Posted by: Ok June 16, 2005
Manju, Malai Maaf Gara Hai !
Login in to Rate this Post:     0       ?        
२०४४ साल बैषाख १० गते बिहिबार दिउँसोको टिफिन टाईममा मञ्जु र म बिहिबारे हाट हेर्न भनेर निस्किँयौ। स्कुलबाट २/३ मिनेटको दुरीमा नै थियो हाटलाग्ने ठाँउ। मञ्जुले हाटमा २ बटा सेलरोटी किनिन् १ रुपैंया ५० पैसामा। पुरानो कपिको पन्नामा बेरेर हामी नजिकैको पिपलको चौतारोमा बसेर खाँयौँ। १ बजेको स्कुलको घन्टी पनि लाग्यो। हामी आ-आफ्ना क्लासतिर लागेउँ । म क्लासमा पस्न मात्र के लागेको थिएँ, स्कुलको पाले दाईले बोलायो "ओम, तिमीलाई मान्छे भेट्न आको छ। अफिसमा बसिराछ, जाउ"। मेरो घर नजीकैको अलि परको दाई पर्ने "पल्लाघरे जेठो" पो रहेछ। "ओम, तँसँग एउटा कुरा गर्नु छ, एकछिन् यता आईज त" भनेर हात समाउदै स्कुलको पछाडि पट्टि लाग्यो। हिजोँ बेलुकी मेरो हजुरआमा गोठसम्म पुगेर गाईभैंसीलाई घाँस हालेर आउँछु भनेर सकिनसकि जानु भएछ। आमा मकै गोड्ने खेताला जानु भाको थियो रे। हजुरआमा गोठको माथ्लो गराबाट धर्मरिएर लड्नु भएछ। उठाउने कोहि पनि भएनछन्। १ घन्टा जति पछि बहिनी बाख्रा चराएर ल्याउँदा त रगतपच्छेल भएर लडिरहनु भएको थियो रे। बहिनीले पनि केहि गर्न नसकेर "गुहार" भनेर कराईछ। गाँउका अरु मानिसहरु जम्मा भएर घर लगेछन्। तर ८० बर्ष नागिसकेको बुढो शरिर तेहि निउँमा आजबिहान सप्तऋषि झुल्किनु भन्दा अलिक अगाडि हामी सबैलाई छोडेर नफर्कने बाटो लाग्नु भएछ। १३ दिन सम्म हजुरआमाको काजकृयामा आमा पनि बस्नु पर्ने भएकोले घरको अन्य सबै कुराहरु स्याहार-संहार गर्न मलाई लिएर आउनु भनेर आमाले पठाएको रे। "पल्लाघरे जेठो" का कुरा सुनिरहँदा मेरा आँखा पुरै रसाएर आए। "तेत्रो बर्ष हजुरआमाकै न्यानो मायामा हुर्किएर अन्तिम समयमा उहाँको अनुहार सम्म हेर्न पाईन" आफैँलाई पश्चाताप लाग्यो। सायद मान्छेलाई पर्ने दु:खको मात्रा बढ्दै जाँदा उस्को सहने क्षमता पनि बढ्दै जाँदो रहेछ क्यारे, हजुरआमाको बिछोडको कुरा सुनिरहँदा पनि म डाको छोडेर चाहिँ रुईन। "पल्लाघरे जेठो"लाई "एकछिन् पर्ख है त दाजु" भनेर सरासर मञ्जुको कक्षाकोठातिर गएँ। कक्षाको ढोकामा गएर मञ्जुलाई हातको ईसाराले "बाहिर आउन" भनेर बोलाएँ। मञ्जु पनि "सर म ट्बाईलेट गएर आँउछु" है भनेर बाहिर निस्किन्। मञ्जुलाई "मेरो घरमा जरुरी काम प-यो रे ! म १०/१५ दिन पछि आँउछु है । घनश्याम सर, ममी, हर्के सबैलाई २ हप्ता पछि आँउछ रे भन्देउ ल?" भनेर हिड्न लागेँ। मेरा रसाएका आँखाहरु देखेर होला निकै अतालिएर "के भयो?" भनेर कारण त सोध्दै थिईन् मञ्जु, तर पनि आईमाईको मन तेसै पनि भाबुक र नरम हुन्छ, त्यसमाथी मञ्जु त दु:खको सन्सारबाट टाढै छिन्, त्यस्तो कुरा भन्दा उनलाई बढि चोट पुग्छ भन्ने सोचि "त्यस्तो केहि हैन, म जानु पर्ने भयो रे क्या!" भनेर सकिनसकि अलिकति हाँसेजस्तो अभिनय गरेँ, ताकी मञ्जुलाई कुनै कुराको पनि शंका नलागोस्। "पल्लाघरे जेठो" र म बाटो लाग्दा मञ्जु पनि हामीलाई हेरेर टोलाईरहेकी थिईन्। साझाल्यान्ड, २ असार, २०६२
Read Full Discussion Thread for this article