Posted by: metta August 27, 2015
हिन्दु राष्ट्र किन? दलित, महिला र अन्य धर्म लाई दबाउन
Login in to Rate this Post:     0       ?        
धर्म निरपेक्षता
हरिराम जोशी

हाम्रो सन्‍तान धर्मको एक अभिन्‍न अंग
नेपाल प्राचीनकालदेखि नै धर्म निरपेक्ष मुलुक रहँदै आएको छ। यहाँ सम्पूर्ण धर्म तथा सम्प्रदायको समान आदर रही सबैलाई आफ्नो उन्नति गर्ने समान अधिकार प्राप्त छ। यहाँ कुनै धर्मविशेष या सम्प्रदाय विशेषप्रति कुनै पक्षपात राज्यद्वारा गरिएको पाइँदैन। 

बरु राष्ट्राध्यक्ष भनौं या राज्य प्रमुखहरू आफू कुनै एक धर्मप्रति मात्र आबद्ध नभई विभिन्न धर्म एवं सम्प्रदायहरूको समुन्नतिमा लागिपरेका उदाहरण यहाँका अभिलेखहरूमा पाइन्छन्।

पाँचौं, छैटौं शताब्दी ई. का राजा मानदेव वैष्णव भनौं या शैव धर्मावलम्बी राजा हुँदाहुँदै पनि तिनले बौद्ध धर्मको उन्नतिमा पनि खास भूमिका खेलेको कुरा तिनका मान विहार एवं मानदेव विहार आदि बौद्ध विहारहरूको उल्लेखको प्राप्तिले उक्त कुराको पुष्टिमा सघाउ पुर्‍याएका छन्।
 
त्यस्तै राजा मानदेवका प्रपितामह राजा श्री वृषदेव बौद्ध धर्मावलम्बी भएको कुरा तिनलाई लिच्छवी राजा जयदेव द्वितीयको संवत् १५७ को पशुपतिको अभिलेखमा 'सुगत शासन पक्षपाती' भनी उल्लेख गरिएको पाइएबाट हुन्छ। यी आधारबाट तत्समय व्यक्तिगत रूपले जोसुकै व्यक्ति आआफ्ना धर्मका पक्षपाती देखिए पनि राज्यस्तरबाट कुनै एक धर्मलाई मात्र राज्यको धर्मको रूपमा मान्यता दिने गरेको देखिँदैन।
 
भारतमा पनि ईशापूर्व तृतीय शताब्दी ताकाका सम्राट् अशोक, जो एक कट्टर बौद्ध रहेको प्रतीत हुन्छ, न केवल बौद्ध धर्मको उन्नतिको लागि बल्कि अन्य धर्म एवं धर्मावलम्बीहरूको समुन्नतिमा पनि लागिपरेका कुरा तिनले स्थापना गरेका आभिलेखिक साक्ष्यहरूले पुष्टि गरेका छन्। 

यद्यपि सम्राट् अशोक बौद्ध धर्मका कट्टर अनुयायी रहे पनि तिनको राज्यलाई बौद्ध राज्यको रूपमा लिइनु उचित नभएको स्पष्टतः लाग्दछ। बौद्ध ग्रन्थ 'दिव्यावदान' अनुसार मन्त्रीहरूको विरोधको कारण मौर्य सम्राट् अशोकले कुक्कुटाराम विहारलाई आधा स्याउ मात्र दान दिनुुपरेको थियो। 
 
अशोकको राज्य बौद्ध मुलुकको रूपमा रहेको भए सम्राट् अशोक आफ्नो इच्छाविपरीत कुक्कुटाराम विहारलाई उक्त प्रकारले आधा स्याउ मात्र दान दिन विवश हुनुपर्ने थिएन। यी विभिन्न आधारबाट प्राचीनकालमा कुनै एक धर्मलाई मात्र राज्यस्तरबाट विशेष पहिचानसहितको मान्यता दिने गरेको छैन भन्दा अत्युक्ति नहोला। प्राचीनकालको अनन्तर मध्यकालमा पनि कुनै एक धर्मलाई मात्र राज्यस्तरबाट आफ्नो धर्मको रूपमा मान्यता दिने गरेको देखिँदैन। 
 
