Posted by: Rahuldai December 21, 2016
कथामाण्डौ.......
Login in to Rate this Post:     2       ?         Liked by
कथामाण्डौ (भाग १)
=============

(हालैको काठमाडौ यात्राका "कथा"हरुलाई “कथामाण्डौ”को रुपमा क्रमश: राख्ने जमर्को गर्दैछु| आशा छ यहांहरुले माया दिनु हुने नै छ )

करीब ३ बर्षको अन्तराल पछी आफ्नो माटो, आफ्नो बाटो नाप्न नोभेम्बर महिनाको पहिलो साता कतार इअरको जहाज चढियो | १३ घन्टाको अनवरत उडान पछी दोहाको हम्मद अन्तर्राष्ट्रिय विमानस्थल पुगियो| काठमाडौको उडान ५ घण्टा पछी भएकोले कतारमा खासै हतार थिएन | खुट्टा जुत्ता तन्काइ संकाइ आराम संग इअर्पोर्ट भित्रको नजारा हेर्न थालें | अति व्यस्त टर्मिनल भवन पुरै “नेपालमय” थियो| जताततै नेपाली अनुहार र ब्यबहार छरप्रष्ट देखिन्थ्यो | झुण्डका झुण्ड कालोसुटमा नेपाली आवाजहरु प्रतिध्वनित भैराख्या देखियो |

यत्तिकैमा एकजना सुटेडबुटेड वाकीटकी भिडेका मंगोलियन अनुहारले “तपाईंहरु नेपाली” भनेर नेपाली मै सोधे | सामान्य परिचय भए पछी उहाँ खुल्दै जानु भयो | हाम्रै टोलका ध्याकोय बनियाको (ज्ञान मान बनिया )को मिनरल वाटर कम्पनीमा अफिसर भै १२ बर्ष काम गरेको र साहुले चौधरी ग्रुपलाई कम्पनी बेचे पछी कतार आएको पीडा सुनाए| किन नाफामा चलेको फ्याक्ट्री बेच्नु परेको होला भन्ने उनको गुनासोका अनुत्तरीत् जवाफहरु म पनि खोज्दै थिए र छु पनि | उद्योग धन्दाको झन्झटमा फस्न नचाहेकोले होला शायद क्रिस्टल होटल अंगिकृत नागरिकहरुलाई बेचे काठमाडौका रैथाने नेवार साहुजीले | अच्छाखासा चलेको, सेमिनार गोष्ठिका लागि पहिलो छनौटको ब्लु स्टार होटल बन्द गरी खण्ड खण्ड पारी भाँडा उठाएर ढुकुटी भर्ने काम किन गरे तुलाधर साहुले? स्थापित उद्योगधन्दा बिस्थापित गरेर हामी पहिचानको लागि जातीय मोर्चामा मशाल जलाउन गैराख्या छौ हामी| हाम्रो अस्तित्व भनेको हाम्रो ब्यबसाय र उद्योग हुन्, हामी कदापी “भाँडे” हैनौं |

खैर सेक्युरिटी अफिसर भाइको गुनासोलाई यस्तै हो के गर्ने भनेर टाले पनि मनमा अनेक तर्कना उठिरहे |
भोक लाग्यो, सजिलो छनौट म्याकडोनाल्ड पर्यो नै | काम गर्ने चाहि नेपाली थिएनन् | बरु ग्राहक ९० प्रतिशत नेपाली थिए | कोही त्यै टर्मिनल भवनमा काम गर्ने कोही म जस्तै नेपालको बाटो हेर्दै कुर्दै बसेका यात्रु | एकहुल महिलाहरु थिए संगै, उनीहरुको हाउभाउ र खण्डित कुरा सुन्दा कतारमा घरेलु सहयोगीको रुपमा कामगर्नेहरु देखिन्थे | “अरब” देशमा “हजार” कमाउन हिडेका , बाजारमा बेचिएका नेपाली चेलीहरुको अनेक कारुणिक कथाहरु बेला मौकामा पढिरहेका हुन्छौ हामी | कतै ती नेपाल जान लागेका चेलीहरुका अव्यक्त पीडाहरु त्यस्तै कारुणिक छन् कि, सोध्ने कुरा पनि भएन, अन्दाज मै सीमित गरें |

