Posted by: Kedar_Sharma June 14, 2005
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
श्री ओम जी,
नमस्कार।
मैले तपाईँको आत्मकथाका बारेमा झण्डै पाँच साता अघि लेखेको टिप्पणीको कुनै जवाफ नपाउँदा अन्यथा पो ठान्नु भएछ कि भनेर डर लाग्यो। कृपया अन्यथा नलिइदिनु होला। मैले तपाईँको आत्मकथालाई पुस्तक सम्पादक (Book editor) का आँखाले हेरेको छु र नेपाली साहित्य र वाङ्मयका लागि यसको ठूलो महत्व देखेको छु।
मैले तपाईँको लेखमा दुइवटा विशेषता पाएको छु। पहिलो हो लेखनको सूक्ष्मता अर्थात् details. तपाईँका वर्णन कति जीवन्त छन् भने पाठक स्वतः त्यो ठाउँलाई देख्न अर्थात् visualize गर्न थाल्छ। तपाईँले नानाथरी खाजा खाएको घनश्याम सरको भान्सा म झलझली देखिरहेको छु। मञ्जुको कोठा, ताराले तपाईँलाई पर्खेको ढुङ्गो, सानिमाको घर, शिवदूती प्राविको हाता लगायतका तपाईँले वर्णन गर्नुभएका प्रायः सबै कुरा पनि मेरो आँखैमा आएका छन्।
तपाईँको लेखनको अर्को विशेषता हो लेखकीय इमानदारी। तपाईँले आफ्नु दुःख र गरिबीको चित्रण गर्नु भएको देखेर सबै पाठकको मन पग्लिन्छ। तपाईँको आत्मकथा पढेर सबै रुन्छन् तर कसैले तपाईँलाई 'बिचरा' भन्दैन। १० वर्षको बालक र उसकी विधवा आमाको आपसी समझदारी र बहादुरीपूर्ण सङ्घर्षको कथा पढेर पाठकले पीडाको अनुभूति गर्छन् तर सँगसँगै साह्रै ठूलो आँट पनि पाउँछन्।
तपाईँले यो कृति प्रकाशन गर्ने विचार गर्नु भएको छ कि छैन? मेरो सल्लाह (unsolicited advice, however) चाहिँ छाप्नुहोस् भन्ने छ। कदाचित छाप्ने हुनुभयो भने राम्रो प्रकाशक खोज्ने काममा म पनि सहायक हुन सकूँला। किशोरावस्थाको प्रेमका बारेमा विष्णु प्रसाद धितालको "सान्नानी" नेपालीमा बाहेक मैले यति सशक्त कथा पढेकै छैन। तर यो प्रेम कथा मात्र होइन। एउटा किशोरका आँखाले देखेको गरिबीको यसभन्दा मार्मिक चित्रण पनि मैले पढेको छैन। खासगरी शहरका र बोर्डिङ स्कूल पढ्ने किशोर किशोरीहरूले यो किताब पढे भने उनीहरूले आफ्नु उमेरको र आफूले पनि कतै न कतै अनुभव गरेको प्रेम र आफूले कल्पना पनि नगरेको कठोर जीवनका बारेमा पढ्न पाउनेछन्। युरोपेली र अमेरिकालीहरूले आफ्ना नानीहरूलाई युद्ध र अरु दुःखका दिनका कथा पढाउँछन्। हामीले मात्र किन गलत इतिहास पढाइरहने? तपाईँले भोगेको दुःख नेपाली जनताको इतिहास नै त हो नि!
यस कथा/आत्मकथाको ethical पक्षका बारेमा भने मलाई अलिकति चिन्ता छ। यदि मञ्जुको वास्तविक नाम मञ्जु नै हो भने यो कथा छापिएपछि उनलाई केही असर त नपर्ला? हुन त तपाईँ जस्ता संवेदनशील लेखकले कथालाई सार्वजनिक गर्दा नै यस विषयमा सोचिसक्नु भएको होला।
मेरो कुराको केही अर्थ लाग्यो भने खबर पाऊँ।
इति शुभम्
केदार शर्मा