Posted by: metta November 3, 2015
मोदीले चाहेको हिन्दु राष्ट्र
Login in to Rate this Post:     0       ?        
[सम्झाना] गहन बहसकर्ता, सटीक विश्लेषक संवैधानिक कानुनको ज्ञान र व्यक्तिगत एवं पेसागत जीवनमा ईमानका खानी गणेशराज शर्माजीका अरू पनि धेरै राजनीतिक विश्लेषण समयक्रममा अचूक साबित भएका छन् ।
प्रधानमन्त्री जवाहरलाल नेहरूको बेलादेखि नै निकै प्रतिभाशाली र क्षमतावान मानिने विपक्षी नेता अटलविहारी वाजपेयी प्रधानमन्त्री बन्ने चर्चा चलिरहँदा हिन्दुवादी दलको सरकार संसारको एक मात्र हिन्दु राष्ट्र नेपालका लागि पनि राम्रो हुने अड्कल गर्नेहरू पनि थिए । त्यस्तो अड्कलका बीच गणेशराजजीले भन्नुभयो, “भारतमा हिन्दु फ्यानाटिकको सरकार नेपालका लागि उदारवादी बेलायती प्रजातन्त्रको बढी प्रभाव परेको कांग्रेसको सरकारभन्दा खराब हुन सक्छ ।”

उहाँको त्यो विश्लेषणले हामी धेरैलाई उदेक तुल्याएको थियो । तर, झन्डै दुई दशकपछि आज उहाँको त्यो विश्लेषणको कटु यथार्थ त्यतिबेला उहाँलाई सुन्ने हामीले मात्र होइन, सारा नेपाल र संसारले देखिरहेको छ । संयोगवश, नेपालका ‘धर्मनिरपेक्षवादी, वामपन्थी, क्रान्तिकारी शक्ति’ले सुरु गरेको सशस्त्र संघर्षले पनि नेपालको आन्तरिक राजनीतिमा सबभन्दा धेरै प्रभाव राख्ने बाह्य शक्ति, भारतमा दक्षिणपन्थी हिन्दुवादी वाजपेयीले शासन सत्ताको बागडोर सम्हालेकै बेला ठूलो छलाङ मार्न पुगेको थियो । र, त्यतिबेला नेपाल–भारत दुवैले आतंककारी घोषित गरेको त्यो ‘शक्ति’, नेकपा माओवादी, को भारतमा पहिलो राजनीतिक सम्पर्क राष्ट्रिय सुरक्षा सल्लाहकार ब्रजेश मिश्र हुँदै प्रधानमन्त्री वाजपेयीसम्म पुगेको भारतीय लेखकहरूले नै सार्वजनिक गरेका छन् ।

पालो हामी त्यतिबेलाका अबुझहरूको थियो, जब ‘गरिबी, बेरोजगारी, सामन्ती शोषण, दमन र उत्पीडनबाट मुक्ति दिलाउन र राष्ट्रिय स्वाधीनताको रक्षा गर्न’ रोल्पा–रुकुमलगायत आधा दर्जन जिल्लाबाट लासको खेती र रगतको खोलो बग्ने शृंखला सुरु भयो । संयोगवश, त्यसको १० वर्षपछि ‘वामपन्थी क्रान्तिकारी’ हिंसाको यो शृंखलाको अन्त्य छिमेकी भारतमा दक्षिणपन्थी बीजेपीको वाजपेयी सरकार बाहिरिएको अर्को वर्ष भयो ।

कुरो ०४८/४९ सालतिरकै हो र भारतसँग गरिएको टनकपुर समझदारी/सन्धिको विवाद सडक, संसद्, अदालत हुँदै देशभरि चर्किंदै जाँदा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको एउटा अन्तर्वार्ता छापियो भारतीय दैनिक दी हिन्दूमा । चौतर्फी आलोचनाको तारो बन्नुभएका कोइरालाले अन्तर्वार्तामा आफ्ना विरोधी र विपक्षीलाई तह लगाउन संसद् विघटन गरी मध्यावधि चुनाव घोषणा गर्ने स्पष्ट चेतावनीयुक्त संकेत दिनुभएको थियो । र, यसरी नेपालमा खास चर्चा नभएको विषय विदेशी पत्रिकाको माध्यमबाट प्रधानमन्त्रीले सार्वजनिक गरे पनि धेरैको नजरमा परेन या उनीहरूले त्यसलाई गम्भीर रूपमा लिन जरुरी ठानेनन् ।

तर, कोइरालाका भनाइलाई निकै गम्भीरतापूर्वक लिएर ‘अन्डरलाइन’ गरेर राख्नुभएको थियो गणेशराजजीले । त्यो अन्तर्वार्ताको फोटोकपी एक प्रति दिँदै निकै चिन्तित भएर उहाँले भन्नुभएको कुरा अझै पनि झलझली सम्झना छ, “नेपाल अब लम्बे अस्थिरताको गहिरो दलदलमा फस्दैछ ।” उहाँको त्यो भनाइलाई आधार बनाएर अंग्रेजी साप्ताहिक स्पटलाइटमा ‘अपरेसन डिस्टेबलाइजेसन’ शीर्षकमा यो पंक्तिकारको विश्लेषण छापिएको थियो । संसद्मा सुविधाजनक बहुमत प्राप्त सरकारका प्रधानमन्त्री कोइरालाले पाँचवर्षे कार्यकालको संसद् तीन वर्ष बित्दा नबित्दै विघटन गरेपछिको अस्थिरताको दुश्चक्र सुरु भएयता धेरै सरकार फेरिए, धेरै प्रधानमन्त्री बदलिए । हुँदा हुँदा शासन व्यवस्थानै बदलियो, अढाई सय वर्ष पुरानो राजतन्त्र ढल्यो, गणतन्त्रको उदय भयो । तर, नेपाल झन्डै २० वर्षअघि नै संविधानविद् गणेशराजजीले चिन्ता जनाउनुभएको अस्थिरताको भुमरीबाट अझै उम्किन सकेको छैन । न त आफ्नो संविधान आफैँ बनाउने ‘जनताको ६५ वर्षदेखिको सपना’ पूरा भइसक्दा पनि उहाँले देख्नुभएको अस्थिरताको दुस्वप्न गलत हुने कुनै संकेत नै देखिएको छ ।

http://nepal.ekantipur.com/news/2015-11-01/20151101133252.html
Read Full Discussion Thread for this article