Posted by: fucheketo May 15, 2014
ध्वाँसे
Login in to Rate this Post:     2       ?         Liked by
थाने- होर भन्या ? म लेख्दै जान्छु ,लेख्दै गर्दा आफ्नै वनाइयो की क्या हो यो कथालाई पनि ;)
अन्य पढिदिनुहुने , लाइक गरिदिनुहुने सवैलाई धन्यवाद...

ध्वाँसे गाउँ फर्कियो- साहिँली मगर्नी
म तराई झरेको धेरै भइसकेछ। करिव करिव विस वर्ष अव त! औँलाले गन्न मिल्दैन अव! पहिला पहिला मलाई गन्ती गर्न गाह्रो हुँदा म औँलाले जोड घटाउ गर्थेँ। तर धेरै भएपछि त औँलाले पनि भ्याउँदैन।साहिँलो मगर गएकै करिव करिव तिन वर्ष पुग्न आट्यो। त्यति खेर छोरो पाँच वर्षको थियो। उ टिविले थलिँदा मैले धेरै हार गुहार गरेँ। तर ढिलो भइसकेको भन्थे सिलिगुडी पुर्याउँदा डक्टरले ! हुन त जाँड को सुरमा सुतिरहने उसको ज्यान त धेरै अघी मरेको हो, मात्र डाक्टरले मरेको भनेर पछि भने। मैले दोकानमा कमाएको धेरै पैसा त्यहि मुढो जस्तो लडिरहने वुढोमा सिध्याएँ। खोइ के हो के हो जीवन सँगै वसेपछि त्यस्ता मुढोको पनि माया लागेर आउने!आजकल वाहिरको स्वामीको रुख हेर्छु।चराहरु त्यसका दाना खान्छन् अनि तल भुईँभरी पहेँला दाना छरपस्ट हुन्छन्। मलाई वढार्न धेरै वेर लाग्छ। त्यो हाम्रै विहेको साल साहिँलो मगरले रोपेको! अहिले त झांगिएर वडेमानको भको छ। पछि मैले त्यसैको तल फलेक ओछ्याइदिएँ। गाउँका मान्छेलाई चिया खाएर गफिने राम्रो ठाउँ भको छ। चराहरुले माथीवाट छेर्दिँदा भने मान्छे माथी हेर्दै रिसाउँछन् । विचरा ती चरालाई के थाहा गाउँका मान्छेको गफ गर्ने वाहेक अरु काम छैन भनेर !
 
ध्वाँसेले गाउँ छोडेपछि आर्मी ध्वाँसेलाई खोज्दै मेरो दोकान पनि आयो। साहिँलो मगरलाई जाँड खाएर सुतिरहेको देखेर लात्तले उसको कोखमा पनि वजारे। मलाई पनि भन्नु नभन्नु भने। आइमाइको चरित्रमा किन सँधै प्रश्न उठ्छ गाली गर्ने वेलामा ? ध्वाँसे र मेरो सम्वन्ध त नितान्त हाम्रो व्यक्तिगत सम्वन्ध हो तर पनि उनीहरुले गाली गर्न भ्याएँ! म वजारमा आफ्नो शरिर वेच्न वसेकी वेश्या सम्म भने अनी ध्वाँसेले खेल्ने गरेको क्यारेम पनि लात्तले दिएर भत्काइदिए। त्यसपछि मैले क्यारेम राख्न छोड्दिएँ। उनीहरु सँग वन्दुक थियो, शक्ती थियो। म सँग त सतित्व पनि थिएन, ध्वाँसेले ध्वाँसो दलदिएको मेरो कालो चरित्र, अझै पनि म यो सम्वन्ध सहि गलत छुट्याउन सक्दिन! समाजले वनाएका नियमहरु शरिरको आवश्यकता भन्दा वढी त पक्कै हुँदैनन् होला! हामीलाई भोक लाग्दा भात नखा भनेर त समाजले भन्दैन , आखिर त्यो पनि त शरिरकै आवश्यकता हो नि !!! आर्मी आएपछि देखी भने स्कुलका केटाहरु आउन कम गरेका छन् । आज पनि सेतो शर्ट निलो पेन्ट लाउने केटाहरुमा म ध्वाँसेलाई देख्छु। मोरो कति वलियो, कति तातो!
 
