Posted by: Rudramati June 21, 2013
शिवानीसिंह थारुको पहिलो प्रेमकथा- हरियो घर
Login in to Rate this Post:     2       ?         Liked by

Source:www.onlinekhabar.com/2013/06/77218/
शिवानीसिंह थारु

सन् १९९३ को कुरा । म कक्षा ९ मा पढ्थेँ र धोबीघाटस्थित छात्रावासमा बस्थेँ । छात्रावासमा एउटै क्लासमा पढ्ने पाँचजनाको समूह थियो हाम्रो । नाम हामीले आफैं जुराएका थियौं- ‘द फेमस फाइभ’ । बेलायती बालसाहित्यकी लेखक एनिड ब्लाइटनको रोमाञ्चक उपन्यासको सिरिज द फेमस फाइभबाट प्रभावित भएर हामीले आफैंलाई ‘फेमस फाइभ’ भनेर घोषणा गरेका थियौं ।

छात्रावासमा बाहिरको खानेकुरा ल्याउन वर्जित थियो । र, हाम्रो वीरांगनाको कथा यही सीमा तोडेर सुरू हुन्थ्यो । बाहिरी खानेकुरा भित्र स्मग्लिङ गर्नेदेखि, टेस्टमा कम नम्बर ल्याउँदा टेस्ट पेपरमा होस्टेल मेट्रनको नक्कली हस्ताक्षर गर्नेसम्मको बदमासी छाडेका थिएनौं हामीले । तर त्यसलाई हामीले ‘एडभेन्चर’को रुपमा लिन्थ्यौं, ‘द फेमस फाइभँको सिको गर्ने धूनमा । एसेम्ब्ली लाइन अगाडि हाम्रो नम्बर जहिले पनि काढिन्थ्यो पिटाइ खान । ‘टु, एट, सेभेन्टिन, ट्वेन्टी एट एन्ड सेभेन्टी फोर, याँ आइजो तिमोरु,’ दार्जीलिङे लवजमा होस्टेल मेट्रन जहिल्यै कुर्लिन्थिन् ।

First-love-shivaniहामीलाई कहिले वाइवाई पैठारी गरेकामा त कहिले मेट्रनको भान्सामा चिकेन करी सफाचट गरेकामा सजाय हुन्थ्यो । कहिले त हामीलाई पर्खालबाहिर लिटिल एन्जल्सका केटालाई हेरेको अभियोग पनि लाग्थ्यो । बदमासी गर्दागर्दा हाम्रो छवि यस्तो बन्यो कि नगरेको बदमासीको मार पनि सहिन्थ्यो । क्लासमा एकजना साथी थिई, प्रिती थापा । छात्रावासमा सँगै नबसे पनि ऊ हामीकहाँ टयुसन पढ्न आउँथी । उसको घर हाम्रो छात्रावास नजिकै थियो । हामी उसलाई पैसा दिन्थ्यौं र उसैले हामीलाई पसलबाट खानेकुरा ल्याइदिन्थी । कहिलेकाहीँ छुट्टी पर्दा उसले चाउचाउ र चक्लेट हाम्रो छात्रावासको पछिल्तिरको होचो पर्खालमा राखेर जान्थी । हामी कोही नभएको बेला सुटुक्क लिएर आउँथ्यौं । यस्तै खुफिया आदानप्रदानको मेसोमा एक दिन उसले ‘लभलेटर’ पनि लिएर आई मेरा लागि ।

छात्रावास पछिल्तिरको चौरमा बनाइएको थियो मंकी क्लाइम्ब र रोटे पिङ । त्यही चौरको होचो पर्खाल पछाडि थियो स्यानो गल्ली र गल्लीसँगै बन्दै थियो एउटा घर । खासै दुरी नभएकाले बन्दै गरेको घर छात्रावासको पछिल्तिरबाट टड्कारै देखिन्थ्यो । हुन त बन्दै गर्दा त्यो घर हाम्रो सरोकारको विषय थिएन । तर जब त्यो घर चहकिलो हरियो रङमा रंगियो र त्यहाँ एउटा परिवार बस्न आयो, तब सुरू भयो एउटा नयाँ अध्याय । छात्रावासको पछिल्तिर विद्यार्थीहरु कोही हिँडेर, कोही बसेर, कोही आँखा चिम्लेर पाठ घोक्थे । मलाई त कक्षा नौमा हिसाबको हल पनि घोक्ने बानी परिसकेको थियो । म पनि रोटे पिङमा घुमीघुमी पाठ घोक्थेँ । अझ साँस्साँझ फेमस फाइभको अड्डा त्यहीँ जम्ने गथ्र्यो । त्यसमाथि रोटे पिङमा हामी मच्चीमच्ची गीत पनि गाउने गथ्र्यौं ।

एकदिन टयुसन हलमा छिर्नेबित्तिकै प्रितीले भनी, ‘सुन्न आज तिमोरुलाई एउटा डेड्ली कुरा भन्नु छ ।’ हामी पाँचैजनाले कान प्रितीतिर सोझ्यायौं । तर ऊ केही नभनी एकछिन मस्किरही आफैंआफैं । हामी भने व्यग्र भएर उसको कुरा सुन्न तम्सिरहृयौं । ‘शिवालाई त एकजनाले मन पराउँछ नि,’ उसले भनी । म त ट्वाँ परेँ । साथीहरु एकछिन प्वाक्क परेर मलाई नै हेरिरहे । चारजना साथीहरु घोक्रो सुक्ने गरी कराए, ‘नहीऽऽ ।’ (परिस्थितिलाई बढाइचढाइ गर्नुपरेमा हामी यस्तै फिल्मी अन्दाजमा नाटकीय भैहाल्थ्यौं ।) लाजले भुतुक्कै भएँ ।

साथीहरुले त्यो केटा को हो भनेर प्रितीलाई सोधे । सोध्न त मलाई तिनीहरुभन्दा अगाडि नै मन थियो । अर्कै अर्थ निस्केला भन्ने डरले लजाएर खुम्चेझैँ गरेँ । साथीहरुको जिस्काजिस्की र ही…हा अलि सामसुम भएपछि प्रितीले बल्ल ‘डेड्ली’ कुराको कुटुरो फुकाई, ‘शिवालाई मेरो भाइले मन पराउँछ ।’ प्रितीका पाँचजना दिदीबहिनी मात्र थिए, भाइ कताबाट आयो ? साथीहरुले अचम्म माने । ‘मेरो कजन भाइ पर्ने क्या,’ हामीले नपत्याएपछि उसले भनी । ‘ऊ त्यही घरमा बस्छ’ भन्दै उसले हामी पढिरहेको डाइनिङ हलबाट देखिने पारिको हरियो घर देखाई । पर्खालबाहिरको गतिविधिमा जति चासो दिए पनि त्यति नजिक ठडिएको हरियो घरबाट हामीलाई हेरिरहने कुनै केटाको भेउ त्यस बेलासम्म पाउन सकेका थिएनौं । आँखा तन्काएर हामीले एकपटक

उतै हेर्‍यौं ।

Read Full Discussion Thread for this article