Posted by: Rahuldai November 5, 2007
"अनुराधा"
Login in to Rate this Post:     0       ?        

अनुराधा
भाग १३

 

अनुराधा को घर नजिक पुग्दा झन मुटु फुलेर आयो। कहिं कतै अनर्थ हुने त होइन? को को भेट्ने हुन् बाटामा, के भन्ने हुन्? मनमा "धौबजी" ( दहि चिउरा) खेल्न थाले। संयोग बस, घरकै दैलोमा भेटें, भरिएको गाग्री सहित। लाग्यो साइत परे छ।

"अनु, म शनिबार दिल्ली उड्न लागेको, इलाहाबाद जानको लागि। घरमा सानो जमघट छ, निम्तो दिन आएको।"


"भोलि ५ बजे तिर आउनु नि।"


उस्ले सहमतीको टाउको मात्र हल्लाई र "हुन्छ" भन्ने एक शब्द मात्र।
मानौं त्यहाँ दोहरो कुरा कानी गर्न मनाहि छ। अथवा त्यो उपयुक्त समय र स्थान होइन।


स्कूलका र कलेज पढ्दाका नजिकका सबै जसो मित्रहरुलाई निम्ता गरें। गरीबखानामा के को  पार्टी हुनु, मात्र  म:म:  र अचार अनि गफगाफ। केही पुराना कुराहरु सम्झियौं। केही भबिष्यका सपनाहरु बुन्यौं।
सबै जस्तो आए, रमाए। अनुराधा पनि समय मै आई। थोरै बोल्ने अनि गम्भिर स्वभाब सबैलाई थाह थियो नै। कसैले मन बिझ्ने, खातबसेको घाउ चहराइ देला भन्ने शंका थियो । तर "आलु" अंकललाई जानाजानी न बोलाएकोले त्यस्तो परिस्थिति आएन।


पार्टी सकियो। फर्किने क्रममा सबैले बधाई दिदैं चिठ्ठी पत्र लेख्न भने। अनुराधाको आग्रह पनि त्यति मात्र थियो।


इलाहाबाद पुगे  पछि होस्टल पाए पछि सबैलाई पत्र लेख्ने वाचा गरें।
अहिले भएको भए इमेल ठेगाना दिए पुग्थ्यो, त्यतिबेला कम्पुटर भन्ने नै दुर्लभ चिन्तमणी झोला जस्तो थियो।


त्यसो त मलाई इन्जिनियरिङ् पढ्ने रहर थिएन। आफ्नो लक्ष पनि थिएन।

"मैले पहिले नै भनि सकें होइन, छोरी? कसरी किन मैले मेडिकल पढ्न पाइन वा सकिन।"


"हो ड्याडी, इट् वाज अ साड स्टोरी।"


त्यसैले पढाईको लागि जाँदा मलाई खासै उत्सुकता र बिषेश माहौल लागेन।
पढ्न भनी गुण्टा कसी गइयो। पहिलो पल्ट कुनै जहाज चढेको। दिल्लीको हवाइ अड्डाबाट् निस्कने बित्तिकै चिम्नी भट्टामा झोसे जस्तो अनुभव भयो। गर्मी भनेको के हो भन्ने बल्ल थाहा पाएं।

दिल्लीको २ दिने सयर पछि इलाहाबाद गएं, नौलो ठाउं, नौलो परिबेश। पुगेकै दिन बिषेश खालको स्वागत पाइयो। भारतिय कलेजहरुमा हुने गरेको र्‍यागिङको नमीठो झापड खाइयो। बलिन्द्र आशु झार्दै घर सम्झे, आफन्त सम्झे।
"त्यो कथा नि कुनै दिन भनौला।"


रजिस्ट्रेशन संग संगै होस्टल पनि मिल्यो, भोलि पल्टै।
 सेशन सुरु हुनु अझै २ दिन बाकी थियो। त्यसैले सबै मित्र तथा आफन्तहरुलाई होस्टल को ठेगाना सहित पत्र लेख्न थालें। तर अनुराधालाई लेखिन। केटा मान्छेको पत्र त्यो पनि मेरो, त्यसले ठुलै काण्ड मच्चाउन सक्छ, मेरो ब्रम्हले सुस्तरी भन्यो -" सबैलाई लेख तर अनुराधालाई न लेख"

तर अनु ले मेरो ठेगाना पाउन जरुरी थियो। उनको मनोभावहरु प्रकट गर्ने चाह् मैले पढेको छु, उनको अनुहारमा, ब्यबहारमा।
कति सत्य, कति तथ्य  भन्न न सकिने तर लेख्न सकिने हुने हुन्छ।
त्यसैले एक जना मित्रलाई मेरो ठेगाना मात्र दिइ दिन अनुरोध सहित पत्र लेखें।
त्यसको करिब एक महिना पछि अनुराधाको पत्र "पटेल होस्टल रूम नं ९१" मा आइपुग्यो।
क्रमश:

Last edited: 05-Nov-07 04:39 PM
Read Full Discussion Thread for this article