हुन त उसले छोडेको समयमा म पनि त पोटिली थिएँ होला। आजकल अनुहार ऐनामा नियाल्छु। चित्तै वुझ्दैन। अनुहार भरी रेखै रेखा। कुनै वच्चाले लेख्न नजानेको वेला कोरेको कापी जस्तो भएको छ मेरो अनुहार। कपाल पनि जर्खरिँदै छ, नुहाएको वेला एक मुठ्ठी कपाल झर्छ,आधा कालो अनि आधा सेतो!अनि अझ तल गएर हेर्छु, मेरो छाती,मेरो स्तन!!!! ध्वाँसेलाई सम्झिन्छु , मोरोको मननै त्यहिँ वस्थ्यो । मोरो खेलाएरै वसिरहन्थ्यो सँधै ! कहिलेकाहिँ त दिक्क लागेर सोध्थेँ
"हैन तँ मेरो छोरो होस्? जतिखेर पनि मेरो दुध नै खेलाएर वसिरहन्छस् !"
 
उ खिस्स हाँसीदिन्थ्यो।
तर विस्तारै झोलिँदै गएको छ। वुढेसकालले छोपेको सम्झिन्छु। चित्त वुझाउँछु। तर अहिले सम्म छुट्याउन सक्दिन त्यो मोरो ध्वाँसेको मलाई साहिँला मगरको भन्दा धेरै सम्झना किन आउँछ?
************** ******************* ******************** ***************** *******
आज ध्वाँसे गाउँ फर्केछ। सुनेकी थिएँ। साँझको वेला टुप्लुक्कै आइ पनि पुग्यो। हेरिराखेँ उसलाई वल्ल अलि गम्भिर जस्तो देखिएछ। हुन त तिस पुग्न पनि आँट्यो होला!
"के छ भाउजु खवर ?" स्वामीको वोट मुन्तिरको फलेकमा वस्दै सोध्यो उसले
 
"चिया खान्छस् ?" मैले उसको के छ को उत्तर दिन जरुरी ठानिन।के उत्तर दिउँ उसलाई "मेरो खवर खावर तैँले आफू सँगै लगिस् भनी पो दिउँ की !"
उसले खान्छु भन्दै टाउको हल्लाइदियो। म चिया पकाउन भित्र छिरेँ। दिउरेमा पानी राखेर ग्याँसमा वसाएँ । पहिला पहिला दाउरा झोस्नुपर्थ्यो। आजकल चिया पनि सजिलो भएको छ।
 
"एउटा मधुको प्याकेट देउ न!" उसले पैसा निकाल्दै भनेको थियो!
"तेरो पैसा राख तैँ सँग !" म रिसाए जस्तो गरेँ। उसले पैसालाई गोजीमै घुसार्यो फेरि!
"छोरो खोइ त ?"
 
"भित्र पढ्दै छ !" " विनोद एक छिन वाहिर आइज त !" उसले भेट्न मन गरेजस्तो लाग्यो मलाई। उसले हातमा वोकेको प्लाष्टिक छोरोको हातमा राखिदियो।छोरोले पहेँलो रंगको शर्ट निकाल्यो त्यहाँवाट , अनि हाफ पाइन्ट। निकालीसकेपछि पुलुक्क म तिर हेर्यो।
"राख राख, नेता अंकल ले दिएको !"
"के नेता भन्छौ हौ भाउजु ?" उसले गुनासो गर्यो।
"तँ त ठूलै नेता अरे भन्ने हल्ला छ गाउँमा !" मैले गाउँमा सुनेको कुरा भनेँ।
मैले भित्रको चिया सम्झेर कुद्दै भित्र छिरेँ। उसले मेरो उत्तर दिन पाएन।
" ला !" स्टिलको ग्लासमा भरी चिया ! दुध अड्कल नगरी पकाएछु। आजकल केहिमा ध्यान रहन्न मेरो। यो भरी चियाले सँधै ओठ पोल्ने डर हुन्छ।
"कति दिन वस्छस् ?" उसको योजना जान्न चाहेँ मैले!
"त्यत्तिकै आएँ भाउजु यसपाला गाउँ घुम्ने रहरले !"
मलाई थाहा छ, यो शान्तीको विहेको खटपटीले आएको हो गाउँमा ! मोरो एक चोटी त एक जनाको घाँटी रेटिसकेको छ। अव फेरि शान्तीको हुनेवाला वुढोलाई केहि गर्ला भन्ने पिर !
 