त्यस समयका राजाहरू कुनै एक धर्मको मात्र नभई विभिन्न धर्मको समुचित विकासमा खास अभिरुचिका साथ लागिपरेका थिए। तत्कालीन नेपाल इतिहासको अध्ययनबाट उक्त कुरोको यथार्थ प्रस्टिन्छ। बरु ती राजाहरू नेपालमा धर्मको विषयमा कुनै झैझगडा नहोस् भन्ना खातिर उत्तर-प्राचीनकालीन संवत् ४८७ को पशुपतिस्थित हरि-शंकरको पादपीठ लेखमा केशव-शंकरको अद्र्धशौरीश्वर मूर्ति प्रतिष्ठापन गरिएको कुरा उल्लेख भएअनुरूप नेपाल संवत् ७९२ मा नेपाल ललितपुरका प्रख्यात कर्णाटवंशी राजा श्रीनिवास मल्लले  श्री मत्स्येन्द्रनाथलाई विभिन्न धर्म यथा योगीहरूमध्ये मुख्य (कन्फत्तायोगी), शाक्त, बौद्धसित सम्बद्ध एउटै ब्रह्मस्वरूप देवता भनी सुवर्णपत्रमा उल्लेख गरी बुङमतीस्थित  श्री मत्स्येन्द्रनाथको मन्दिरमा प्रतिष्ठापन गराएका थिए। 'मत्स्येन्द्रं योगिनां मुख्याः शाक्ता शक्तिं बदन्तियम्। बौद्धा लोकेश्वरं तस्मै नमो ब्रह्मस्वरूपिणे ।।१।।'
 
वर्तमानकालमा पनि उपर्युक्त प्रकारले नै राज्यस्तरबाट कुनै एक धर्मलाई च्यापेर अन्य धर्महरूको उपेक्षा गर्ने गरेको थिएन। तर पछि २०१९ सालको संविधानमा तत्कालीन राजा महेन्द्रले नेपाललाई सर्वप्रथम हिन्दु राज्य भनी उल्लेख गरी एकातिर आफ्नो सस्तो लोकप्रियता प्राप्त गर्ने तथा अर्कोतिर भारतका अधिकांश हिन्दुहरूलाई आफूतिर आकर्षित गरी तत्कालीन भारतीय राजनीतिसित तक्कर लिने अठोत गरी नेपाललाई हिन्दु राष्ट्र भनी सर्वप्रथम घोषणा गरेका थिए। 
यसरी २०१९ सालमा नेपाल नरेश श्री ५ महेन्द्रले नेपाललाई हिन्दु राष्ट्र भनी घोषणा गरी विश्वमा आफूलाई एकमात्र हिन्दु सम्राट् भनी चिनाउने अठोट गरेका थिए।तर यहाँ के बिर्सनु छैन भने नेपालमा विभिन्न समय बौद्धहरूको सम्यक् महादान हुँदा ती शाह राजाहरू बौद्ध बोधिसत्वको रूपमा आसीन भई उक्त सम्यक् महादान समारोहमा सम्मिलित हुने गरेबाट तिनीहरू साँचो अर्थमा भन्ने हो भने हिन्दु राष्ट्रका हिन्दु राजा भन्नुको बदला बौद्ध राजा भनी कहलिनु उचित हुने देखिन्छ। जे होस्, नेपाललाई सर्वप्रथम हिन्दु राष्ट्र भनी घोषणा गर्ने राजा महेन्द्र हुन्, जसको कारण आज नेपालमा धार्मिक विद्वेषको नौलो परम्पराको प्रारम्भ भयो। 
नेपाललाई सर्वप्रथम हिन्हु राष्ट्र भनी घोषणा गर्ने राजा महेन्द्र हुन्, जसको कारण आज नेपालमा धार्मिक विद्वेषको नौलौ परा्‍मपराको प्रारम्‍भ भयो। उपर्युक्त यथार्थको राम्रो विवेचना गर्दा नेपालको लागि प्राचीनकालीनदेखि प्रचलित हुँदै आएको धर्म निरपेक्षता नै समीचीन भएजसतो लाग्छ। 
उपर्युक्त यथार्थको राम्रो विवेचना गर्दा नेपालको लागि प्राचीनकालदेखि प्रचलित हुँदै आएको धर्म निरपेक्षता नै समीचीन भएको लाग्छ। यथार्थतः धर्म निरपेक्षता नै समाजवादको आधारशिला हो। 'सेक्युलर'को लागि विद्वान्हरूले 'लौकिक' पर्याय दिएका छन्। यस दृष्टिले धर्म निरपेक्ष त्यसलाई भनिन्छ, जसमा समस्त धर्म तथा सम्प्रदायहरूको समान आदर र सबैलाई उन्नति गर्ने समान अधिकार प्राप्त हुने हुन्छ।
 
