गाईजात्रा प्रताप मल्लले चलाएका होइनन्
गिरीश गिरी काठमाडौं, भदौ ९ print
गाईजात्राको दोस्रो दिन आइतबार थापाथलीस्थित मार्टिन चौतारीमा प्रवचन दिँदादिँदै उनले अचानक भने, ‘यो गाईजात्रा प्रताप मल्लले चलाएको सत्य होइन।उबेला जुन कुरालाई पनि राजा महाराजासँग जोडिदिएर तिनको व्यक्तित्व उँचो
पारिदिने परम्परा थियो। अहिले पनि यसलाई प्रताप मल्लकै नाम दिइनु तत्कालीन सत्ताको चाकडी हो।’
‘नेपाली सिजनहरुः वर्षा र संस्कार’ विषयमा लामो प्रवचन दिएका ७६ वर्षीय संस्कृतिविज्ञ गौतम बज्राचार्यको यो भनाइ मेरो निम्ति नयाँ जानकारी थियो। मथप जान्न जिज्ञासु भएँ।
उनले दुई दिनपछि फोन गर्न नम्बर दिए।
भनेकै दिनमा फोन गर्दा उनी मोटर चढेर कतै जाँदै रहेछन्। ‘यसपटक भ्याइनँ भाइ,’ अमेरिका फर्किनुअगावै सबै काम सकिसक्नुपर्ने हतारोकै बीच उनले भने, अहिल्यै फोनबाटै कुरा गर्ने हो भने मिल्छ।’
कक्षागत मान्यताभन्दा पर गुरुकुल पद्धतिबाट पढेका बज्राचार्यले अमेरिकाको ‘युनिभर्सिटी अफ विस्कन्सिन’मा ३० वर्ष प्राध्यापन गरिसकेका रहेछन्। दक्षिणएसियाली विषयवस्तुका प्रखर वक्ता भएपछि विश्वविद्यालयबाट अवकाशपछि पनि के
फुर्सद पाउँथे? यतिबेला न्यूयोर्ककै प्रसिद्ध ‘रुविन म्युजियम अफ आर्ट’मा उनी ‘गेस्ट क्युरेटर’ (कलाको मूल्यांकनकर्ता) छन्।
त्यही म्युजियममा तीन महिनाअघि उनको पछिल्लो पुस्तक ‘नेप्लिज सिजन्सः रेन रिचुअल्स’को विमोचन भएको थियो, त्यो पनि नेपालका ५० भन्दा बढी महत्वपूर्ण कलाकृतिको सार्वजनिक प्रस्तुतिका साथ।
प्राकृतिक वातावरण र काठमाडौं उपत्यकाको सँस्कृतिलाई गहिरोसँग जोड्ने उक्त कृतिबारे नेपालीहरूलाई सुनाउनकै लागि उनी यसपटक यता आएका रहेछन्।
‘गाईजात्रा प्रताप मल्लले सुरु गरेका भए काठमाडौंबाहेक नेवार बसोबास रहेको ठाउँमा यसलाई मनाइने थिएन,’ उनले भने, ‘त्योबेलाका मल्ल राजाहरूबीचको आपसी शत्रुता नबुझ्नेहरुले मात्र यसलाई पत्याउँछन्।’
यो पर्वको बिजारोपण त हिन्दु र बौद्ध परम्पराभन्दा धेरै अघिदेखि गाई पाल्नेहरुको सँस्कृतिकै अवशेषका रुपमा अघि बढिरहेको उनको कथन थियो। यतिबेलाहामीले मनाउँदै आएको गोवद्र्धन पूजा स्वयं गो र वद्र्धन अर्थात् गाई
बढाउने भन्ने अर्थमा बनेको उनले सुनाए।
यससँग एउटा अर्को पक्ष ‘वृषभ सर्ग’ पनि जोडिँदै आएको छ। ‘वृषभ सर्ग फलं लभेत’ भन्ने कथन पनि चल्दै आएको बज्राचार्य सुनाउँछन्। यसको अर्थ अहिले पनिगोवद्र्धन पूजाकै बेला गोरुलाई गाईसँग मिलन हुन दिने परम्परासँग मिल्छ।
