Posted by: Rahuldai February 9, 2017
कथामाण्डौ (भाग ५)
Login in to Rate this Post:     3       ?         Liked by
कथामाण्डौ (भाग ५)
ट्याक्सी व्यथा
 मित्रको घरमा पारिवारिक मिष्ठान भोजन पछी घर फर्किन ट्याक्सी खोज्न परेन, साथीले आफ्नो गाडीमा पु-याईदिने हुनु भयो र रात्रीकालिन ट्याक्सी महात्म्य बुझ्नबाट वन्चित भैयो| धेरैबाट सुनिएको, धेरै ठाउँमा पढिएको ट्याक्सी कहानीहरु प्राय कहालीलाग्दा र वियोगान्त हुन्छन् |
भनेको ठाउँमा जाँदैन , मिटरमा जाँदैन | बेलुकी भए पछी डबल लिन्छ, असभ्य र छुच्चो ब्यबहार गहो मिटरमा “छुस” हालेको हुन्छ | एकै दूरीमा पनि फरक फरक ट्याक्सीले फरक फरक पैसा छेर्छ | आदि इत्यादि कथा ब्यथा जताततै सुन्न पाइन्छन् | यी ब्यथाहरु असत्य भने पक्कै हैनन् | सबै ट्याक्सीवालाहरु एकै हुदैनन् – यो मेरो बुझाइ हो |
अघिल्लो पटकको नेपाल बसाइमा थोरै पल्ट भए नि धेरै चोट पाएकै थिएँ ट्यक्सी चढाईबाट | यसपल्टको बसाइ त झन पूर्णरुपेन ट्याकसी चढाइ मै त्वम् शरनम थियो | पहिलो यात्रा पाठकजीको ट्याक्सी संग नमीठो थिएन तर हिसाब बेहिसाब भएकोले निरन्तरता दिन सकिएन | दोस्रो सन्त कुमारको ट्याक्सी यात्रा सुखमय र सहुलियतपूर्ण भयो नै | पाठकजी र सन्त लामा संगको ट्याक्सी “वार्ता”ले केही बोधी ज्ञान भने मैले पाएँ जस्तो लाग्यो | ट्याक्सी पो मेसिन पुर्जा हुन्, ड्राइभर साहेब त मान्छे नै हुन् नि | हरेक मान्छेको यो दुनियामा आ-आफ्नै हिस्सा हुन्छ, आ-आफ्नै किस्सा हुन्छ| फलामे मन जडित ड्राइभर त कोइ हुँदैन, भए अलि कठोर दिलका होलान् | कठोर दिलको पनि नरम कुना हुन्छ, चिमोटे अझ कठोर हुने हुन्छ, सुम्सुम्याए हिउँ झैँ पग्लन सक्छ| मेरो मान्यता हो |
अर्को दिन घरबाट पुरानो वस्ती हुँदै ठमेल जानु थियो सपरिवार | अझ भनुं मरुहिटी हुँदै थँहिटी जानु थियो| मलाई संचयकोष सम्म जानु थियो| दिनको १२ बज्दो हो, सडकले पनि लन्च ब्रेक लिँदो हो | जाम थिएन, सुनसान जस्तै थियो | घर बाहिर ट्याक्सीवाला उँघेर बसिराख्या| म भन्दा पाको उमेरको ड्राइभर साहेब, “जाने हो” भन्दा झल्याँस्स ब्युन्झिनु भयो | खाना खाएर एक न्याप दिरहनु भा रहेछ | बिना आनाकानी राजी हुन भयो ठमेल जान | बीचमा पुरानो वस्तीमा सानो काम छ , एक छिन रोक्नु पर्छ है भनें “हस” भन्नु भयो | कति लिनु हुन्छ पैसो भन्दा “ कति कुर्नु पर्छ त्यो हेरेर हुन्छ “ पछी नै भनौला , धेरै लिन्न “ भन्नु भयो | हुन्छ नि भनेर हिडियो, मिटरलाई पनि न्याप लिन दिएर | बाटो खुला थियो तर टेकु पुगे पछी “मेलम्ची खाल्डाखुल्डी योजना” अंतर्गतको धुलाम्य र भ्वाङ्गहरुले गर्नु गरे नि | एक साइडमात्र चालु हालतमा भएकोले एक छिन जाममा कता जाम कता जाम भयो नै | बिस्तारै मैले ड्राइभर दाइको चिना पल्टाउन थालें|
“घर कहाँको दाइको” मेरो बिषय प्रवेश |
“काभ्रे” आधा तगारो उघ्रियो |
“काभ्रे भए नमोबुद्ध त हैन” मैले जोखना हेरें |
“तपाईलाई कसरी थाहा भाको?
