Posted by: fucheketo February 1, 2014
वाँच्न वाँकी एउटा जीवन
Login in to Rate this Post:     1       ?         Liked by

उसलाई हेर्न हस्पिटलमा खासै मान्छेहरु आउँदैनन्। उसको मिजासिलो व्यवहारले मलाई अचम्म लागेर आउँछ "किन आउँदैनन् ?"। उ त्यहि हस्पिटलकै एक जना नर्सलाई देखाएर भन्छ "उ मेरो भान्जी पर्छे ।" शायद त्यहि भान्जीकै जिम्मा छोडेका छन् उसलाई ।सम्वन्धहरु अचम्मका हुन्छन् कहिलेकाहिँ नसोचेको सम्वन्ध हात लाग्छ लामो समयको लागि, कहिलेकाहिँ मानी आएका सम्वन्धहरुले पनि अँध्यारोमा छायाँले साथ छोडे जस्तै छोड्छन्। तर त्यति एकान्तमा पनि उ एक्लो देखिन्न। उसले आफु भित्रै रमाउन सिकेको छ। म किन सक्दिन उ जस्तो गर्न? रमाउनलाई अरुको सहायता चाहिनु जस्तो विवशता केहि हुन्न। उसले एक्लै हुन सिकेको छ, जानेको छ।जीवनमा उ जतिको विद्दान कोहि छैन।

हिजो मात्रै को कुरा उसको स्वास्थ्य थोरै वढी विग्रियो। म अत्तालिएँ, यता उता हेरेँ न रुने मान्छे, न रोएका सम्हाल्ने मान्छे। कस्तो एक्लो जीवन ,कस्तो निराश जीवन । फेरि अर्को मनले सोच्यो। उसले मलाई अत्तालिने वनायो। जो करिव एक हफ्ता अघि आँफै मर्नलाई तैयार थिई, दुइ दिन अघी सम्म उसलाई चिन्दिनथी( हुन त म अहिले पनि उसलाई खासै चिन्दिन, मात्र आफ्नो कथाका केहि अंश उसलाई सुनाएको मात्र न हुँ )। उसकी भान्जी आई, अनि यन्त्रवत रुपमा आफ्नो काम गरी, उ मुढो जस्तो वनेर पल्टिरह्यो।

" मलाई केहि प्रोव्लेम आयो भने वोलाउनु है, मेरो नाम श्रुती हो !" उसले मलाई अनुरोध नै गरेको हुनुपर्छ । तर रुखो अनुरोध। कति जनालाई पो रसिलो अनुरोध गरोस्। सवै उत्तिनै विरामी, अनि प्रत्येक विरामीले उसको नम्रता निचोर्दा निचोर्दा रुखिएकी होला।

आज उ थोरै ठिक भयो। म उसलाई हेरीरहेँ। मलाई जीवन वुझ्न गाह्रो भएको छ उसले गर्दा ।

"कथा नसुनाउने ?" उसले गाह्रो स्वरमा मलाई सोध्यो। मैले थोरै पर्दा उघारेर वाहिर हेरेँ। घाम मध्य भागमा आइपुगेको थियो। करिव एक वजेको होला। उसलाई दुई वोतल स्लाइन चढाएको थाहा छ मलाई विहान देखी।तिनै स्लाइनको असर हुनुपर्छ उ वोल्न सक्ने भएको।

"सुनाउने , किन नसुनाउने ?" मैले खिस्स हाँस्दै जवाफ फर्काएँ।

"सुनाउन त तिम्रो मनिषको वारेमा !"

उसले मनिषको नाम विर्सिएको थिएन।

"मनिष कसरी मेरो भयो र?" मैले हाँस्दै जवाफ फर्काएँ।

"किन भएन र ?"

मैले ओठ लेप्र्याउँदै अहँ भनेर टाउको हल्लाएँ।

मनिषले चुरोट खान सानै देखी सिकेको थियो। तर मलाई उ वाट उडेको धुवाँ मन पर्थ्यो। मनिष चुरोट खाँदा गम्भिर हुन्थ्यो। मानौँ मनिष नै कण कण वनेर छरिएर उडिरहेको छ। उसलाई वटुलेर जम्मा गरेर सवै मनिषहरुलाई आँफै सित राख्न पाए ! म मन मनै सोच्थेँ।

"तिमी मलाई चुरोट खान सिकाउँछौ ?" एक दिन मैले अनायसै मनिष सँग प्रश्न राखेँ।

"नखाउ, चुरोट राम्रो चिज हैन, लत लाग्छ ,छुट्दैन !" उसले मलाई सल्लाह दियो।

"तिम्रो लत लागेको राम्रो हो कि होइन ?" मैले उसको आँखामा आँखा जुधाउँदै प्रश्न राखेँ। मनिष चुप भयो।उसलाई उत्तर दिन गाह्रो भए जस्तो। कस्तो लजाउने केटा , मलाई मन मनै रिस उठ्यो।

"भन न !तिम्रो लत लागेको राम्रो हो कि होइन ?" मैले फेरि प्रश्न दोहोर्याएँ।तर यसपाली उसको नजिकै आएर। उसको हात छोएर।उसको धडकनको आवाज सुन्ने गरी। उसको हातमा आएको पसिना मैले महसुस गरेको थिएँ मैले त्यतिवेला!उसले विस्तारै आफ्नो हात हटायो अनि थोरै टाढा भयो म वाट !

"किन ,तिमीलाई मैले छोएको मन पर्दैन ?"

"मन पर्छ तर....................."

" तर????" मलाई आश्चर्य लागेर आयो। रिस उठेर आयो, उ लजाएको देखेर ! मलाई थाहा छ उ मलाई मन पराउँछ।चिच्याउन मन लाग्यो "आइ एम नट ए भर्जिन भनेर !!"

उसले मेरो आँखामा हेरिरह्यो। "तर" पछाडी उसले उत्तर दिन सकेन , म प्रश्न थप्दैँ गएँ उ लाचार हुँदै गयो। अन्त्यमा मेरो प्रश्नको चांग मा उ थाकेर सुस्तायो , अनि एउटा चुरोट म तिर तेर्स्यायो।

"तिमी असाध्यै जिद्दी छ्यौ !"

"जिद्दी भएको भए त मनिष म सँग नै हुने थिएन र !"

"मैले मानेको छु उ तिम्रो जिद्दी लायक थिएन!"

म खिस्स हाँसे।

एक दिन मनिष मेरो नजिकै आएर भनेको थियो

" घरका सवैले गाली गरे , त्यो केटी ठिक छैन, त्यसको संगत नगर भनेर !"

धेरै वेर सोचेर वोल्यो यसपाली उ

"हो मायाले दुख दिन्छ र जीवनले पनि, तर दुख नै त प्यारो हुन्छ सवैलाई"

 

क्रमश:

Read Full Discussion Thread for this article