साउन–भदौताका पर्याप्त घाँस हुने भएकाले गाईलाई गर्भिणी हुन त्यसको ठीक नौ महिना अगाडि गर्भाधान गराउनु उपयुक्त मानिने सोचबाट यस्तो परम्परा विकास भएको हो। यसरी तिहारका बेला गर्भाधान भएको गाई ठ्याक्कै हामीले गाईजात्रा
मनाउने समयमै ब्याउने गर्छ।
‘गाईजात्राको बेला पितृलाई सम्झेर प्रदर्शन आयोजना गर्ने काम ‘इभोलुसन’ (क्रमिक उन्नति) मा ‘सेकेन्ड लेयर डेभलपमेन्ट’ (दोश्रो चरणको विकास) हो,’ बज्राचार्य भन्छन्, ‘तर, यसमा पनि प्रताप मल्लको कुनै हात छैन।’
समाजमा सकारात्मक प्रभाव पर्ने काम भएकाले जनस्तरबाटै थालनी भएको यो परम्परालाई उतिबेला फगत मल्ल राजासँग जोडिदिएको बज्राचार्यको कथन छ। ‘हाम्रा पुर्खाहरु कथा बनाउन असाध्यै सिपालु थिए,’ उनी भन्छन्, ‘यसैगरी बनाइएका कथाहरुमध्ये एउटा यो गाईजात्रा र प्रताप मल्लको सन्दर्भ पनि हो।’
हाम्रै संस्कृतिका बारेमा हामीले पढ्दै आएका इतिहासलाई अलिक बेग्लै तवरबाट व्याख्या गर्ने आधार बज्राचार्यलाई त्यत्तिकै मिलेको होइन।
सन् १९५० ताका जतिबेला काठमाडौंका सम्भ्रान्तहरुमा पश्चिमेली शिक्षा पद्धतिप्रति विस्तारै लगाव बढ्न थालेको थियो, बज्राचार्यका अभिभावकलाई छोराको पढाइ अंग्रेजी माध्यमबाट र त्यसमाथि पनि परीक्षा दिँदै उक्लनुपर्ने कक्षागत हिसाबले गराउँदा राम्रो प्रतिफल मिल्दैन भन्ने लाग्न थाल्यो। परिचित अन्वेषक धनबज्र बज्राचार्यका भतिजा उनले १३ वर्षको उमेरसम्म घरैमा पढे। त्यसपछि पनि परिवारकै अगुवाइमा थालिएको गुरुकुल शिक्षा पद्धतिमा गौतमलाई सरिक गराइयो।
यसरी उनले पढेको स्थान नेपालमा उम्दा विद्धानहरु जन्माउने त्यही संशोधन मण्डल थियो, जसमा नयराज पन्तजस्ता विद्वान जोडिएका थिए। यो संस्थाको जन्म रविकास नै इतिहासका त्रुटी र कमीकमजोरीलाई तर्कपूर्ण व्याख्यासहित सच्याउने
हिसाबले भएको थियो। यसका कृतिहरु मात्र होइन स्वयं संस्था नै पनि महत्वपूर्ण पुरस्कारहरुबाट सम्मानित हुँदै आएको छ।
‘संशोधन मण्डलको पढाइ सजिलो थिएन,’ बज्राचार्य भन्छन्, ‘पुस्तकका ठेलीहरु कण्ठस्तै पार्नुपथ्र्यो।’ परम्परागत पढाइ मात्र होइन त्यहाँ उनीहरुलाई प्राचीन लिपिहरुसमेत ठम्याउन लगाइन्थ्यो। त्यसैगरी मूर्ति वा अन्य कलाहरुमावर्णित भावभंगिमाको व्याख्या गर्न सक्नुपथ्र्यो। यसरी शिलालेखहरुका आधारमामन्दिर, देवता र त्यसका परिवेशहरुको वर्णन गर्न बज्राचार्य सिपालु हुँदै गएका थिए।
संशोधन मण्डलबाट पढाइ पूरा गर्नेबित्तिकै गौतमलाई त्रिभुवन विश्वविद्यालयलेएउटा पुस्तक लेख्ने जिम्मेवारी सुम्पेको थियो। हनुमानढोका चिनाउने त्यो पहिलो पुस्तकमार्फत् नै उनले नेपालबारे जिज्ञासा राख्ने पश्चिमा विद्वत् वृत्तमा पहिचान बढाउन सफल भए।
संशोधन मण्डलमा पढ्दाताका नै त्यहाँबाट निस्कने ‘पूर्णिमा’का काममा गौतम सरिक थिए। त्यतिबेलै उनले चिनेको अर्को साथी थिइन् नेपाली कलाबारे अध्ययन गरिरहेकी मेरी स्लसर। अमेरिकाका महत्वपूर्ण संग्रहालयहरुको व्यवस्थापन गर्ने ‘स्मिथ सोनियन फाउन्डेसन’ की अध्येता थिइन् उनी। मेरीले अमेरिका पुगेपछि डा. प्रतापादित्य पालसमक्ष गौतमको चर्चा गरिन्। पाल त्यतिबेला ‘लस एन्जलस काउन्टी म्युजियम अफ आर्ट’को भारत तथा दक्षिणपूर्वी एसियाली कला सिनियर क्युरेटर’ (वरिष्ठ मूल्यांकनकर्ता) थिए। नेपाली संस्कृतिसम्बन्धी एक पुस्तकको अनुसन्धानका क्रममा सन १९७४ मा पाल नेपाल आए। काठमाडौंमा उनीहरु दुवैले साथै मिलेर काम गरे।
फर्किने बेला पालले अचानक एउटा प्रश्न सोधेर गौतमलाइ चकित पारिदिए। ‘के तिमी अमेरिका आएर काम गर्न चाहन्छौ?’
गौतमले सुरुमा यो मजाकमै गरिएको प्रश्न भन्ठानेका थिए। तर, पाल फर्केको केही समय नबित्दै अमेरिकाबाट एउटा चिठ्ठी आइपुग्यो। त्यसमा उनलाई पाल कार्यरत ‘लस एन्जलस काउन्टी म्युजियम अफ आर्ट’मा रोजगारी प्रदान गरिएको जानकारी थियो। जतिबेला गौतमले नेपालमा महिनाको ५० अमेरिकी डलर पनि कमाइरहेका थिएनन् त्यो समय उनलाई १५ सय अमेरिकी डलर दिइने जानकारी पत्रमा थियो। उनी गए।
केही समय संग्रहालयमा काम गरेपछि गौतमलाई अमेरिकामा पढाइ अगाडि बढाउने इच्छा जागेछ। तर, पढ्ने कसरी? उनीसँग औपचारिक पढाइको कागजातै थिएन।
यस्तो अवस्थामा लस एन्जलसकै ‘क्लेरमोन्ट ग्रायजुएट स्कुल’ले उनमा रहेको ज्ञानलाई हेर्दै ‘कलाको इतिहास’ विषयमा सोझै स्नातकोत्तरमा भर्ना लिने निर्णय गरिदियो। उनलाई भर्नामा सघाउने काम उनै मेरीले गरेकी थिइन्। गौतमले
पछि ‘युनिभर्सिटी अफ विस्कन्सिन’बाट ‘दक्षिण एसियाली भाषा र साहित्य’ विषयमा विद्यावारिधि गरे र सम्मानपूर्ण अवकास पाउन्जेल त्यसै विश्वविद्यालयमा प्राध्यापन गरे।
हाम्रो भेगमा यतिबेला मनसुन चलिरहेको छ। यस्तो सिजन अन्यत्र हुँदैन। पश्चिमाहरु त शरीरमा वर्षाको पानी पर्नेबित्तिकै मौसम खराब भयो भन्दै आत्तिन्छन्,’ उनले भने, ‘हामी भने अत्यधिक गर्मीको बेला पानीको शितल थोपा पाएर रमाउँछौं।’ हिन्दी सिनेमामा पानी पर्नेबित्तिकै गीत गाउने र नाच्ने दृश्य देखेर चकित परेका पश्चिमाहरुलाई यो अन्तर बताएरै बज्राचार्यले यता र
उताको फरक बुझाउने गर्छन्।
हाम्रो भेगमा सुख्खाले निम्त्याउने दुर्भिक्षको खतरा बारम्बार आइरहने भएकै कारण यस भेगमा परम्परादेखि सम्पत्ति जम्मा गर्ने र जोगाएर राख्ने मान्यता रहेको र त्यही खतरा पश्चिमा संसारमा कहिल्यै नहुने भएकाले उनीहरुले कमाएको सम्पूर्ण पैसा खर्च गर्ने प्रचलन रहेको उनको ठम्याइ छ। दुर्भिक्षको त्रासकै कारण अभावग्रस्त अवस्था चित्रण गर्ने कला पनि हामीकहाँको परम्परामा नरहेकोगौतम सुनाउँछन्।
हाम्रा यिनै विशेषताले धर्मकर्मदेखि संस्कृति र जीविकासम्म प्रभाव पारेको छ। त्यसैले त उनले पछिल्लोपटक लेखेको पुस्तक नै ‘रेन एन्ड रिचुअल्स’ (वर्षा र संस्कार) माथि थियो। जसका बारेमा उनी मार्टिन चौतारीका श्रोताहरुलाई व्याख्या गरिरहेका थिए।
‘सातौं शताब्दीदेखि नै इन्द्रको पूजा हुँदै आएकाले यहाँका कलामा पनि मौसमसँग जोडिएका देवी देवताको वर्णन पाइन्छ,’ उनी भन्छन्, ‘हाम्रो मुलुक कसरी मनसुनप्रति आश्रित छ भन्ने जानकारी यससँग अन्योन्याश्रित रहेको कृषि, कला र संस्कृतिमार्फत देखापर्छ।’
हिन्दु र बौद्ध धर्मले तयार पारेको संस्कृतिभन्दा अगाडिदेखिका कृषिप्रधान नेवार सभ्यताहरुले कसरी निरन्तरता पाउँदै आएको छ भन्ने जानकारी पनि उनले पछिल्लो पुस्तकमा समेटेका छन्।
‘हामीकहाँ देउता तिनै मानिन्छन् जसले पानी पारिदिन सक्छ,’ उनी भन्छन्, ‘हरेक कुरा यहाँ वर्षातसँग जोडिएर विकास भएको छ।’ जबकि संसारका अन्य भागमा यस किसिमको मान्यता नरहेको उनको बुझाइ छ। सुख्खालाई अत्यन्त नकारात्मक
मान्ने र वर्षातलाई उत्सव मान्ने प्रचलनबाट हाम्रो विकास भएको उनी बताउँछन्।
कपाललाई उर्वरताको प्रतिक मान्दै आएको समाज भएकै कारण स्वयं उतिबेलाका लिखतहरुले गौतम बुद्ध कपालविहीन रहेको उल्लेख गरे पनि हामीकहाँ मूर्ति वा तस्बिरहरुमा उनलाई सदैव कपालसहित देखाइँदै आएको बज्राचार्यले थपे।
‘वेदमा पनि एक जना अपाला नामकी पात्रको उल्लेख छ जसका रौं थिएनन्,’ उनी भन्छन्, ‘अपालाले आराधना गरेपछि जब इन्द्र उपस्थित भए त्यतिबेला पनि उनले आफ्नो शरीरमा रौं, पिताको शिरमा कपाल र खेतहरु हराभरा बनाइदिन माग गरेकी
थिइन्।’
