Posted by: fucheketo February 14, 2016
माया पाएकी केटी
Login in to Rate this Post:     1       ?         Liked by
मृगतृष्णा ,थाने धन्यवाद, अन्य पढिदिनुहुने , लाइक गरिदिनुहुने लाई धन्यवाद।

मेरो अन्तर्द्दन्द-साकेत

सुधा अरु एक हफ्ता नआउने भनी टेक्स्ट छोडिछे। मैले स्क्रिन अफ नहुन्जेल मोवायल सुम्सुम्याइरहे। कति सजिलै छोडेर हिँड्छे उ। उसका पदचापहरु बालुवामा कोरिएका छन् । एउटा छाल आउँछ मेटाइदिन्छ। उ अर्को ठाउँमा आफ्नो पैँताला टेकाउँछे। म उ सँग मेरो एउटा तासको घर वनाउँदै छू जस्तो लाग्छ कहिलेकाहिँ। उसले नै सृजना गरेको सानो सिरसिरे वतासले पनि कुन दिन ढलाइदिने छ।

उसले मलाई एक दिन उसको कथा लेख्न भनेकी थिइ। लेख्न वसेको मैले लेख्न सकिन । खै किन किन उ अलिखित नै रही।आज फेरि ल्यापटप खोलेँ । उसको नाम कोरेँ । अनि शुन्य स्क्रिनलाई धेरै वेर नियाँले। उसका विभिन्न रुपहरु सामुन्ने आए। उ फर्किनु अघि मैले उसलाई कोरिसक्न मन छ। वाहिर हेरेँ । मेरो घर छेउको रुखमा सुनाखरी लर्किएको छ। मलाई कहिलेकाहिँ आफु पनि त्यहि सुनाखरी जस्तै लाग्छ। पात्रहरु सँग झुण्डिन्छु अनि रंग पोत्छु आफुमा । हेर्नेले त्यहि सुनाखरी हेर्छन्। कसैले म झुण्डिएको रुख हेर्दैनन् जसले मलाई सृजना गरिरहेछ। म कलम दगुराउँछु तर कलमवाट पग्लेर झर्ने त अरु नै कोहि हुन् त्यस्को श्रेय किन मलाई?

कहिलेकाहिँ लाग्छ मेरा पात्रहरु सिद्दिएका छन्। पहिलो पात्र जे कोरेँ त्यहि पात्रलाई मात्र कोण वदलिदिएँ मैले दोश्रो वनाउनलाई अनि पहिलो र दोश्रोको फ्युजन गरिदिएँ तेश्रो वनाउनलाई। तेश्रोमा थोरै रंग थपेँ चौथो वनाउनलाई । सारभुत रुपमा त सवै मेरा पहिला पात्रका अंश हुन्। तर सुधा पहिलो पात्र जस्तो छैन त्यसैले पनि शायद म उसलाई लेख्न सकिरहेको छैन । एक छिन वाहिर घाममा गएर सेकिएँ । भनिन्छ कहिलेकाहिँ कोठा वाहिर निक्लेर लेख्नाले कथाको क्षितिज फराकिलो हुन्छ । त्यहि मानेर गएको। मेरो क्षितिजमा सुधा अटाउन सकिन । म उसलाई लेख्न सकिरहेको छैन।

उसका प्रत्येक वानिव्योहोरा मलाई थाहा नभएको पनि हैन। प्रत्येक दिन उ साँझमा आउँछे। औँला मा चुरोट तेर्स्याउँदै । मेरो चेनगेटवाट छिरेपछि माउथ फ्रेशनर चवाउँछे। म उसलाई प्रत्येक चोटी छिर्दा नियाल्छु । एक छिन अडिएर उसको सानो पर्सवाट माउथ फ्रेशनर निकाल्छे अनि चवाउँछे ।त्यहिँ उभिएर करिव एक मिनट । सुस्तरी सुस्तरी हिँड्छे । सामान्यतय वँगैचामा फूलेका फूलहरु नियाल्छे। उसको फूल प्रति मोह छैन। तर किन किन नियाल्छे। सुम्सुम्याउँदिन । मात्र नियाल्छे। शायद उ र फूल मन मनै कुरा गर्छन्।

अनि त्यसपछि ढोकाको नजिकै आएर वेल बजाउँछे। दुइ चोटी। उसले र हामीले कुनै कोड वनाएका छैनौ दुइ चोटी नै वजाउनुपर्छ भनेर। तिन चोटी वजे म ढोका नखोल्ने पनि हैन तर उ दुइ चोटी नै वजाउँछे। बानी परेकी छे। म करिव पन्ध्र सेकण्ड पछि ढोका खोलिदिन्छे।

"के छ राइटर ज्यु ,फूर्यो केहि ? मलाइ सुनाउनु हुन्छ ड्राफ्ट?"

