Posted by: fucheketo February 6, 2016
माया पाएकी केटी
Login in to Rate this Post:     1       ?         Liked by
कथा हाल सम्म पनि अल्छी नमानिदिइ पढ्नुहुने सवैलाई धन्यवाद, कथा मैले लेखेका कथाहरु मध्ये सवै भन्दा लामो समय लगाएर लेख्दै गरेको कथा वनेको छ । यसका लागि क्षमाप्रार्थी छु। अव नियमित आउने प्रयास गर्ने छु। 
Bhakte र Thaney लाई झक्झक्याइरहेकोमा विशेष धन्यवाद ।

साकेतले सुनाएको सुधाको कथा

जीवनमा सुधा आई। एउटा हुरी जस्तो। जस्ले सवै वढारेर लैजान्छे,एउटा अंश छोड्दिन । अतित,नैतिकता केहि पनि।

उसलाई पहिलोचोटी भेट्दै लाग्यो यसलाई म चिन्छु।

दोश्रो चोटी भेट्दा लाग्यो यसलाई म धेरै पहिलेदेखी चिन्छु।

तेश्रो चोटी भेट्दा लाग्यो किन यो र क्यारोन उस्तै छन्। नशालु...स्वच्छन्द । मलाई संसारले मात्र श्रेय दिन्छ मेरा कथाहरुमा ! म त कथा भन्दा आकर्षक पात्रहरु भेट्टाउँछु।

*********** ************ ************ ************ ************ ************

सुधा जसले म नभएको वेला पनि मेरो घरको छेवैमा मलाई कुरेर वस्ने धृष्टता गरेकी थिई। उसका धृष्टताहरुको त कुरै नगरौँ। एउटा वेलगाम घोडा जसको वेगमा दौँडिदा कहिलेकाहिँ मलाई नै स्वाँ स्वाँ वनाउछे उ। थाकेर  उहि सँग सुस्ताउँदा लाग्छ भँगालो लागेको जीवन समेटिनुपर्छ कुनै मोडमा गएर। तर मलाई लाग्नु अनि उ हुनु नितान्त फरक । सुधा हुरी हो। जसले सवै वढारेर लैजान्छे,एउटा अंश छोड्दिन। अतित नैतिकता केहि पनि।

************** ************* ************* *************** ***************** ****

उ कुर्सी तानेर जवरजस्ति नै सहि म सँग वसेकी थिइ। पर भए पनि मेरा आँखाहरु त लुकिछिपी उ सँग टास्सिएका पक्कै थिए धेरै अघी देखी। तर प्रसिद्द हुनुको अहं भनौँ मैले खुलेर वोल्न सकिन। खुलेर वोल्दा मैले दुइ चार ठाउँमा "सस्तो" उपाधि पाएको छु। खै के के वोली बोली , उ सँग हुँदा लाग्यो लेख्न त उ पो लेख्दै छे, म त मात्र श्रोता भएर सुन्दै छु उसका कुराहरु। उसका गुनासाहरु। मेरो कथा राम्रो लागेर,उ आँफै भेटेपनी उसको कथा नलेखिएको गुनासाहरु। उसका आफ्नै गुनासाहरु ,उसकै म भेटीएको खुशीसँग वाझ्दैछन्। उ सँग भेट्दा लाग्यो उ आफ्ना सपनाहरुलाई नै एक एक वटा पात्र वनाइदिएर रंगमन्चमा नाटक मन्चन गराउँदैछे। म विना टिकट उसका सपनामा छिरेको छु। कुन दिन चौकिदारले मलाई समातेर ह्वात्त वाहिर हुत्याइदिने हो थाहा छैन। त्यो दिन म हुतिहारा हुनेछु। किनकी ममा उ समान वेग छैन, ताप छैन।

*********** ************ ************* *************** **************** *********

मैले उसलाई नवोलाई भएन। मलाई थाहा थियो मेरो वाँधले उसको हुरी धेरै समयसँग थाम्न सक्ने छैन। उ आइ मेरो वाँध भत्कियो ,मलाई लाग्यो स्थिर हुनु भन्दा त वग्नु नै जीवन हो। म वगिदिएँ, अतित मेरो क्षणमा कतै वाँकी रहेन।

उसको वोलीमा क्यारोनको झल्को थियो । एक्लै हुँदा भने म आफुसँग चित्त वुझाउँथे त्यहि भएर न म तानिएँ उ सँग नत्र किन पो तानिन्थेँ र ? अर्को मनले भन्थ्यो कमजोर भएर हो, आत्माको आँत हराएको हो जता पनि डोरिने कहाँकी क्यारोन, कहाँकी सुधा!

सुधामा सामान्य केहि थिएन । माया,क्रोध,पिडा केहि पनि। उसको माया वुझिदैन थियो। गर्थी गर्दिनथी नै थाहा हुन्नथ्यो। उसको क्रोध देखिन्न थियो भित्र भित्रै शुषुप्त लाभा जस्तो गलाउँथ्यो । छेउको वातावरण नै रापिलो हुन्थ्यो जव उ रिसाउँथी। तर उ रिसाउँदा पनि त माया गर्थी जुन वुझिदैनथ्यो। अनि उसका पिडा असामान्य , उ आफुलाई कहिल्यै पिडित ठान्दिनथी। एउटा चोक वाट अर्को चोक,एउटा गल्ली वाट अर्को गल्ली अनि जिवनको एक मोडवाट अर्को मोड भौतारिएकी उ देख्दा मलाई लाग्थ्यो। उ स्थिर भइ भने उसलाई पिडा हुनेछ। त्यसैले उसले मलाई छोड्नु ,मान्छेको मृत्यु हुन्छ भने जत्तिकै तितो सत्य हो। मैले त्यसलाई आत्मसाथ गर्नै पर्छ।

"आकाश वाँधिदै छ।" मैले क्यारोनलाई सम्झेर लेखेको थिएँ। त्यसको तेश्रो संस्करण निक्लिँदा झल्यास्स सम्झेँ  "आखिर मेरो जीवन के हुँदै छ?" सुधा छिरेपछि थोरै अटसमटस भएको छु। नियाल्नेले नियाल्न नपाएर मात्रै हो नत्र सामान्य अवस्थामा त्यो सम्वन्धमा म हतारिएको भन्दिन्थे होला। विमोचन पश्चात पन्ना पन्ना की क्यारोनलाई फेरि पढेँ।त्यो दिन सुधा आई सँधै जस्तै उ किताव वोकेरै आएकी थीई ।

"फेरि अँध्यारो अन्त्य !"

"के को?" मैले अनभिग्यता जनाएँ।

"तिमीले क्यारोनलाई मात्र सहि देखायौ ! आफुलाई ढाँट्न सकिन्न !" उसले चुरोट सल्काई।

"होला उ नै सहि होला! म गलत नै होला !मैले त आफ्नो भाव राखेको हुँ।"

"कहिलेकाहिँ अरुलाई सहि देख्ने आँखा खोज्दा मान्छेले आफ्नो आँखा हराउँछ।"

"तिमीले कहिल्यै किताव लेखेकी छौ?"
"पढेको मात्रै" उ खितित्त हाँसी ।

छेवैको मैनवत्तिमा उ आफ्नो औँला आगोवाट आरपार गराउँदै थिइ।

"पोल्छ ! के गरेकी ?"

"पिडा भोगेको ! पिडा विनाको जीवन खल्लो हुन्छ भनेको हैन तिमीले?"

"त्यो त मैले कथामा लेखेको मात्र!"

"झुट, तिमी आफुलाई पिडा दिएर रमाउने मान्छे !"

म अकमक्क परेँ उसको औँलाको गतिले मैनवत्ति झ्याप्प निभ्यो। उ हुरी न हो !

छेवैको सलाईको काँटीले फेरि जलाई।

"मलाई स्वाद चाहियो जीवनमा !" उसले थोरै डढेको हातले मलाई सुम्सुम्याई। मैले उसको औँला हेरेँ ,निलो रंगको नेलपोलिश! क्यारोन कालो लाउँथी। जीवन यिनै रंग छुट्याउँदै जाँदै छ।

************ ************* **************** ************* *********** ***********

रातको निष्पट्टता मा जव सुधा मलाई चेपेर निदाउँथी। म उसको अतित खेलाउँथे। उसको वुवा, उसका गुरुवा अनि म , धेरै समानता छ। जव स्त्री पग्लिन्छे हामी समाजको साँचोमा पग्लिएकी उसलाई राखेर विभिन्न स्वरुप दिन्छौ। उ त मात्र पग्लिन जानेकी छे उसलाई मायालु,आमा,वुढी वा वेश्या त हामी वनाउँछौ। हो यो समाज पुरुषले निर्माण गरेको समाज हो। पहिलो चोटी सुधा यो समाजलाई चेताउँदै छे। प्रत्येक रात म एउटै निर्क्यौलमा पुग्छु। सुधा हुरी हो।

************** ************** ************* ************** ********** **********

उ मिर्मिरेमै उठेर हिँडी। उ हिँडेपछि मात्र म वाथरुम छिरेको थिएँ। विहानै उठेर नुहाइछ। आफ्ना केहि अंशहरु छोडिछ।मैले ह्यांगरमा उसले पुछेर छोडेको टावल सुम्सुम्याएँ। उसको सुगन्ध यत्र तत्र थियो। वाहिर निस्किएँ ।

एश ट्रेमा चुरोटका ठुटाहरु थिए। दुई चार दिन देखि थोरै सास वढेको छ। मैले घटाएको छु। सुधाको घटाउने कुनै लक्षण देख्दिन,कर पनि गर्दिन।

नजिकै गएर गनेँ, सात ,आठ नौ,दश.....। दश वटा रहेछन्।मलाई उसले चेपेका चुरोटका ठुटाहरु गन्न मन पर्छ । ति चुरोट उसका कलेटी ओठहरुमा दविएको कल्पना गर्छन्। ति ओठहरु जो एक दम कम शव्दहरु ओकल्छन्। उसको ओठ एउटा गहिरो समुन्द्र वाँध्ने वाँध जस्तो लाग्छ। जसले उसको मुटुको अन्धकारमा उसका पिडा लुकाउँछन्। उसका ओठहरु जव मलाई छुन्छन् ति रापीला ज्वालामुखी वन्छन्। उसका ओठहरु लावा ओकल्छन अनि मलाई पगाल्दै वगाउँदै लान्छन्। त्यो जावो चुरोट के सहन सक्थ्यो त्यो रापलाई, त्यसैले त ति ठूटा वन्छन्। ति ओठहरु शक्तिशाली छन्।

******************* **************** **************** ****************** *******

आजकल किन किन म एक्लै छैन जस्तो लाग्छ। उ नभएको वेलामा पनि म उ सित कुरा गर्छु। उसले आफ्नो परिधि कोरेकी छे । मेरो चार पर्खाल भित्र उसले वनाएको अर्को पर्खाल छ। एउटा अदृश्य पर्खाल। उ मेरो रोजाइले मेरो जीवनमा आएकी होइन। विस्तारै विस्तारै खोलाले किनारा अतिक्रमण गरे जस्तै उ मेरो जीवनमा अतिक्रमण गर्दै छे। म आफ्ना किनाराहरु नियाल्छू । टाढा टाढा उसलाई नै देख्छु। उ नभएको वेलामा पनि म उ सित कुरा गर्छु।आजकल किन किन म एक्लै छैन जस्तो लाग्छ।

************** *********** ************** *********** ************** *********

"लेखक आफ्नो आदर्शको खोल ओड्छ अनि भौतिकता मा रमाउछ। लेखक पाखण्डी हुन्छ। आफूले जन्माएका पात्रहरुलाई जवरजस्ति अराउँछ। नचाउँछ । कुनै मदारीले वाँदर नचाए जस्तो !"

आज सुधा उग्र देखिइ।

म चुपचाप सुनिरहेँ। म उसलाई कहिल्यै आफ्नो अनुसारले नचाउन सकिन।के म उसलाई पात्र वनाउन सक्दिन त ? शायद सक्दिन होला ! मेरा कुनै पात्रहरु उ जति उग्र छैनन्। सुधा हुरी हो!

************** ************** ************** ************** ******************

Read Full Discussion Thread for this article