[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 "गुड एट हार्ट" -- Deep
[VIEWED 10158 TIMES]
SAVE! for ease of future access.
Posted on 11-21-14 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     5       ?         Liked by
 

"गुड एट हार्ट"

(निक्कै बर्ष अघि --झण्डै आठ दश बर्खै भो कि क्या हो --यो खेस्रा मैले साझामा राखेको थिएँ। त्यो हराएछ क्यारे अचेल भेटीदैन। अनि एउटा पुरानो मित्रले फेरी पढ्न मुन लायो, क्यारी तलतल मेटाउनी होला भन्यो। अनि मैले जमर्को गरेको। अब त्यतिबेला लेखेका शब्दहरु, प्रस्तुतीको प्रवाह, सोच अहिले म संग छैन। जे मनमा आयो त्यति बेला त्यै साझामा गएर कोरेको थिएँ। कतै जम्मा गरेर राखेको थिएन। राख्ने चलन नै थिएन मेरो। बानी राम्रो हैन रेछ। तर खेस्राको मर्म भने सम्झिन्छु। त्यै सम्झेको मर्ममा यो कोराई फेरी एक चोटी-- लेखाई --शब्द चयन--प्रस्तुती कमजोर होला--अहिले मौका पर्या बेला अलिकति फुर्सदलाई यता लाईदेको --सच्याउने पटक पटक पढ्ने तिर लागिएन --जे सम्झियो तै खुरुरु लेखेर खेस्रा राख्ने हिम्मत गर्दै छु --कमजोरीहरु प्रति क्षमायाचना गर्दै--सप्ताहन्तको शुभकामना सहित--)
****

चक्रे उदास छ अचेल। दशै आयो, गयो। तिहार आयो, गयो। उ यताको यतै छ। यता भनेको उही अमेरीका। घर जाने मन नभएको हैन, तर मन भएर मात्रै कहाँ हुने रहेछ र। हुन त उ आएको धेरै भएको पनि छैन। भरखर पहिलो सेमेस्टर सकिदै छ। अस्ति भरखर जुलाईको अन्तिम तिर आएको त हो उ।

नेपालमा हुँदा नयाँ सडकमा भएको अमेरीकन लाईब्रेरी पुगीरहन्थ्यो उ। अमेरीकी शिक्षण संस्थाका नाम ठेगाना खोज्थ्यो। त्यो खोज्ने क्रममा उ ट्युशन एण्ड फिजमा पैला हेर्थ्यो। नेपाली रुप्यामा मनमनै उल्था गर्थ्यो। कैले सराप्दै अर्को कलेज, युनिभर्सीटीको ठेगाना तिर लाग्थ्यो। कैले एक छिन गम्थ्यो। कैले खुरुक्क सार्थ्यो नाम ठेगाना कागजमा -- -“ मगो त मगै हो झ्याकन” भन्दै। चक्रेको झ्याकन भन्ने बानी थ्यो। बिशेष गरी चक्रे रन्केको बेला झ्याकनको साथ खोज्थ्यो।

साँझ तिर त्यो अमेरीकी पुस्तकालय भएको भवनको माथिल्लो तलामा अमेरीकी समाचार प्रसारण हेर्ने ब्यबस्था थ्यो अमेरीकी सूचना केन्द्रको सौजन्यमा। त्यो हेर्न पुग्थ्यो चक्रे। समाचार भन्दा धेरै समाचारमा देखाउने, घर, सहर, बाटो, छोटा छोटा पहीरनमा सुन्दरीहरु हेर्थ्यो अनि "थुक्क जिन्दगी। के मरेको जुनी भो आफ्नो। एउटा आईट्वान्टी के गरी हात लाउने होला" भन्थ्यो। छटपटीन्थ्यो। समाचारको अन्त्यमा मौसम नहेरी उ कहिल्यै उठदैन थ्यो। न्युयोर्क, लस एन्जलस, र सिकागोको तापक्रम/मौसम फटाफट सम्झेर घोक्दै कण्ठ पार्थ्यो अनि आफ्नो टोल छिमेकमा आएर आज न्युयोर्कको तापक्रम कति थाह छ तँलाई? भन्दै गर्जिन्थ्यो। रमेशदाईको पसल बाहीर चम्सुर पालुंग्गोका मुठा छाम्दै गरेको उस्को रत्न राज्य पढ्ने साथीलाई न्युयोर्कको तापक्रम के थाह हुनु। मतलबै थिएन। छक्क पर्या साथी हेर्दै चक्रे डुक्रिन्थ्यो “ झ्याकन के थाह हुन्थ्यो तँलाई, २२ डिग्री। फरेनहाईट हो बाबु! अमेरीकामा सेन्टीग्रेड चल्दैन।“ चक्रे तातेको बेला यति डिग्री फरेनहाईट भन्या कति डिग्री सेन्टीग्रेड भनेर पनि सोध्यो। उ चै पैले हिसाब गरेर आको हुन्थ्यो र फ्याट्टै भन्थ्यो। जस्लाई सोधेको हो या त उस्लाई थाह हुन्थेन कसरी उल्था गर्ने हो भनेर। थाह हुने पनि हिसाब गर्दै एकै छिन के घोरीएको हुन्थ्यो। चक्रेले उल्था सुनाईहाल्थ्यो। उस्लाई अर्काको सही जवाफ सुन्नु पनि थिएन।