हो म नमोबुद्ध कै लामा हुँ”
“हैन मैले अन्दाज गरेको , ठ्याकै मिले छ है “ म हाँसे , उहाँ पनि हास्नु भयो |
अनि भूकम्पले के कस्तो क्षति भयो त ? मूल बिषयलाई छामें |
“गाउँको घर त बस्न नहुने भयो, तर त्यहाँ कोइ थिएन, हामी यता गोंगबुँमा बस्छौं र यहाँ चाहि तहस नहस नै भयो, म बस्ने घर चाहि केही भएन तर यति डरले दुइ महिना सम्म घर छिरेनौ | म चाहि ट्याक्सी मै सुतें, घरका चाहि चौरमा पालमा | ओह सर, त्यतिबेलाको कुरा सम्क्झिनै मन लाग्दैन | कुरा गर्दा गर्दै हाम्रो टोल पुगीसक्या थियौं |
टोलको एउटा घर पुरै ढल्यो, दुइजना जिउंदै निल्यो भूकम्पले | मैले घर नयाँ बन्दै गरेको घरलाई देखाउंदै भनें | रोक्नु पर्ने ठाउँ आइपुग्यो | परिवारका अन्य चाहि सानोकाम तमाम गर्न ओर्लिए |
“मरु सत: “ देखाउंदै मैले भूकम्पको कहर नदेखे पनि न भोगे पनि काष्ठमण्डपमा भएको भुकम्पको ताण्डव महशुश गरेको थिएँ र गर्दैछु पनि | मैले मरुसत: को संक्षिप्त जानकारी दिएर, भूकम्प आउँदा काष्ठ्मंड़प भित्र रक्तदान दिंदै गरेकाहरु जो अरुको प्राण बचाउने सत्कर्ममा आएका थिए, १५-१६ जनाहरुले प्राण त्यागे | तिनीहरुको के दोष थियो | समाजका छुल्याह मुल्याह पापी अधर्मीहरु जिउँदा भए, ती मन भएकाहरुको प्राण हरे , दैब पनि कति निष्ठुरी |”
त्यो रक्त संकलन गर्न आएका रेडक्रसका कर्मचारीहरुले के पाप गरेका थिए ? अर्को बिहान देखन नपाई एकै चिहान भए | मेरो आफ्नै काकाश्री काष्ठामंड़प ढलेको देखेरै आफै ढल्नु भयो र २ दिन पछी काल संग गल्नु भयो | “ ड्राइभर दाइ यति भावुक हुनु भयो यति , लुकाउन सक्नु भएन, आँखा रसाइसकेका थिए |
ठमेल जाने समूह फेरी मिस्सियो | खाल्डेश्वर काठमाडौंको दर्शन गर्दै थँहिटी पुगियो | “दाइ कति पैसा भयो “ मैले शिष्टाचार छोडिन | धेरै के भनौ, तपाइँ संग कुरा गरेर मेरो मन हल्का भयो | भिमसेन रिसाउला भनेर मात्र , १०० दिनुस् | “हैन दाइ लागेको जति लिनुस् न “ “मेरो मनले पैसा लिन नि मानेको छैन, केवल पेट्रोल खर्च मात्र लिएको, १०० भन्दा बढी लिन्न |
सन्तान थरिथरिका | कोइ यति नभई जान्न भन्ने , कोइ यति भन्दा बढी लिन्न भन्ने | सहर प्राय मृत अवस्थामा भए पनि मन पुरै मरिसकेको रहेनछ, मान्छेमा | ब्यथाहरुले जोडिंदा. कथाहरुले छुँदा ढुङ्गा पनि साउँने हुँदो हो, पहाड पनि सुसाउने हुँदो हो |
त्यसपछि पनि धेरै ट्याक्सी चढें, एकजनाले बाहेक कसैले ठगेन, सभ्य ब्यबहार र मिटर वा सुपथ मूल्य मै गन्तब्य गइयो , गन्तब्यबाट अन्तव्य आइयो| अर्को एउटा प्रसंग चाहि उल्लेख नगरी यो ट्याक्सी कथा खल्लो नै हुने छ |
प्रसङ्ग २
सीतापाइला
मनमोहन अस्पताल निरको एउटा निम्तोमा पुगें ट्याक्सी चढेर | फर्किंदा साढे १० बज्दो हो, मनमोहन अस्पताल बाहिर जतिखेर नि ट्याक्सी पाउने ग्यारेन्टी दिएकोले घडीले अलि घण्टा बढी नै हाने पनि गफिंदै बसेका थियौं | दुइ मिनटको हिडाई पछी अस्पतालको गेट निर आइपुग्यौं | ३ ओटा ट्याक्सी थिए, बिरामी वा बिरामी कुरुवा कुर्दै गरेका | त्यै बेला दुइवटा ट्याक्सी घुंइकिए | बाँकी रहेको एउटा लाई अनुनय बिनय गर्नै पर्यो |
“भाइ त्यहाँ सम्म जाउँ न “
“ जानु त हुन्थ्यो, तर मैले भर्खर खाना अर्डर गरें”
त्यहाँ सानो ठेलावाला खानाखाजना देखाउदै अफसोस जाहेर गरे भाइले |
“हुन्छ नि भाइ, हामी गाडी मै कुरौंला, भाइले आराम संग खाना खाए हुन्छ | पु-याइदिए पुग्छ , हतार छैन | भोको पेटमा काम पनि गर्नु हुन्न |”
यति के भनेको थिएँ , ट्याक्सी भाइले ठेलादाईलाई , “म २० मिनेटमा फर्किन्छु दाइहरुलाई पु-याएर | खाना तयार गरेर राख्नु “ भन्दै ट्याक्सी स्टार्ट गरी हाले |
“खानु खानु भाइ , पस्केको खाना छोडेर कतै जानु हुन्न क्या “ घरकीले थपिन् |
“हैन अहिले बाटो सुनसान छ, एकै छिन पुगी हाल्छ, फेरी राम दाइले अझै १० -१५ मिनेट लगाउछ , खाना तयार गर्न | धेरै ढिला पनि गर्नु हुन्न |”
हामी ट्याक्सी भाइको सदासयता प्रभावित थियौं नै | रिंगरोड सुनसान थियो | मैले फेरी सोधें “ खाना खानु भएको भए राम्रो हुन्थ्यो, किन हतार गरेको ? “
“आज सम्म हजारौंले ट्याक्सी चढे होलान मेरो ट्याक्सीमा , तर कसैले पनि यति प्रेम पुर्बक खाना खाएसम्म कुर्छु भनेर भनेनन् | सबले हामी ड्राइभरहरुलाई मान्छे नै हैन जस्तो ब्यबहार गर्छन्|”
ड्राइभर भाइले आफ्नो ब्यथा सुनाइ हाले, सुनिदिने हामी थियौं | बाटो खाली नै भएकोले एकदम छिटो घर पुग्यौं | मिटर अन गरेको रहेछ | मिटरमा ३२५ चढ्यो, ३०० मागे | खुद्रा थिएन, ३०० नै दिएँ | अघि साँझ डबल चार्ज नहुँदा चढेको ट्याक्सीमा ४०० चढेको थियो | भाइको जय होस् भन्दै निस्कें, ट्याक्सीबाट |
झ्याल खोलेर “ दाइको डबल जय होस् “ भन्दै ट्याक्सी फर्क्यो खाना खान |
क्रमश :
कथामाण्डौ (भाग ४ ) http://sajha.com/sajha/html/index.cfm?threadid=121094&noofposts=4
Last edited: 09-Feb-17 05:04 PM
Read Full Discussion Thread for this article