Posted by: chipledhunga August 26, 2008
मुग्लान भास्सिँदाका सम्झनाहरु
Login in to Rate this Post:     0       ?        

बिमानतर्फ जाने बाटोमा अहिले जस्तो ऐना राखिएको थिएन, खुल्लै थियो।  कौशितिर हेर्दै जान्थें, तर कसैलाई ठम्म्याउन सकिनँ। बिमान चढ्नु अघिको दोस्रो प्रतिक्षालय पनि थिएन।  कोरिडोरबाट गएपछि नजिक भए हिंडेरै टाढा भए साझा यातायातको नीलो मित्सुबिशी बसमा बिमानसम्म जानु पर्थ्यो। थाइको बिमान नजिकै रोकिएकोले हिंडेरै गैयो। भर्र्याङ्गमा टेकेपछि भौतिक रुपमा मैले नेपाली भूमि छोडें। उक्लिउन्जेलसम्म पनि कौसितिर हेरें, झन् टाढाबाट कसलाई चिन्नु।

परिचारिकाको मीठो मुस्कान सहितको "सावादिका" ग्रहण गर्दै एअरबस ३००-६०० बिमानमा प्रवेश गरियो। बोर्डिङ पास हेर्दै अर्की परिचारिकाले सिट भएको आयल तर्फ देखाइन्। छेउ छेउमा २ र बीचमा ४ सिट थिए। मेरो सिट दाँया पट्टि थियो। सिट माथिको ठाउँमा ढाडेपोका राखेर आशन ग्रहण गरें। आन्तरिक  टर्मिनल र उत्तरतिर शिवपुरीको डाँडा आंशिक रुपमा देखिन्थ्यो। प्रत्येक् सिट अगाडि सावादि पत्रिका, खानेकुराको मेनु, संकटकालीन निर्देशन तथा बान्ता थाप्ने थैली थिए। केही बेरमा मुख पुछ्ने तातो रुमाल सबैलाई बाँडियो। टिका बच्ने गरी मुख पुछें। अनि प्लास्टिकको पोकामा हेडफोन पनि बाँडियो। सिट बेल्ट बाँध्ने काम पनि गरें। मेरो छेउको सिट खाली रह्यो।

आफूले न त एभ्रो भन्दा ठुलो बिमान चढेको थिएँ न त बिराटनगर- काठमाडौं भन्दा लामो हवाइ यात्रा नै गरेको थिएँ। त्यही पनि दुई चोटि हो जम्मा। धेरै जसो बसमै यात्रा गर्थें।  सिट पनि धेरै आराम्दायी लाग्यो, "२x२ फोल्डिङ सिट" भएका नाममा डिलक्स कोच र लग्जरी कोच तर वास्तविकतामा गुन्द्रुक र सिन्की कोचाकोच बसहरु भन्दा।  

निर्धारित समय अनुसार दिउँसोको १:५५ मा TG ३१२ को पुश ब्याक शुरु भयो। ट्याक्सीवेमा उत्तरतिर बिस्तारै जहाज अघि बढ्यो। सुरक्षा भिडियो र बाहिरी द्रीश्यतिर बराबर ध्यान बाँड्न खोज्दै थिएँ। त्यतिबेला  बिमान्स्थलको पूर्व पट्टिको द्रिश्य देखिन्थ्यो। पुराना  घरहरु थिए सबै, अनि खेतै खेत। भक्तपुर देखिएला कि भनेको देखिएन। बिमानस्थलको उत्तरी छेउमा ट्याक्सीवेबाट धावनमार्गतिर मोडिएर केही बेर जहाज रोकियो र तेज गतिमा दौडियो। झुलुक्क टर्मिनल भवन पनि देखियो। निमेश भरमै जहाजले जमीन छोड्यो। दक्षिणी काठमाडौं तथा उत्तरी ललितपुरका केही भाग देखिए लगत्तै जहाज बादल माथि पुग्यो। नेपाली भूमिलाई आकाशबाट राम्रोसँग हेर्न पनि पाइएन। संगीत सुन्दै अनि सावादी पढ्दै बसें।
 