पुरानो र नयाँ बानेस्वरको बिच तिर --अझै भन्नु पर्दा नयाँ बानेस्वरकै नजिक घर थ्यो चक्रेको। उ एक्लै थिएन आईट्वान्टीको सिकारी। एउटा झुण्ड नै थ्यो। कैले त्यै झुण्डमा, कैले एक्लै उ भगवानबाल पनि पुग्थ्यो। त्यहाँ युएसईएफ/एन भित्र छिर्ने बित्तिकै "सुब्बादाई, लौ न मलाई यसो टोफल सोफल पनि नचाईने, काम साम भेटीने एउटा सहर तिर सस्तो राम्रो टीकाउ कलेज खोज्दिनु न" भन्थ्यो अनि बौद्ध तिरकी दीदी काम गर्थिन त्यहाँ, उनी तिरै धेरै हेर्दै हुन्थ्यो। त्यै बौद्ध तिरकी दीदीले पिटर्सन्स गाईड भिडाउँथिन अनि चक्रे “यो किताब त हेर्दै गए पछी रिंगटालाग्छ। दुई चारटा नाम टीपाईदिनु न” भन्थ्यो।

कैले काई सुब्बादाईले नियमित मान्छे भएको भएर होला चक्रेलाई "ल घरै लगेर हेर्नु यो किताब, अनि अर्को हप्ता ल्याईदिनु" पनि भन्थे क्यारे। उ घरै आउँथ्यो त्यो किताब लिएर। त्यसो गर्दा उ अलि उज्यालैमा घर फर्केको हुन्थ्यो, अनि बिस्तारै हिन्थ्यो। त्यो किताबको अघिल्लो गाता उस्को कम्मर तिर हैन मान्छे-- बाटो तिर फर्केको होस भनेर उ सजग हुन्थ्यो। थाह पाउनेहरुले त्यो किताबको बारे उस्लाई झुक्केर पनि सोध्दैन थिए। चेती सकेका हुन्थे। थाह नपाउनेहरुले के किताब त्यो भनेर सोध्नु मात्रै पर्थ्यो, "अमेरीका जान ला पढ्न कुन कलेजमा जाने जाने? जुन पायो तेसैमा जाने कुरा भएन अरुहरु जस्तो। भन्या जस्तो भेट्या छैन-----“ चक्रे सुरु हुन्थ्यो---“अस्तिन नी त्यो बेल्लेभ्यु कलेजबाट आईज भनेको थ्यो, उता सिलिपरी रक बाट पनि कागज आईराछ। त्यता त म नजाने। अलि राम्रो खोज्दै छु---“ भन्थ्यो --दरो खोक्थ्यो। जुन जुन कलेजमा मान्छे गए भन्ने सुन्थ्यो उ त्यो त्यो कलेजको नाम लिएर मलाई नी आईज भनेको छ तर म त्यहाँ नजाने भन्थ्यो। म कि न्युयोर्क जान्छु, कि एल ए, नभए सिकागो तिर। मकै बारी र गाउँ तिर जाने भए त यतै छ नी। भन्दै फुर्ती गर्थ्यो। धेरैले त्यो सुनीसकेका थिए र सोध्दैन थिए। थाह नपाउने झुक्किन्थे।

हिलो फोहर साँगुरो बाटो, ट्याक्सी चढ्न पैसा नपुगेको रीस, स्टार बियर खान महंगो, एभरेस्ट ममको बास्ना तान्नु तानेको तर डल्ला धेरै जस्तो हेर्नु मात्रै पर्दाको रीस पोख्दै मुर्मीरीन्थ्यो “-- यस्तो कुहीएको ठाउँमा बस्नु पर्या छ झ्याकन -- एक चोटी अमेरीका जान पाए हुन्थ्यो भनेको--के ताल मिल्दैन के “। उस्को झुण्ड्का एक दुई जना अमेरीका उडीसकेका थिए। चक्रे बानेस्वर, गोस्वारा हुलाक, नयाँ सडक, भगवानबाहल तिर जुत्ता घिसार्दै थ्यो। उस्का साथीहरु गएको कलेज उ नजाने भन्थ्यो। “कही नसकेर जता हामी गयो उतै आयो भन्ने मौका किन दिने? म आफै खोजेर जान नसक्ने हो र?” भन्दै फुर्ती गर्न थालेको ऐले देखि हैन चक्रेले।

ठेगाना सारेका कलेजहरुलाई चिट्ठी लेख्थ्यो। अनि खसाल्न सके सम्म गोस्वारा हुलाक नै पुग्थ्यो। त्यैं बानेस्वरमै पनि रातो ढ्वाङ्ग थ्यो पत्र मन्जुषा लेखेको। यस्मै खसाल न भन्यो भने “ हुँदैन --टाँसेको टिकट चोरेर चिट्ठी च्यातचुत पार्दिन्छ हुलाकीले। त्यति पनि थाह छैन तिमेरुलाई?” भन्थ्यो।