त्यसैगरी देउतालाई सुख्खा वा दुब्लो देखाउन नचाहेकै कारण केवल एक दाना अन्नखाएर बाँचेका गौतम बुद्धलाई पनि हृष्टपुष्ट देखाइने गरेको उनी सुनाउँछन्।
यसरी कृषिमै आधारित जनजीवन भएकाले हाम्रा धर्मसंस्कृतिदेखि सबै कुरामा वर्षाको प्रभाव पर्दै आएको गौतमको ठहर छ। ‘वर्षाको भविष्यवाणी गर्ने भएकैलेभ्यागुतालाई समेत मान्ने हाम्रो परम्परै छ,’ उनले भने, ‘उपत्यकाका ज्यापु (कृषक) परिवारले अहिले पनि उनीहरुको पूजा गर्दै खानपिनको समेत प्रबन्ध गर्ने गरेका छन्।’
नेपालमा हिन्दु वा बौद्धभन्दा बढी मान्यता पाएको ‘सप्तमातृका’को पूजा प्रचलन आफैंमा शैव वा हिन्दु हो वा यसको बेग्लै हिसाबले विकास हुँदै आएको हो भन्ने खोजीको विषय बन्नसक्ने उनलाई लाग्छ।
भक्तपुरमा मातृकाको पूजा जुन किसिमले हुन्छ त्यसको व्याख्या संस्कृतका किताबमा नपाइने उनको कथन छ। हामीकहाँ सप्तमातृकाले पानी पार्ने पनि भनिन्छ।
कुमारलाई भने सप्तमातृकाको छोराका रुपमा व्याख्या गरिन्छ। वर्षासँगै जन्मेको (सिटी नख) देवता भएकाले कुमारको छैठी पूजा गरेर मात्र उपत्यकामा धान रोप्ने परम्परा रहेको उनले सुनाए। कुमारको वाहन अर्थात् मयुर नाच्न थालेपछि वर्षा सुरु हुने मान्यता पनि छ।
‘त्यसैले नेपालमा कुमारको प्रतिमूर्ति बनाउँदा जहिले पनि बच्चाको बनाइन्छ,’उनी भन्छन्, ‘जबकि भारतमा लडाकाजस्तो वयस्कका रुपमा।’ पुराणमा दैत्य मार्नशिव र पार्वतीको छोरा हुनुपर्ने भनिएकाले त्यहाँ त्यही देवता लडाका बने। यो अन्तरले पनि भारत र नेपालबीचको फरक देखाउने उनको भनाइ छ।
कुमारका बारेमा नेपालमा कसैले यसतर्फ खासै ध्यान नदिएको उनी सुनाउँछन्। भारतमा उनीहरुका हिसाबले पर्याप्त लेखिएका छन्। यसले हाम्रा मौलिक संस्कृतिहरु हराउँदै गएर समान विषयमा छिमेकका मान्यता हाबी हुने खतरा रहेको
उनलाई लाग्न थालेको छ।
‘हाम्रा आफ्नै साँस्कृतिक सम्पन्नतालाई हामीले लिपिबद्ध गरेनौं भने सय वर्षभित्र यो सबै हराएर जानेछ,’ गौतम भन्छन्, ‘अहिलेसम्म यसमा पश्चिमाहरुकोमात्र चासो देखिँदै आएको छ।’
नेपालीमा दुईवटा र अंग्रेजीमा चारवटा पुस्तक लेखिसकेका गौतम स्वयंलाई पनि उनकै पछिल्लो पुस्तक विशेष लाग्छ। ‘मेरा अघिल्ला किताब यी विषयवस्तुका गम्भीर अध्येतालाई ध्यानमा राखेर लेखिएको थियो,’ उनी भन्छन्, ‘यसपटक भने मैले सर्वसाधारणले समेत यस्ता कुराका महत्व बुझुन् भनेर सामान्य पाठकहरुको निम्ति तयार पारेको छु।’
प्रकाशित मिति:
बिहीबार, भाद्र ९, २०७३ १६:०४:१५