Posted by: Ok July 6, 2005
Login in to Rate this Post:
0
?
२०४५ साल भदौको पहिलो हप्ता २ महिने बर्षे बिदा पछि फेरी स्कुल जाने तयारीमा थिएँ। ५ गते आईतबार बिहान संसाझैको भुकम्पले हाम्रो त्यो पुरानो घरको पछाडि पट्टिको गारो लड्यो। मुसाले खनेर कमजोर बनाएको ढुङ्गामाटोको चरलाई धक्का दिँदा चुलिको २ बटा झ्याल जति भाग पछाडि उछिट्टियो। भुकम्प जाँदा भाई र बैनी घरमै सुति रहेका थिए। आमा पानी लिन जानु भाथ्यो। म गोठमा धन्दा गर्न निस्केको थिएँ। सिमसिम पानी परिरहेको थियो। धन्न भाईबैनिलाई चाहिँ केहि भएनछ। त्यो हप्ता नै म स्कुल गईन। गाँउमा क-कस्को घर भत्केको छ सबैको टिपोर्ट गर्नलाई भनेर तत्कालिन पञ्चायती ब्यबस्थाका शाषकहरुले नरबहादुर साहुलाई जिम्मा लगाएछन्। भोलिपल्ट यो कुरा सुनेर म पनि केही सहयोग पो पाईन्छ कि भनेर नरबहादुर साहुको घर गएँ। साहुले "दिउसो भात खाने गरी हेर्न आँउछु" भन्यो। मेजमान सहित ख्बाउनु पर्थ्यो र हामीले पनि सकेजति खुशि पार्न खोजिउँ। साहुले यसो पछाडि गएर हेरे जस्तो गरेर "ए, तिमर्को घर त धेरै लडेको रैनछ, केहि सहायता मिल्दैन" भन्यो। तैपनि हामीले निकै जुम्लाहात गरेर सहयोगको भिक मागेउँ। "ल म भनसुन गरी दिउँला" भनेर आफ्नो बाटो लाग्यो। होला जस्तो त लागेको थिएन तर पनि केही सहयोग मिले चाहिँ हुन्थ्यो भन्ने मनमा लागिरह्यो।
अब कसरी त्यो घर बनाउने भन्ने कुरा गर्यौँ, आमाछोराले। फेदैदेखि बनाउन त सकिदैन, तेहि भत्केको ठाउँमा मात्र टाल्ने कुरा भो। त्यो हप्ता म स्कुल नगैकन सबै परिवार मिलेर त्यो घर बनाउन लाग्यौँ। भाई र बैनिले छेउकै सानो खोल्सामा गएर १/१ बटा गर्दै ढुंगा ओसारे, पुराना ढुंगाले नपुग्दा। आमाले माटो मुछ्नु भो। मैले नजाने पनि यसो टालटुले पाराले घरको भत्केको ठाँउमा गारो लगाएँ। राम्रो त भएन तर पनि माटोले टालटुल गरेर काम चल्ने बनायौँ। पछि थाहा भयो, गाँउका हुनेखानेहरुका नाममा बैँकबाट रीन र सहुलियत लिएछन् ठूलाबडाहरुले। पछि बहुदल आएपछि सबैको रीन पनि मिनाह भो। एकादुई गरीबहरुले पनि पाए रे थोरबहुत सहायता, तर हामीले चाहिँ केहि पनि पाएनौ। सायद पहिला नरबहादुर साहुले रीनमा गेरको असफल छलकपटको बदला लिएछ क्यारे भन्ने लाग्यो। यो कुरा थाहा पाए पछि त मलाई साँच्चैनै गाँउका ठूलाठालु सँग बिद्रोह गर्ने बिचार खेल्न थाल्यो। बदलाको भावना बिकसित हुँदै गयो। तर पनि मैले के नै गर्न सक्थेँ र? मेरो त्यो बालयुबा जोसमा उनिहरुका बिरुद्द केहि गरेर देखाउने र बदला लिने भावना चाहिँ क्रमिक रुपमा बढ्दै थियो।
साझाल्यान्ड,
२१ असार, २०६२