कलेजहरुबाट जवाफ नआउने होईन, आउँथे। जबाफ आउन एक डेढ महिना जस्तो लाग्थ्यो। अचेलको जस्तो जमाना थिएन। प्राय: जसो एउटा प्याकेट आउँथ्यो। त्यसमा चिट्ठी किताब हुन्थे। चक्रे फस्मै किताब हेर्थ्यो। हरीया चौर, कतै नारा नकोरेका सफा कलेजका घर, भित्तामा घोरीन्थ्यो। अनि हरीया चौरमा आधि भन्दा अलि कम लुगा लगाएर मस्त हाँसीरहेका सुन्दरीहरुका तस्वीरमा निक्कै बेर अडिन्थ्यो। अनि अलि असजिलो भए पछी पाना पल्टाउँथ्यो। एक छिन पछी त्यो पानामा फेरी फर्किन्थ्यो। कलेजको चिट्ठी उ अन्तिममा हेर्थ्यो। अनि फारम सुल्क यति, ट्युसन यति, खाने बस्ने यति भनेर देखे पछी बिरक्तीन्थ्यो। “हरीतन्नम देशाँ जन्मीनु नी केई रैइन्छ” भन्थ्यो।

त्यसरी बिरक्तेको बेला कबिता नी लेख्थ्यो उ। उस्को साहित्यिक उपनाम थ्यो "बिक्षिप्त"। कबिता लेख्नु अघि नै उ खाली कागजको दाईने माथ्लो कुनामा राम्रा अक्षरले चक्रपाणी उपाध्याय "बिक्षिप्त" लेख्थ्यो। त्यति चै सरासर लेख्थ्यो अनि कबिता लेख्न थाले पछी चै घोरीन थाल्थ्यो। धेरै चोटी लेख्दै कोर्दै गर्थ्यो। कैले च्यात्थ्यो। कैले लेखीसकेर पढ्थ्यो। कुनै कुनै राख्थ्यो। धेरै च्यात्थ्यो। राखेकाहरु पत्रीकामा पढाउँछु, छाप्नु पर्छ भन्थ्यो। पठाउन चै कतै पठाएन। छापीएलान भन्नेमा उ आफै बिस्वस्त थिएन क्यारे-- तर कबिता घघडान छन चै उ भन्दै हुन्थ्यो।

चक्रे जे होस धर्म छाडने मान्छे चैं होईन। हुँदा हुँदै कलेजलाई चिट्ठी लेख्न थालेको दुई बर्षमा एउटा कलेजको आईट्वान्टी हात पार्यो। फारम सुल्क पनि तिरेन। त्यै युएसईफको शुल्क मिनाहा गरीदिने बारे भन्ने चिट्ठी हालेर पठाईदेको थ्यो उस्ले। टोफल पनि दिएन। कलेजले यही आएर अंग्रेजी पढ्नु पर्छ भनेको थ्यो, उस्ले तुरुन्तै हस भनीहाल्यो।

चक्रे अमेरीका आउनु अघि उस्को घरमा उ जान ला कलेज अमेरीकाको एउटा दखिनी राज्य तिर हो भन्ने प्रस्ट थ्यो। कुरो साँचै हो। बाहीर फेर उस्ले न्युयोर्कको अर्कै कलेजको नाम लिएर त्यहीँ जान ला हो उ भन्या थ्यो। पछी परेको खण्डमा “न्युयोर्क मन नपरेर दखिन तिर सर्या --त्यता टन्नै स्कलरसिप दियो अनि भन्दिना काम छ झ्याकन् -- बुझिनस?” भन्थ्यो उ कुन्दनलाई। कुन्दन भनेको चक्रेको मामाको छोरो। नया सिकारी आईट्वान्टीको तेती बेला।

हुँदा हुँदै आयो चक्रे अमेरीका। न्युयोर्क, एलए, र सिकागो त कता हो कता। एटलान्टामा ओर्लिदा सम्म न्युयोर्क यस्तै त होला नी त्यै अलि ठुलो भन्दै थ्यो दंग परेर-- पछी तेता बाट उत्तर पूर्ब तिर फाँट अनि खाली ठाउँ देख्न थाले पछी चक्रे उदास हुन थाल्यो। जुलाईको मैना। दखिनको गर्मी। एटलान्टामा मनोज लिन आको थ्यो उस्लाई। मनोज भन्या चक्र्या बाउको साथीको भानीज रे। “ठाउँ त झुर छ कि क्या हो?” चक्रेले सोधेको थ्यो मनोजले मोटर ८५ नम्बर बाट ३६५/४४१ नम्बरको राजमार्गमा हुईकाउन थाले पछी। “त्यस्तो झुर छैन। नैनीताल नजिकै छ हाम्रो कलेज।“ मनोजले हाँस्दै भनेको थ्यो। “यता नी छ नैनीताल?” चक्रेले छक्क परेर सोध्यो। “छ उताको ताल फेमस यताको जंगल” मनोजले थप्यो। पछी बुझ्यो चक्रेले नैनीताल भनेको उता माथ्लो राज्य तिर झ्याकन् एउटा रास्ट्रीय जंगलको नाम रहेछ भनेर। नामै नैनीताल त के खाएर हुनु। उस्तै सुनीने नामधारी जंगल रेछ। त्यो नैनीताले जंगल चक्रे पुग्या छैन अझै। मन पनि छैन।


