Posted by: Rudramati June 21, 2013
शिवानीसिंह थारुको पहिलो प्रेमकथा- हरियो घर
Login in to Rate this Post:     0       ?        

‘आशिष थापा,’ प्रितीले नाम पनि भन्दिहाली । हामीलाई कुत्कुत्याउँदै ब्यागबाट चिठी निकाली मस्कीमस्की । चिठीले ब्यागबाट हल्का चिहाएको मात्र के थियो, सबैजना झम्टाझम्टी गर्न थालिहाले । बिहा गर्ने बेहुलाबेहुली भन्दा जन्ती रौसेजस्तो । मनमनै कम्ता रिस उठेको थिएन । चाचार जनाको चालीसवटा औंलाको छाप परेपछि बबुरो चिठी बल्ल मेरो हातमा आइपुग्यो । चिठी पढी सक्काएर एकछिन त म अलिनो मुस्कानमै सीमित भएँ । मनमनै छया भन्दै बसिरहेँ । तीलजत्रो कुरा पनि केरेर हेर्ने भएकाले फरक पर्‍यो सायद मलाई । किनभने केटोले लेटर प्याडमा चिठी नलेखेर कापीको पानामा लेखेको थियो । त्यो पनि व्याकरण नमिलेको अंग्रेजीमा । त्यसमाथि अक्षर पनि ‘हेन-राइटिङ’ जस्तो । उसले आफूलाई राम्ररी व्यक्त पनि गरेको थिएन वा गर्न सकेन । फेरि आशिष मभन्दा दुई वर्ष कान्छो र कक्षामा पनि एक वर्ष स्यानो भनेर थाहा पाउँदा मलाई त झनै छयाऽऽ भन्ने भयो । प्रेम प्रस्ताव स्विकार्ने कुनै आधार थिएन ।

मैले प्रस्ताव अस्वीकार गरिदिएँ । प्रितीले मलाई फकाउन थाली । भनीः आशिषले मलाई आˆनो कोठाबाट सधैं हेरिराख्छ रे । म रोटे पिङमा घुमीघुमी पढिरहँदा ऊ खाना खान पनि तल झर्दैन रे । शनिबार नुहाएर मैले कपाल छोड्दा त्यतिबेला ऊ मलाई हेर्‍याहेर्‍यै हुन्छ अरे । उसको कुरा सुनेर साँच्चिकै केटोले मेरो हरेक कुरालाई पछयाउँदो रहेछ भन्ने मनमा लाग्न थाल्यो । तर मभन्दा मेरा साथीहरु पो रोमान्टिक हुन थाले । साथीहरुले प्रस्ताव स्विकार्न दबाब दिए ।

मैले अनुहार नहेरी त कहाँ हुन्छ भनेँ । साथीहरुले सम्झाए, यस्तो माया गर्ने केटा कति नै हुन्छ र ! भन्नै पर्दा केटाको मायासँग उनीहरुको केही लेनादेना थिएन । वास्तवमा मेरा साथीहरुका लागि त्यो पनि एउटा ‘रमाइलो’ थियो, जसले छात्रावासको पटयारलाग्दो जीवनलाई केही चटपटे बनाउँथ्यो । त्यसैले मेरो नाइँनास्ती कस्ले सुन्ने । साथीहरुले ‘हुन्छ’को स्टयाम्प लगाइदिए । रहृयो कुरा, केटोको नाकनक्सा हेर्ने । त्यो तय भयो अर्को दिनका लागि । हाम्रो खाजा खाने बेला केटो छतमा आउने र म पनि त्यही समयमा रोटे पिङमा केही खोज्न गएजस्तो गरेर उसलाई हेर्ने । पि्रतीले यही सन्देश लिएर गई ।

र, अर्को दिनको ‘काउन्टडाउन’ सुरू भयो । रातभरि मेरो मनमा उथलपुथल चलिरहृयो । केटोले मलाई छतबाट हेरिराख्दा म कस्तो देखिएकी थिएँ होला ? मजस्ती कालीलाई किन मन पराएको होला ? केटोको अनुहार कस्तो होला ? उर्लंदो बैंसको तोडै भनुम् क्यारे, यसरी सोच्दा मन गार्डन-गार्डन भएर आउँथ्यो । तर अर्को मन भन्न थाल्थ्यो- घरकाले थाहा पाए भने के भन्लान् सोच्दिनँ भन्यो, तर फेरिफेरि मनमा हल्ला सुरू भइहाल्थ्यो । बल्लतल्ल निद्राले भेटे पनि त्यसरात सपना देखिएन ।

