अनुराधा
भाग १८
सेकेण्ड इअर थर्ड इअर हुदै फाइनल इअर सम्मको कठिन तर यकिन लक्षमा पुगियो। बेला मौकामा घर तिर हुइकिन्थे पनि। त्यसो त कुनै पनि चाड पर्ब छोडिएन होला। २४ घण्टाको यात्रा भएकोले घरिघरि घर हिडिन्थ्यो। एक, घरपरिवार जन संग चाडपर्ब मनाउनु पाउने अर्को मुटुमा अंकुराएको प्रेम दर्शन गर्न पाइने।
"छि ड्याडी पनि " छोरीले ब्यङ मिश्रित भावमा भनी।
"हो छोरी बैंश आएकोथ्यो त्यतिबेला। बैंश हर कोहीमा आउछ जिन्दगीमा एक चोटी। तर कसरी आउछ कहिले आउछ थाहा हुदैन। भूकम्पको कम्पन जस्तै। अथाह असूचित हुन्छ। बैंशको रौनक सदाको लागि रहदैन पनि। बैंशलाई जसले छुटायो वा बैंशले जस्लाई छुटायो, दुबै पछुतायो। चाँद तारा तोड्ने ताकत हुन्छ, संसार जित्ने ल्याकत हुन्छ यसमा।"
"समय भन्दा चाँडो जिन्दगीका पाँग्रा गुडेकोले होला, अल्लारे बैंश चाहिँ आएन।"
यता अनुराधाको पत्रहरु आउने क्रम र गति उस्तै रह्यो। मनको भाव पोखेर मन हलुको बनाउने कोशिश हो उनको। सोचाईमा बुझाई मा हर एक नयाँ पत्रमा परिपक्वता चुल्लिदै गएको देखिन्थ्यो। यसमाने मा म खुशी नै थिएं कि टुटेर झर्न लागेको सुन्दर फूल बागको शोभा हुन सक्ने, सुबास फैलाउन सक्ने देखियो। मैले दिनु पर्ने नैतिक धापको रापले जम्न लागेको जिन्दगी चलमलाउन थालेकोमा सन्तोषको सास फेरेको थिएं।
"बिदा मा घर आउदा मेरो लक्ष मात्र तिम्रो मम्मी हुन्थ्यो। एक झलक देख्न पाए, एक बोली बोल्न पाए, स्वर्गिय आनन्दको अनुभूति लिन्थें।"
पढाइ सकियो। आफ्नो मेहनतले फल दिए जस्तो, आजन्म शैक्षिक काराबास बाट मुक्ति मिले जस्तो, मन र मस्तिष्क दुबै लामो आराम मिले जस्तो भयो।
अब राहुले चानचुन रहेन, टोल भरिमा तेस्रो इन्जिनियर भैसकेकूथ्यो।
जागिर को खोजीमा लागियो। पढ्नु भन्दा नोकरी खोज्नु अझ कठिन हुदोरैछ। योग्यता भन्दा सिफारिश चल्दो रैछ। मार्कशिट अंक भन्दा नाताबादको अंक बढि मानिदो रैछ।
काम पाइन ३-४ महिना सम्म। त्यसपछि बल्ल एक जना साथीको सिफारिशमा काम मिल्यो, दाम थोरै भए नि माम जोर्न सजिलो भयो। ६ महिना जति काम गरे पछि फेरि त्यो काम नि सकियो।
फेरि सुरु भयो अभावको सिलसिला।
स्थानिय निकायको चुनाव भयो। टोल छिमेकमा आफ्नो प्रभाव भएकोले चुनावबाट फाइदा नै भयो। नव निर्बाचित मेयर साहेबले सहयोगको लागि आग्रह गर्नु भयो। मैले जागिरको बिन्ती गरें। दुबैको गन्तब्य एकै भए नि मन्तब्य बेग्लाबेग्लै रह्यो।
जागिर खाइयो। हाकिम बनाइए। इमानको कदर भयो जस्तो लाग्यो। काममा रमाउन सिकें। कामबाट कमाउन सिकिन। तै पनि आत्मसन्तुष्टी भने धीत मरुन्जेल लिएं।
जागिरे भए पछि, बिहेको कुरो चल्यो, बेस्सरी। कुरो र कुलो भने जस्तै जता ततैको कुरो भित्र भित्रबाटै सल्के छ। धेरै अप्सनहरु प्रस्ताबित भए रे, परिवारजनको कोठे बैठकमा। त्यो लिस्टमा अनुराधा पनि थिइन् रे।
क्रमश: