मैले देखेको सपना –साकेत
छालहरु आफ्नो जीवनलाई मेरो
पैताला मुन्तिर बाट हुत्याउँदै थिए। थोरै वालुवा पनि आफ्नो ठाउँबाट हल्लिदै थियो।
छालको वेग मेरो छेउसम्म आइपुग्दा सुस्त हुन्थ्यो मैले त्यसको गति सम्हालिदिए जस्तो
! निलो आकाश को छाना मुनीको समुन्द्र पनि निलो नै थियो। पर रातो रंगको पनडुव्वी खै
के वोकेर हो म भन्दा टाढा जाँदै थियो तर मलाई कुनै दुख थिएन किनकी मेरो छेउमा
क्यारोन थिइ। सेतो फ्रक अनि वालुवामा लुकाउँदै गरेका रातो नेलपोलिस भएका औँलाहरु ,
ति आँखा जव जव म तिर हेर्थे समुन्द्र त्यति गहिरो छैन भनेर म ठोकेर भन्न सक्थेँ।
टाउकोमा सेतो लिलि फुल
लगाएकी थिइ क्यारोनले त्यो दिन! उ म तिर हेरेर मुस्कुराउँथी । म अनेकौँ भाव
वुझ्थेँ त्यहि मुस्कानबाट। टाढा टाढा सम्म सफा थियो त्यो दिन । चुरोट को धुवाँ पनि
नभएको। चुरोट किन्ने ठाउँ पनि नभएको मात्र उ र म विच दुइ गिलास फ्रेन्च वाइनको
वोतल र दुइ ग्लास आधा आधा भरीएका। लाग्थ्यो हामी त्यो पिउने छैनौँ । त्यो वाइन
हामी दुइको मिलनको साक्षी वस्न त्यहाँ छ।
क्यारोनमा समय रोक्न सक्ने
अदम्य क्षमता थियो । आज पनि उ उही पच्चिसकी जस्ति देखिन्थी । तर अचम्म त्यो दिन
मेरा फुलेका कपालहरु पनि काला भएका थिए। थोरै मुजा पर्न थालेका गालाहरु क्यारोनले
आइरन लाइदिएर होला चिल्ला भएका थिए। सुर्यको त्यो तेजमा पनि हामी डढेका थिएनौँ ।
वरु क्यारोनको ओज थपिएको थियो अझ चम्कीली भएकी थिइ।
"कस्तो लागिरहेको छ
?" उसले सुस्तरी मेरो कानमा आएर सोधी
"किन र?"
"मैले तिम्रो लागि
बनाएको यो वातावरण ! तिमी भन्दैनौ त?"
"तिमी जत्ति आकर्षक त
छैन !" मैले सपाट उत्तर फर्काएँ।
"तिमी त मलाई स्वर्गकै
अप्सरा ठान्छौ कि के हो?"
"किन तिमी हैनौ र
?" म मन्द मन्द मुस्कुराएँ। के उ कम छे र स्वर्गका अप्सरा भन्दा ? अहँ छैन।
"जीवनको वोझले तिमीलाई
थिचेर होला तिमी थोरै खुम्चिएका थियौ ! मैले मात्र तिमीलाई स्वतन्त्र वनाउन यहाँ
वोलाएकी हुँ !"
"के ले थिच्यो त मलाई
?"
उ पर शीत्तल मा जाउँ ! उ
विस्तारै उठी। वालुवाहरु आपसे आप पखालिए। उसका लामा लामा औँला अनि रातो रंगको
नेलपोलिश झन आकर्षक देखियो। थोरै झिकेर उसले सिपीको खोल उठाइ । अनि आफ्नो हातमा
चेपीरही !
"मलाई सिपीको माला
लाउन मन छ !" उसले हाँस्दै भनी ।
"मलाई त मात्र कथा
वुन्न आउँछ, माला वुन्न आउँदैन !" मेरो अनुहार थोरै निन्याउरियो।
"मलाई थाहा छ ! सवै
काम तिम्रो वशमा हुन्न !" उसको अनुहारको मुस्कान यथावत थियो। उ विस्तारै थोरै
अग्लो भागको नरिवलको रुख छेउमा गई। त्यहाँ विछ्याएर राखेको गुन्द्रीमा ढल्किइ ।
"तिमी सम्वन्धहरुलाई परिभाषा दिने भुल गर्छौ सँधै। परिभाषाहरु भन्दा सम्वन्ध
ठूलो हुन्छ।" उसले ढल्किदै गर्दा भनेकी थिइ।
म उसलाई सुनी रहेँ। उ कुन
सम्वन्धको कुरा गर्दैछे । शायद मेरो र सुधाको । उसलाई कसरी थाहा छ ? उ त टाढा छे?
हैन उ मेरो मुटु भित्र पनि त छे त्यहिँ कुनामा भेटी होला घुम्दै गर्दा सुधालाई !
चिनजान पनि त भयो होला ! के भनी होला सुधा ले ? कसरी आइपुगेँ त्यहाँ भनी होला?
झुक्केर आइपुगेकी ! सरी ! त पक्कै पनि भनिन होला ! क्यारोन छक्क परी कि परिन होला
? शायद परिन होला किनकि उसले मलाई चिनेकी छे , त्यसैले त अहिले उ मलाई सुझाव दिँदै
छे। मन भित्रकी उ मेरो मनलाई सुझाव दिन्छे। कसैले घरलाई सुझाव दिएको सुन्नुभएको छ।
त्यो मन भित्र हुन्छ !
"के गरौँ त म ! मेरो
वानी नै त्यस्तै छ !"
"होइन तिमी त्यस्तो
थिएनौ , साकेत तिमी पुरानो साकेत रहेनौ !" नरिवलको रुखका पत्ता विचवाट छिरेको
घामको किरण उसको ढाडमा पहेँलो पोत्दै थियो। उसको वोली भने एउटा काँडा बनेर च्वास्स
विझ्यो मुटुमा ! उ आफ्नै घरलाई कोतर्दै छे !
"मलाई वाटो देखाउ
क्यारोन !"
म अनायसै चिच्याएँ।
"तिम्रो वाटो सँधै
तिमी आँफैले कोरेका छौ , म कसरी तिमीलाई तिम्रो वाटो देखाउँ?" उसले पुलुक्क म
तिर हेर्दै सोधी। उसको आँखा चम्कियो। तिरमिराएर मैले आँखा लुकाएँ। मेरो मुटु अझ्झ
वढि दुख्यो। फुट्ला जस्तो !
"तिमी नै मेरो बाटो
कोर्ने आधार हौ !" मैले फेरि उ सँग विन्ति गरेँ।
"म त फगत तिम्रो एउटा
चोक थिएँ। तिमी अघि वढ्यौ म त्यहिँ रहेँ !"
मेरो मुटुवाट अव भल वग्छ
होला रगतको ! दुख्दै आयो दुख्दै आयो मैले सहन सकिन !
म झल्याँस्स विउँझे । छेउमा
क्यारोन थिइन। सुधा पनि थिइन। छेवैको सिराने हेरेँ । सुधाका अवशेषहरु पनि थिएनन्।
उ हिजो आएकी थिइन। भोली सम्म आउन्न उसलाई वाहिर जानु थियो। कतै घुम्न । म वाट टाढा
। एक्लै। सुधा त हुरी न हो, कहिले कुन गाउँ कहिले कुन गाउँ कसिंगर वढार्दै
दगुर्छे। छेवैको एशट्रेमा दुइवटा चुरोटका ठुटाहरु थिए। झ्यालवाहिर अलि पर सुनाखरी
लर्कि रहेको थियो। रुखमा वेरिएर।
सुधाको अवशेष चुरोटका
ठुटाहरुमा थिए। मैले तिनलाई नियाँले। तर कोठामा धुवाँ थिएन। कोठा सफा थियो। सपनामा
देखेको समुन्द्र जस्तै।