धर्म निरपेक्ष राज्यमा कुनै धर्मविशेषप्रति कुनै प्रकारको पक्षपात हुने हुँदैन। धर्म निरपेक्षता भन्नुको अर्थ धर्महीनता या धर्मको उपेक्षा होइन। भारतका राष्ट्रपिताको रूपमा मान्य महात्मा गान्धीले धर्म तथा राजनीतिलाई सर्वथा पृथक् राखेर भारतको धर्मनीति स्थिर गरे। 
 
पं जवाहरलाल नेहरूले सन् १९४५ मा घोषणा गरेका थिए कि आजाद हिन्दुस्तानको भावी सरकार धर्म निरपेक्ष हुनु पर्दछ। अर्थात् त्यो सरकार कुनै धर्मविशेषसित सम्बन्धित रहनुको साटो सबै धर्मका अनुयायीहरूप्रति समान सहिष्णुता कायम गर्दछ। 
 
पं नेहरूले त्यसलाई धार्मिक स्वतन्त्रता तथा आफ्नो अन्तरात्माअनुसार कार्य गर्नुको स्वतन्त्रता भनेको छ। भारतमा संविधानले कुनै धर्मविशेषलाई कुनै महत्व दिएको छैन। भारतीय संविधानमा धर्म निरपेक्ष सिद्धान्तको विस्तृत व्याख्या गरिएको छ र भारतलाई लोकतन्त्रमा आधारित यहाँका विभिन्न धर्मानुयायी निवासीहरूका धर्मलाई समान मान्यता एवं स्वतन्त्रता प्रदान गरिएको छ।
 
धर्म निरपेक्षताको आधार सहिष्णुतालाई मानेर जति पनि धर्म तथा धर्मानुयायीहरू यहाँ रहेका छन्, तिनीहरूप्रति सहनशीलता, उदारता र समान भावको व्यवहारको व्यवस्था गरिएको छ । अर्को, धर्म निरपेक्षतालाई नै राष्ट्रियता मानेर यसै राष्ट्रियताका आधारमा अन्तर्राष्ट्रिय सम्बन्धहरूको स्थापना भएको छ।

वास्तवमा राष्ट्रियताको स्थिरताले नै अन्तर्राष्ट्रियताको मार्गप्रशस्त गर्न सकिन्छ। धर्म निरपेक्षताको आशय धर्महीनता, धर्मप्रति उदासीनता अथवा अधार्मिकता होइन। यहाँको लोक जीवनका सामाजिक, राजनीतिक तथा शासकीय जति पनि क्रियाकलाप छन्, तिनीहरूबाट कुनै धर्मविशेषलाई सम्बन्धित नगर्नु नै धर्म निरपेक्षता हो। धर्म निरपेक्षताको आशय धर्मशास्त्रहरूको उपेक्षा गर्नु पनि होइन। त्यसको सम्बन्ध ईश्वरको विरोध गर्नु पनि होइन। 
 
