Posted by: Ok May 10, 2005
Manju, Malai Maaf Gara Hai !
Login in to Rate this Post:     0       ?        
------("हुन्न के! आजै जसरी भापनि लेर आउनु भन्नु भा छ। ओम दाई, आजै हिड्नु न आजै के, नाईँ ओम दाई, आजै हिड्नुस् न" उनको लाडेपन फेरी प्रकट भो। जिद्दी नै गरेपछि त के गर्नु, फेरी केटी मान्छेले? म पनि लुरुलुरू मञ्जुको पछि लागेर उनकै घर गएँ।) मञ्जु, मलाई माफ गर है ! आत्मकथा - ओके खण्ड ११ मञ्जुले उनको घरमा पस्न पनि नपाईकनै आँगनबाटै कराईन् "ममी...ममी, हेर्नुस् त को आउनु भा छ बाहिर?"। भन्दा भन्दै उनि चाहिँ ढोकाबाट भित्रै पसिन्। म चाहिँ बाहिर नै दलिनको दाईनेतिरको खाटको छेउमा उभिरहेँ। खाटमा चिटिक्क परेको रुम्जाटारे राडी ओछ्याएको रहेछ। एकै छिन् मा आमा-छोरी नै निस्किनु भो भित्रबाट। मञ्जुले म तिर देखाउदै भनिन् "ममि, हामीले हिँजो अस्ति कुरा गरेको थियो नि! ओम दाई!"। मञ्जुको बोली नसकिँदै मैले "नमस्कार" गरेँ। के भन्ने होला भनेर कुनै पनि साईनो लगाईन, नमस्कार मात्र गरेँ। 'ममी' भन्न मलाई त आउँदैन थियो त्यसबेला, सधैँ 'आमा' नै भन्ने गरेको घरमा। फेरी के भन्दा राम्रो हुने हो भन्ने पनि थाहा थिएन। घरमा आएका मानिसलाई नमस्कार गर्ने पनि मेरो घरतिर चाहिँ चलन थिएन। स्कुलमा त सरहरूलाई नमस्कार नै गर्थेम् भेट हुँदा स्कुल भन्दा बाहिर पनि। तर आमाले 'आफूभन्दा ठूला मानिसलाई भेट्दा घरैमा भा पनि नमस्कार गर्नु पर्छ' भनेर भन्नु भको थियो। मञ्जुको ममीले पनि नमस्कार फर्काउँदै भन्नु भो "बाबु, आज यतै बस्नु पर्छ।" मैले केहि पनि बोलिन। "ए मञ्जु, एकछिन् खाटतिर बस्तै गर, म खाजा बनाएर ल्याउँछु" भनेर ममी घरभित्र पस्नु भो। मञ्जुले पनि खाटको सिरानीमा भको माहाभारत जस्तो देखिने किताबलाई छेउकै भित्ताको खोपामा राखिन्। राडीलाई पनि यसो टक्टकाए झैँ गरिन्। "ल बस्नुस् न, के उभिरनु भा?" भनेर उनी चाहिँ घर भित्र पसिन्। बरिपरि आँखा डुलाउन थालेँ "आहा! कति फराकिलो आँगन, कति राम्रो बगैँचा, सबैतिर कति सफासुग्घर!" मतान् को तल्लो तलामा छिँडिबाट नै देखिन्थो, भैसीँहरुले घाँस खाँदै गरेको। मतान् को माथ्लो तलाको बाहिरी ढोका पनि खुलै थियो। सायद स्कुले केटाहरु फर्किसकेका रहेछन् क्यारे। अलिअलि केटाहरु बोले जस्तो आवाज पनि सुनिन्थो। घनश्याम सर पनि स्कुलबाट आईपुग्नु भो, मुसुमुसु हाँस्तै। "ए ओम, तिमीहरु आईसकेछौ त अघि नै" भन्दै सिधै घर भित्र पस्नु भो। भित्र गएर के भन्नु भो त्यो त मैले राम्ररी सुनिन तर सर भित्र पस्ने बितिक्कै मञ्जु निस्केर भनिन् "ओम दाई, भित्रै जाउँ"। म पनि आज्ञाकारी मान्छे जस्तै जस्ले जे जे भन्छन् लुरुलुरु गर्दै गएँ। खाजा तयार भैसकेको रहेछ। 'ल हात धुने पानी देउ मञ्जु बाबुलाई' ममीको बोली भुँईमा पनि झर्न नपाउँदै मञ्जुले गाग्रीबाट पानी सारेर दिईन। खै किन हो, मञ्जु निकै फुरुङ्ग परेकी थिईन्। जे काम पनि छिट्टै गर्ने। खै सधैँ यस्तै हुन् कि आज मात्र हो। म हात धोईवरी खाजा खान बसेँ। १ गिलास दही, १ गिलास पिउने चिसो पानी, ४/५ वटा उसिनेका सखरखण्ड, २ चाना उसिनेका घरतरुल, एउटा चामलको पिठोको ध्यु मा पकाएको रोटी। जीवनमा पहिलो पटक मैले खाजामा तेत्रोबिधि परिकार देखेको। हाम्रो घर तिर पनि खान्थेम् खान त खाजा कहिले काहिँ, तर एक थोक भन्दा केहि हुन्न थियो। कि त उसिनेका आलु कि त फापर र कोदोको पिठो मिसाएर पकाको रोटी। मलाई त क्या उकुसमुकुस भो, तत्रो खाजा देख्दा। हाम्रो घरमा त खाना पनि तेति धेरै हुन्न। 'के बाट मात्रै खान सुरु गर्ने' भनेर म त अक्क न वक्क। सर पनि तला माथिबाट झर्नु भो। कपडा फेरेर आउनु भएछ। "ल हजुर पनि बस्नोस् खाजा खान" मञ्जुको ममीले सरलाई पनि खाजा दिनु भो। ४ जना नै सँगै बसेर खाजा खायौँ। खाजा खाई सकेर 'मञ्जु तिमीहरु बसेर पढ्दै गर माथि कोठामा, म एकछिन् पल्लो घरमा गएर आँउछु। अनि हर्के आए पछि बढरको रुखबाट घाँस झार् रे लैना भैसीँलाई भन्नु है" भनेर सर घरको पछाडिबाट अर्को घर तिर लाग्नु भो। क्रमशः
Read Full Discussion Thread for this article