डेरामा चक्रे अहिले एक्लै छ। आज अर्को सेमेस्टरको लागि रजिस्टर गर्न जाने दिन। जाडो त छैन तर गर्मी पनि छैन। उस्को डेरा सुकुम्बासीको जस्तो छ। आज ह्वापर बनाउन जानु पर्दैन उस्को। उता हुँदा यताको सपना देख्ने चक्रे अचेल यता हुँदा उताको देख्छ। उता ढुक्कै थ्यो। छिरीक्क केई गर्न नपर्ने। यता केई नगरे छिरीक्कै नहुने। “झ्याकन अमेरीका पनि भन्नु मात्रै रे छ।“ चक्रे एक्लै भुतभुतायो। यसो खल्ती छामछुम गर्यो अनि बाहीर निस्कियो। चुरोट सल्कायो अनि एक सर्को दरो तान्यो। छोडेको धुवाँ हेर्यो। हेर्दा हेर्दै धुवाँ हरायो। “आफ्नो पनि सपना यै झ्याकन धुवाँ जस्तो भो--हेर्दा हेर्दै हरायो।“ चक्रे फेरी एक्लै बोल्यो। अर्को सर्को तान्न चुरोट यसो हेर्यो, अनि यस पटक मनमनै भन्यो “--जिन्दगी पनि यै चुरोट जस्तो भो --अमेरीकाले अब कुन दिन तानेर सकाईदिन्छ, ठुटो पनि किल्चिने होला तेसपछी।“

उस्लाई चुरोट तान्न मन लागेन। ठुटो किच्न पनि मन लागेन। बुढी र माझी औलामा अलि जोडले चुरोट च्यापेर माझी औलाले हुत्याईदियो चुरोट। कता पुग्यो हेर्यो अनि पिच्च थुकेर भित्र छिर्यो। डेराका उस्का मित्र अघि नै निस्किसकेका थिए। उस्लाई पनि कलेज जानु थ्यो त्यै अर्को सेमेस्टरमा के के लिने हो त्यो दर्ता गर्न। उस्लाई त पढ्न नी मन थिएन। बानेस्वरमा कैले पर्खालमा बस्यो, कौसी तिर हेर्यो, उता पोडे टोल तिर गयो। सुकुलमा बस्यो, मैतीदेवी गयो मन्दिर अघि चिया चुरोट तान्यो, बिस्वरुप गयो जय सम्भो भन्यो -- क्या आनन्द थ्यो। “ठुलो दशा लागेको रे छ झ्याकन, यता आईयो” --चक्रेले लामो सास छोडेर भन्यो।

चुरोट पनि ठुटो बाट सुरु गरेर खिल्ली सम्म पुर्याको थियो उता। एक खिल्ली भन्दा धेरै किने, माग्ने एउटा फेला परीहाल्थ्यो। तेसैले चक्रे एक खिल्ली किन्थ्यो एक चोटी किन्दा, माग्ने आए तै थुके ठुटो दिने हो। यता त बट्टै किन्नु पर्ने रे छ--त्यो पनि डलरमा। रुप्यामा किन्ने खिल्ली त उतै रमेस्या पसलमा छुटीहाले। “यो मालबोरो भन्दा त सूर्य सिखर कता हो कता।“ चक्रेले चुरोट पनि उतैको राम्रो ठान्यो। अचेल लगभग उस्लाई यता भन्दा उतै राम्रो थ्यो कि जस्तो लाग्छ। कलेजको किताब हुँदी हाफप्यान्ट लार हरीयो चौरमा मडारीएकी सुनकेस्री सम्झेर के मात्रै गरेन चक्रेले उता--यता अहिले सम्म एउटीले उस्को अंगालोमा आउने छाँटकाँट देखाकी छैन।
चक्रेको हिसाबले त अहिले सम्म कति हो कति भैसक्नु पर्ने। जति थ्यो तेती नै छ।

“न्वारै त जानु पर्यो नी अब। थुप्रै आउलान रजिस्टर गर्न। यसो एउटीको ध्यान तान्न पाए त हुने।“ बिचार गर्दै ऐना अघि उभियो चक्रे। अनुहार हेर्दै थ्यो झनक्क तात्यो “तेसीमा झ्याक्न मिसेल ले बर्बाद गरी। “

“यताको कपाल काटने ठाउँमा भरखरका ठीटीहरु छन गुरु जाने हो? नरम नरम हात्ले ओल्टाई पल्टाई गर्छन –“-मनोजले सबै भनीसक्नै पाएको थिएन चक्रेले बिचमै सोध्यो “के ओल्टाई पल्टाई गर्छन?” मनोज एक पलको लागि अलमलियो अनि हाँसेर भन्यो “--हेर हेर ----कपाल काटने ठाउँमा के ओल्टाई पल्टाई पार्छन? टाउको नी---म त जान ला --कपाल काटनु नी छ --जेनीफर सँग दुई कुरो नी हुन्छ --जाने हो? मनोजले सोध्यो।"ए" यति मात्रै भन्यो चक्रेले तर उ पनि जाने भो कपाल काटने ठाउँ "आफुले त भिसा पाए पछी न्यूरोड गएर काटेको कपाल अन्त काटेको चित्त नबुझ्ने --सधै त्यै काट्ने गरेको --" लायो गफ चक्रेले। गोरी ठीटीले मस्कि मस्कि कुरा गर्दै मनोजको कपाल काटेको देखेर चक्रे पनि बेलै नभएको कपाल काटन अघि सर्यो। उस्को पनि कपाल काट्नेले आफ्नो नाम मिसेल भनी। आहा मिसेम, मनमनै नाम दोहोर्याएको थ्यो चक्रेले। मिसेल गोरी त थिई तर यता कि हैन। जताकि भए नी चक्रेलाई केई थिएन।