"शान्तीको विहेको निम्तो पाइस् कि के हो ?" मैले उसको अनुहार नियाल्दै प्रश्न गरेँ।
उसको अनुहार अमिलियो। चुक जस्तै कालो भयो।
"छोड्दे अरु राम्रा केटी पाइ हाल्छस् नी !"
"भाउजु , त्यसले एक चोटी पनि नाइँ भनिन , विहाको लागि ?"
किन किन उसको प्रश्नले मलाई पोल्यो। शान्ती खुशी थिई, विहाको कुरा सुनेर भन्ने सुनेकी थिएँ मैले ! दुवै सँगै क्याम्पस पढेका रे! केटा इन्जिनियर रे! ध्वाँसेलाई सम्झिन नै होला पक्कै !!!
 
"किन मन अमिलो पार्छस् !"मैले यति मात्रै भन्न सकेँ।
"साँची भाउजु ? त्यो मास्टरकी वुढी काँ छे अहिले ?"
उसले किन त्यो प्रश्न सोध्यो मैले वुझिन ! मैले सम्झिएँ मास्टर मरेको भोलिपल्ट नै ध्वाँसे गाउँवाट हराएको थियो। उसकी वुढी रोएको मलाई झलझली याद छ। गाउँमा हल्ला थियो, त्यो टोलीको टोलीनेता ध्वाँसे नै थियो भनेर !
"किन ?" मैले अनायसै प्रश्न राखेँ।
 
"त्यत्तिकै !" उसले मलाई पछुतो लाग्छ भन्ने हिम्मत पनि गर्न सकेन ।
"खोइ शहर गई भन्थे सवै !" मैले आँगनकै माटो खेलाउँदै जवाफ फर्काएँ।त्यो भएको एक हफ्तामा नै उसको एक जना दाजु पर्नेले उसलाई शहर लिएर गएका थिए। विहेको चार महिनामा नै झाडा पखालाले उसको परिवार सोत्तर पारेको भन्ने हल्ला थियो। माइति मरेको सम्म त चित्त वुझाकी थिई। वुढो पनि त्यसै अकाल मर्यो। वच्चा जन्मिने वेला थियो। मान्छेलाई दुख आएपछि लाम लागेर आउँछ।
 
"अनि दाजु विरामी हुँदाको रिन सवै तिरिसक्यौ त ?"ध्वाँसेले कुरा फेर्यो। मास्टरनीले उसलाई पोले जस्तो गरेर!
उसले रिन तिर्नलाई सहयोग भनेर काठमाण्डौ वाट नै थोरै पैसा पठाइदिएको थियो।त्यसैले मैले रिन तिरेकी थिएँ।अन्तिम चोटी छापा मार्दा ध्वाँसेको चिठ्ठी पनि भेट्टाए पुलिसले । मलाई तिन दिन थुनेर राखे । तर मेरो भाग्य त्यति नै वेला आन्दोलन टुंगियो। ध्वाँसे हरुले जिते , राजाले सत्ता छोडे। मलाई पनि छोडिदिए पुलिसले! तर त्यसले पछि सम्म गाउँमा कुरा काट्ने वाटो वन्यो, ध्वाँसे र मेरो सम्वन्धको वारेमा।वुढो मरिसकेपछि अर्को तिर लागि भनेर। त्यो वुढो त धेरै अघि मरिसकेको थियो मेरो! कसैले वुझेन त्यो कुरालाई भने। समाज मात्र दोष देखाउन जान्दछ।
 
"अव तेरो तिर्न वाँकी छ !" मैले आँगनमा आफ्ना औँलाले कोर्दै जवाफ फर्काएँ।
"छोड्देउ आ! कस्को लागि जम्मा गर्नु र धन पनि !"
 
"आमा हेर त कस्तो देखियो ?" छोरो ध्वाँसेले ल्याइदिएको हाफ पेन्ट र शर्ट लाएर वाहिर निस्कियो।
"राम्रो !" मैले उसलाई हेर्दै जवाफ फर्काएँ । मोरो हाँस्दा ठ्याक्कै ध्वाँसे जस्तै देखिन्छ।

Read Full Discussion Thread for this article