Posted by: Ok July 7, 2005
Manju, Malai Maaf Gara Hai !
Login in to Rate this Post:     0       ?        
"ओम दाई, म पनि तपाईँले देखाउने नाटक हेर्न तपाईँको घर जाने है। म बुबाममीसँग पनि कुरा गर्छु नि।" घटस्थापनामा स्कुल बन्द हुनु भन्दा २ दिन अघि अकल्पनिय रूपमा मञ्जुको मुखबाट फुत्त निस्किएको यी दुई वाक्यहरुले मेरो मनमा ढ्याङ्ग्रो ठोक्यो। "आहा! मञ्जुले अब मेरो गरीबीको साँचो अनुहार आफ्नै आँखाले देख्ने भईन्। सुन्न त सुनेकी हुन अलिअलि त मेरो बारेमा, तरपनि सुनेको र आफ्नै आँखाले देखेकोमा त आकाश पतालको फरक भैहाल्छ नि। मेरो त्यस्तो कहालीलाग्दो निष्पष्ट अँध्यारोमा मञ्जु कसरी बस्न सक्लिन् एकै दिन भए पनि। अहँ हुन्न, जसरी भए पनि कुनै उपायले उनलाई रोक्नु पर्छ। बेकारमा जान्ने भर नाटकको कुरा गरेको नि मैले पनि" म त भित्र-भित्रै छट्पटिएँ। म नाजबाफ थिएँ। धेरै बेर सम्म पनि म बाट कुनै उत्तर नआएकोले मञ्जुले थपिन् "दाई, के म तपाईको घर जानु हुन्न र? मैले तपाईँले देखाउने नाटक हेर्न हुन्न र?"। अब चाहिँ मेरो कुनै बहानाको काम रहेन। "हुन्छ, किन नहुनु नि" यो भन्दा अर्को १ शब्द पनि निस्किएन मेरो मुखबाट। बेलुका भात खाँदा मञ्जुले सबैको अगाडि दशैँमा नाटक हेर्न मेरो गाँउ जाने कुरा गरिन्। शुरुमा त घनश्यामसरले "किन जानु प-यो तेत्रो टाढा" भनेर मान्नु भएन। ममीले पनि "छोरी, मेरो सानु, तिमीलाई गाह्रो हुन्छ, नजाउ ल" भनेर निकै फकाउनु भो। हर्केले पनि "मैया! हजुरलाई हिड्दा दु:ख हुन्छ, सवारी नहोस् है" भनेर हो मा हो मिलायो। म चाहिँ केहि नबोली बसेँ। मैले पो मञ्जुलाई जाउँ भनेर भड्काएको जस्तो मान्ने हुन कि भनेर भित्र-भित्रै डर लागि रह्यो। मञ्जुले खान ठिक्क पारेको गाँसलाई झ्बाट्ट थालमा फालेर थाललाई अगाडि पट्टि हु-याईन् र सुँक्क सुँक्क गर्दै तलामा चढिन्। घरमा सन्नाटा छायो। कसैले केहि पनि बोलेनन्। खाना खाईसक्ने बितिक्कै घनश्याम सर र ममी दुबै मञ्जु भको ठाँउमा जानु भो। म पनि पछि लागेँ। मञ्जु त उनकै खाटमा सिरानेलाई टाउको राखेर घोप्टो परेर रोईरहेकी रहिछन्। घनश्यामसरले मञ्जुको टाउकोमा हात राखेर कपाल सुम्सुम्याउँदै भन्नु भो "छोरी, नरोऊ उठ। यति छिट्टै रिसाईहाल्नु पर्छ त? तिमीलाई जाने मन छ भने हामी काहाँ रोक्छौँ र? तिमीलाई नै दुःख हुन्छ भनेर पो हामीले नजाउ भनेको नि"। घनश्यामसरको कुरासँगै मञ्जुको रुवाई पनि रोकिँदै गयो। "ओम, मञ्जुलाई राम्रोसँग लगेर ल्याईदेउ है" मञ्जुको कोठामा पस्ने ढोकाको एकापट्टी अढेस् लागेर अँध्यारो मुखले बसिरहेको म तिर फर्केर घनश्यामसरले भन्नु भो। "भैहाल्छ नि सर। म सप्तमीका दिन बिहान लिन आँउछु, अनि अष्टमीका दिन बिहानै ल्याईदिन्छु, हुन्न र सर?" मैले यसो भनि नसक्दै मञ्जु खाटबाट उडेर पहिलेको मुस्कानसँगै भनिन् "आहा! म पनि नाटक हेर्न ओमदाईको घर जाने!"। साझाल्यान्ड, २३ असार, २०६२
Read Full Discussion Thread for this article