उ भियतनाम कि रैछे, चक्रेले म पनि नेपालको भन्यो। मिसेल ले “ए” मात्रै भनी। चक्रे मिसेलले बोलेको आधि उधी बुझ्दैन थ्यो तर मिसेल नरम हातले चक्रेको टाउको यता उता पार्थी, कैले चक्रेको टाउको मिसेलको निक्कै नजिक हुन्थ्यो कैले ठोकिन्थ्यो पनि। ठोक्किएको बेला चक्रे मनमनै भन्थ्यो, “असुलियो पैसा।“ त्यै मिसेलले उस्को यत्ति चेप्टो र छरीएका आखिंभौ देखाएर “छाँटने हो? छाँटेको राम्रो “भनी। अब मिसेलले राम्रो भने पछी नाई भन्ने कुरै भएन। छाँट्दी उस्ले। नेपालमा हुँदा उस्को ठाकुरले कैलेई आँखिभौ मिलाउने कुरा गरेन। “झ्याकनलाई के थाह”, चक्रे गम्कियो। अनि कान तिर देखाउँदै मिसेलले तेता भएका मसिना कपाल पनि खौरीने हो भनेर सोधी मुसुक्क हाँसेर। चक्रेले सोच्यो “ल हेर काने कपालले कैले देखि बेज्जत गरीरारेछन।“ मिसेलको मुस्कान हेर्दै चक्रेले “हो” भन्यो। काने कपाल पनि चट पार्दी मिसेल ले। अब पार्न त पार्दी तर एक हप्ता हुँदा नहुँदै काने कपाल त जर्फाराएर हलक्क बढ्न थाले। पैला यतिन्जेल सम्म राम्ररी नदेखिने ती काने कपाल अहिले त दशैका जमरा उम्रीदै गरेका जस्ता प्रस्टै देखिन्थे। आखिभौंका रौं पनि कुनै कुनै त भाला जसरी उठन थालेका थिए अचेल। दुई चार दिन दुई चार दिनमा चक्रे ती काने कपाल मास्ने गर्थ्यो दारी काटदा। फेरी हुर्केर आइसकेछन आफ्नो अनुहार ऐनामा हेर्दै चक्रेले सोच्यो। “कसो यो नाकको टुप्पोमा भा रौं पनि खौरीने हो भनेर सोधीन मिसेलले -- उस्ले सोध्या भे मैले हो भनीहाल्थें ऐले आएर नाकको टुप्पो फडाँनी गर्दैको हैरान हुने रे छ झ्याकन—“ फतफताउँदै चक्रे बाथरुम तिर लाग्यो। जोड जोडले उस्ले छेक्यो छेक्यो देउराली डाँडा गाएको बाथरुम बाहीर पनि प्रस्टै सुनीन्थ्यो।

स्नान सकेर आखिभौ, जुंगा दारी, काने कपाल सबै ठेगान लाए पछी चक्रे कलेज जान तयार भयो। तयार त भयो फेरी दिक्क पनि मान्यो। त्यो क्लास रजिस्ट्रेशन गर्ने ठाउँमा नाम सोधी हाल्छ। सोधे पछी खैरेलाई चक्रेको नाम पार लाउनै हम्मे। यताकाले “नाम के रे?” भने पछी चक्रे "चक्रपाणी" भन्थ्यो। यताकाले अनि "स्पेल गर त" भनीहाल्थे। " सी यच ए के --" भन्दै हुन्थ्यो चक्रे यताका सी मै अलमल। “सी एज ईन चार्ली?” सोध्थे। अनि सुरु हुन्थ्यो झन्झट। अब एउटा एउटा गरेर कैले पुर्याउनु चक्रपाणी उपाध्याय? त्यै यच मै अलमल हुन्थ्यो। चक्रे यच भन्ने खैरे नबुझ्ने। एच भन्नु पर्ने रे छ तेस माथि “एच एज नि ह्यारी?” भनेर फेरी सोध्ने। नाम आधी उधी भन्दा चक्रे तातीसक्या हुने।

ऐले नी तात्यो। “के नाम राख्द्या होला यो मेरो यस्तो झ्याकन चक्रपाणी रे--- के हो यो चक्रपाणी भनेको?” उस्ले आफैलाई सोध्यो। “मेरो बाको नाम दण्डपाणी फेरी। डन्डपानी भन्या चै के हो कुन्नी? लौरोले पानी कुटने कि पानीको लौरो? तेस्तो पनि नाम हुन्छ? कत्ति न आफ्नो नाम संग मिलाका होलान मेरो नाम -- डंडपानीको छोरो चक्रपानी -- पानी हो र फेरी अण रे अण --झ्याकन अण --खैरेले एज नी ह्वाट भन्यो भने के भन्ने? हुन्छ नी एउटा --फेरी पन्नीत पनि कुईया रेछन आफ्नो ---यस्तो नयाँ जमानाको मान्छेको नाम चक्रपाणी हुँदैन भन्नु पर्दैन?” चक्रे बा र पन्नीत सँग रीसायो अहिले आएर।

“आज पनि खैरेले सी एज ईन चार्ली भन्यो भने जान्या छ।“ चक्रेले फुर्ती गर्यो। “हामी चै ईलिजाबेथ, मिसेल, जेनीफर, ब्रायन, बिल, केभिन---“ झ्यापझ्यापी भन्दिन्छन – चक्रे रन्कियो “खैरे झ्याकनलाई एउटा चक्रपाणी भन्न घ्यारघ्यार”।

चक्रेलाई सबै साथीहरुले नेपालमा चक्रे भन्ने गरेकै हो तर खैरेलाई पनि आफ्नो नाम बिगारेर चक्रे भन तेरो बाजेलाई भन्न सकेन उस्ले। नेपाल तिर कबिता लेख्दा उस्को उपनाम "बिक्षिप्त" थ्यो। एक दुई चोटी चक्रपाणी भन्दा बिक्षिप्त अलिकति भए पनि छोटो छ, सजिलो हुन्छ कि त यिनीहरुलाई भनेर कोसीस गरेको हो चक्रेले। तर के को। क्ष ले तर्साउला लोकललाई भनेर उस्ले बिक्षिप्तलाई बिछिप्त पारेको पनि हो, तर भएन। छ को दुईटा एच ले नै लट्टो लिन थाल्यो।चक्रपाणीको एउटै एच लाई यच भन्दा झुक्किने खैरे झन दुई चोटी यच यच भने पछी के हुन्थ्यो। त्यै यच यच र एच एच -- एक चोटी कि दुई चोटी भन्नेमै ट्याम लाग्न थाले पछी चक्रेले बिक्षिप्तको नी माया मारेको थ्यो।

एक दुईटा तोरीलाउरे साथी भनाउँदा खैरेहरुले “तँलाई चक भनुम?” भनेर सोधेका थिए। चक्रेले तुरुन्तै हुन्न भन्यो। “आज एउटाले उस्लाई सजिलो हुन्छ रे भनेर चक भन्छु भन्ला, भोली अर्को ले च मा आकार थप्छु, त्यो सजिलो हुन्छ मलाई भन्न भन्ला। अर्थको अनर्थ भएन? आफ्नो नाम जे भए पनि अर्कोलाई जसरी सजिलो हुन्छ तेसरी --अर्कोलाई जे मन लाग्छ तेई भन्न दिएर हुन्छ? मेरो नाम के कालीमाटी हो र? जस्लाई जसरी मन लाग्यो बटारेर जे मन लायो तेई बनाउन लाई?” चक्रे गम्केको थियो। “भन्ने हो भने चक्रपाणी भन्ने, होईन भने छैन अर्को नाम।“ ऐना हेरेर कपाल कोर्दै फलाक्यो चक्रेले। “तरुनीहरुले चक्रे भन्छु भनेछन भने ठिकै छ -- उनीहरुले त जे भने नी भो मायाले --अरुलाई त छिरीक्क दिन्न आफ्नो नाम बिगार्न। हाम्ले त्यो ईकोनोमिक्स वान ओ वानको ह्यारी प्यास्ट्याललाई तँ झ्याकनलाई म हरी प्रसाद भन्छु तेई सजिलो लाग्छ मलाई भन्यो भने मान्छ कि क्या हो? तेस्तै त हो नी –“ चक्रेले आफैले झिक्यो उदाहरण।

पुग्यो कलेज चक्रे। भिडभाडै रे छ। एउटाले उस्को कुरो बुझेरै त होला एकातिर लाईदीयो लाईन। चक्रे पंक्तिबद्ध भो। लाईन अलि अघि सरे पछी देख्यो चक्रेले दुई जना रेछन सल्लाह दिने --रजिस्टर गर्दिने। एउटा बाँस जस्तो लिखुरे खैरे, छन्द न बन्दको, अर्की हरहराउँदी तरुनी धपक्क बलेकी। दुई चार फिट परै बाट आगो लाउली कि जस्ती। तेस्ती तरुनी देख्ना साथ चक्रेले मैतीदेबी पुकार्यो “--जय माता मैतीदेबी--मलाई यै तरुनी परोस –“ उस्को पालो के आईपुग्याथ्यो बाँस बज्यो "मे आई हेप्ल यु?" भन्दै।

“पर्या छैन झ्याकन” भन्न त मन थ्यो चक्रेलाइ तर के गर्नु, तरुनी तिर यसो हेरेर त्यै बाँस अघि गएर बस्यो चक्रे। उस्लाई झोक चल्न थालिसक्याथ्यो। “कस्तो मिस भयो, उता तेस्ती तरुनी छ, यता यो तोर्पेको अघि बस्नु पर्यो आफुलाई---झ्याकनलाई मण्डी ओढाएर रड हान्न नपुग्या--” भन्दै तेस्कै भुमरीमा चक्रे घुम्न थाल्यो।

