Posted by: metta October 8, 2015
मोदीले चाहेको हिन्दु राष्ट्र
Login in to Rate this Post:     0       ?        

राष्ट्रपति बोले, मोदी चुपचाप

(बीबीसी/एनडीटीभी), नयाँदिल्ली

आश्विन २१, २०७२- भारतको राजधानी नयाँदिल्लीसँग जोडिएको नोएडानजिक उत्तरप्रदेशको दादरीमा भएको मुसलमान समुदायका मोहम्मद अखलाकको हत्याबारे प्रधानमन्त्री नरेन्द्र मोदीले एक शब्द बोलेका छैनन्। उनको रहस्यमय मौनताकै बीच राष्ट्रपति प्रणव मुखर्जीले बुधबार सहिष्णुता प्रदर्शन गर्न भारतीय नागरिकहरूलाई आग्रह गरेका छन्। 

‘विविधता र सहिष्णुता भारतका महत्त्वपूर्ण मूल्य हुन् र यी मूल्यको अवमूल्यन सहय हुने छैन,’ राष्ट्रपति मुखर्जीले भने, ‘हामीले यसलाई कहिल्यै बिर्सिनु हुँदैन।’ धार्मिक सहिष्णुता भंग गरेको आरोपमा गत १८ सेप्टेम्बरमा बिसहडा गाउँमा एक उग्र भीडले ५० वर्षीय अखलाकको हत्या गरेको थियो। भीडको निर्घात कुटपिटबाट उनका छोरा दानिश पनि गम्भीर घाइते छन्। 

‘धेरै प्राचीन सभ्यताहरू पतन भएका छन्। आक्रामकताका बाबजुद पनि भारतीय सभ्यता जीवित छ। त्यसको मूल कारण सभ्यताको मूल्यलाई हामीले शिरमा राखेका छौं,’ राष्ट्रपति मुखर्जीले भने। 

अखलाकको हत्याविरुद्ध भारतभर आवाज उठेको थियो। वरिष्ठ पत्रकार र लेखकहरूले समेत घटनाको कडा आलोचना गरिरहेका छन् । आलोचकको सुचीमा राजनीतिज्ञहरू समेत छन् । प्रधानमन्त्री मोदीले भने घटनाको दसौं दिनमा पनि मौनता तोडेका छैनन्। केन्द्रीय मन्त्री महेश शर्मा र भारतीय जनता पार्टी (भाजपा) का केही सांसदले विवादास्पद भनाइ सार्वजनिक गरेका छन्। उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादव सरकारका मन्त्री आजम खानले त उक्त घटनालाई संयुक्त राष्ट्रसंघमा पुर्‍याइने सार्वजनिक अभिव्यक्ति नै दिए। गृहमन्त्री राजनाथ सिंहले उनीमाथि कडा कारबाही माग गरेका छन्। ‘केन्द्र होस् या राज्य सरकार, साम्प्रदायिक हिंसा फैलाउने प्रयास कसैले गर्छ या सोही प्रकारका अपराधमा संलग्न हुन्छ भने कडा कारबाही गरिनेछ,’ मन्त्री सिंहले भनेका छन्। 

बुधबारको आफ्नो १५ मिनेट लामो मन्तव्यमा राष्ट्रपति मुखर्जीले सांसद्देखि राष्ट्रपतिसम्मको आफ्नो लामो राजनीतिक यात्राको पृष्ठभूमि खोतले। र, अन्त्यमा सहनशीलता नै औचित्यपूर्ण हुने सम्झाए। उक्त घटनामा प्रधानमन्त्री मोदीको मौनतामाथि विपक्षी दलले प्रश्न उठाएका छन्। उत्तरप्रदेशमा सत्तामा रहेका भाजपा र समाजवादी पार्टीका नेताहरूमाथि समेत ध्रुवीकरणको आरोप लागेको छ। 