जमीन छोडेको करीब आधा घण्टा पछि होला, पेय पदार्थ सेवा शुरु भयो। बिबिध पेय पदार्थले भरिएका गाडाहरु ठेल्दै परिचारिकाहरु आयलमा आए। मैले बियर मागें। ठाडो चुक्कुल जस्तोलाई तेर्सो पारेर ट्रेलाई तल झारें। बियरको क्यान, सानो प्लास्टिकको पोकाको बदाम, एउटा न्याप्किन र प्लास्टिककै कपलाई ट्रेमा राखें।  थाइल्यान्डमै बनेको सिंह बियर दिंदा रहेछन्। मन पर्‍यो त्यो बियर एकदमै। अहिलेसम्मको पनि सबैभन्दा मनपर्ने बियर मध्येमा पर्छ त्यो। अलि महँगो भएकोले दुई चार महिनामा एक चोटि किन्छु।

केही बेरमा खाना सर्भ गर्न शुरु भयो। एउटा किस्तिमै सबै थोक राखेर दिंदा रहेछन्। कुखुरा र माछा बीच कुखुरा नै रोजें। त्यो चाँही अलुम्नियमले मोरिएको भाँडामा दिंदा रहेछन्।  रोल, सलाद र गुलियो चाँही स-साना भाँडामा पहिले नै राखिएका थिए। अनि चिया खाने कप, वाइन ग्लास, एउटा प्लास्टिकको पोकामा न्यप्किन, काँटा चम्चा, नून मरिच, चिनी आदि सबै हुँदो रहिछ। ठाउँको चाँही अलि अप्ठ्यारो थियो। बुवाको सल्लाह अनुसार अलुम्नियमको फोइललाई निकालेर भाँडाकै तल राखें कच्याक्कुचुक नपारिकन। त्यति गर्दा फेरि सम्झिएँ, यति सानातिना कुरामा पनि कति ध्यान पुर्याउन सकेको होला। सन्तानको माया भनेको यस्तै त होला नि।

त्यसै बीच कप्तान साबले कलकत्ता माथि उडिरहेको घोषणा गरे। झ्यालबाट बादल बाहेक केही देखिन्नथ्यो। कुन सिक्वेन्समा के खाने पनि थाहा थिएन। गुलियो बाहेक अरु कुरा अलिअलि गर्दै खाएँ। गुलियो चाँही लास्टाँ चियासँग खाएँ। बेलाबेलामा झ्यालबाट हेर्थें, पूरै बाटो केही देख्न पाइएन बैंकक झर्ने बेलामा बाहेक। झर्दा खेरी पनि पानी परिरहेको थियो। झिस्मिसे साँझमा धानका खेत, अनि तीनैका बीचबाट धागो झैं तानिएका फराकिला सडकहरु देखिए। केही बेरमै बैंककको दोन मुवाङ अन्तरास्ट्रीय बिमानस्थलमा अवतरण गरियो। बिमानस्थल पनि कति ठुलो, अनि कति धेरै हवाइजहाजहरु। बोइङ ७४७ हरुकै बाहुल्य देखिन्थ्यो। अरु ठुला जहाज त पहिल्याउन सकिनँ। ७२७ र ७५७ चाँहीं तात्कालीन शानेवानिको देखिरहेको हुनाले चिन्न सक्थें।

निर्धारित समय अनुसार साँझको ६:१५ तिर नै जहाज रोकियो। कप्तानको आदेश अनुसार सीटको पेटी बाँध्नु पर्ने संकेत निभिसकेपछि मात्रै फुकालें। कतिपय यात्रुहरु त्यस अघि नै उठ्न थालिसकेका थिए। लौ भिजिने भयो भनेर सोच्दै बिस्तारै निस्किन थालें। के को भिजिनु नि? सीधै टर्मिनलमै पस्न मिल्दो रहिछ भर्र्याङ्गबाट नझरिकन। परिचारिकाहरुको मीठो मुस्कान सहितको बिदाइ लिंदै जहाजबाट निस्किएँ। अलिकति हिंडेपछी अध्यागमन र ट्रान्जिटका बाटाहरु छुट्टींदा रहेछन्। म ट्रान्जिटतिर लागें।

क्रमश:     

                          
Read Full Discussion Thread for this article