Posted by: Rahuldai January 24, 2008
"अनुराधा"
Login in to Rate this Post:     0       ?        

अनुराधा
भाग १९

घर परिवार बीच मेरो र कान्छो (भाइ) को बिहेको कुरो चल्न थालि सकेको थियो। मैले खासै रुची राखेको थिएन। काममा बिहान देखि ब्यस्त, काम मै मस्त थिएं। एक दिन कुन चाहिँ चाडपर्बको नख:त्या(चाडपर्बको लगत्तै चेलिबेटीको सम्मानमा आयोजन हुने भोज)को उपलक्षमा दिदीहरु अनि भिनाजुहरु  समेत जमघट भएको बेला बिहेको औपचारिक बहस् भयो।

"भाईको लागि एउटा राम्रो प्रस्ताव आएको छ, यस्तो खान्दानको घरि घरि भेटिन्न। तिम्रो लागित अनेक प्रताव आएको छन्, लौ फोटोहरु हेर्नु राम्रो लागेकोमा कुरा चलाउनु पर्ला।" आमाको प्रस्तावमा म अवाक भएं।


कुरा यहाँ सम्म पुगिसकेको होला भन्ने अन्दाज थिएन। सामान्य होला भन्थानेको त भाईको त बन्दोबस्त नै भै सकेको रैछ।

"मैले मलाई अहिले बिहे गर्न हतार छैन। हतारमा कतार गएर पछुताउनु छैन।"
 
"फोटोहरु त हेर्नु"- सानदिदीले कर गरिन्।

 "अहं फोटो पनि हेर्दिन। न जाने गाउं को बाटो नै सोध्दिन।"

"त्यसो भए यसको पक्का केटी हुनु पर्दछ"- ठुलदिदीले झटारो हान्नु भयो। मैले केही बोलिन, बोल्यो कि पोल्यो हुने भएकोले चुप लाग्नु नै श्रयस्कर लाग्यो।

"कहिं अनुराधा त होइन, त्यही भए नि  हुन्छ। तर बिहे चाहि यही मंसिरमा हुनु पर्दछ, तिम्रो कारणले भाईको कुरो बिगार्न मिल्दैन।" सानदिदीको कडा कुरा काँडा बनी बिझ्यो।

कहाँबाट अनुराधा को कुरा आयो, कसरी आयो थाहा भएन। तर जुन कुरा म सोच्न पनि सक्दिन, त्यो कुराले घोच्न थाल्यो।

"अहं होइन, कसले भन्यो अनुराधा को कुरा?"  मेरो भनाईमा रिस बोल्यो।

"त्यसो भए को छ त, किन फोटो हेर्न नमान्ने त?"

प्रश्न माथि प्रति प्रश्न। मानौं अख्तियारमा भ्रष्ट्र हाकिमको बयान लिने काम भै राखेको छ त्यहाँ।

यतिन्जेल मैले तिम्रो मम्मी को कुरो गोप्य नै राखेको थिएं। 

"किन न भनेसेको नि मम्मिको कुरो?"

"भनेर के गर्नु छोरी, यति चांडो बिहे गर्नु थिएन मलाई । आफु उभिने धरातल बलियो नभै कसरी बिहे गर्नु मैले?"

"जीवन रेखा न कोरी कसरी बन्धनमा बांधिनु मैले। भबिष्यका यावत कुरोको चुरो न सोची बिहे कसैले नि गर्नु हुन्न भन्ने मान्यता छ मेरो।"

"बिहे" मात्र दुइ ब्यक्ति बीचको सांसारिक बन्धन होइन, यौन र बंश बिस्तारको अनुबन्धन होइन।
बिहे रुप ,यौबन र धन बीचको गठबन्धन पनि  होइन। दुइ आत्म बीचको बिशुद्ध मिलन हो। सुखदुखमा सधैं संगै हिड्ने अनन्त सहयात्रा हो।
जन्मजन्मान्तरको कसम होइन, बाचुन्जेल एक अर्काको भावमा डुब्न सक्ने, भाव बुझ्न सक्ने अनि त्यही अनुसार चल्न सक्ने जीवन साथी मैले चाहेको। त्यो मैले तिम्रो मम्मी मा मात्र देखें।
त्यो दिन म रिसाउदै  हिडे।

