Posted by: Rahuldai March 5, 2009
~ सोच ~
Login in to Rate this Post:     0       ?        

~ सोच ~
भाग २


काठमाडौं पुगेको एक दुइ दिन त आराम र आफन्त भेटघाट् मै बित्यो। आन्दोलन बाहिरबाट हेर्दा निकै शान्त र असरहीन देखिन्थ्यो। मानौं केही भैराखेको छैन, जति सुनेको पढेको सब हावा मात्र,  सब कुरा सामान्य।



टी भि र रेडियोमा भन्ने ९० प्रतिशत आन्दोलन बिरोधी समाचार मात्र हुन्थ्यो। जानी नजानी आन्दोलनको प्रचार फोकटमा राज्य आफैले गरि राखे जस्तो। बुझ्दै जांदा आन्दोलन भुसको आगो सरि देशभरि फैलिसकेको रहेछ। पन्चायतको अन्तिम दिनहरुको बिलोमत गणना( Count down) पन्चायत आफैले सुरु गरिसकेको हतास मनस्थिति जता ततै देखिन्थ्यो। धरपकड यति धेरै भए कि टोल टोल गल्ली गल्लीका कोइ न कोइ गिरफ्तारीमा परेको भेटिन्थ्यो। आन्दोलनकारीहरु त घोषित कार्यक्रम अनुसार शान्तिपूर्ण गिरफ्तारी दिन्थे।  गिरफ्तारी दिने र गिरफ्तार हुनेहरु को संख्या यति धेरै भयो कि राख्ने ठाउँ  नै भएन। भद्रकाली देखि सिंह दरवार जाने मूलबाटोको मुनि खाद्य संस्थान र नेशनल ट्रेडिङ को गोदाममा कोच्न बाध्ये भए।



ठाउँ ठाउँमा सांझ पर्‍यो कि मशाल जुलुस् र कोण सभाहरु हुन्थे। शहर बजार भरि बाक्लो प्रहरी र गुप्तचरहरु हुन्थे। तै पनि तिनको आँखा छलेर इन्कलाबको आवाज गुन्जिन्थ्यो। चारै तिर क्रान्तिकारीहरुको मशालले परिवर्तनको उज्यालो को संकेत गर्थ्यो। प्रहरि प्रशासनले भेटाए जति लाई निर्दयीढंगले कुटपिट गर्दै भ्यान, ट्रक मा हालेको द्रिश्यहरु छरपुष्ट देख्दथ्यों।  मलाई लाग्थ्यो, जति दमन बढ्दै जान्छ, त्यति नै परिवर्तन नजिकिंदै  जान्छ।


आन्दोलनमा होमिएका धेरै जसो नेताहरु घर मै नजरबन्दमा थिए। दोस्रो दर्जाका नाम नचलेका र भूमिगत भएका नेताहरुले हरेक दिनको आन्दोलनको नेत्रित्व गर्थ्यो। बाटोमा मान्छे हेरी हेरी हातमा सानो चिट राख्दै जान्थें स्कूले केटाकेटीहरु। आज फलानो ठाउँबाट् छड्के जुलुस्, फलानो ठाउँमा कोणसभा आदि इत्यादि सूचनाको आदनप्रदान मात्र त्यही चिट हुन्थ्यो। त्यो चिट पनि सी आइ डिको हातमा पर्थ्यो र त्यो क्षेत्र नै प्रहरिको कब्जामा हुन्थ्यो। त्यता प्रहरी र गुप्तचर देखिए पछि अन्तै ठाउँबाट जुलुस् निस्कन्थ्यो। प्रहरी जिल्लाराम। यता दौडे छ उता दौडे छ। खानपीन को कुनै ब्यबस्था थिएन। प्राय डण्डे पुलिसहरु दिनभरि भोकै रहन्थे।


आन्दोलनको आफ्नै गतिमा थियो, सुस्त तर दुरुस्त। केही मित्रहरु आन्दोलनमा होमिएकोले बिभिन्न कार्यक्रमहरुको जानकारी चाहि मलाइ नि हुन्थ्यो। चारै तिरबाट दुष्टहरुको नजरहरु लाई छल्दै पुग्थें। इन्कलाबको स्वरमा आवाज थप्थें।


७ दिन बित्यो। साथीहरुले फर्कौं कलेज भने। मलाई फर्कने  इच्छा जागेन। देश परिवर्तनको संघारमा उभेको बेला, देशले उज्यालो मागेको बेला, मेरो सानो योगदानले युगान्तकारी परिवर्तन हुन्छ भने २-४ दिनको कक्षा हापेर केही नाप्दैन। मेरो बुझाई थियो।