यसैबीच, भारतीय गृह मन्त्रालयले बुधबार प्रधानमन्त्री कार्यालयमा घटनासम्बन्धमा ‘ब्रिफिङ’ गरेको छ। देशव्यापी आलोचना भइरहँदा प्रधानमन्त्री कार्यालयको यो पहिलो संलग्नता हो। विपक्षी कंग्रेस आईले मौनता तोडेर घटनाको आलोचना गर्न प्रधानमन्त्री मोदीलाई पटक–पटक आग्रह गरिसकेको छ। तर, उनले सुनेको नसुन्यै गरिरहेका छन्। बरु अर्थमन्त्री अरुण जेटलीले यस्ता घटनाले भारतको बदनाम गराएको बताएका छन्, मोदीले एक शब्द खर्चेका छैनन्। 

लेखिका र कविले फिर्ता गरे सम्मान घटनाको आलोचनासम्म नगर्ने प्रधानमन्त्री मोदीको कार्यशैलीप्रति विरोध जनाउँदै लेखिका नयनतारा सेहेगल र कवि अशोक वाजपेयीले आफूलाई दिइएको साहित्य एकेडेमी सम्मान फिर्ता गरेका छन्। भारतको विविधतामाथि आक्रमण भएको उनीहरूको भनाइ छ। ‘प्रधानमन्त्रीले मौनता साधेका छन्। उनी वाक्पटु प्रधानमन्त्री हुन्, जसले लाखौं व्यक्तिलाई सम्बोधन गर्न सक्छन्,’ वाजपेयीले एनडीटीभीसँग भने, ‘तर, यहाँ लेखकहरूको हत्या भइरहेको छ, निर्दोष व्यक्तिहरू मारिइरहेका छन्। उनका मन्त्रीहरू आपत्तिजनक वक्तव्यवाजी गरिरहेका छन्। किन उनीहरूलाई मोदी चुप लगाउँदैनन्?’

लेखिका सेहेगल भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूकी भान्जी हुन्। ‘सरकार देशको सांस्कृतिक विविधताको रक्षा गर्नमा असफल भएको छ,’ उनले भनेकी छन्, ‘त्यही भएर मैले यो सम्मान फिर्ता गर्ने निर्णय लिएकी हुँ।’ उनलाई सन् १९८६ मा साहित्य एकेडेमी पुरस्कार दिइएको थियो। 

पछिल्ला दिनका केही हिंस्रक घटना उल्लेख गर्दै सेहेगलले ती सबैमा प्रधानमन्त्री मोदीको मौनतामाथि समेत प्रश्न उठाएकी छन्। ‘जो बुद्धिजीवी अन्धविश्वासमाथि प्रश्न उठाउँछन्, जो हिन्दुवादका खतरनाक र विकृत स्वरूपलाई हिन्दुत्व भन्छन्, त्यसलाई सीमान्तकृतमाथि लाद्न थालिएको छ। त्रसित बनाउने र हत्या गर्ने गरिएको छ,’ उनले भनेकी छन्, ‘मानिसका खानपानका आदत र उनीहरूका जीवनशैलीलाई आफ्नो हिसाबबाट प्रभावित गर्ने प्रयास भइरहेको छ।’

साहित्य एकेडेमीद्वारा सम्मानित प्रख्यात कन्नड लेखक एमएम कलबुर्गी, सामाजिक कार्यकर्ता नरेन्द्र दाबोलकर र गोविन्द पान्सरेको हत्या गरिएको उनले उल्लेख गरेकी छन्। उनका अनुसार अन्य सामाजिक कार्यकर्ता र विचारकहरूमाथि धम्की आइरहेको छ। ‘दादरी घटनासम्म आइपुग्दा न्यायको हार भएको छ,’ सेहेगलले लेखेकी छन्, ‘यो भयानक अवस्थामा प्रधानमन्त्री चुपचाप बस्छन्। 

यस्तो अवस्थामा हामीले मान्नैपर्छ कि यस्ता राक्षसी काम गर्नेहरू मोदीजीका विचारका समर्थक हुन्।’ हत्या गरिएका भारतीय नागरिक, त्यसको विरोध गर्ने बहादुरी प्रदर्शन गरिरहेकाहरू र आतंकको यस माहौलमा चिन्ता र भयपूर्वक बाँचिरहेकाहरूको समर्थनमा आफूले साहित्य एकेडेमी पुरस्कार फिर्ता गरेको उनले उल्लेख गरेकी छन्।

प्रकाशित: आश्विन २१, २०७२




http://kantipur.ekantipur.com/news/2015-10-08/20151008092645.html
Read Full Discussion Thread for this article