खैरेले सोध्यो नाम। चक्रे रन्थनीरा बेलाँ उस्को पुरै नाम भन्यो अलि ठुलै स्वरमा “चक्रपाणी उपाध्याय”। अरु बेला भए नाम सोध्दा “चक्रपाणी” मात्रै भन्थ्यो। आज झोक चल्या भएर “नामैले थर्काउँछु” भन्दै पुरै नाम ठोक्देको थ्यो उस्ले।

खैरे त हेर्या हेरै भो। खैरे जिल्लिया देखे पछि चक्रेको छाती अरु चौडा भो। मनमनै “यै खोज्या हैन तैले” पनि भन्यो चक्रेले।

खैरेले चक्रेलाई नाम स्पेल गर्न भन्यो -- रन्केको चक्रे सुरु भो – “ल सुन झ्याकन” चै मनमनै बाँकी चै अरुले नी सुन्ने गरी भन्यो सी एच (यस पाली सम्झेर एच भन्यो यच नभनेर) ए के --अरु अघि बढ्न खोज्दैथ्यो चक्रे --खैरे त अघि नै सी मा अड्किसक्या रे छ “सी एज ईन चार्ली?” भनेर सोधी हाल्यो। अब चढ्यो चक्रेको पारा -- पैला कैले देखिको रन्को तेस्माथि छेउकी धपक्कै जगमगाउँदी तरुनी उस्को भागमा नपरेको झोक-- चक्रे गर्जियो –"नो --" “आज झ्याकनलाई पेल्दीन्छु म अब”, चक्रेले सोच्यो र भन्न थाल्यो "सी एज ईन चारखाल, एच एज ईन हात्तिसार, ए एज ईन असन, के एज ईन कर्णाली, आर एज ईन रत्नपार्क, ए एज ईन अस्टमान, पी एज ईन पाकोपोकल्ड्याङ, ए एज ईन अन्तरे, एन एज ईन न्यातपोल (यस पाली पनि सम्झेर यन हैने एन नै भन्यो चक्रेले),आई एज ईन ईचंगुनारायन --यति भनेर चक्रेले बिसायो। “अब झ्याकनलाई उपाध्यायले पेल्दिन्छु” भनेर यु एज ईन उर्लाबारी भन्न सुरु गर्न आँटेको थ्यो --यसो हेरेको त खैरे कुन बेला देखि ट्वाँ परेर बसेको रहेछ। एउटा अक्षर लेख्या छैन फारम मा त। चक्रेले यसो पल्याक पुलुक हेरेको सबै उसैलाई हेर्दै रे छन।

यत्तिकैमा मुसुक्क हाँसेर छेउकी रापीली सुन्दरीले सोधी "ह्वाट डज योर नेम मीन?"

अब भो की --चक्रेको सबै झोक हरायो। लल्याकलुलुक भो। अब उस्को नामको अर्थ त के हो के -- कैलेई चाईया थेन। बाउ र पन्नीत दुईटै नेपालमा सोध्न पनि। तेसमाथि जबाफ अहिलेको अहिलेई चाहिसक्यो। तरुनी पर्खिराछे। अघि सम्म तेस्तो गर्जेर फलाकेको आफ्नो नाम अहिले अर्थमा आएर सिलटिम्मुर खाला जस्तो भो। यस्ती सुन्दरीले सोधे पछि अर्थैले भए नी अल्झाउनु पर्ला अब यस्लाई भन्दै जे पर्ला पर्ला भनेर नरम स्वरमा मुस्कुक्क हाँसेर चक्रेले भन्यो " चक्रपाणी मिन्स----गुड एट हार्ट"।
****
 
Posted on 11-21-14 1:06 PM     [Snapshot: 7]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

सटिक उत्तर " गुड एट हार्ट" |  
चक्रेको चित्रान्कन रमाइलो छ  : बाकि अंश छन् कि  ?
Last edited: 25-Nov-14 09:39 AM

 
Posted on 11-21-14 1:57 PM     [Snapshot: 84]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Back with a bang!!! Laughed it.
 
Posted on 11-21-14 2:11 PM     [Snapshot: 111]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Ekdum ma paryo malai, I could not stop laughing after he went to cut his hair till the end , nicely put
 
Posted on 11-21-14 2:58 PM     [Snapshot: 160]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

प्रभु,
जिन्दगीको राखन्धरनले यता साझा चिहाऊने बिरलै फुर्सद मिल्छ, त्यसमाथी आजकल बुढ्यौलीले बढी छोपेर हो कि,जिब्रो लाटिया जस्तो मन लाटिएर, तिख्खर र चोटाईलो खुराक नपाउँदा झन मेलो मिल्या बेलामा नि टुसुक्क खोलेर सररर स्क्रोल गरेर बन्द गर्न पुग्दो रहेछु। यस्तोमा एकजना मित्रले अगि सूचना दिने बित्तिकै आएर एकै सासमा पढेँ। पढेँ के भनौ,एकसरो काठमाण्डुको सयर गरेर यता अमेरिका तिर हान्निएँ, उमेर १२-१४ बर्ष घटाऊँदै!
टोफेल, चुरोट, पिटरसन गाईड, गोश्वारा हुलाक, चिठी र प्रसपेक्टसको गन्ध, अल्लारे बेला, आईट्वान्टी सपै एकैपटक याद आए! गजब! तपाईँको लेखाईमा हुने ह्यूमर फ्याक्टरको त कुरै गर्न परेन पहिले नै कायल भएको हो!
धन्यवाद् , सुखद् नोस्टाल्जिया पस्किनुभएकोमा!!
 