सामान्यतय उसले सोध्ने प्रश्न यहि हुन्छ। सामान्यतय म उत्तर दिन्न ।

कहिलेकाहिँ उसको मनस्थिति मा भर पर्छ दोश्रो प्रश्नको " मेरो लेखिने दिन कहिले आउँछ?"

म पुलुक्क नियाल्छु । उत्तर हुँदैन । अनि आँखा लुकाउँदै वाइनका ग्लास हरु लिन जान्छु। म फर्किँदा उसको हातको चुरोट सल्केको हुन्छ। कोठाभरी धुवाँ छरिएको हुन्छ। उ कुनै सोचमा मग्न हुन्छे वा वाहिर नियाल्दै हुन्छे मेरा झ्यालका कर्टेनहरुलाई सुस्तरी हल्लाउँदै । कहिलेकाहिँ झ्याल पनि खोल्छे । धुवा झ्यालबाट छिरेको हावाले पातलिदै हुन्छ। उ म फर्किना साथ मुसुक्क हाँस्छे। उसको मुस्कान मलाई सँधै विजयी लाग्छ । लाग्छ उसले जीवनलाई पनि जितेकी छे। आफ्ना पलहरुमै जीवन कैद गरेर राखेकी छे वन्दी वनाएर। संसारलाई दास जस्तो नचाइदिन्छे।

"कत्ति वाइन खाने?" कहिलेकाहिँ भने उसलाई वाइन देखि दिक्क लाग्छ।

"के पिउँछौ त ?" म उसको त्यस्तो प्रश्नको उत्तर सामान्यतय प्रश्नले राख्छु।

आज तँपाइको वाचनमा कथा सुन्ने । एउटा जादु छ तँपाइको आवाजमा !

उ मलाई फुर्क्याउँछे। तारिफ सुन्दा सुन्दा वाक्क भएको म उसको यो तारिफमा भने रमाउँछु।

"कुन?"

उ एउटा नाम भन्छे मेरा अनेकौँ कितावहरुमध्येको एउटा किताव । उ नै वुक रेकमा जान्छे अनि उ नै किताव उठाउँछे। लिएर आउँछे । अनि मलाई सुम्पिन्छे।

म कथा विस्तारै वाचन गर्छु। उ मलाई कहिल्यै रोक्दिन । उ सुनिरहन्छे। अनि कथा सिद्दिएपछि भन्छे ।

"यो कथा मैले पढेको भन्दा मैले सुनेको राम्रो छ।"

म फेरि हाँसिदिन्छु। उ अर्को चुरोट सल्काउँछे। एषट्रेमा ठूटो थपिन्छ। अघी खुलेको कर्टेनलाई वन्द गर्छे। मलाई आएर अँगालो मार्छे। अनि मलाई उ एउटा योद्दा जस्तो लाग्छ। जसले आफ्नो घोडालाई धाप मारिरहेको छ। म उसको असल घोडा वनेर दगुरीदिन्छु। अनवरत !

सामान्यतय हुने यहि नै हो। उ भित्रका कुण्ठा मैले भोगि नसक्नु छ । मैले कसरी लेख्न सक्छु र सुधालाई ? उ लेखकको परिक्षा हो। शायद म फेल हुँदैछु। थरर्र काँप्छन मेरा औँलाहरु । मेरो ल्यापटपको स्क्रिन हेर्छु । अझै व्ल्यांक नै छन पानाहरु । मात्र मैले माथी लेखेको छु "माया नपाएकी केटी !" फेरि सोच्छु हैन उसले त मायाका विभिन्न स्वरुप भोगेकी छे । किन नपाएकी भनौँ। कर्सर लगेर "न" हटाइदिन्छु । शिर्षक फेरिन्छ। "माया पाएकी केटी !" । शायद यो कथा म लेख्न सक्दिन होला ।

Read Full Discussion Thread for this article