ड्युटी फ्री शपमा पुरै नेपाली | यसो चहारें | अलिकति बिदेशी मदिरा लिएर जाने कि भन्ने सल्लाह भो | “ भाइ , ड्युटी फ्रीको एकजनाले कति लिएर जान पाउछ? “ समय समयमा नियम बदलिरहने भएकोले सोधें |
“एकजनाले १ लिटर हो सर तर सबले २ लिटर लिएर जान्छन् “ इमान्दार जवाफ पाएँ| नियमानुसार हामी दुइले पाउने २ लिटरको बोतल किनें |

समय घर्किन लागेकोथ्यो | नेपाल जाने प्लेनको गेट तिर गएँ | त्यता नि अधिकांश नेपाली कर्मचारी | बोर्डिंग पास चेक गर्ने देखि व्हिल चेयर सहयोगी समेत नेपाली | कामकाजी भाषा नेपाली | परदेशको हवाई अड्डामा कामकाजी भाषा नेपाली, हामी सानो मुलुकमा खुद्दारीहरु टोलै पिच्छे छुट्टै कामकाजी भाषाको लागि आन्दोलन गर्छौ |
विमान निर्धारित समयमै उड्यो | बिमान भरि कतार र कतार वरिपरी अति उष्ण तापमान पसिना बगाएर फर्केका श्रमजीवीहरु थिए | हामी जस्ता कतार भन्दा पर अति चीसोमा पसिना जमाएर फर्किनेहरू र केही गोरा पर्यटकहरु थिए| प्लेन अलि पुरानो अर्थात् प्लेन भित्रको सुबिधा अत्याधुनिक थिएन | सीटमा भएको स्क्रिन टच स्क्रिनवाला थिएन | धेरैले चलाउन नै जानेनन् | सोच्छु, ती अशिक्षित सोझा सिधाहरु कति ठगिंदा हुन् परदेशमा| नेपालीले नेपाली नै ठगेका कहानीहरुले बेला बेलामा अखबार तताई रहेको हुन्छ |

काठमाडौ सम्मको उडान ५ घण्टा चानचुन मिनेट | स्थानीय समय अनुसार बेलुकाको ७.४५ मा अवतरण हुनु पर्नेमा ७.२५ मै विमानले नेपाली माटो स्पर्श गर्यो | १०-१५ मिनेटको अन्तरालमा एक पछि अर्को गर्दै मलेशिया तथा गल्फ देशका ४ वटा बिमान अवतरण हुने रहेछ | अध्यागमनमा फाराम भर्नेहरुको भीड यातायात ब्यबस्था बिभागको जस्तो थियो | त्यसपछि अध्यागमनको लाइन |

लगेज ढुवानी गर्ने बेल्ट जम्मा दुइ वटा | धन्न दुवै चलेको थियो | एउटा सुटकेस आयो, तँछाडमछाड गर्दै एउटा टिपियो | अर्को आउन १५ मिनेट | एक घण्टामा सबै सुटकेस आयो, सहि सलामत |
भन्सारको निगरानी शुन्य | सजिलो संग त्रिभुवन विमानस्थलबाट बाहिर आइयो | घरका मान्यजन देखि प्याराहरु सबै बाहिर प्रतीक्षारत थिए-स्वागत गर्न |

अँ साँच्ची यसपाली सबैभन्दा मीठो स्वागत लोड शेडिंग मुक्त काठमाडौको झिलिमिलीले गर्यो | अर्को कुरा भन्ने बिर्सेको, इअर्पोर्ट भित्रको शौचालय साँच्ची नै अन्तर्राष्ट्रिय स्तरको सफा र ब्यबस्थित थियो | मन्त्री जीवन बहादुर शाहीको इज्जत चाहि राख्या छ है विमानस्थलले |
क्रमश:
Read Full Discussion Thread for this article