Posted on 11-21-14 3:45 PM     [Snapshot: 230]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 
 
Posted on 11-21-14 4:00 PM     [Snapshot: 241]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

दीप दा ,

मेरो कहिले देखुनको हजुरको लेख पढ्ने प्यास मेटीदिस्यो न भनेको बल्ल सुन्सेछ . पछि पछि नाम महात्म्य पढेर कति हासे बा ..... देर आए दुरुस्त आए भन्या यो हो नि ....

धन्यवाद दा .

- थाने
 
Posted on 11-21-14 4:49 PM     [Snapshot: 270]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

धन्न दिपले साझालाइ माया मार्नु भा'रैछ भनेर खुसि लाग्यो ...यस्ता खुराक पस्किदै गर्नु हुन अनुरोध पनि छ !
I-20 को लागि दौडधुप सरसर्ती याद आयो ...प्रस्तुति सधाझैँ बेजोड ....मज्जा आयो
 
Posted on 11-21-14 4:56 PM     [Snapshot: 305]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

सम्झना फेरी उही नारायण गोपालको गीतको भाकाको "सिमलको भुवा" जस्तै उडेर पुरानो बानेश्वर, मैतीदेवी, पशुपती, नयाँ बनेश्वर सबै तिर पुगेछ ।
१५-२० बर्ष पैलेको काठमाडौं फेरी मस्तिस्कमा उही बिहानको कृष्ण पाउरोटी जस्तै ताजा भयो।
साझामा फेरी पाल्नु भएकोमा दीप दाईलाई स्वागत छ ।

PS: आभा को छायाँ अझै देखे नि चिन्छु जस्तो लाग्छ।
 
Posted on 11-21-14 11:21 PM     [Snapshot: 471]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

मज्जा ले हसियो. लामो तिमे पछि दीप जी को कथा पढ्न पाउदा खुसि लग्यो
 
Posted on 11-22-14 9:00 AM     [Snapshot: 606]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

साझाको पत्ता झर्दै गरेको रुखमा पाउला पलाए जस्तो भो आज...Thank you..DEEP..
 
Posted on 11-22-14 12:26 PM     [Snapshot: 679]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Thank you Deep... Yeti majjale nahaseko dherai bhayeko thiyo... This is a masterpiece...

Please make Chakrapani a regular... Would be great to read some pow-wow between Bange and Chakrapani, if there were any..

"सी एज ईन चारखाल, एच एज ईन हात्तिसार, ए एज ईन असन, के एज ईन कर्णाली, आर एज ईन रत्नपार्क, ए एज ईन अस्टमान, पी एज ईन पाकोपोकल्ड्याङ, ए एज ईन अन्तरे, एन एज ईन न्यातपोल (यस पाली पनि सम्झेर यन हैने एन नै भन्यो चक्रेले),आई एज ईन ईचंगुनारायन"
 
Posted on 11-24-14 9:32 AM     [Snapshot: 952]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Just remembered how I get nervous each time when I have to pick up medicine in pharmacy.

लास्ट नेम "श्रेस्ट" हुनु पर्छ, टाउको घुमाउने गरी सोध्छन स्पेलिङहरु तर पटक्कै उच्चारण गर्न सक्दैनन शब्द चाँही।

 
Posted on 12-03-14 3:10 PM     [Snapshot: 1450]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Deep ji Ko katha ati nai ramro lagcha
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What stocks to buy -- Any recommendation
ट्रंप २०२०
हाकिमनी संग- आज सुक्रबार -३
दलित जगारण मोर्चा
❤️ चिक्नी चमेली ❤️
आयाहूआस्का
श्राद्द
सान भिनाजु लाई अझै पैसो कमाउने आइडिया
640 doctors come forward to claim Covid 19 is a global scam
Sajha Chat
मलाई ब्रेड खायो कि सारै पाद आउछ..
Face mask नपाइने भए bra तथा underwear ले काम चलाउन अनुरोध
प्रियंका कार्की फोटो अबलम भाग २ , ३ जून २०१६ copyright @पुन्टर
Nepalese for JOE BIDEN
साम्राज्ञीले दुर्ब्यबहार भयो, भन्दा भुवन केसिलाइ किन रिस उठ्यो ??
सोनीकाले त बेज्जत गरिन त ( viewers discretion)
Nas!!! this one's for you
Help Aryan fight brain cancer!
what benefit/financial aid/discount GC holder can get for education(Master's in computer science)
बचत होइन लगानी गरौ !!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters