Posted by: Ok April 27, 2005
Manju, Malai Maaf Gara Hai !
Login in to Rate this Post:     0       ?        
मञ्जु, मलाई माफ गर है ! आत्मकथा - ओके खण्ड ५ आंसिक रुपमै भएपनि मेरा समस्याहरु सुल्झिंदै गए। खै कहाँबाट हो, हेडसरले ६ कक्षाका पुराना शुरु र अन्तिमका १/२ पाठ च्यातिएर गई सकेका किताबहरु दिनु भो। ती च्यातिएका पाठहरु त मैले सबै साथीहरु टिफिन टाईममा खेल्न गका बेलामा साथीहरुको नयाँ किताबहरु बाट सारी सकेँ । अब त मलाई पढ्न कुनै बाधा-अड्चन थिएन- म कत्ति खुशि भएँ तेसबेला! अहिले सम्झँदा पनि मनै खुशि भएर आउँछ। आमाको अनुहारमा पनि आसाको त्यान्द्रो हुर्कंदै गयो। भाई-बहिनी पनि नजीकको प्राथमिक बिद्यालयमा पढ्न जान्थे, पालो गरी गरी। एक दिन भाइ स्कुल जाने, अर्को दिन बहिनी। पहिले त बहिनीलाई स्कुल नपठाउने कुरा भो । कसैका पनि छोरीलाई स्कुल नपठाउने हुदा हामीले पनि नपठाउने कुरा गरिउ । तर पछि आमाले नै "अलिअलि अक्षर चाहिँ चिनोस्, म जस्तै अन्धी चाहिँ नबनोस्" भनेर बहिनीलाई पनि भाईसंगै स्कुल पठाउने कुरा गर्नुभो । मैले पनि त्यसमा सहमति जनाएँ । बहिनी पनि खुशि भई। भाई?बहिनी दुबै एउटै क्लासमा पढ्ने, पालो पालो गरी स्कुल जाँदा पनि दिउसो स्कुलमा पढाएको पाठ बेलुका अर्कोलाई सिकाउन पनि मिल्ने । बुबा बित्नु हुदा भाई २ बर्षको मात्र थियो । अहिले त उ पनि ६ बर्षको भा छ। एक्लै बाख्रा चराउन जान चाहिँ अलिक डराँउछ तर पनि वरिपरिकासंगै हुदा चाहिँ मज्जाले ७ बटा बाख्रा चरार ल्याउन सक्छ । फेरि जंगल पनि त टाढा थिएन, घरको आँगनबाट नै हेर्दा पनि देखिने । कहिले काँही आमाले यसो नजर लगाउन पनि मिल्ने। बहिनी त भाई भन्दा पनि २ बर्ष जेठी । ठूलो मान्छेले गर्ने काम नै गर्न सक्छे । अलिक लुखुरी भर ठूलो घाँसको भारी चाहिँ बोक्न नसक्ने, काट्न त छिट्टी। हामी एक किसिमले खुशि नै थियौ । म पनि एस.एल.सी. सम्म पढेर ठूलो माष्टर बनि आमाको सपना पुरा गर्न पाउने आसमा लगनशिल भै पढ्न थालेँ। प्रत्येक बिहान ७ बजे स्कुल हिड्थेँ। स्कुल पुग्दा सधैं ढिलो हुने। अगाडिका बेन्ची त रामपुरका केटाकेटीले पुरै ओगटिसक्थे । म चाहिँ पछाडि गएर बस्थें । धेरै नबोल्ने तर सरहरुले सोधेका प्रश्नको उत्तर चाहिँ दिन सक्ने भकोले कोहि कोहि साथीहरुले "हिसाब सिकाई देन" भन्थे । म पनि आफूले जानेको सिकाई दिन्थें । कहिले काहिँ त मलाई मीठाई, बिस्कुट पनि दिन्थे । मलाई कत्ति मीठो लाग्थ्यो! बिहान ६.४५ बजे खाना खाएपछि बेलुका ८.०० बजे तिर मात्र खान पाईने । भोक त कति लाग्थ्यो नि! बेलुका घरमा आइपुग्दा त झमक्कै साँझ परिसक्थ्यो। बेलुकाको धन्दापात्रा (गाई-भैंसी दुहुने, गाई-भैंसीलाई घाँस हाल्ने, गोबरका थुप्रा-थाप्री टिपेर यसो छेउमा थुपार्ने) गर्दा गर्दै बेलुकीको ७/८ त तेसै बज्ने। बहिनीले गैराबारी खोल्सामा गई पानी ल्याएर खाना बनाउँने सर्दाम (सामान) जुटाउँथी, भाईले स-साना पाठा??-पाठीलाई छोपछाप पार्थ्यो। बाख्रालाई खोरमा घाँस हाल्ने भनेपछि उ फुरुक्क। आमा पनि काम गरेर फर्कनु हुन्यो, बेलुका तिर। कहिले काँहि त हजुर-आमाले पनि यसो तर्कारी बनाऊनु हुन्थ्यो सकि नसकी, अनि त भुलुक्क पानी उमालेर कोदोको ढिंडो पकाउन त समयनै नलाग्ने। आमाले ढिंडो मस्काउनु हुन्थ्यो । हामी ब्रतबन्द र बिहे नगरेका केटाकेटीले पकाको हजुरआमा नखाने । भाई बाहिर गएर ठूल्ठूला स्कुस (करेला) का पात चुँडेर ल्याउँथ्यो ढिंडो हाल्नलाई । आमाले माईतबाट ल्याएका २ बटा सिल्लिवर (अल्मुनियम) का कचौरा र एउटा हजुरआमालाई भनेर बुबाहरूले अंश लगाउदा छुट्टाएको झर्काको बटुको थियो । हजुरआमा आफ्नै कचौरामा, भाई र बहिनीलाई एउटै सिल्लिबरको कचौरामा, म अर्को कचौरामा तरकारी र स्कुसका पातमा ढिंडो हालेर खान्थेम्। आमा चाहिँ सबैलाई भागशान्ति पस्केर तेहि ढिँडो पकाको फलामको कराईको छेउमा तर्कारी राखी खानु हुन्थ्यो । आमा काम गर्न गका दिनमा दिउसो गाई-भैंसीलाई घाँस पनि हाल्नु हुन्थो हजुर आमाले। अरु दिन त आमाले नै सबै भ्याउनु हुन्थो। मेरो पढ्ने समय चाहिँ स्कुलमा मात्र, टिफिन टाईममा पनि क्लासमा नै बसेर पढ्थें। तेति लामो बाटो हिड्दा पनि "आज सरहरुले के के पढाए" भनेर सम्झिदैं हिड्थेँ । पढाई पनि सम्झिने, उकालो-ओरालो बाटो काटेको पनि थाहै नहुने। क्रमशः
Read Full Discussion Thread for this article