उन्नाईसौं शताब्दी ईका प्रसिद्ध विद्वान् होलीओकले लेखेका छन्, ‘मानव भलाइको लागि मानव प्रयोगद्वारा, मानव बुद्धिद्वारा जुन कुरो सम्भव हुन्छन्, जसलाई यस जीवनमा गर्न सकिन्छ, जसको सम्बन्ध यस जीवनसित छ, त्यही नै लौकिकता भनौँ या धर्म निरपेक्षता हो।' व्यक्तिका विचार स्वातन्त्र तथा धर्मानुचरणको लागि प्रत्येक व्यक्ति स्वतन्त्र छ। सम्पूर्ण नागरिकलाई धार्मिक प्रचारको स्वतन्त्रता छ।
 
भारतीय संविधानको धारणाको व्याख्या गर्दै लोकसभाका अध्यक्ष श्री अनन्तशयनम् आयंगरले आफ्नो भाषणमा भनेका थिए-हामी वचनबद्ध छौं कि हाम्रो राज्य धर्म निरपेक्ष हुन्छ। धर्म निरपेक्ष शब्दबाट हाम्रो यो अभिप्राय अवश्य होइन कि हामी कुनै धर्ममा विश्वास गर्दनौं र हाम्रो दैनिक जीवनसित त्यसको कुनै सम्बन्ध छैन। यसको अर्थ केवल यो हो कि राज्य सरकार कुनै धर्मलाई अरूको तुलनामा न त सहायता दिन सक्तछ र न प्राथमिकता।
 
यसर्थ राज्य आफ्नो पूर्ण निरपेक्ष स्थिति राख्न विवश छ। उपर्युक्त विभिन्न आधारबाट यो निश्चितप्रायः लाग्दछ कि धर्म निरपेक्षता हाम्रो सनातन धर्मको एक अभिन्न अंग रहेको छ। साँचो भन्ने हो भने यो नै हाम्रो धर्मको मर्म पनि हो। यसमा माथि वर्णन गरिएअनुसार समस्त धर्म तथा सम्प्रदायहरूलाई समान आदर र सबैलाई आफ्नो उन्नति गर्ने समान अधिकार प्रदान गरिएको छ।
 
विश्वका प्राचीनतम ग्रन्थमध्येका वैदिक साहित्यको अवलोकनले पनि यसै यथार्थतिर स्पष्टतः इंगित गरेको छ। वेदमा वर्णित भएअनुसार सबैले परस्पर मित्रकै दृष्टिले हेर्नुपर्दछ। सबैले मलाई मित्रकै दृष्टिले हेरून् तथा म पनि सबैलाई मित्रकै दृष्टिले हेर्दछु।'मित्रस्य मा चक्षुषा सर्वाणि भूतानि समीक्षन्ताम्। मित्रस्याहं चक्षुषा सर्वाणि भूतानि समीक्षे। मित्रस्य चक्षुषा समीक्षामहे।।-यजुर्वेद ३६.१८
 
धर्म निरपेक्षताको आशय धर्महीनता, धर्मप्रति उदासीनता अथवा अधार्मिकता होइन। यहाँको लोक जीवनका सामाजिक, राजनीतिक तथा शासकीय जति पनि क्रियाकलाप छन्, तिनीहरूबाट कुनै धर्मविशेषलाई सम्बन्धित नगर्नु नै धर्म निरपेक्षता हो। धर्म निरपेक्षताको आशय धर्मशास्त्रहरूको उपेक्षा गर्नु पनि होइन।
http://annapurnapost.com/News.aspx/story/17946
Read Full Discussion Thread for this article