तत्पस्चात पनि आमाले बिहेको कुरा बेला बेला निकाल्नु हुन्थ्यो। समयमै बिहे गर्नु पर्छ, भाईको कुरा मिलिसक्यो। तिमी पो पढेलेखेको राम्रो दुलही भेटिन्छ, कान्छाको त्यति सजिलो हुन्न। आदि इत्यादि कुरा गरि रहनु हुन्थ्यो।

मैले भनें, "लौ केटी पनि छ रे, आजै बिहे गर्न तयार छे रे। बिहे भन्ने कुरा केटाकेटीको खेल हो र, सबथोकको बन्दोबस्त गर्नु पर्दछ। घर छैन, भर छैन।
पाँच दश लाख पैसा चाहियो। कहाँबाट ल्याउने? बरु पहिला कसरी एउटा गतिलो घर बनाउने भनेर सोच्नु राम्रो हुन्छ।"

त्यो दिन पछि केही दिन त्यसै रह्यो। मैले मेरो घरमा भएका यावत घट्नाको अपडेट तिम्रो मम्मीलाई गर्थें, हरेक अपडेट संगै अपसेट हुन्थी।  च्यातिएका, फाटिएका धेरै कुरो सिलाउनु थियो। जिन्दगीका धेरै कुरा मिलाउनु थियो।

तै पनि परिवारमा बसे पछि सहनै पर्दो रैछ। कहिले काहिं त बिद्रोह गरुं गरु पनि लाग्थ्यो।

अनेक बाहनामा बिहे लाई पन्छाउदै गएं। अस्तब्यस्त जिन्दगीका लाई क्रमश मिलाउने क्रममा लागें।

फेरि अर्को पर्ब आयो। नख:त्या हुने नै भयो। त्यो पर्ब अब कोट पर्ब नै साबित भयो।
मेरो ब्यस्तताबाट फाइदा उठाउदै एक चरणको गोप्यवार्ता भै त्यसको निचोड सहितको बैठक भो। बिहेको कुरो फाइनल गर्न।

"लौ,अब अति भो। कि त आफ्नो केटी छ भने भन्नु पर्‍यो, होइन भने यी एक से एक राम्री , कुलघरानकी छोरीहरु छन्, छान्नु पर्‍यो?"
सानदिदी कडकिनु भयो। म भित्र रिसको पारो चढे पनि अड्किएं।

"तिम्रो कारणले भाइको भबिष्य अन्धकारमा पार्नु मिल्दैन। कुरोको छिनोफानो अहिले नै हुनु पर्छ।"

"भाइको बिहे गर्देउ, बात खत्तम, मलाई अहिले गर्नु छैन। हाम्रो जातीमा ब्राम्हणको जस्तो दाजुको बिहे नभै भाईको गर्नै नहुने भन्ने छैन क्यारे।"

"के को किच किच। मलाई अहिले बिहे गर्नु छैन। बात खत्तम, उपाय अति उत्तम।" सुन्दरी छनौट प्रतियोगितामा बिबाह मण्डप बनाउनु थिएन।

म नि पड्केको देखेर सबैको स्वर डाउन् भयो।
"त्यसो भनेर कहाँ हुन्छ र, दाईको नभै भाईको मात्र गरे भने समाजले नाना थरिको कुरा गर्छन्। फेरि खर्चको नि कुरा आयो।"

खर्च शब्द सुन्ने बित्तिकै मेरो मष्तिस्कमा सर्च भयो, पुरा काण्डको अर्थ के रैछ त भनेर।
मैले नि तातेकै बेला घन हिर्काएं, धनको कुरामा।

"ल, एक छिनलाई माने लिउं, केटी  पनि तयार छिन् रे भोलि नै बिहे गर्न। कसरी गर्ने? खर्च कसरी जुगार्ने? पैत्रिक सम्पति च्याम्पति बराबर छैन। एक चाड मनाउन त माडमा कटौती गर्नु पर्ने अबस्था छ। पाँच-छ लाखको सवाल छ।"

"पैसा त तिमीले ब्यबस्था गर्छौ नि। त्यत्रो इन्जिनियर हाकिम भाको के काम?"

"सानदिदीको यो वचनले मुटु छिया छिया भयो छोरी!!!!!!!। म गिरें आफ्नै नजरमा। मेरो इमानको मुल्य मेरै घरमा यस्तो छ भने बाहिर कस्तो अनि कत्तिको सस्तो होला? "

सकी नसकी सम्हालें, छिटो बिहे गर्ने दवावको भाव बुझें।
त्यसपछि जुरुक्क उठें र हिडें।
क्रमश:

Read Full Discussion Thread for this article