भोलिपल्ट स्कुल जानुभन्दा अगाडि साथीहरुले मेरो अव्यवस्थित आवरणलाई चिरिच्याट्ट बनाउन कम्मर कसे । मैले केटो बाटोमा भेट्ने भए पो सिँगारिने, होस्टेलपछाडि नै हेराहेर कार्यक्रमका लागि पनि किन तामझाम गर्ने भन्दा पनि उनीहरुले मानेनन् । साँच्चि भन्नुपर्दा मेरो आवरण अनाकर्षक नै थियो । कम्मरसम्मको लामो कपाललाई तेल हालेर च्यापुल्ले बनाएर राख्थेँ । केटीहरु फेसनेबल हुन स्कुलको जामा घुँडासम्म बनाउँथे । तर मेरो जामा भने घुँडाभन्दा पनि तल झर्ने गथ्र्यो । त्यसमाथि मेरो कमिजमा इस्त्री कहिले पनि हुँदैनथ्यो ।

म बरू जरिवाना तिरिराख्थेँ समयसमयमा, तर इस्त्री लाउन भनेपछि मेरो ज्यान नै खुम्चिने गथ्र्यो । किन हो मेरो मोजा प्रायजसो हराइरहन्थ्यो । आजित भएर मैले बेजोडी मोजा लगाएर काम चलाउथेँ । जुत्ता पालिस गरिएको हुँदैनथ्यो । अझ स्कुल जाँदा बाटोका ढुंगाहरुलाई किक मार्दै हिँड्ने बानीले जुत्ताको अघिल्लो भाग फुस्रो भइसकेको हुन्थ्यो । मेरा साथीहरु मलाई ‘लेडिलाइक’ बनाउन कस्सिए । मेरो दुईसरो लामो कपाललाई काटेर अगाडि निधारमा लर्काए, हिन्दी फिल्ममा चलेकी माधुरी शिवानीसिंह थारु । दीक्षितको स्टाइलमा । चेरी ब्लुसम बुटपालिसले जुत्ताको सेतो फुस्रोलाई डेन्टिङ-पेन्टिङ गरिदिए । नम्बर ‘टु’ले सिलाइबुनाइमा अब्बल एकजना साथीलाई गुहारेर मेरो लामो जामालाई कलमा सिलाएर घुँडासम्मको बनाइदिई । नम्बर ‘सेभेन्टिन’ले कमिजमा इस्त्री लगाइदिई । हामीमध्ये की सबभन्दा धनीमानी साथी नम्बर ‘एट’ले त झन् आफ्नो नयाँ मोजा नै मलाई अर्पण गरिदिई । मैजस्ती बिन्दास नम्बर ‘सेभेन्टी फोर’ भने खाली हाँसेर बसिरही ।

मैले स्थितिको गम्भीरतालाई गमेँ र लौ त भनिदिएँ । मलाई आफ्ना लागि भन्दा पनि मेरा साथीहरुका लागि लभ गरिदिएजस्तो लाग्न थाल्यो । त्यस दिन स्कुल त गइयो । तर पूरै अर्कै चालढाल र रंगरोगनमा । स्कुल जाने लाइनमा हिँड्दा ढुंगाको फुटबल नखेली हिँडिरहेँ । लाग्यो, केटोले मलाई कतैबाट नियालिरहेको छ । बेसरी तन्काएर काटेको कपाल निधारमा छोटो हुन गएछ । माधुरी दीक्षितको जस्तो लर्कनुपर्ने जुल्फी, कुखुराको चल्लाको कपालझैँ फुरुर्र भयो । निधारमा फुर्फुराउने कपालले घरीघरी झर्को पनि लगाउँथ्यो । तर राम्रो देखिनुपर्ने बाध्यता थियो । म प्रत्येक कक्षापछि शौचालय जान्थेँ र जुल्फीलाई पानीले भिजाएर आउँथेँ ।

नम्बर ‘एट’ र म एउटै कक्षामा थियौं । ऊ घरीघरी पल्लो कुर्सीबाट मतिर आँखा पसार्थी । र, देख्थी मलाई कताकता हराइराखेको । साढे चार बज्ने पर्खाइमा मैले आठवटा कक्षा दिवास्वप्न हेरेर नै बिताएँ । स्कुल साढे तीन बजे छुट्टी भयो । हामी चार बजे छात्रावास पुग्यौं । साथीहरुको आग्रहमा मैले सेतो कुर्ता-सुरूवाल लगाएँ र साढे चार बजे रोटे पिङनिर पुगेँ । साथीहरु अपरेसन ‘आँखा-चार’लाई सफल बनाउन सेन्ट्रीमा तैनाथ भए । उनीहरुले मेट्रन, आया दिदी र अरु सिनियर दिदीहरुलाई निगरानी गर्न थाले ।

छतमा मैले आशिषलाई देखेँ । मेरो मस्तिष्क शून्य भयो । आशिष अग्लो थियो, केवल अग्लो । त्योबाहेक मैले सन्तोष गर्ने कुनै ठाउँ थिएन । चिम्सा  आँखा, डाँडी नभएको नाक, कपाल ठाड्ठाडो, साउँलो वर्ण, दुब्लो-पातलो शरिर । त्यतिबेलासम्म मैले चाहेको केटाबारे मात्र कल्पना गरेकी थिएँ । जब आशिषलाई देखेँ, मैले नचाहेको केटाबारे पनि थाहा पाएँ ।

Read Full Discussion Thread for this article