जुनियर भाई सातौं दिन मै फर्के। अर्को सहपाठी मित्र अर्को २-३ दिन बसे। आफ्नै कामले।
सहपाठी मित्र, श्री राम को घर मेरो बासस्थान भन्दा धेरै टाढा थिएन। मात्र १० मिनेटको पैदल दूरी मा थियो।
श्रीरामले जाउँ मेरो काम पनि सकियो, क्लास् पनि छुट्ला धेरै, जाम भन्न आए। अझै मन फर्केन।


"तिमी जाउ, म केही दिन पछि आउछु।"
मैले तत्काल कलेज फर्किने अनिच्छा प्रकट गरें।


"किन नजाने? आन्दोलन सान्दोलनले हो कि ?
"केही हुनेवाला छैन यस्तो आन्दोलनले , जाम संगै।  फेल सेल गरि देला धोती प्रोफेसरले।"
साथीले अलिकति त्रास देखायो।
 
"हैन, त्यस्तो केही हुंदैन, २-४ दिन मै फर्किन्छु। क्लास् छुट्ने भए तिमी जाउ।"
मेरो कलेज नफर्किने निर्णयमा तात्विक असर पार्न सकेन, मित्रको आग्रह ले।


श्रीराम नि हिडे। जुनियर भाई "राज" कलेजमा पुगि सकेकोथ्यो।


म भने आन्दोलन संग संगै आन्दोलित थिएं। कुनै लोभ थिएन, लालच थिएन। इन्जिनियरिङ को बिद्यार्थी, पढाई बिग्रियो कि भबिष्य चौपट हुन्थ्यो, र पनि डर थिएन। देशको भबिष्यको अगाडी मेरो आफ्नो भबिष्य को अर्थ थिएन। २-४ दिन क्लास हापेर केही हुन्न, जाँचमा पाँचमा पाँच नै ल्याउन सक्छु भन्ने आत्मबिश्वास पनि थियो म मा। बढी से बढी कोइ कोइ छुच्चो प्रोफेसरको गाली खाइन्छ। तालि भन्दा बढी गाली खाएको मान्छे हुं क्या र, गाली बिना हजमोला पच्ने भैसकेको थियो।


चैत्र लाग्यो। अझै जान मन लागेन। घरमा आमाले "कहिले फर्किने बाबु, बखत राम्रो छैन, छिटो फर्क"- भन्नुहुन्थ्यो।


"अझै १ हफ्ता छुट्टी छ, छुट्टीमा कोइ हुन्न कलेजमा। कलेज खुल्ने बित्तिकै जान्छु आमा। धन्दा नमान्नुस्। हुलमुलमा म जान्न।" मैले नि आमाको वासल्ययुक्त डरलाई हटाउने प्रयास गरें।
 
अलिकति झूठ बोलें। त्यो झूठमा बदमाशि थिएन। त्यो झूठ स्वार्थको थिएन। त्यस्तो झूठले पाप लाग्दैन, मेरो मान्यता थियो र अझै छ पनि ।


आन्दोलनको गति अब भने तीब्र हुन थाल्यो। सरकारि अवामित्वमा भएको बैंक र संस्थानहरुले समेत आन्दोलनमा एकब्द्धता जनाउन सुरु भैसकेको थियो। ठाउँ  ठाँमा आन्दोलनकारी र आन्दोलन दबाउन सरकारले खडा गरेको प्रतिकार समिति र तिनले पालेका मण्डलेहरु बीच भिडन्त समेत सुरु हुन थालेको थियो।


चैत्र को १२ गते थियो। मेरो घरमा फोनको घण्टी बज्यो। धेरै जनाको परिवारमा मेरो नामको घण्टी  बिरलै बज्थ्यो। मेरो नामको फोनले बोलावट आयो। को रहेछ, अचम्म मान्दै रिसिभरलाई  हेल्लो भने। "राहुल बाबु हो। म गुरु बराल बोलेको, गजेन्द्रको बुबा।"
मैले "नमस्कार बुबा"- भनें । मैले अरु केही भन्न नै नपाउदै, उताबाट हातास र हतारको आवाजले कान ठाडो भयो।


"बाबु, अहिले नै घरछोडी हाल्नु, तुरन्तै। गजेन्द्रलाई खोज्न प्रहरी , सी आइ डी आएका थिए। बाबुको घर ठेगाना सोध्दै थिए। आउदै होला। पढाइ बिगार्नु हुदैन, यस्ता असत्तिको पन्चायतको कुनै भर छैन। गै हाल्नु बाबु, तुरन्तै।"
 
चेतावनी र सदभाव युक्त बुबाको बाणी सुनेर मैले तत्काल घर छोड्ने निर्णय गरें। आमालाई आजै कलेज फर्किनु पर्‍यो भन्दै लुगाफाटा लगायत सामान प्याक गरी घरको दैलो नाघें।
 
क्रमश:

Last edited: 05-Mar-09 04:01 PM
Read Full Discussion Thread for this article