भनेर सकुशल आइपुगेको र एक जना नेपालीले बैंकको खाता खोल्न सहयोग गरेको आदि लेखेको दुई चार लाइनको फ्याक्स बुवाको अफिसमा पठाइदिएँ। सामान नआएको चाँही भन्न मन लागेन। ४-५ डलर कति पर्‍यो त्यति पठाएको पनि। फोन कार्डको लागि फारम भरेर फर्किएँ।

केही समय साथीहरुसँग गफ गरे पछि साँझको खाना खान "स्न्याक बार" तिर जाने निर्णय भयो। अपशोच, उपरोक्त स्थान जहाँबाट निशुल्क भोजनको लागि हामीलाई भौचर थमाइएको थियो, बन्द भैसकेको रहेछ। धेरै ढिलो पनि भएको त होइन, त्यस्तै ७ बजेको थियो कि साँझको। दिउँसो टन्न भात खाएको हुनाले मलाई त्यही बेला त त्यति भोक लागेको थिएन, तैपनि अलि पछि भोक लाग्ने त निश्चित नै थियो।  अरु साथीहरुले चाँही स्न्याक बारमै लन्च खाएका रहेछन्, "कस्ता मुलाहरु, दिउँसो खान गएको बेलामा बेलुका कति बजे बन्द हुन्छ भनेर हेर्नुपर्छ नि" भन्ने सोचें। छेवैको डाउनटाउन, जुन नौबिसे बजार भन्दा ठुलो थिएन होला, एक चक्कर घुमौं अनि जे भेट्टिन्छ खाउँ भन्ने सहमति भयो। रामेले पिज्जा मिठो पाउने ठाउँ छ पनि भनेको थियो त्यहीं नै तर तत्काल ठाउँको नाम सम्झिन सकिनँ। म भने त्यही ठाउँ भेट्टाउने आशामा थिएँ। हिंड्दै जाँदा केही नपाएको खन्डमा बाङ्लादेशीले आफूसँग घरबाट ल्याएको केही खानेकुरा भएको र त्यही बाँडीचुँडी खाउँला भनी प्रस्ताव राख्यो।

केही बेर हिंडेपछि रामेले भनेकै ठाउँमा पुगिएछ। साइनबोर्ड देखेर नाम सम्झिएँ।  एक एक जना नेपाली, बाङ्लादेशी, मलेसियाली र इथियोपियालीको अन्तरास्ट्रीय टोलीले उपरोक्त भोजनालयमा प्रवेश गर्‍यो। इटली बसेको मलेसियालीले केही युरोपेली ढाँचा भएको प्रतिकृया गर्‍यो।  खानेकुराको अर्डर काउन्टरमै गरेर पैसा तिर्नु पर्ने अनि खानेकुरा चाँही उनीहरुले नै टेबलमा ल्याइदिनेरहेछन्। एउटा ठुलो पिज्जा अनि एक एक वटा पेय पदार्थ मगाउने अनि खर्च बराबर बाँड्ने भनेर मलेसियालीले प्रस्ताव राख्यो। कुरो ठीकै लाग्यो, किन एउटैले त्यत्रो सबै तिर्नु। बिदेश घुमेको अलिअलि अनुभवी ऊ नै थियो, हामी बाँकी त कुवाका भ्यागुता जस्ता थियौं।

पिज्जा त मगाउने भैयो तर के टपिङ भन्ने अन्यौल भयो। त्यो बङगाली सुंगुर नखाने म गाई नखाने। अन्तत: च्याउ, प्याज, अलिभ आदि हालेको शाकाहारी पिज्जा खाने निर्णय भयो। प्रतिब्यक्ती त्यस्तै ४ डलर जति पर्‍यो क्यारे। पेय पदार्थ (सबैले कोक नै मगाए क्यारे) चाँही त्यही बेला दिए अनि साथै एउटा नम्बर भएको प्लास्टिकको टुक्रा। अरु ग्राहकले जस्तै हामीले पनि देखिने गरी प्लास्टिकको टुक्रो टेबलमा राख्यौं। खानेकुरा आएपछी उठाएर लाग्दा रहेछन् त्यसलाई।

प्लास्टिकको बिर्को भएको कागजको ठुलो कपमा "पाइप" (यहाँ स्ट्र भनिन्छ भनेर पछि मात्रै थाहा भयो)को कागज झिकेर घुसाएपछि मात्रै थाहा भयो कि कपमा पेय पदार्थ भन्दा धेरै बरफ नै हुँदो रहेछ भनेर। केही बेरमा खानेकुरा आयो। एक एक वटा स्लाइस आ आफ्नो प्लेटमा हाल्यौं। मलेसियालीले टेबलमै राखिएका सिसिहरुबाट अलिअलि धूलो पदार्थ (पार्मेसान चिज भनेर पछि थाहा भयो) अनि खुर्सानीका गेडाहरु खन्यायो। हामीले पनि त्यही नक्कल गर्यौं। खुर्सानी देखेर मख्ख पर्दै बङ्गालीले टन्नै खन्याएको थियो, पीरो भने अलिकती पनि नभएकोले केही निराश भयो। दोस्रो स्लाइस खाँदा भने त्यति धेरै हालेन। खाएर निस्किंदा बेलुकीको ८ बजेको हुँदो हो, बल्ल बल्ल घाम अस्ताउला जस्तो देखिएको थियो। टन्न पेट लिएर हामी छात्रावासतिर लाग्यौं। लबीमा छिर्दा मेरो सुटकेस आएको थाहा भयो। खुशी हुँदै सुटकेस लिएर कोठामा गएँ। दिनभरी लगाएको बैंकक लेखेको टीसर्ट फुकालें। बिहानीको अनुभवलाई नियाल्दै निर्णय गरें कि त्यो टीसर्ट मलाई जतिसुकै प्यारो लागेको भए पनि सबैजनासँग परिचय नहुन्जेल फेरि लगाउँदिन, ताकी थाइल्यान्डबाट आएको हो भनेर कसैले फेरि नसोधुन्।

सुटकेस खोल्यो, फेरि घरकै सम्झना। बुवा आमाले मिलाएर प्याक गरेको लुगाफाटा लगायतका अरु सामानमा आँखा गयो। तीनै सामानमा केही थोपा आँशु झर्ला जस्तो भयो तर जसोतसो आफूलाई सम्हालें। घरैबाट ल्याएको लिरिल साबुनले नुहाएर सफा लुगा लगाएर पूर्व योजना मुताबिक साथीहरुलाई भेट्न लबीमा झरें।

क्रमश:        

 
Read Full Discussion Thread for this article